एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर १७ देखि २२ सम्म भारत र उज्बेकिस्तानको भ्रमण गर्ने भएका छन् । भ्रमणका क्रममा उनले ऊर्जा, व्यापार, लगानी र रणनीतिक सहकार्यका विषयमा छलफल गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
भारतमा रुबियोले मुम्बई र जामनगरको भ्रमण गर्नेछन्। त्यसअघि उनी उज्बेकिस्तानमा आयोजना हुने ‘सी–५ प्लस वान’ मन्त्रिस्तरीय बैठकमा सहभागी हुनेछन् । बैठकमा मध्यएसियाका पाँच देशका अधिकारीहरूसँग छलफल हुनेछ । बैठकमा २०० भन्दा बढी अमेरिकी व्यावसायिक प्रतिनिधिसमेत सहभागी हुने बताइएको छ ।
यसैबीच, भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले रक्षा, सूचना प्रविधि र स्वास्थ्य सेवाका क्षेत्रमा भारत र अमेरिकाबीच सहकार्य विस्तार भइरहेको बताएका छन् ।
उनका अनुसार हालै सम्पन्न सैन्य अभ्यासमा ५०० भन्दा बढी सैनिक सहभागी भएका थिए । राजस्थानमा आयोजित अभ्यासमा पहिलोपटक अमेरिकी एफ–३५ लडाकु विमानसमेत सहभागी भएको उनले बताए।
गोरले भारतबाट अमेरिकाले ठूलो परिमाणमा जेनेरिक औषधि आयात गरिरहेको र दुवै देशका कम्पनीले एकअर्काको बजारमा लगानी विस्तार गरिरहेको उल्लेख गरे।
प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत साता भएको कुराकानीले द्विपक्षीय सहकार्यका थप अवसर खुल्ने अपेक्षासमेत उनले व्यक्त गरे।
रुबियोको यस वर्षको दोस्रो आधिकारिक भारत भ्रमण हो ।














प्रतिक्रिया