कांग्रेसले राष्ट्रका लागि भूमिका निर्वाह गर्दै इतिहास निर्माण गरेको छ : सभापति देउवा « Khabarhub

कांग्रेसले राष्ट्रका लागि भूमिका निर्वाह गर्दै इतिहास निर्माण गरेको छ : सभापति देउवा


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य मान्यताप्रतिको अविचलित निष्ठा, जनतासँगको निरन्तर एवं अटुट सम्बन्धका कारणले नै कांग्रेसले जन्मकालदेखि नै राष्ट्रका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै इतिहास निर्माण गरेको बताएका छन्।

ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा आजदेखि सुरु भएको पार्टीको महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले लोकतन्त्रको स्थापना, पुनःस्थापनाका लागि भएका शृङ्खलाबद्ध क्रान्ति, सङ्घर्ष आन्दोलनदेखि दशवर्षे सशस्त्रद्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्ने कार्यमा नेतृत्व प्रदान गरेको उल्लेख गरे ।

“अन्तरिम संविधानदेखि वर्तमान संविधान निर्माण र संविधानको कार्यान्वयनको कार्यमा नेतृत्व प्रदान गरेका सबै काम कांग्रेसको महत्वपूर्ण भूमिकाका उदाहरण हुन्,” उनले भने ।

नेपालको वर्तमान संविधान कांग्रेसको नेतृत्वमा निर्माण भएको उल्लेख गर्दै सभापति देउवाले संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको र यो शासकीय स्वरुप कांग्रेसको मान्यता अनुकूल रहेको बताए । संविधानको रक्षा र सार्थक कार्यान्वयन आजका मुख्य ‘एजेन्डा’ भएको भन्दै उनले कांग्रेस संविधानको सुरक्षा र कार्यान्वयनका पक्षमा दृढ रहेको र यो हाम्रो दायित्व पनि भएको स्पष्ट पारे ।

कांग्रेस आफ्नो इतिहासमा गर्व गर्दै वर्तमान र भविष्यमा जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्ने उल्लेख गर्दै सभापति देउवाले कांग्रेसका सैद्धान्तिक मान्यता, नीति कार्यक्रम र व्यवहार सबै लोकतान्त्रिक मान्यताबाट निर्देशित रहेको बताए । पार्टीको १४औँ महाधिवेशनमा समय अभावका कारण नीतिगत विषयमा दस्तावेज प्रस्तुत गरी छलफल गर्न नपाएका कारण पार्टीका नीतिगत विषयमा छलफल गर्ने उद्देश्यले महाधिवेशनको निर्णयअनुसार महासमिति बैठक बोलाइएको उनले बताए ।

सभापति देउवाले बैठकमा विभिन्न दस्तावेज प्रस्तुत हुने र सबै सहभागीलाई ती विषयमा राम्ररी अध्ययन गरी आफ्ना विचार राख्न आग्रह गर्दै सहभागीका विचार, सुझाव र धारणा समेटेर नीतिगत दस्तावेज परिमार्जन गरी पारित गरिने उल्लेख गरे ।

उनले भने, “कांग्रेसले देशमा लोकतन्त्र स्थापना, पुनःस्थापना र संरक्षणका लागि लामो सङ्घर्ष गरेको इतिहास सबैमा विदितै छ । हाम्रो इतिहास लोकतन्त्रका लागि जनताको हकअधिकार र स्वतन्त्रताका लागि त्याग तपस्या र बलिदानका गाथाले भरिपूर्ण छ । मुलुकमा जहिले पनि सङ्कट उत्पन्न भएका बेला कांग्रेसले आफ्नो नेतृत्वमा समाधान दिएको छ ।”

लोकतान्त्रिक मूल्यमान्यतासँग कहिल्यै पनि सम्झौता नगर्ने कांग्रेसको दृढताका कारणले नै यो पार्टी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा एकमात्र लोकतान्त्रिक पार्टीका रुपमा पहिचान बनाउन सफल भएको सभापति देउवाको भनाइ थियो ।

