समाचार

पूर्वमन्त्री शर्मालाई पितृशोक

By खबरहब

September 18, 2024

काठमाडौं– पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पितृशोक परेको छ । उनका बुवा वरिष्ठ साहित्यकार गिरिराज शर्माको बुधबार ८४ वर्षको उमेरमा निधन भएको छ ।

केही समयदेखि भैरहवास्थित निवासमा बसोबास गर्दै आएका गिरिराजलाई बिहान स्वास्थ्यमा समस्या देखिएपछि बुटवलको गौतम बुद्ध मुटु अस्पतालमा उपचारका लागि लगिएको थियो ।

उनको बुधबार दिउँसो सवा ३ बजे निधन भएको अस्पतालले जनाएको छ । गिरिराजको पार्थिक शरीर दाङको घोराही– १८ मसिनास्थित निवासमा पुर्‍याएर अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ ।

गिरिराजको अन्त्येष्‍टि बिहीबार बिहान ८ बजे मसिना सतीघाट कटुवाखोलामा गरिने ज्वाइँ कृष्णध्वज खड्काले जानकारी दिए । गिरिराजको वि.सं १९९७ साल जेठ १५ गते जन्म भएको थियो । 

नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका वरिष्ठ साहित्यकार गिरिराजका झण्डै एक दर्जन कृति प्रकाशित छन् भने सयौँ कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।