हरेक वर्ष नेपालमा तीन हजारको मिर्गौला बिग्रिन्छ, के छ उपचार ? | Khabarhub Khabarhub

हरेक वर्ष नेपालमा तीन हजारको मिर्गौला बिग्रिन्छ, के छ उपचार ?

के हो डाइलासिस ?


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय मिर्गौला रोगीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। प्रारम्भिक सजगता अपनाउँदा मिर्गौला सम्बन्धी धेरै रोग नलाग्ने र लागिसकेपछि प्रारम्भिक चरणमा उपचार गर्दा सहज, सस्तो र निको हुने सम्भावना धेरै हुने विशेषज्ञको भनाइ छ। मिर्गौला रोग लाग्नु अगाडिका सावधानी र लागिसकेपछि गर्नुपर्ने सही जानकारी प्राप्त गर्न नसक्दा धेरै बिरामीले अनावश्यक समस्या झेल्नुपरेको देखिन्छ।

सामान्यतया मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि बिरामीमा डाइलासिस गर्नुपर्ने हुन्छ। डाइलासिस कस्तो उपचार पद्धति हो ? यसले के फाइदा गर्छ ? कस्तो अवस्थामा यसको आवश्यकता पर्छ ? यिनै विषयमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषीकुमार काफ्लेसँग गरिएको कुराकानीः

मिर्गौलाका बिरामीमा गरिने डाइलासिस कस्तो उपचार पद्धति हो ?
कुनै व्यक्तिको दुई वटै मिर्गौलाले १० प्रतिशत भन्दा कम काम गर्न थाल्छ। त्यस्तो व्यक्तिलाई बाँच्नको लागि डाइलासिस चाहिन्छ। आफ्नो मिर्गौलाले काम गर्दैन, पिसाब बनाउँदैन, फोहोर फाल्दैन, फोहोर जम्मा हुन्छ भने यसलाई उपचार आवश्यक हुन्छ। मिर्गौलाको बिरामीले खान, काम गर्न सक्दैन त्यस्तो अवस्थामा कृत्रिम तरिकाले उसलाई सहज बनाउन डाइलासिस गरिन्छ। तर यसले बिरामीलाई निको पार्दैन रोकथाम मात्रै गर्ने हो।

डाइलासिसले शरीरमा कसरी काम गर्छ ? यसको विधि के हो ?
बिरामीको शरीरबाट रगत झिकेर डाइलासिस मेसिनमा पठाउने र शुद्धिकरण गर्ने गरिन्छ। एकातर्फबाट रगत जान्छ भने अर्कोतर्फबाट विशेष प्रकारको पानी जान्छ। जसलाई शरीर अनुसारको बराबर तापक्रममा राखिन्छ। यो विधिले रगतमा भएको फोहोर पदार्थ पानीमा जान्छ ।

एक पटक डाइलासिस गर्न चार घण्टा समय लाग्छ। करिबकरिब बिरामीको पुरै रगत आठदेखि १० पटक त्यो मेसिनबाट पास हुन्छ।

एक पटक डाइलासिस गर्न चार घण्टा समय लाग्छ। करिबकरिब बिरामीको पुरै रगत आठदेखि १० पटक त्यो मेसिनबाट पास हुन्छ। रगतमा अलिकति पनि केही खराबी भयो भने जाडो हुने, इन्फेक्सन हुने डर हुने भएकाले पूर्णतया शुद्ध वातावरणमा अनुभवी चिकित्सकले मात्रै डाइलासिस गराउँछन्।

मिर्गौलाका बिरामीलाई डाइलासिस गरेर कति समयसम्म बचाउन सकिन्छ ?
सामान्यतया डाइलासिस रोकथामको उपाय हो। विश्वको तथ्याङ्क हेर्ने हो भने डाइलासिस गराइरहेका एक सय जनामा ३१ जनाको मृत्यु हुन्छ। किनकी शरीरले डाइलासिस सहन सक्दैनन्। हाम्रो शरीरमा मिर्गौला मात्रै नभएर मुटु, कलेजो, ब्रेन, फोक्सो लगायत अन्य धेरै अङ्ग छन्। यी अङ्गले धान्दैन र इन्फेक्सन हुने सम्भावना धेरै हुन्छ। तर यो बिना अर्को उपाय छैन। नेपालमा डाइलासिस सुरु भएको ३५ वर्ष भयो। सुरुवातमा डाइलासिस गरेरै २०-३० वर्ष बाँच्ने पनि छन्। त्यसो भन्दैमा सबै बिरामी लामो समय बाँच्छन् भन्ने छैन। मिर्गौलाबाहेक अन्य अङ्गले राम्रोसँग काम गरिरहेको अवस्थामा मात्रै यो प्रभावकारी हुन्छ। नभए डाइलासिस गरेर लामो समय बाँचिन्छ भनेर आश नगर्दा हुन्छ।

