ब्रेकिङ स्टोरी

रविबारे देउवाले भने- चलाख रहेछन्, सहकारीको रकम अपचलन गरेको पुष्टि भयो

By खबरहब

September 18, 2024

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन् ।

बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको सुरुवात गर्दै सभापति देउवाले समितिको प्रतिवेदन सार्वजनिक भएपछि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले संसद्मा रास्वपा सभापतिबारे कांग्रेसले उठाएका प्रश्नहरू पनि प्रमाणित भएको दाबी गरे ।

संसदीय छानबिन विशेष समिति गठन गर्दाको समयमा लामिछानेले सहकारी रकम ठगी गरेको आफूलाई विश्वास नलागेको बताए ।

तर अहिले त्यो कुरा प्रमााणित भएकोले उक्त विषय उठान गरेकोमा पार्टी महामन्त्री गगनकुमार थापालाई धन्यवाद पनि दिएका छन् ।

‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ, यस्तो छ भनेर’, उनले भने, ‘सहकारीको विषय मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर । रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे । म त छक्कै परेँ कुरा सुनेर । तपाईं (गगन) ले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई ।’