‘अब नयाँ पुस्ताले सत्ता खोस्नुपर्छ’ | Khabarhub Khabarhub

‘अब नयाँ पुस्ताले सत्ता खोस्नुपर्छ’

प्रणालीमा समस्या छैन, सिंहदरबार छिरेका ड्राइभर जँड्याहा भए



जनतामा प्रणालीका विरुद्धमानिराशा होलाजस्तो लाग्दैन । निराशाका दुई कारण छन् : एउटा– जुन दल क्रान्तिको नारा लिएर सिंहदरबार छिरेका थिए त्यहाँ छिरेपछि केही पनि बदलिएन । सिंहदरबारले उनीहरूलाई नै बदल्यो ।सिंहदरबारबाट जनताको आकांक्षा, आवश्यकता सम्बोधन भएन । दोस्रो – राजनीतिक दलका नेताहरूमाअनैतिक व्यवहारिक देखियो । कुनै पनि नेता योचाहिँ स्वच्छ छन् भन्ने स्थिति भएन । जुनै पार्टी हेरे पनि उस्तै देखिए ।

जनताले सुशासन र परिवर्तन मात्रै खोजेको होइन, आफ्नो जीवनमा परिवर्तन पनि खोजेको हो । शाब्दिक महत्वको परिवर्तन खोजेको हो । गरीखाने वर्गले, गरिबहरूले परिवर्तन खोजेको हो । धनी मान्छेलाई, सिंहदरबारमा बस्ने मान्छेहरूका लागि त समृद्धि आएकै छ नि । गरीबहरूले शिक्षा, स्वास्थ्य, कृषि र उद्योगमा परिवर्तन खोजेका थिए, त्यो आएन ।

विदेशिने जुन सिस्टम छ,यो गणतन्त्र आउनुभन्दा पहिला नै, ४० को दशकमै सुरु भएको हो । ६० को दशमा आएर लाखौँको संख्यामा हुन थाल्यो । त्यसकारण गणतन्त्र आएपछि मात्र विदेश जाने प्रक्रिया सुरु भएको हैन । यहाँका राजनीतिक नेताहरूले यहाँ भएका उद्योग धन्दाहरू धमाधम बेच्न थालेपछि रोजगारी खोसियो र यो अवस्था आयो ।

आज भन्दा १४ वर्षअघि नेपालले विदेशबाट ८४ पैसा बराबरको आयात गर्दा एक रुपैयाँ बराबरको निर्यात गर्थ्यो अहिले एक रुपैयाँको निर्यात गर्दा १० रुपैयाँको आयात गर्नुपर्ने अवस्था सिर्जना भएको छ । हामी खाली अदुवा, अलैँची मात्रै बेचेर, छाती फुलाएर बस्यौँ । तर, पहिला नेपालले उन्नत ढङ्गको निर्यात गर्थ्यो । गणतन्त्र आएर, नयाँ संविधान आएर यो अवस्था आएको हैन ।

दलहरूले रोजगारी दिने, गाउँमा गरीखाने वर्गलाई अवसर दिने भनेका थिए । तर उनीहरू जब सिंहदरबारमा पसे, तब परिवर्तनको एजेन्डा भुले । उनीहरू आफू परिवर्तन हुने एजेन्डामा मात्र फोकस भए । आफ्नो जीवनस्थितिमा, वर्गमा परिवर्तनमा भुले । चप्पलेहरु आएका थिए, महले भएर निस्के ।दशै वर्षमा यही कुराले जनतामा ‘फ्रस्टेसन’ छायो र यो विरोध हुनु स्वाभाविक पनि छ ।

योबीचमा सडक नै नबनेको, स्वास्थ्य उपचारको केन्द्र नबनेको होइन । तर, त्यति मात्रैले जनताको जीवनमा परिवर्तन आउन सकेन । नेताहरूको भ्रष्ट व्यवहारका कारणले पनि जनतामा निराशा सिर्जना भएको हो ।

वैकल्पिक नेतृत्वको रिक्तता

हो, नयाँ पुस्ता नजन्मिएकै हो । सबैभन्दा माथिल्लो नेतृत्वले उदाहरणीय भूमिका निर्वाह गरेपछि नै तलको नेतृत्व पनि उदाहरणीय नेतृत्व हुने हो । सबैभन्दा माथिको नेतृत्व नै उदाहरणीय र आदर्श बन्न सकेन र तल्लो पुस्तामा पनि भ्रष्टाचार मौलाउन थाल्यो ।

हिजो कुर्सीमुनिबाट भ्रष्टाचार हुन्थ्यो भने अहिले त खुलारूपमा बाहिरै भ्रष्टाचार हुने गरेको छ । यहाँसम्म कि अदालतसमेत भ्रष्ट भए । राजनीतिक नेतृत्व, न्यायमूर्तिहरू र प्रशासन पनि भ्रष्ट भएका कारणले नै यो अवस्था आएको हो ।