“संविधानको रक्षाका लागि कांग्रेसकै पहलमा गठबन्धन बनेको हो । अहिले हामी गठबन्धनको अभ्यासमा छौँ । अहिलेको गठबन्धन सरकार गठनका लागि मात्र बनेको होइन । केही समय पहिले प्रतिनिधिसभालाई पहिल्यै विघटन गर्ने, मुलुकमा राजनीतिक अस्थिरता ल्याउने, संविधानलाई जोखिममा पार्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने गतिविधि भए,” सभापति देउवाले भने, “संविधानको रक्षाका लागि कांग्रेसकै पहल, प्रयत्न र अग्रसरतामा तत्काल नै गठबन्धन बनेको हो । गत निर्वाचन पूर्वको गठबन्धन र वर्तमान सरकार त्यसैको निरन्तरता हो । आज पनि हामीले संविधानको रक्षालाई प्राथमिक एजेन्डाका रुपमा लिएका छौँ । महासमितिमा प्रस्तुत हुने सबै दस्तावेजले यस विषयलाई उल्लेख गरेको छ ।”
कांग्रेसले संविधानमा मिश्रित निर्वाचन प्रणाली अपनाएको उल्लेख गर्दै सभापति देउवाले मिश्रित निर्वाचन प्रणालीका गुणदोष दुवै भए पनि निर्वाचन प्रणालीमा कुनै एकमात्र पार्टीको स्पष्ट बहुमत आउने सम्भावना कम हुने बताए । आगामी दिनमा तीनै तहमा कांग्रेसले बहुमत ल्याउन सक्ने गरी पार्टी सङ्गठनलाई सुदृढ बनाउने काममा लाग्न उनले आग्रह गरे ।
“हाम्रो पार्टी देशको सबैभन्दा ठूलो पार्टी बनेको छ । देशका सबै गाउँबस्ती सबै वर्ग समुदायमा बलियो सङ्गठन छ । गत निर्वाचनमा सङ्घ, प्रदेश र स्थानीय तहमा सबैभन्दा बढी जननिर्वाचित प्रतिनिधि हाम्रा छन्,” सभापति देउवाले भने, “कांग्रेस नेपाली जनताको सबैभन्दा बढी आशा, भरोसा र विश्वास गरेको पार्टी हो । जनताको यो विश्वासलाई खण्डित हुन दिनु हुँदैन । कांग्रेसका साथीहरुले उच्च मनोबल र आत्मविश्वासको साथ राष्ट्रसेवामा समर्पित हुनुपर्दछ । हामीले शिर झुकाउनुपर्ने, मन सानो गर्नुपर्ने कुनै कारण छैन ।”
विश्वभरि नै आर्थिक मन्दीको अवस्था रहेको र कोभिड–१९ को महामारी, अन्तर्राष्ट्रियस्तरमा केही मुलुकबीच युद्ध वा अशान्तिका कारण हाम्रो अर्थतन्त्रमा पनि प्रतिकूल प्रभाव परेको भन्दै सभापति देउवाले यसका बाबजुद आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव देखिन थालेको जानकारी दिए ।

आर्थिक प्रतिकूलताका कारण चाहेजस्तो काम गर्न नसकिएको उनको भनाइ थियो । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्ने कुरामा आफूहरु दृढ रहेको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक व्यवस्थाले नै सबै समस्यालाई सम्बोधन गरेर देशलाई विकासको बाटोमा लैजान सक्ने बताए ।

सभापति देउवाले भने, “कांग्रेसले सदैव संवाद, सहमति र सहकार्यको नीति अवलम्बन गरेको छ । देशमा विद्यमान राजनीतिक दलमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो तर कतिपय हाम्रा साझा विषय छन् । देशको सार्वभौमिकता, अखण्डता, लोकतन्त्र, विकास, परराष्ट्र नीति र शान्ति प्रक्रियाका बाँकी काम सङ्क्रमणकालीन न्यायजस्ता विषयमा हाम्रा समान धारणा हुनुपर्दछ ।”

यसका निम्ति संवाद, सहमति र सहकार्यको संस्कारलाई प्रोत्साहित गर्नुपर्ने र पार्टीभित्र वा सबै पार्टी बीचमा पनि निरन्तर संवाद र सहमतिको अभ्यास गर्नुपर्ने सभापति देउवाको भनाइ थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ९ : ३६ बजे

गोरखामा रास्वपा नेताको गाडी तोडफोड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता धनेज थापाको गाडीमा

नेपाली कांग्रेसले कुनै विशेष महाधिवेशन गरेको छैन : मिन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले नेपाली कांग्रेसले विशेष महाधिवेशन

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वीरगञ्ज– जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस देउवा समूहलाई प्रमुख आयुक्तले भने – आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन

काठमाडौं – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले