काठमाडौं- अहिले सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् । एमालेको सत्ता साझेदारका रुपमा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस छ ।
कांग्रेसले एमालेसँग गत फागुन १७ गतेको सहमतिअनुसार सत्ता साझेदारीका क्रममा देशको आन्तरिक सुरक्षाको जिम्मा लिएको गृहमन्त्रालय लिएको छ ।
उता सहरी विकास मन्त्रालय पनि कांग्रेसकै पोल्टामा छ । एमालेबाट केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कांग्रेसले प्रकाशमान सिंहलाई उपप्रधानमन्त्री बनाएर सरकारको नेतृत्वको जिम्मा दिएको छ ।
कांग्रेसको चौधौँ महाधिवेशनको दोस्रो चरणको चुनावमा आफूलाई सभापतिमा सघाएका प्रकाशमानलाई उपप्रधानमन्त्री बनाएर सभापति शेरबहादुर देउवाले गुन तिरेका छन् ।
आफ्नो गुटका प्रकाशमानलाई सरकारको नेतृत्वमा पठाउँदा देशको आन्तरिक सुरक्षाको जिम्मा लिएको गृहमन्त्रालयको जिम्मेवारी देउवाले रमेश लेखकलाई दिएका छन् ।
यसअघि प्रतिनिधिसभामा कांग्रेसबाट प्रमुख सचेतक रहेका लेखकलाई आफ्नो विश्वासपात्रमध्येका एक रमेश लेखकलाई गृहमन्त्रालयको नेतृत्व गर्न लगाए ।
सुदूरपश्चिमबाट देउवाका विश्वास पात्रमध्येका एक लेखक गृहमन्त्री भएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारीसँग छलफलमा छन् ।
गृहमन्त्री भइसकेपछि पहिलो पटक बुधबार मात्रै उनी नक्सालस्थित नेपाल प्रहरीको केन्द्रीय कार्यालय निरीक्षणका लागि पुगे । जहाँ उनलाई आईजीपी वसन्त कुँवरसहितका उच्च पदस्थ प्रहरी अधिकारीले भव्य स्वागत गरे ।
लेखकले नक्सालमा प्रहरी अधिकारीहरूलाई सम्बोधन गर्दै भने, ‘संविधानमा धेरै मौलिक हकका कुरा गरेका छौँ, राज्य र नागरिकका सम्बन्धका कुरा गरेका छौँ । ती आफैँ परिचालित र क्रियाशील हुने होइनन् ।’
उनले लोकतन्त्रको आधारभूत मान्यता विधिको शासन रहेको बताएका थिए । ‘लोकतन्त्र कुनै अमूर्त विषय होइन । नेताहरूले भाषण गर्ने र नागरिकले भाषण सुन्ने विषय मात्रै पनि होइन । लोकतन्त्रको आधारभूत मान्यता हुन्छन्, विधिको शासन पनि एउटा मान्यता हो,’ लेखकले भने ।
गृहमन्त्री लेखकले नक्सालमा निरीक्षण गरेर फर्किएपछि नेपाल प्रहरीले सामाजिक सञ्जालमा तस्बिर र भिडियो पोस्ट गरेको छ। गृहमन्त्री लेखकले नक्सालमा निर्देशन दिएको समाचार पनि सञ्चारमाध्यमलाई पठाएको छ।
प्रकाशमानले किन बोलाए ?