कम्युनिष्टहरु कमाउनिस्ट जस्ता भए

कम्युनिस्टहरुको पनि चरित्र त्यही देखापर्‍यो । माओवादीले जतिबेला सत्ता हातमा पारेको थियो, त्यसबेला नै परिवर्तन गर्न थालेको भए सम्भव हुने थियो । सबै परिवर्तनका लागि तयार भएका थिए, डराएका थिए । तर, त्यो काम माओवादीबाट भएन ।

दोस्रो चोटि दुई तिहाइको बहुमतसहित आउँदा पनि परिवर्तन थालेको भए मान्छेहरूले केही त भयो भन्थे होला । त्यो पनि भएन । दुईवटा परिवर्तन गराउने ऐतिहासिक अवसर कम्युनिस्टहरूले गुमाए । त्यस कारणले यी सबै पार्टी उही ड्याङका मुला भए ।

अरु देशमा पनि कम्युनिस्ट नेता भए पनि नभए पनि विकास त हुन्छ । तर, कम्युनिस्ट भनेको ब्यक्तिवादमा विश्वास नगर्ने, समुदायको हित नै मेरो हित हो भन्ने सोच बोकेको हो । तर, यहाँ त नाम कम्युनिस्ट, व्यवहारमा कमाउनिष्ट भयो । कम्युनिस्टको नै बदनाम भयो । एमाले हेर्‍यो उस्तै,अर्को हेर्‍यो त्यस्तै । मान्छेको आशा माओवादीमा थियो तर यसले पनि केही गरेजस्तो देखिँदैन ।

सामन्तवादको ठाउँमा को आयो ?

सामन्तवाद नेपालमा फाल्नुपर्थ्यो र फालियो पनि । तर,दलहरू आफै नयाँ सामन्त भएर पैदा भए । अहिले पनि संघीयता आफैले ल्याएका हुन् र यसलाई फ्याल्न आफैं लागेका छन् । स्रोत साधनजति सबै केन्द्रमा थुप्राएर प्रदेशलाई अधिकार दिने कानून बनाएनन् । स्थानीय तहमा मान्छे नखटाएर उनीहरूले आफैंले ल्याएको सिस्टमलाई आफैंले असफल बाटोमा लैजान्छन् भने बचाउने कसले त ?

एउटा हिन्दी गीत ‘मझधार में नइया डोले तो माझी पार लगाए, माझी जो नाव डुबोए उसे कौन बचाए?’ जस्तै भएको हो नेपालमा ।

अबको विकल्प के त ?

लोकतन्त्रको विकल्प योभन्दा उन्नत लोकतन्त्र मात्रै हो । यसको विकल्पमा सामन्ततन्त्र ल्याउने होइन । यी नेतृत्वको विकल्प यो भन्दा भ्रष्ट नभएको स्वच्छ नेतृत्व हो ।

अहिले प्रणालीकै समस्या हो भन्ने लाग्दैन मलाई । अहिलेकै संविधानलाई राम्रोसँग लागू गर्ने हो भने नेपालमा ठूलो परिवर्तन गर्न सकिन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, गास, बास र कपास सबैको संरक्षण गर्छु भनेर आएको संविधान हो यो । यो एउटा कागज हो, यो त लागू गर्नुपर्छ ।

अहिलेका नेताहरु असक्षमजस्तो लाग्दैन । उनीहरू इमान्दार हुने र आफैं स्वच्छ भएर आफ्नो बाचा नबिर्सने हो भने देश चलाउने एक से एक मान्छे छन् । तर, रातारात निम्नमध्यम वर्गबाट उच्च वर्ग बन्ने हो भने जुन मन्त्री आए पनि यस्तै हो ।

मान्छेहरू जो अहिले भ्रष्ट देखिएका छन्, तिनलाई फाल्नुपर्छ । तिनलाई फाल्न नयाँ पुस्ता आउनुप¥यो । नत्र संविधान जतिपटक नयाँ बनाएर पनि काम छैन । अमेरिकामा त्यही संविधान २०० वर्ष अगाडिदेखिकै चल्दैछ । स्वीटजरल्याण्डमा त्यही छ । तर, नेपाल हरेक १०÷१० वर्षमा संविधान बदल्दैछ ।

संविधान बदल्नेमा नेपाल नामी हुनुछैन, संविधानले चलाउने मान्छे बदल्नुमा नेपाल नामी हुनु परेको छ । संविधान जति नै राम्रो ल्याए पनि नयाँ मान्छे नल्याएसम्म केही फरक हुँदैन ।

लामो समयसम्म निराशा बदलियो भने यो व्यवस्था नै खराब हो, व्यवस्था नै बदल्नुपर्‍यो भन्ने दिन पनि आउँछ । कारण, व्यवस्था हैन नेतृत्व हो । लामो समयसम्म यस्तै अवस्था रहँदा मान्छेहरूमा धैर्यता हुँदैन । तर, कारण व्यवस्था हैन, जस्तोसुकै व्यवस्था ल्याए पनि यस्तै असक्षम र भ्रष्ट मान्छे नेतृत्वमा रहने हो भने त्यो व्यवस्थाले पनि काम गर्ने वाला छैन ।

