कमलादीको भ्वाङ - अध्ययन प्रतिवेदन लुकाएर सडक पुनःनिर्माण सुरु | Khabarhub Khabarhub

कमलादीको भ्वाङ – अध्ययन प्रतिवेदन लुकाएर सडक पुनःनिर्माण सुरु



काठमाडौं – गएको साउन २४ गते अविरल वर्षाका कारण टुकुचा खोलामा आएको बाढी थेग्न नसकी कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालय अघिको सडक भासियो ।

टुकुचाको भूमिगत नाला भासिएको सडकको ठीक तलबाट बग्छ । सो नाला नै ह्वाङ्गै देखिनेगरी सडक वारपार भ्वाङ परेपछि सवारी आवागमन बन्द गरियो ।

काठमाडौं महानगरले सूचना प्रकाशित गरी भासिएको सडक पुनर्निर्माण नहुन्जेलका लागि सवारी आवागमनमा रोक लगाएको थियो । काठमाडौं प्लाजादेखि कमलपोखरी सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइए पनि सडक विभागले सो सडक तत्काल मर्मत गरेन ।

जमिनभित्र पुरातात्विक संरचना तथा पुराना इँटाहरूको अवशेष फेला परेको जनाउँदै पुरातत्व विभागको टोलीले स्थलगत अध्ययन समेत गरेको थियो ।

विभागले गरेको अध्ययन प्रतिवेदन भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । जब कि विभागले टुकुचाको नाला अध्ययन गरेर फाइनल रिपोर्ट शहरी विकास मन्त्रालयमा पहिले नै बुझाएको जनाएको थियो । तर, सो अध्ययन प्रतिवेदन अहिलेसम्म ‘गुपचुप’ राखिएको छ ।

आइतबार खबरहबले उक्त सडक पुनर्निर्माणका विषय बुझ्न खोज्दा पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले अध्ययन प्रतिवेदन बाहिर दिन नमिल्ने बताए । उनले यसो भन्दै गर्दा सो भासिएको सडक झण्डै साढे दुई महिनापछि पुनर्निर्माण थालिएको छ । तर, विभागले चाहिँ अध्ययन रिपोर्ट नै लुकाएको छ ।

अर्थात्, भासिएको सो सडक तल जमिनमा पुरानो वा पुरातात्विक संरचना के थिए, किन संरक्षण गर्नुपर्‍यो ? किन सडक भासियो ? आम सर्वसाधारणका प्रश्नको जवाफमा पुरातत्व विभाग मौन बसेको छ ।

विभागले जम्माजम्मी आठ दिन स्थलगत रूपमा अध्ययन र निरीक्षण गरेर डेढ महिनाअघि नै अध्ययन प्रतिवेदन शहरी विकास मन्त्रालयमा पठाएको दाबी गरेको छ ।

मन्त्रालयमा पठाएको भनिएको अध्ययन प्रतिवेदनको ड्राफ्ट उपलब्ध गराइदिन अनुरोध गर्दा विभागका प्रवक्ता कुँवरले दिन नमिल्ने दाबी गरे ।

यसो भन्छन् प्रवक्ता कुँवर

विभागका प्रवक्ता कुँवरलाई खबरहबले सुरुमा कमलादीस्थित काठमाडौं महानगरको कार्यालय अघिको सडक पुनर्निर्माण सुरु भएको विषय उठाउँदै प्रश्न सोध्यो । भासिएको सडक मुनिको पुरानो इँटा र पुरातात्विक संरचना कहिले बनेको र किन संरक्षण गर्नुपर्‍यो भन्ने प्रश्न गरिएको थियो ।

सुरुमा त प्रवक्ता कुँवरले सबै कुरा अध्ययन रिपोर्टमा उल्लेख गरिएको बताए । तर, अध्ययन रिपोर्ट उपलब्ध गराइदिन आग्रह गरे पनि उनले कार्यालयले अध्ययन प्रतिवेदन यसअघि पनि सार्वजनिक नगरेको र अहिले पनि सार्वजनिक गर्न नमिल्ने बताए ।

तर, उनले अध्ययन प्रतिवेदनको सार उल्लेख गर्दै भने, ‘भासिएको सडकमुनिको इँटा र अन्य पुरातात्विक संरचना राणाकालीन समयमा बनेको रहेछ । प्रतिवेदनले पनि उक्त संरचना जोगाएर नै सडक निर्माण गर्न सुझाएको छ ।’

 

पुरानो इँटासहितको संरचनालाई कुनै अवरोध नगरी कङ्क्रिट वा ढलान गरेर आर्कबृज शैलीमा सडक पुनर्निर्माण गर्न सुझाव दिएको विभागका प्रवक्ता कुँवरले बताए ।

उनले भने, ‘पुरानो संरचनालाइ कुनै ‘टच’ नगर्ने वा जोगाएर नै सडक पुनर्निर्माण गर्नुपर्छ भन्ने अध्ययनको सार हो ।’

अध्ययन रिपोर्टको सार

प्रवक्ता कुँवरले अध्ययन रिपोर्टको ड्राफ्ट दिन आनाकानी गरे पनि पुरातात्विक संरचना जोगाएरै अघि बढ्नुपर्ने अध्ययन प्रतिवेदनको सार रहेको बताए ।

उनका अनुसार राणाकालीन समयमा विभिन्न शैलीका इँटा र अन्य संरचना प्रयोग गरी आर्कशैली अर्थात सानो सुरुङ शैलीमा टुकुचा खोलामाथि संरचना निर्माण गरिएको थियो ।

परम्परागत संरचनालाई यथावत राखेर वा जोगाएर सडकलाई नयाँ प्रविधिमार्फत निर्माण गर्न सकिने अध्ययन प्रतिवेदनले औंल्याएको कुँवरले जानकारी दिए ।

‘राणाकालीन समयमा सडक निर्माण गर्दा त्यस बेलाको सवारीसाधनको चाप, सडकको घनत्व र क्षमताका आधारमा सडकको डिजाइन गरिएको रहेछ,’ कुँवरले भने, ‘तर, समय विकसित हुँदै जाँदा काठमाडौंभित्र पनि सवारीसाधनको चाप बढेको, पिँच सडकका कारण वर्षाको पानी थुनिँदा पनि सडक भासिने अवस्था निम्तिएको हो ।’

राज्यलाई गिज्याइरहेको भ्वाङ

पछिल्लो साढे दुई महिनासम्म काठमाडौं महानगरपालिकाको कार्यालय अघिको सडकको ‘भ्वाङ’ ले महानगर र सिङ्गो सङ्घीय सरकारलाई नै गिज्याइरह्यो ।

सडकको पुननिर्माणमा निकै ढिलाइ हुँदा आम सर्वसाधारण र सवारीचालकहरूले सास्ती ब्यहोर्नुपर्‍यो । सर्वसाधारणले दुःख पाउँदा सङ्घीय सरकार र स्थानीय तह काठमाडौं महानगरका अधिकारीहरूले कुनै चासो देखाएनन् ।

यो पनि –

सिंहदरबार र बालेन्द्रलाई नङ्ग्याउने पानी र जाम

काठमाडौं महानगरपालिका पनि पुरातात्विक संरचना जोगाएर विकास निर्माण कार्य अघि बढाउनुपर्ने पक्षमा छ । भासिएको सडक महानगरपालिकाको क्षेत्राधिकारमा नपर्ने भएकाले भएकाले पनि महानगरपालिकाले हस्तक्षेप गर्न नमिलेको महानगरका प्रवक्ता नवीन मानन्धर बताउँछन् ।

‘पुरातात्विक संरचनालाई जोगाएर नै विकास अघि बढाउनुपर्ने कुरामा महानगर गम्भीर छ । अहिले सडक विभागले सडक निर्माणको काम नै सुरु गरिसक्यो,’ उनले भने, ‘नयाँ प्रविधिमा आर्कबृज शैलीमा सडक पुनर्निर्माणका लागि निर्णय भइसकेको छ ।’

प्रवक्ता मानन्धर लामो समय सडक निर्माण अघि नबढ्नुका पछाडि सार्वजनिक खरिद नियमावलीलाई दोष दिन्छन् । ‘सार्वजनिक खरिद नियमावलीअनुसार अघि बढ्नुपर्ने कारणले पुनर्निर्माणमा ढिलाई भएको हो,’ उनले भने, ‘नियम पूरा नगरी कुनै पनि प्रक्रिया अघि बढाउन पाइँदैन ।’

सडक जताततै भ्वाँङ, छठसम्म निर्माण सक्ने लक्ष्य

दरबारमार्ग हुँदै काठमाडौं प्लाजादेखि कमलपोखरी सडकमार्गमा मात्र होइन, गएको वर्षाले काठमाडौंका अन्य सडकहरू पनि भासिए ।
लगातारको वर्षाका कारण चलेको बाढीको पानी जमिनमुनि पस्दा र डुबान हुँदा सडक भ्वाँङ पर्ने क्रम बढ्यो ।

गत महिनामात्रै कमलादीस्थित प्रज्ञा प्रतिष्ठान अघिको सडक पनि भासिएको थियो । सडकको केही खण्ड भासिएपछि सडक विभागको टोलीले दुई दिन लगाएर उक्त भ्वाँङ टाल्ने काम गर्‍यो ।

