काठमाडौँ– कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई)ले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । टस जितेर फिल्ड रोजेको नेपालले ४० ओभरको अन्तिम बलमा १२१ रन बनाएको यूएईलाई अलआउट गरेको हो ।
पहिला ब्याटिङ गरेको यूएईका लागि मोहमद साहादले सर्वाधिक ४० रन बनाए भने हरर्पित सिंहले ३२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । यूएईलाई सस्तैमा समेट्न नेपालका लागि कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले तीनतीन विकेट हात पार्दा नन्दन यादव, राशिद खान र ललितनारायण राजवंशीले एकएक विकेट लिए । केही बेरमा यूएईले जवाफी ब्याटिङ गर्नेछ ।
नेपाल र युएईबीचको खेल दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा भइरहेको छ । जारी प्रतियोगितामा दुईवटै टोली पहिलो जितको आफ्नो पक्षमा पार्ने सोचमा छन् । नेपालले पहिलो खेलमा भारत ‘ए’ र युएईले पाकिस्तान ‘ए’ सँग हार व्यहोरेको थियो ।
पहिलो खेलमा नेपालले निकै खराब प्रदर्शन गरेको थियो । त्यस खेलमा भारत ‘ए’ ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल २६ रनमै अलआउट भयो । उक्त खेलमा नेपालले ३०६ रनको फराकिलो पराजय व्यहोरेको थियो ।
नेपाल सानदार पुनरागमन गर्दै युएईलाई हराएर पहिलो जित निकाल्न चाहन्छ । उक्त प्रतियोगितामा आठवटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । नेपालले समूह चरणमा पाकिस्तान ‘ए’ विरुद्ध पनि खेल्ने तालिका छ ।














प्रतिक्रिया