हामीले नयाँ पुस्तालाई निराशा दिनुहुँदैन । नयाँ, सक्षम मान्छेहरू नभएको हैन । मान्छे एकजना बदल्दा कति फरक हुन्छ भन्ने कुरा त नेपाल बिद्युत् प्राधिकरणलाई पनि हेर्न सकिन्छ । पहिला हामीले १६ घण्टासम्म लोडसेडिङ भोगेका थियौँ । तर, एउटा मान्छे फेर्दा प्राधिकरण अहिले बिजुली बेच्नेमा गएको छ । नाफामा नै गएको छ । नेपालले ८ देखि १२ अर्बको बिजुली भारतलाई बेचिरहेको छ । ५ देखि १० वर्षको बीचमा यो सम्भव भएको छ, हिजो जुन असम्भव भनिएको थियो ।

अब सत्ता खोस्नुपर्छ

राम्रा मान्छेहरु ठीक ठाउँमा पर्नुप¥यो । मान्छे नै नभएर राजतन्त्र खोज्नुपर्ने अवस्था आइसकेको छैन । राम्रा मान्छे सही ठाउँमा आउन सकेका छैनन् । अब ती राम्रा मान्छेले पुरानाबाट सत्ता खोस्नुप¥यो या त मिल्काउनु पर्‍यो ।

हरेक पार्टीमा उनीहरूका सक्षम मान्छे पर्दा त क्षमता त देखाएका छन् । राम्रो गरेर देखाएका मान्छेहरूको कमी भएको होइन । अब हामी नागरिक आन्दोलनले पनि ती मान्छेहरूलाई ल्याउन र पुरानालाई निकाल्नका लागि जोड गर्नुपर्‍यो । समाज र नागरिकले पनि जोड दिएर यी भ्रष्ट मान्छेलाई चुनावमा जिताएर पठाउनुभएन ।

जनताको पनि ठूलो कमजोरी भनेको यी नेताबाट नितान्त निराशा छौँ तर भोट हाल्ने बेलामा तिनीहरूलाई नै हाल्ने गर्छौँ । तिनै मान्छे सत्तामा आउँछन् । हाम्रो हातमा पनि साँचो छ, भ्रष्ट मान्छेलाई चुनावबाट हराऔँ न । कार्यकर्ताहरूले पनि पार्टीको महाधिवेशन हुन्छ,त्यहाँबाट पनि यिनलाई बिदा गर्न सक्छन् ।

राम्रो गाडी चलाउने ड्राइभर जँड्याहा भयो भने त भीरमुनि पुग्छ। त्यही गाडी हो, अहिलेको संविधान । संविधानमा जनताले खोजेको निःशुल्क शिक्षा, स्वास्थ्य, गास, बास, कपास मौलिक हकका रूपमा राखिएको छ। यसलाई चलाउने व्यक्तिले व्यवहारमा लागु नगर्नुको परिणाम नै हो यो । त्यसैले गाडी फेर्ने हैन,ड्राइभर फेर्नु पर्‍यो । अहिले भएको ड्राइभरको पुस्तालाई फेरेर नयाँ पुस्ताले त्यसलाई जबरजस्ती फाल्न सक्नुपर्‍यो ।

नेताहरूले आफ्नो सक्षमता प्रदर्शन नगरेको र आफूले भनेको बचन आफूले पूरा नगरेका कारणले विश्वास गुमेको हो ।जस्तो बोल्ने त्यस्तै गर्ने मान्छे यहाँ धेरै छन्, तिनलाई जनताले, कार्यकर्ताले ल्याउनु पर्‍यो। कार्यकर्ताले पनि उनीहरूलाई छोड्छन् । मैले पालो पाउँला भन्ने हैन, बोल्नुपर्‍यो । आवाज उठाउनुपर्‍यो । अनि मात्र परिवर्तन आउँछ । परिवर्तन एउटा क्रान्ति गरेर आउँछ ।

(राजनीतिक विश्लेषक श्याम श्रेष्ठसँग रेडियो क्यान्डिडका लागि कृष्ण तिम्सिनाले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ८ : २१ बजे

संस्कृति मन्त्रीले पार्टीमा उजुरी दिएलगत्तै अदालततिर सांसद बजगाईं

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे नेपाली कांग्रेसमा

नुवाकोटकोटको माझिटारमा शीतभण्डार निर्माण

त्रिशूली– जिल्लाको विदुर नगरपालिका–५ माझिटारमा छ हजार मेट्रिकटन क्षमताको शीतभण्डार

आजको कार्टुन : बाघलाई अनुहार देखाउने ऐना चाहियो

खबरहबका लागि दीपक गौतमले बनाएको कार्टुन यहाँ प्रस्तुत गरेका छौँ

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु

धमाधम हटाइँदै जुद्ध शालिक क्षेत्रबाट बिजुलीका पोल (तस्बिरहरू)

काठमाडौं- जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ विस्तार अभियान अझै जारी छ