विदेशी मुद्रा सटहीमा लचिलो राष्ट्र बैंक : आवश्यकता कि प्रभाव ? | Khabarhub Khabarhub

विदेशी मुद्रा सटहीमा लचिलो राष्ट्र बैंक : आवश्यकता कि प्रभाव ?



काठमाडौं – नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले असोज ३० गते ‘एकीकृत परिपत्र–२०८०’ लाई संशोधन गर्दै नीतिगत व्यवस्थामा व्यापक परिवर्तन गर्‍यो ।

मुद्रा सटही सीमामा सयौं प्रतिशत परिवर्तन, विदेश भ्रमणमा गरिने खर्च, आयातमा कागजी प्रक्रिया, विदेशमा उपचार लगायत विषयमा राष्ट्र बैंकले परिपत्र संशोधनमार्फत् हदैसम्म लचक नीति अख्तियार गरेको छ ।

परिपत्र संशोधनमार्फत् राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाले विभिन्न व्यावसायिक क्षेत्र र व्यक्तिहरूले प्राप्त गर्ने विदेशी मुद्रा सटहीको दायरा फराकिलो भएको छ ।

संशोधन गरिएको केही व्यवस्थाले अति आवश्यक क्षेत्रको आयातमा भुक्तानी सहजीकरणलाई सम्बोधन गरेको छ । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजलाई दिइने विदेशी मुद्रा सटही सुविधा पनि दोब्बरले बढाइएको छ ।

होटेलमा पर्यटकले दैनिक साट्न पाउने र विदेशबाट दैनिक पठाउन पाइने विदेशी मुद्राको सीमा लगायतका विदेशी मुद्रा आप्रवाहसँग सम्बन्धित विषयलाई बढाइएको भए पनि आयात र विदेशमा गरिने खर्चको सीमा बढाउँदा संशोधित परिपत्रकै कारण मुलुकको विदेशी मुद्रा सञ्चितिमा प्रभाव पार्न सक्छ ।

मुद्रा सटहीमा ठूलो परिवर्तन

एकीकृत परिपत्र संशोधनले नेपाल भित्रिनसक्ने विदेशी मुद्राको विषयमा भन्दा पनि बाहिरिन सक्ने विदेशी मुद्राको विषयलाई बढी सहजता गराउन पुगेको छ ।

नयाँ संशोधित व्यवस्थाअनुसार एक लाख अमेरिकी डलर बराबरको हवाईजहाज, टेलिकम्युनिकेसन र चिकित्सकीय उपकरण लगायत अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट ल्याउन सकिने भएको छ । जब कि यसअघिसम्म जम्मा १० हजार अमेरिकी डलर सम्मको त्यस्ता बस्तु मात्रै आयात गर्न सकिन्थ्यो ।

नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले पछिल्लो समयमा जहाज र सूचना–प्रविधि क्षेत्रसँग सम्बन्धित सामग्रीहरूको मूल्यमा आएको वृद्धिका कारण सो व्यवस्था गरिएको बताएका छन् ।

केन्द्रीय बैंकको नयाँ व्यवस्थासँगै अब नेपालबाट विदेश उपचार गर्न जानेले एकपटकमा १५ हजार अमेरिकी डलरसम्मको मुद्रा सटही सुविधा प्राप्त गर्न सक्ने भएका छन् । यसअघि यो सीमा १० हजार अमेरिकी डलरमा सीमित थियो । सो सुविधा प्राप्त गर्न नागरिकले बाह्य मुलुक गई उपचार गराउन चिकित्सकको सिफारिस लगायतका कागजात पेस गर्नुपर्ने हुन्छ ।

नयाँ व्यवस्थाले विदेशी विश्वविद्यालयबाट अनुमतिपत्र लिएर नेपाल सञ्चालनमा भएका कलेजहरूलाई २५ हजार अमेरिकी डलर बराबरको मुद्रा सटहीको सुविधा दिएको छ । यसअघि उल्लेखित सुविधा १२ हजार अमेरिकी डलरमात्रै थियो ।

नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर ८० भन्दा बढी स्कुल कलेज सञ्चालन हुँदै आएका छन् । राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार ती स्कुल तथा कलेजले अब नेपालबाट विदेशी विश्वविद्यालयमा विगतको तुलनामा दोब्बर विदेशी मुद्रा पठाउन सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक नेपालले राष्ट्र बैंकले तोकेको सीमा भन्दा कम रकम ती कलेजहरूले शिक्षा मन्त्रालयको सिफारिस लिएर वाणिज्य बैंकहरूमार्फत् पठाउन सक्ने बताए ।

त्यस्तै, परिपत्रको संशोधनले विदेशबाट कुनै प्रयोजनको लागि नेपालमा आएको रकम फिर्ता गर्ने व्यवस्थालाई पनि दोब्बर बनाएको छ ।

विगतमा ५ हजारसम्म डलरसम्म फिर्ता गर्न पाउने व्यवस्थालाई संशोधन गरेर केन्द्रीय बैंकले १० हजार अमेरिकी डलर बनाएको हो ।

संशोधित एकीकृत परिपत्रः

विदेशी पर्यटकलाई सटही र रेमिट्यान्स सीमा पनि वृद्धि

राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधनमार्फत् विदेशी पर्यटकले नेपाल घुम्न आउँदा होटेलमा नै साटन सक्ने विदेशी मुद्राको परिमाणलाई तेब्बर बनाएको छ ।

विगतमा पर्यटकहरूले होटेलमा एक दिनमा ३०० डलरसम्म सटही गर्न पाउने व्यवस्था रहेकोमा नयाँ संशोधित व्यवस्थाले त्यसलाई बढाएर १ हजार पुर्‍याएको हो । पर्यटकले होटेलमा साट्न पाउने रकमको सीमा बढाएसँगै भने ठूला होटेल व्यवसायीहरू खुसी भएका छन् ।

होटेल एसोसिएसन नेपाल (हान)का महासचिव साजन शाक्यले खबरहबसँग कुरा गर्दै राष्ट्र बैंकले मुद्रा सटहीसँग सम्बन्धित विषयमा गरेको नयाँ व्यवस्था सकारात्मक भएको बताए ।

‘यसले विदेशी पर्यटकलाई नेपालमा खर्च गर्न सहज बनाएको छ, हामीले पुरानो सीमालाई हटाएर १२ हजार अमेरिकी डलरसम्म पुर्‍याउनुपर्छ भनेका थियौं’, उनले भने, ‘सरकारले १ हजार पुर्‍याएको छ, यो सकारात्मक हो, यसले नेपालमा विदेशी मुद्रा थप भित्र्याउन सहयोग पुर्‍याउँछ ।’

साथै राष्ट्र बैंकको नयाँ व्यवस्थाले विदेशबाट व्यक्तिलाई एकपटकमा पठाउने रकमको हकमा २० लाखको सीमा लागू नहुने नयाँ व्यवस्था पनि लागू गरेको छ ।

सञ्चिति जोखिममा पर्ने सम्भावना कति ?

राष्ट्र बैंकले गरेको नयाँ झण्डै आधा दर्जन बढी व्यवस्थाले विदेशमा पैसा खर्च गर्न र पठाउन सहज बनाएको देखिन्छ ।

पछिल्लो समयमा नेपालको वैदेशिक कुल व्यापारको ग्राफ घट्दै गएको र रेमिट्यास आप्रवाह बढ्दै जाँदा विदेशी मुद्राको सञ्चिति थपिँदै गएको छ ।

केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म नेपालमा विदेशी मुद्राको सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड पुगेको छ । साथै सोधनान्तर स्थिति एक खर्ब एक अर्ब ७७ करोड रुपैयाँले बचतमा छ ।

यो पनि –

नेपालसँग भएको विदेशी मुद्राले १३.७ महिनाको आयात धान्न पुग्ने

पछिल्लो विदेशी मुद्रा सञ्चितिले १३.७ महिनाको वस्तु तथा सेवाको आयातलाई धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष ०७८/७९ को बैशाखमा नेपालमा विदेशी मुद्रा सञ्चिति घटेर ६.६ महिनाको वस्तु तथा सेवा मात्रै आयात गर्न सकिने अवस्थामा पुगेको थियो । अर्थात् त्यसबेला ११ अर्ब ४६ करोड ९ लाख मात्रै विदेशी मुद्रा सञ्चिति भएको थियो ।

विदेशी मुद्राको सञ्चितिमा परेका् प्रभावलाई देखाउँदै राष्ट्र बैंकले प्रतितपत्र लगायतका आयातसँग सम्बन्धित धेरै विषयमा कसिलो नीति लिँदै आएकोमा पछिल्लो समयमा फेरि खुकुलो नीति लिन थालेको छ ।

राष्ट्र बैंकले मुद्र सटहीसम्बन्धी लिएको पछिल्लो नीतिले नेपालमा भएको विदेशी मुद्राको सञ्चितिमा नकारात्मक प्रभाव नपार्ने नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालको भनाइ छ । ठूलो रकम सटहीमा नेपाल राष्ट्र बैंकले काम गर्दै आएकोमा अब वाणिज्य बैंकहरूलाई जिम्मेवारी दिइएको उनले बताए ।

‘नयाँ व्यवस्थाले विदेशी मुद्रा सटही गर्न राष्ट्र बैंक आइरहन पर्ने व्यवस्थालाई केही कम गरेर वाणिज्य बैंकहरूलाई जिम्मेवारी दिएको हो’, उनले भने, ‘अहिलेको व्यवस्थाले राष्ट्र बैंको भारलाई कम गरेको हो, विदेशी मुद्राको सञ्चितिलाई असर गर्दैन ।’

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १२ : २६ बजे

बीआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बेल्ट एण्ड रोड (बीआरआई)मा

चिलिमेका तीन जलविद्युत आयोजना तयार, थपियो १६८ मेगावाट बिजुली

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा

ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल

एजेन्सी – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर एटलान्टिक

चार महिनामा साढे चार खर्ब व्यापार घाटा

काठमाडौं – चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो चार महिनामा

इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहारविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं – इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहारविरुद्ध काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन