भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र | Khabarhub Khabarhub

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

चितवन– कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरूले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने अवस्था थियो । कतिपय ठाउँमा त यात्रुले नै बस धकेल्नुपर्ने बाध्यता थियो ।  अहिले भने यहाँका सडकको स्वरूप नै फेरिएको छ भने यात्रुले सहज रूपमा यात्रा गर्न पाएका छन् । सात वर्षअघि जनप्रतिनिधि आएसँगै यहाँका सडकको स्वरूप फेरिएको हो ।

यहाँ यस अवधिमा सात सय किलोमिटर सडक कालोपत्र भइसकेको छ भने बाँकी रहेको एक सय किलोमिटर सडक कालोपत्रका लागि पनि महानगरले योजना बनाइरहेको छ ।

भरतपुर महानगरपालिकाका इन्जिनियर साकार लामाले महानगरभित्रको सडकको लम्बाइ एक हजार किलोमिटर रहेकामा नौ सय किलोमिटर सडक कालोपत्र गरिसकिएको बताए ।

महानगर प्रमुख रेनु दाहालको नेतृत्वपछि सात सय किलोमिटर सडक कालोपत्र भएको उनले जानकारी दिए । स्थानीय जनप्रतिनिधि आउनुअघि तीन सय किलोमिटर सडकमात्र कालोपत्र थियो ।

महानगर प्रमुख दाहाल अघिल्लो कार्यकाल सडक कालोपत्र र विस्तारमा विशेष ध्यान दिएको आगामी तीन वर्षभित्र महानगरभित्रका सबै मुख्य सडक कालोपत्र भइसक्ने योजना रहेको बताउँछिन् ।

यो अभियानमा स्थानीयसँगै प्रदेश र सङ्घीय सरकारको बजेटबाट सडक कालोपत्र गरिएको उनले जानकारी दिइन् । आफू पहिलो पटक महानगरप्रमुखमा निर्वाचित भएपछि सहरी विकास मन्त्रालयमार्फत स्मार्ट सिटी पूर्वाधारका लागि विनियोजित दुई अर्ब रुपैयाँबाट १७ वटा सहरी सडक निर्माण गरिएको उनले बताइन् ।

‘भरतपुरको पुल्चोकदेखि गोन्द्राङसम्म, वाईपास सडक, हुलाकी सडक, प्रचण्ड पथ र चक्रपथ निर्माणका लागि सङ्घीय सरकारसँग विशेष पहल गरेर काम गर्न सफल भएका छौँ । अघिल्लो कार्यकालमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यान आफ्नो गृह जिल्लामा परेकाले पनि सङ्घीय सरकारका योजना ल्याउन थप सहज भएको हो’, उनले भनिन्।

 महानगरभित्र मङ्गलपुर–शिवनगर, पार्वतीपुर–शुक्रनगर हुँदै तेलौलीसम्म २१ किलोमिटर प्रचण्ड पथ सङ्घीय सरकारको बजेटमा निर्माण भएको छ । महानगरको चक्रपथ ८० किलोमिटर छ, जसमध्ये ५५ किलोमिटर कालोपत्र भइसकेको छ । तीन तहका सरकारको साझेदारीमा यो सडक बनेको हो ।

दाहालका अनुसार हाकिमचोकदेखि सीतामाईसम्म बागमती प्रदेश सरकारको सहयोगमा कालोपत्र सडक बनेको छ भने जगतपुरदेखि शिवघाटसम्मको १६ किलोमिटर सडकको कालोपत्र काम गरिँदै छ ।

सङ्घीय सरकारसँगको सहायक राजमार्गको रूपमा भरतपुरदेखि चनौली मेघौलीहुँदै गोलाघाटसम्मको सडकलाई विकास गरिएको छ । यस सडकलाई विस्तार र व्यवस्थापनका लागि सङ्घीय सरकारसँग थप बजेटका लागि यस वर्ष पनि आग्रह गरिएको महानगर प्रमुख दाहालले जानकारी दिइन् ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले गाउँका सडक चौडा र कालोपत्र गरेपछि स्थानीय प्रत्यक्ष लाभान्वित भएको बताउँछन् । सडक सरसफाइका लागि महानगरले हालै ब्रुमरसमेत खरिद गरिएको र कालोपत्र सडकका छेउमा वृक्षारोपण गरेर हरियाली र सुन्दर बनाउने अभियानमा पनि अगाडि बढाइएको अधिकारीले जानकारी दिए ।

‘सडक बनाउने मात्रै होइन, सौन्दर्यीकरणका लागि पनि ध्यान दिइएको छ । हाल महानगरभित्रका मुख्य सडकको ८० किलोमिटर क्षेत्रमा स्मार्ट स्ट्रीटलाईट जडान गरिसकेका छौँ । बाँकी एक सय ५० किलोमिटर सडक क्षेत्रमा स्मार्ट लाइट जडानका लागि सम्झौता भइसकेको छ । हामीले स्थानीयसँगको लागत साझेदारीमा सडक निर्माणको काम गरिरहेका छौँ । त्यसैले पनि यो सफलता मिलेको हो’, अधिकारीले भने।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ३ : २० बजे

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण

जब काठमाडौं आइरहेको यात्रु बसमाथि पहिरो खस्यो…

काठमाडौं- बझाङबाट संघीय राजधानी काठमाडौंतर्फ आइरहेको एउटा बस ठूलो दुर्घटनाबाट

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ–  ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका-७

बाह्रै महिना विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाह्रै महिना देशभर

माइक्रोसफ्टको सर्भरमा समस्या- विश्वभरका बैंक र सञ्चारगृह प्रभावित, जहाजको उडान पनि रोकियो

काठमाडौं- शुक्रबार विश्वभरका कयौँ बैंक, हवाई एयरलाइन्स र टेलिकम्युनिकेशनको काम