डाइलासिस गर्दा शरीरका अन्य अङ्गमा पनि असर हुने हो ?
मिर्गौला हाम्रो शरीरको एउटा अभिन्न अङ्ग हो। यदि मिर्गौलाले फोहोर पदार्थ फाल्न सकेन, पानी फाल्यो, रक्तचाप बढ्यो, रगतको मात्रा कमी भयो भने त्यसको असर मुटु, फोक्सो, ब्रेन, छाला लगायत सम्पूर्ण शरीरमा पर्छ।

डाइलासिस गरेर पनि मिर्गौला स्वस्थ हुने होइन केही मात्रामा फोहोर पदार्थ घटाउने मात्रै हो। त्यसको असर अन्य अङ्गमा रहिरहन सक्छ। त्यसैले हामीले के बिर्सिनु हुँदैन भने जुन रोगले मिर्गौला बिगारेको थियो। जस्तै रक्तचाप, मधुमेह यी रोगले मिर्गौलासँगै अन्य अङ्गहरुलाई पनि कमजोर पारेको हुन्छ। मान्छे बाँच्नका लागि डाइलासिस गरियो त्यो मिर्गौलाको लागि मात्रै भयो। मिर्गौला ठिक भएर मात्रै पनि मान्छे बाँच्दैन। अरु अङ्ग पनि स्वस्थ हुनुपर्यो।


डाइलासिस गराइरहेका बिरामीले खानपान लगायत के कुरामा ध्यान दिनुपर्छ ?
मिर्गौलाका बिरामीले सबैभन्दा पहिले खानपानमा एकदमै ध्यान दिनुपर्छ। कति जनाको मिर्गौलाले पिसाब बनाउँदैन। तर बिरामीले पानी खाइरहेका हुन्छन्। पहिलो कुरा त पानी धेरै खानु हुँदैन २४ घण्टामा एक लिटर भन्दा धेरै पानी लगायत झोल पदार्थ खान पाइदैन।
नुन धेरै नखाने, नुन धेरै खाँदा उच्च रक्तचाप बढ्छ, मसलायुक्त खानेकुरा नखाने, कागती, गरम मसला लगायत मसलामा पोटासियमको मात्रा बढी हुने भएकाले सकेसम्म नखाने खाए पनि न्युन मात्रामा खाने गर्नुपर्छ।

हरियो तरकारी साग सब्जीमा पनि पोटासियमको मात्रा धेरै हुने भएकाले उमालेर पानी फाल्ने अनि पकाएर खाने गर्नुपर्छ। दूध, दही, माछा, मासु पनि धेरै खानु हुँदैन। त्यस्तै अन्य कुरामा हप्तामा दुई पटक डाइलासिस गराउने।

डाइलासिस गराउँदा प्रत्येक पटकमा दुई किलोभन्दा बढी तौल नबढेको राम्रो हुन्छ। दुईदेखि तीन किलो झिक्न सजिलो हुन्छ। बढी पानी झिक्दाखेरी बिरामीलाई असहज हुन्छ।
नियमित औषधी खाने जस्तै मिर्गौलाले रगत बनाउने, रक्तचापलाई ठिक राख्छ डाइलासिस गरे पनि ती काम मिर्गौलाले गर्न सक्दैन त्यसैले आइरन खाने, भिटामिन खाने। बिरामीलाई अन्य रोग जस्तै प्रेसर, सुगर, ग्याष्ट्राइटिस छ भने त्यो ठिक पार्नुपर्छ। प्रोटिनयुक्त खानेकुरा खाने लगायत विभिन्न कुरामा ध्यान दिनु आवश्यक छ।

मिर्गौला प्रत्यारोपणपछि पनि डाइलासिस गर्नुपर्ने हो ?
प्रत्यारोपण अगाडि मात्रै डाइलासिसको आवश्यकता पर्छ। यदि प्रत्यारोपण सफल भयो भने डाइलासिस गर्नुपर्दैन। तर कहिलेकाहीँ प्रत्यारोपण सफल भएन भने फेरि डाइलासिसमै फर्किनुपर्ने हुन्छ।

मिर्गौला प्रत्यारोपण सफल भयो भने स्वस्थ मिर्गौलाले गर्ने काम जस्तै रगत, पिसाब बनाउने, रक्तचाप नियन्त्रणमा राख्ने लगायतका काम गर्ने भएकाले डाइलासिस आवश्यक पर्दैन।

मिर्गौला प्रत्यारोपण सफल भयो भने स्वस्थ मिर्गौलाले गर्ने काम जस्तै रगत, पिसाब बनाउने, रक्तचाप नियन्त्रणमा राख्ने लगायतका काम गर्ने भएकाले डाइलासिस आवश्यक पर्दैन।

मिर्गौला प्रत्यारोपण गर्दा आफन्त वा नातेदारको मिर्गौला प्रत्यारोपण गरिएको हुन्छ। त्यो मिर्गौलाले यो अर्काको शरीर हो भनेर थाहा नपाओस र काम गरोस भनेर विभिन्न औषधी बाँचुञ्जेल खानुपर्ने हुन्छ।

मिर्गौला प्रत्यारोपण कत्तिको खर्चिलो छ ?
वीर अस्पताल, टिचिङ अस्पताल र भक्तपुर अस्पतालमा मिर्गौला प्रत्यारोपण निःशुल्क नै हुने गरेको छ। प्रत्यारोपणमा लाग्ने चार लाख रुपैयाँ खर्च सरकारले बेहोर्ने गरेको छ भने केही थप लाग्नसक्ने रकम मात्रै आफ्नो खर्च हुन्छ। त्यो बाहेक निजी अस्पताल नर्भिक, मेडिसीटी, ग्राण्डी, केएमसी, किस्ट अस्पतालमा मिर्गौला प्रत्यारोपण हुन्छ।

तर त्यो प्रत्यारोपणको खर्च सरकारले दिँदैन र ती अस्पतालमा प्रत्यारोपणको लागि मात्रै १५ देखि १६ लाख खर्च हुन्छ। त्यो बाहेक अन्य खर्च गरेर २० देखि २२ लाखको हाराहारीमा खर्च लाग्छ।

त्यस्तै सरकारले वार्षिक तीन लाख रुपैयाँ डाइलासिस गर्न दिन्छ। यदि डाइलालसिस गरेर बिरामी १० वर्ष बाँच्यो भने १० वर्षमा सरकारको ३० लाख खर्च हुन्छ। त्यो ३० लाख सरकारले मिर्गौला प्रत्यारोपणमा खर्च गर्ने हो भने मान्छेले स्वस्थ जीवन जिउन पाउँछ। त्यो डाइलासिस गर्ने ठाउँ अर्को बिरामीले पाउँछ।

मिर्गौला दान कस्तो व्यक्तिले गर्न पाउने हो ?
अहिलेको ऐनमा परिवार भित्रका सदस्यले मात्रै मिर्गौला दिन पाउने व्यवस्था छ। यदि परिवारमा सबैको उच्च रक्तचाप, सुगर छ वा कुनै सरुवा रोग छ भने दिन पाउँदैन। यो एउटा समस्या नै छ। तर आफन्त नातेदारबाट मिर्गौला प्रत्यारोपण गर्न सकिएन भने मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्न मिल्ने हो। नेपालमा २-४ ओटा त्यस्तो केशको सफल प्रत्यारोपण भयो। तर यसलाई निरन्तरता दिन सकिरहेको अवस्था छैन।

नेपालमा अहिले डाइलासिस गराउने बिरामीहरुको संख्या कस्तो छ ?
नेपालमा हरेक वर्ष करिब तीन हजार व्यक्तिको मिर्गौला बिग्रिन्छ। अहिले ८-९ हजार मानिस डाइलासिस गरेर दैनिकी चलाइरहेका छन्। सरकारसँग ५-६ सय भन्दा धेरैको डाइलासिस गर्ने क्षमता छैन।

जबकी तीन हजार मानिसलाई प्रत्यारोपणको अवश्यकता छ। प्रत्यारोपण सरकारी अस्पतालमा मात्रै गरेर नपुग्ने भएकाले निजी अस्पतालमा पनि एउटा सिलिङ राखेर सरकारले यति खर्च दिने र यति बिरामी आफैले तिर्ने भनेर केही व्यवस्था गरिदिए सहज हुनेथियो।

डाइलासिस गराइरहेका बिरामीमा कुन उमेर समूहका बढी छन् ?
जती कम उमेरमा मिर्गौला बिग्रियो त्यति नै समस्या हुन्छ। अहिले धेरै समस्या कहाँबाट भइरहेको छ भने काम गर्न भनेर विदेश जाने र त्यहाँबाट मिर्गौला बिगारेर फर्किनेको जमात बढ्दो छ। ३०/४० वर्षका युवा मिर्गौला बिगारेर बसिरहेको अवस्था छ। सरकारको लागि यो ठुलो चुनौती हो। त्यस्तै बिग्रदो जीवनशैली, आफूलाई कस्तो रोग छ भन्ने कुरा थाहा नपाएर पनि सानै उमेरमा मिर्गौला बिग्रेको पाइएको छ।