विभागीय मन्त्री लेखक नक्साल पुगेर फर्किएपछिका तस्बिर नेपाल प्रहरीले सार्वजनिक गरेको ५ घण्टापछि उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पनि तीनै सुरक्षा निकायका प्रमुखसँगको तस्बिर फेसबुकमा सार्वजनिक गरेका छन् ।
उक्त पोस्टमा सिंहले तीनै सुरक्षा निकायका प्रमुखहरू आफूलाई बधाई दिन आएको उल्लेख गरेका छन् । सिंहका स्वकीय सचिव युपी लामिछानेले यो भेट बधाईका लागि मात्रै भएको बताएका छन् । बधाई दिन आएका बेला मन्त्री सिंहले सुरक्षानिकायका प्रमुखहरूसँग देशको सुरक्षा अवस्थाबारे जानकारी लिएको उनको भनाइ छ ।
आखिर तीनैवटा सुरक्षानिकायका प्रमुखहरू लाइन लागेर सिंहलाई बधाई दिन र निर्देशन सुन्न किन पुगे त ? सुरक्षा र प्रहरी बिटमा समाचार लेख्ने पत्रकारले समेत यसबारे प्रश्न गरिरहेका छन् ।
सिंहलाई बधाई दिन नेपाल प्रहरी प्रमुख वसन्त कुँवर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागको प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा पुगेको तस्बिरमा देख्न सकिन्छ ।
फूलका बुकेसहित उनीहरू सिंहलाई बधाई दिन पुगेका थिए । तर यी सुरक्षा निकायका तीनै प्रमुखले अन्य मन्त्रीहरूलाई बधाई दिएको तस्बिर आएका छैनन् ।
तीन सुरक्षा प्रमुखले फूलको बुके दिँदा उपप्रधानमन्त्री सिंह सोफामै बसिरहेका देखिन्छन् । सोफामा उनीनजिकै राष्ट्रिय अनुसन्धानका थापा, नेपाल प्रहरीका कुँवर र सशस्त्रका अर्यालय बसेका छन् ।
तीनै सुरक्षा प्रमुखले बधाईस्वरुप फूलका बुके दिँदा सिंह सोफाबाट उठेका देखिँदैनन् । जबकि त्यसको अघिल्लो दिन भारतीय राजदूतले त्यही स्थानमा बधाईस्वरुप फूलका बुके थमाउँदा सिंह मुस्कुराउँदै उभिएका देख्न सकिन्छ ।
‘सिंहदरबारस्थित मन्त्रालयलमा बधाई दिन आउनुभएका तीनवटै सुरक्षा निकाय नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकसँग भेटघाट गरी देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएको छु’, सिंहले फेसबुकमा लेखेका छन् ।
यसबारेमा बुधबार नै राष्ट्रिय समाचार समितिले पनि एउटा समाचार लेखेको छ । जसमा तीनवटै सुरक्षा निकायका प्रमुखहरूले उपप्रधानमन्त्री सिंहलाई बधाई तथा शुभकामना दिनुका साथै आ-आफ्ना निकायका कामबारे जानकारी गराएका उल्लेख छ । भेटमा उपप्रधानमन्त्री सिंहले मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे समेत जानकारी लिएको उनको निजी सचिवालयले जनाएको राससले लेखेको छ ।
एकातिर बुधबार नै गृहमन्त्री लेखक प्रहरी प्रधान कार्यालय नक्साल पुगेर निर्देशन सम्बोधन गरेका छन् । अर्कातिर सरोकार नै नभएको मन्त्रालय सम्हालेका सिंहले तीनवटै सुरक्षानिकायका प्रमुखलाई आफ्नो मन्त्रालयमा बोलाएर देशको सुरक्षा अवस्थाबारे जानकारी लिएको कुरा फेसबुकमै लेखेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी
सुरक्षा बिटमा समाचार लेख्दै आएका पत्रकार नारायण अधिकारी ‘नोमन’ले सिंहको उक्त कदमबारे सटिक टिप्पणी गर्दै स्टन्ट भनेका छन् ।
‘रवि (पूर्वगृहमन्त्री रवि लामिछाने) को स्टन्ट भन्थे, त्यसको बाप भएर निस्केछन्’, उनको टिप्पणी छ, ‘शहरी विकास मन्त्रीले सुरक्षा निकायका प्रमुखसॅग ब्रिफिङ लिएको रे !’
अर्का पत्रकार विनय बाराकोटीले सिंहको उक्त पोस्टबारे रोचक टिप्पणी गरेका छन् । उनले सिंहलाई सम्बोधन गर्दै शहरी विकास मन्त्रीले आफ्नो मन्त्रायका विभागको काममा चासो दिनुपर्ने सुझाएका छन् ।
‘शहरी विकास मन्त्रीले इन्जिनियर, योजना आयोगका पदाधिकारी, पुरातत्वविद् र पर्यावरणविदसँग भेट्ने हो’, उनी सुझाउँछन्, ‘सबै मन्त्री गृहमन्त्री होइनन् भन्ने बुझ्नुपर्यो ।’
अर्का पत्रकार मोहन बाँस्तोलाले प्रकाशमानले गृहमन्त्रालय रमेश लेखकले सम्हालेको कुरा भुलेको भन्दै कटाक्ष गरेका छन् ।
‘प्रकाशमान दाइले म शहरी विकास मन्त्री हुँ, गृहको नेतृत्व रमेश लेखकले सम्हाल्नु भएको छ भन्ने भुल्नु भएको जस्तो लाग्यो । एक पटक दाजु तपाईं गृहमन्त्री होइन भनी सम्झाउनुपर्ने भयो’, उनको टिप्पणी छ ,‘यस्तो जानकारी उहाँले मन्त्री लेखकबाट लिँदा भइहाल्छ नि ! यो त रवि लामिछानेजी पहिलो पटक गृहमन्त्री हुँदा राहादानी विभागको अनुगमनमा पुगेको भन्दा झुर स्टन्ट भयो ।’
प्रतिक्रिया