न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा « Khabarhub

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा दायर गरेको छ । 

न्यून गुणस्तरका खाद्यवस्तु उत्पादन तथा बिक्रीवितरण गर्ने व्यवसायीविरुद्ध मुद्दा दर्ता गरिएको हो । खाद्य स्वच्छता तथा गुणस्तरमा लापरबाही गरेको दाबी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीमा मुद्दा दाखिला भएको हो ।  

कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न प्रकृतिका छ वटा मुद्दा दर्ता गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका प्रमुख ज्योति आचार्यले दर्ता भएका मुद्दामध्ये एक वटा दुषित तथा न्यूनस्तरको खाद्यवस्तुसँग सम्बन्धित र पाँच वटा खाद्य स्वच्छता तथा गुणस्तरसँग सम्बन्धित कसुरका रहेको बताइन् । कार्यालयको कार्यक्षेत्र तनहुँ, लमजुङ, गोरखा, नवलपुर र मनाङ जिल्ला हो । 

कार्यक्षेत्रभित्रका विभिन्न उद्योग तथा खाद्य व्यवसायको अनुगमनका क्रममा खाद्य ऐन तथा नियमावलीविपरीत उत्पादन, प्रशोधन तथा बिक्री वितरण गरेको पाइएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको आचार्यले बताइन् । 

नवलपुरको गैँडाकोट नगरपालिका–७ स्थित कालिका रिफाइनरी उद्योग प्रालिले न्यूनस्तरको प्रशोधित सूर्यमुखी तेल उत्पादन तथा बिक्री वितरण गरेको पाइएपछि उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालय नवलपुरमा मुद्दा दर्ता गरिएको छ । 

खाद्य वस्तुको गुणस्तर परीक्षणका क्रममा तोकिएको मापदण्डअनुसार नरहेको पाइएपछि कानुनी प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।

त्यस्तै, गैँडाकोट नगरपालिका–१६ स्थित एचओएफ फुड्स प्रालिविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय नवलपुरमा मुद्दा दर्ता गरिएको छ ।

गोरखामा दुई वटा खाद्य व्यवसायविरुद्ध मुद्दा दर्ता भएको छ । गोरखा नगरपालिका–७ स्थित मनकामना पाउरोटी उद्योगका सञ्चालक र गोरखा नगरपालिका–६ स्थित अलिसा फुड प्याकेजिङका सञ्चालकविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तरसँग सम्बन्धित कसुरमा जिल्ला प्रशासन कार्यालय गोरखामा मुद्दा दर्ता गरिएको छ । 

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित रजनिश केक पसलका सञ्चालकविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँमा मुद्दा दर्ता गरिएको छ ।

लमजुङको सुन्दरबजार नगरपालिका–६ स्थित दिया बेकरी एण्ड स्वीट्स हाउसका सञ्चालकविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय लमजुङमा मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख आचार्यका अनुसार खाद्य वस्तुको उत्पादन, प्रशोधन, प्याकेजिङ, भण्डारण तथा बिक्रीवितरणका क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने वा तोकिएको मापदण्ड पूरा नगर्ने गतिविधिमाथि नियमित अनुगमन हुँदै आएको छ । 

अनुगमनका क्रममा गम्भीर प्रकृतिका कैफियत भेटिएमा नमुना परीक्षणदेखि कानुनी कारबाहीसम्मको प्रक्रिया अघि बढाइने उनले बताइन् । 

तीन वर्षमा ३० मुद्दा

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले पछिल्ला तीन आर्थिक वर्षमा ३० वटा मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा छ वटा मुद्दा दर्ता हुँदा ११ वटा गुनासो सम्बन्धित क्षेत्राधिकारमा प्रेषण गरिएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले १७ वटा मुद्दा दर्ता गरेको थियो भने १३ वटा गुनासो सम्बन्धित क्षेत्राधिकारमा पठाइएको थियो । त्यसैगरी आव २०८०/८१ मा सात वटा मुद्दा दर्ता गरिएको थियो भने ३१ वटा गुनासो सम्बन्धित क्षेत्राधिकारमा प्रेषण गरिएको जनाइएको छ । 

खाद्य वस्तुको गुणस्तर तथा स्वच्छतासम्बन्धी उजुरी र गुनासो आएपछि त्यसको प्रकृति तथा क्षेत्राधिकार हेरी आवश्यक अनुसन्धान र अनुगमन गरिने आचार्यको भनाइ छ । 

आफ्नो क्षेत्राधिकारभित्र पर्ने विषयमा कार्यालयले नमुना सङ्कलन, परीक्षण तथा आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने गरेको छ भने अन्य निकायको क्षेत्राधिकारमा पर्ने गुनासोलाई सम्बन्धित कार्यालयमा पठाउने गरिएको छ ।

खाद्य वस्तुको गुणस्तरमा हुने लापरबाहीले प्रत्यक्ष रूपमा उपभोक्ताको स्वास्थ्यमा असर पार्नसक्ने भएकाले उत्पादनदेखि बिक्रीसम्मका हरेक चरणमा व्यवसायी सचेत हुनुपर्ने आचार्यले बताइन् । रासस
 

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  १२ : १६ बजे

मलेसियाका लागि सिफारिस राजदूतमाथि गम्भीर आरोप, सुनुवाई होल्ड

काठमाडौं– मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलमाथि गम्भीर आरोप लागेको

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

एजेन्सी – चितवनमा १३६ किलो ५०० ग्राम गाँजासहित ट्रक र चालकलाई

चीन-उत्तर कोरिया जोड्ने पुल बिहीबारदेखि सञ्चालनमा आउने

एजेन्सी– चीन र उत्तर कोरियालाई जोड्ने तीन हजार २६ मिटर

रुबियोले भारत र उज्बेकिस्तान भ्रमण गर्ने

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर १७ देखि २२ सम्म