विभागका अनुसार काठमाडौं प्लाजा नजिकैंको सडक निर्माण सुरु भएको र आउँदो छठसम्म सडक निर्माण सम्पन्न गरी आवागमन सुचारु गर्ने लक्ष्य छ ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र खासगरी सडक विभागअन्तर्गत पर्ने सडक भासिँदा त्यसको निर्माण कार्यमा निकै ढिलाइ हुने गरेको छ ।

अविरल वर्षाका कारण अनामनगर, घट्टेकुलो, पुतलीसडक, लैनचौर, लाजिम्पाट, दरबारमार्ग र कमलादी लगायतका अन्य सडकखण्डमा पनि सडक भासिएको थियो । साना साना सडकका भ्वाँङहरू टालेर विभागले यातायात सञ्चालनयोग्य बनाएको थियो ।

यो पनि –

कमलादीपछि बानेश्वरको सडकमा पर्‍यो भ्वाङ (तस्बिरहरू)

साउन तेस्रो साता परेको अविरल वर्षाले काठमाडौं उपत्यकाभित्र नख्खुखोला, कुलेश्वर, बल्खु र सुकुम्बासी बस्तीलगायत क्षेत्रहरू डुबानमा परे ।

सडकहरूमा हिलो जम्ने, खाल्डाखुल्डी पर्ने र कतिपय ठाउँमा सडक नै भासिँदा दैनिक यात्रा गर्ने सर्वसाधारणले सास्ती खेप्नुपर्‍यो । त्यतिखेर बाढीले प्रभावित अधिकांश सडकमा दूरावस्था यथावत् नै छ ।

चिनियाँ ठेकेदार कम्पनीले दोस्रो चरणको चक्रपथ विस्तारमा गरेको ढिलाइ कारण कलङ्की–बसुन्धारा सडकखण्डले पनि सिंगो संघीय राजधानी काठमाडौंलाई नै गिजाइरहेको छ ।

कलङ्की–बसुन्धारा खण्डमा चक्रपथ विस्तार गर्न दुई वर्षअघि नै पूर्वतयारी र साइट क्लियरेन्सको काम सम्पन्न भए पनि सडक विस्तार भने अझै सुरु हुन सकेको छैन् । जसकारण उक्त सडकखण्डअन्तर्गत पर्ने कलङ्की, स्वयम्भू, बालाजु, माछापोखरी, गोङ्गबु, बसपार्क र बसुन्धारा क्षेत्रमा यात्रा गर्ने यात्रु र सर्वसाधारण हिलो र धुलोबाट आजित हुने गरेका छन् ।

सडकका दुवैतर्फ माटो लगायत निर्माण सामग्री थुपार्ने, यत्रतत्र पार्किङ गर्नेलगायत कारण चक्रपथको सो खण्डमा सडक दुर्घटना जोखिमसमेत उच्च छ ।

‘सरकारले पहल नगर्दा यात्रुले दुःख पाए’

काठमाडौं उपत्यकासहित देशभरका महत्वपूर्ण राष्ट्रिय राजमार्ग तथा सडकमार्गका अधिकांश खण्डमा खाल्डाखुल्डी परेका कारण यातायात सञ्चालनमा समेत बाधा पुगिरहेको यातायात व्यवसायीहरूको गुनासो छ ।

सरकारले दशैंअघि नै सडक मर्मत र खाल्डाखुल्डी पुरेर यातायात सञ्चालन गर्ने भने पनि प्रतिवद्धता पूरा नगरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला बताउँछन् ।

उनले भने, ‘चाडपर्वअघि नै सबै ठाउँका सडक मर्मत र खाल्डाखुल्डी पुर्ने जिम्मेवारी लिएको सरकारले सहज यातायात सञ्चालनका लागि भूमिका खेलेन, सबैजसो यात्रुहरूले यातायातको समस्या भोग्नुपर्‍यो ।’

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ५ : ३५ बजे

हिजबुल्लाहद्वारा आइतबार दिनभरमा इजरायलमाथि १०० क्षेप्यास्त्र प्रहार

जेरूसेलम – लेबनानी हिजबुल्लाह समूहले इजरायलविरूद्ध आइतबार दिनभरिमा १०० भन्दा

विवाहको ६ वर्षपछि बुवा बने प्रिन्स

काठमाडौं- विभिन्न टेलिभिजन कार्यक्रमबाट लोकप्रियता कमाएका भारतीय मोडल तथा कलाकार

हेटौँडा सिमेन्ट उद्योगले तिहारपछि सिमेन्ट उत्पादन गर्ने

बागमती – हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापन पक्षले तिहारपछि सिमेन्ट उत्पादन

कक्षा १२ को मौका परीक्षामा अङ्ग्रेजीमा धेरै अनुत्तीर्ण

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको कक्षा १२

राष्ट्रिय भलिबल टोलीका कप्तान श्रेष्ठद्वारा खेलबाट सन्यास

काठमाडौं – नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले राष्ट्रिय