मिर्गौला बिग्रेको थाहा पाउनका लागि के कस्ता जाँच गर्नुपर्छ ?
मेरो शरीर कस्तो छ ? के समस्या छ भनेर वर्षमा एक पटक स्वास्थ्य जाँच गराउनुपर्छ। स्वास्थ्य जाँच गर्ने बानी नबसाल्दा यो समस्या धेरै देखिने गरेको छ। अहिले केही मात्रामा स्वास्थ्य बिमा गरेकाबाहेक अरु कसैले स्वास्थ्य जाँचलाई प्राथमिकतामा राखेका छैनन्।

उमेर बढ्दै जाँदा मिर्गौला पनि कमजोर हुँदै जान्छ। त्यसमाथि पनि उच्च रक्तचाप, मधुमेह, खानपानमा चुरोट, खैनी, जाँड रक्सी, माछामासु, दूधदही प्रशस्त खाने, शारीरिक व्यायाम नगर्ने त्यस्ता व्यक्तिमा मिर्गौलाको रोग लाग्ने सम्भावना बढी हुन्छ।

उमेर बढ्दै जाँदा मिर्गौला पनि कमजोर हुँदै जान्छ। त्यसमाथि पनि उच्च रक्तचाप, मधुमेह, खानपानमा चुरोट, खैनी, जाँड रक्सी, माछामासु, दूधदही प्रशस्त खाने, शारीरिक व्यायाम नगर्ने त्यस्ता व्यक्तिमा मिर्गौलाको रोग लाग्ने सम्भावना बढी हुन्छ। त्यो भन्दैमा सामान्य खानपान र जीवनशैली भएको मान्छेमा रोगै लाग्दैन भन्ने छैन।

मिर्गौलाको रोग धेरै बिरामीलाई बिना लक्षण नै देखिने गर्दछ। मिर्गौलाका ९० प्रतिशत बिरामी जाँच गर्न आउँदा मिर्गौला बिग्रेको छ भनेपछि पत्याउँदैनन्। त्यसैले आफूलाई कुनै रोगको लक्षण देखिए पनि नदेखिए पनि वर्षमा एक पटक स्वास्थ्य जाँच गर्नु आवश्यक छ।

मिर्गौला सम्बन्धी रोगबाट बच्न के गर्ने ?
मिर्गौला भनेको हाम्रो शरीरको महत्त्वपूर्ण अङ्ग हो। यसमा केही समस्या आयो भने उपचार गर्न गाह्रो छ। यी सबै कुरा आफ्नो ठाउँमा छन्। तर यदि हामीले दैनिक तीन लिटर पानी पिउने बानीको विकास गर्यौं, १० हजार पाइला हिँड्यौं, चुरोट, खैनी जाँड रक्सी खाएनौं, माछा, मासु, दूध दही कम खाएर हरियो साग सब्जी, गेडागुडी, फलफूलहरु खायौं, समयमा सुत्यौं, रक्तचाप सही राख्यौं, धेरै मोटो भए दुब्लाउने प्रक्रिया हामीले गर्यौं भने हाम्रो शरीर केही हदसम्म स्वस्थ रहन्छ।

साथै पिसाबमा प्रोटिन गएको छ, छैन, किड्नीले काम गरेको छ, छैन, भनेर थाहा पाउनको लागि हामीले वर्षको एक पटक अल्ट्रासाउण्ड, किड्नीको जाँच र पिसाब जाँच गरायौं भने केही रोग भए चाँडै पत्ता लाग्छ उपचार गर्न सकिन्छ। त्यसैले वर्षमा एक पटक मिर्गौला जाँच गर्नें, स्वास्थ जीवनशैली अपनाउने बानी बसालौं र स्वस्थ जीवन बिताऔं।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ९ : ०३ बजे

‘नेपाललाई आगामी दिनमा पनि सहयोग गर्न जर्मन सरकार तयार छ’

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि

‘जाने बेलामा गिरिजाप्रसादले मलाई देश सम्हाल्नुस् भन्नु भएको थियो’

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन प्रधानमन्त्री एवम्

नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टोलीहरूले आइसीसी यु–१९ महिला

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौं– काठमाडौं महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता

सुमन सायमीसहित पक्राउ परेपछि राजेन्द्र महतोको आपत्ति

काठमाडौं– नवगठित राष्ट्रिय मुक्ति पार्टीका नेता सुमन सायमी पक्राउ परेका