काठमाडौं – पहिलोपटक स्थानीय तहको उपनिर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दिएको छैन। ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा रास्वपाको राम्रो प्रभाव रहेको मानिए पनि उम्मेदवार उठाउन नसक्नुले पार्टीमाथि प्रश्न उठेको छ ।
४४ स्थानमा उपनिर्वाचन हुन लागेकोलेमा ४२ स्थानमा मात्र पार्टीले उम्मेदवारी दिन पाउँछ। ओखलढुङ्गा र कैलालीमा जिल्ला समन्वय समितिको उपनिर्वाचन हुने भएकाले रास्वपाले उम्मेदवार उठाउन पाउँदैन । तर बाँकी ४२ स्थानमा भने उम्मेदवारी दिन पाउने भएपनि २६ स्थानमा मात्रै रास्वापाले उम्मेदवार खडा गरेको छ । यो अवस्था हेर्दा पार्टीले उपनिर्वाचनको तयारी राम्रो नगरेको आँकलन गर्न गाह्रो छैन ।
किन २६ स्थानमा मात्रै उम्मेदवारी दिनुभएको भन्ने प्रश्नमा रास्वपा निर्वाचन परिचालन समितिका केन्द्रीय सभापति गणेश पराजुली भन्छन्, ‘अन्य स्थानमा हामीले निर्वाचनको तयारी गर्न नसकेका कारण हामीले उम्मेदवार उठाउन सकेनौँ। हामी अहिले सरकारले साँधेको प्रतिशोधविरुद्ध पनि आन्दोलनमा जाग्नुपर्ने भएकाले उपनिर्वाचनका लागि केही स्थानमा तयारी पुगेको छैन । त्यसैले उम्मेदवार नउठाएका हौँ।’
पराजुलीले यसो भनेपनि इलाम २ मा भएको उपनिर्वाचन भन्दा नाजुक अवस्था हुने भएकाले रास्वपाले २६ स्थानमा मात्रै उम्मेदवार उठाएको शीर्ष नेताहरूको भनाइ छ।
‘सभापति अहिले हिरासतमा हुनुहुन्छ । हामीले सबै ठाउँमा उम्मेदवार उठाउन सक्ने अवस्था नै भएन । हाम्रो नतिजालाई शून्य बनाउनका निम्ति विभिन्न व्यक्ति षडयन्त्र गरिरहेका छन् । त्यो अवस्थालाई मध्यनजर गरेर पनि हामीले उम्मेदवार उठाउन नसकेका हौँ’, सचिवालयका एक सदस्यले खबरहबसँग भने, ‘इलाम २ को उपनिर्वाचनभन्दा पनि नाजुक अवस्थामा नतिजा आउने बुझेका कारण हामीले जिल्ला प्रदेश र स्थानीय तहको रिपोर्टिङ अनुसार नै २६ ठाउँमा मात्र उम्मेदवार दिएका छौं। बाँकी ठाउँमा हाम्रो उम्मेदवारहरू नै प्रतिस्पर्धीका रूपमा आउनसक्ने देखिनुभएन।’
यसअघि रास्वपाले कीर्तिपुरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो । तर अन्य व्यक्तिको उम्मेदवारी नपरेपछि कार्कीको अवस्थालाई नियाल्दा उनी पनि उम्मेदवारका लागि सक्षम नभएको रास्वपाको निष्कर्ष छ । रास्वपाका अर्का नेताका अनुसार १६ ठाउँमा उम्मेदवारी नदिने या दिने सन्दर्भमा पनि पार्टीले दुई–तीन दिनदेखि छलफल गरेको थियो। आज बिहान भएको छलफलमा पनि १६ ठाउँमा उम्मेदवारी नदिने सन्दर्भमा नेताहरूले आ–आफ्नो धारणा राखेका थिए।
‘१६ ठाउँमा सक्षम उम्मेदवार नपाएको र जनलहर पनि कमजोर देखिएकाले उम्मेदवार उठाउन नसकेको हो । पार्टी नै बन्न बाँकी रहेछ । हामीले ती स्थानमा पार्टी बनाउन नै धेरै मेहनत गर्नुभएका कारण हामी अहिले १६ स्थानमा उम्मेदवारी दिनबाट पछि हटेका हौँ’, ती नेताले थपे, ‘कहिलेकाहीँ सबै कुराको डिसिजन गर्न नसकिने रहेछ। हामी सभापति हिरासतमा पसेपछि उहाँ केन्द्रित आन्दोलनमा गयौँ। यता उपनिर्वाचनको तयारी गर्न नपाएर १६ ठाउँमा हाम्रा उम्मेदवारलाई कमभन्दा कम भोट आउने सम्भावनाका कारण बरु हामीले उम्मेदवार घोषणा नगर्ने निर्णय गरेका हौँ।’
उनले अब पार्टी सबैतिर विस्तार गरेर जानुपर्ने चुनौती रहेकाले स्थानीय तहको उपनिर्वाचनले पार्टीलाई एक किसिमको सन्देश दिने समेत बताए।
