जनकपरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सीमाले नेपाल र भारतबीचको सम्बन्धलाई छेकबार गर्न नसक्ने बताएका छन् ।
आइतबार नेपाल फाउन्डेशनले जनकपुरधाममा आयोजना गरेको ‘नेपाल भारत सम्बन्धमा युवाको भूमिका’ विषयक एक दिने कार्यशालामा बोल्दै मुख्यमन्त्री सिंहले राजनीतिक रूपमा दुई देशबीचको सम्बन्धमा उतारचढाव आए पनि सामाजिक र सांस्कृतिक सम्बन्धले त्यसलाई अटुट राख्ने विश्वास व्यक्त गरेका हुन् ।
उनले दुई देशबीचको जनस्तरमा कायम सामाजिक/सांस्कृतिक सम्बन्धलाई सीमाले रोक्न नसक्ने बताएका छन् । सम्बन्धलाई अझ बढी सुदृढ र सकारात्मक बनाउन युवा वर्गले भूमिका खेल्नुपर्ने मुख्यमन्त्री सिंहले सुझाए ।
त्यस्तै, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले अहिले सुशासन र विकासको युग सुरु भएकोले दुवै देशले त्यस तर्फ काम थाल्नुपर्ने बताइन् । उनले असमानता, विभेदिकरणको विरुद्ध नेपालको नेतृत्व वर्गले पनि गम्भीरता पूर्वक काम गर्नुपर्ने सुझाए ।
उनले दुई देशबीच राम्रो सम्बन्ध खोज्नेलाई यहाँ ’भारतीय दलाल’ भन्ने गरिएकोमा दुःख व्यक्त गरिन । उनले भारत विश्वस्तरमा आफ्नो स्थान बलियो बनाउन लागेको र त्यसबाट नेपालले लाभ लिन सक्नुपर्ने चर्चा गरे ।
कार्यक्रममा सहभागीहरूले दुई देशबीचको ऐतिहासिक सम्बन्धको चर्चा गरेका थिए ।
प्रतिक्रिया