‘हामीले अन्य २६ स्थानमा पनि पूरा तयारी गर्न पाएका छैनौं । तर पनि हामी आफ्नो पार्टीको स्थानका लागि भएपनि उपनिर्वाचनमा होमिएका हौँ’, ती नेताले भने, ‘जटिल परिस्थितिले गर्दा पनि हाम्रो पक्षमा राम्रो रिजल्ट आउँछ भन्नेमा हामी विश्वस्त छैनौं तर हामी १००५ दिने प्रयासमा छौँ। किनकि २६ स्थानका हाम्रा उम्मेदवार एकसेएक हुनुहुन्छ। उहाँहरू साँच्चिकै हामीले खोजेको जस्तो उम्मेदवार भएकाले हामीलाई उहाँहरूप्रति पूरा विश्वास छ जनताले पनि हामीलाई पुरै विश्वास गर्नुभएको छ।’
१६ स्थानमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने
रास्वपाका उपनिर्वाचन परिचालन समितिका संयोजक पराजुलीले १६ ठाउँमा रास्वपाले स्वतन्त्र व्यक्तिहरूलाई पनि सहयोग गर्न सक्ने बताएका छन् । ‘१६ ठाउँमा हामीले उम्मेदवार उठाउन नसकेको अवस्थामा राम्रा स्वतन्त्र व्यक्तिहरू उम्मेदवार उठ्नुभयो भने उहाँहरुलाई हाम्रो समर्थन रहन्छ’, पराजुलीले अगाडि भने, ‘तर हामी पार्टीका कुनै पनि उम्मेदवारहरूलाई समर्थन र सहयोग भने गर्ने छैनौँ।’
उपनिर्वाचनमा पराजय निश्चित भएका स्थानमा उम्मेदवार नउठाउनु भएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘पार्टीको आन्तरिक तयारी नपुगेको साँचो हो तर उम्मेदवार हार्ने र नचिजा एकदम नाजुक भएर नै उम्मेदवार नउठाउने निर्णय भने हामीले गरेका हैनौँ। पार्टीका केही आन्तरिक तयारीहरू नपुगेका कुराहरू हामी स्वीकार गर्छौं ।’
कीर्तिपुरमा उम्मेदवार उठाउनु पर्ने दबाब
रास्वपाका केही वैचारिक र वैकल्पिक नेताहरूले कीर्तिपुको मेयरमा जस्तोसुकै परिस्थिति भएपनि सहरी इलाका भएकाले उम्मेदवार उठाउनै पर्ने पार्टी बैठकहरूमा तर्क गरेका थिए। आइतबार बिहान बसेको बैठकमा ती नेताहरूले कीर्तिपुरको मेयरमा जसरी पनि उम्मेदवारी दिनुपर्ने जनाएका थिए।
रास्वपाका एक सचिवालय सदस्यले भने, ‘जे जस्तो निर्णय हुन्छ त्यसलाई स्वीकार्ने गरी हामीले उम्मेदवार उठाउँ भनेका थियौँ तर विस्तारै मिलाउँदै जाँदा सबैको सहमतिमा नउठाउने नै निर्णय भयो। एकजना मात्रै उम्मेदवार भएको र उहाँ पनि बलियो उम्मेदवार नभएकाले हामी पछि हटेका हौँ। एकजना व्यक्तिले उम्मेदवारी दिन्छु भन्नुभएको थियो तर पछि उहाँले पनि खुट्टा कमाउनुभयो।’
ती नेताका अनुसार उम्मेदवारीका लागि दाबी गरेका नेता नै पछि हटेपछि कीर्तिपुरमा उम्मेदवार नदिने निर्णय भएको हो । मेयरमा उम्मेदवारी नदिएपछि रास्वपाले वडाहरूमा पनि उम्मेदवारी नदिने निर्णय गरेको छ ।
‘मेयरमा उम्मेदवारी दिएपछि वडाहरूमा पनि हामीले उम्मेदवार नदिने निर्णय गरेका हौँ। यसमा कसैको विमती छैन’, सचिवालयका एक सदस्यले खबरहबलाई भने, ‘सहरी इलाका भएपनि कीर्तिपुरलाई हामीले पहिला नै फोकस गरेनौँ। एकजना मात्रै उम्मेदवारको आकांक्षी हुनाले पनि हामीलाई उम्मेदवार उठाउन असहज परिस्थिति बनेको हो।’
उपनिर्वाचन रास्वपाको परीक्षण हो : विश्लेषक अधिकारी
सभापति रवि लामिछाने वित्तीय अपराधमा मुछिएर हाल कास्की प्रहरी कार्यालय हिरासतमा छन्। एक महिना देखि सभापति थुनामा रहँदा रास्वपाले स्थानीय तहको उपनिर्वाचनको तयारी गर्न सकेको छैन । यसकारण यो पटकको उपनिर्वाचनमा रास्वपाले खासै राम्रो उपलब्ध उपलब्धि हासिल गर्न नसक्ने राजनीतिक विश्लेषक इन्द्र अधिकारी बताउँछिन्।
‘सभापति रवि लामिछाने वित्तीय अपराधमा मुछिएर हिरासतमा रहेको बेला उपनिर्वाचनमा होमिएको रासपाले खासै राम्रो नतिजा ल्याउला भन्ने आशा गर्न सकिन्न’, अधिकारीले भनिन्न, ‘यो रास्वपा परीक्षण गर्ने उपयुक्त थलो भने हो। केही स्थानमा जित हासिल गर्यो भने पनि यो रासपाको ठूलो उपलब्धि हुनेछ।’
प्रतिक्रिया