लेटाङका युवा रुसमा, परिवारको रुवाबासी | Khabarhub Khabarhub

लेटाङका युवा रुसमा, परिवारको रुवाबासी

पीडित परिवारको याचना - स्वदेश फर्काउने व्यवस्था होस्



लेटाङ /मोरङ (स्थलगत रिपोर्ट) – उत्तरी मोरङको सुन्दर गाउँ लेटाङमा ३९ बर्षीय टीका गुरुङको आफनै मोटरसाइकल ग्यारेज थियो । उनको दैनिकी त्यही ग्यारेजमा बित्ने गरेको थियो । करिब ६ बर्षसम्म ग्यारेज चलाएका टीका पछिल्लो समयमा ग्यारेजबाट राम्रो आम्दानी हुन छाडेपछि पेशा परिवर्तन गर्ने सोचमा पुगे ।

टीकाले चलिरहेको ग्यारेज बिक्री गरे । ग्यारेज बेचेर उनी विदेश जाने सोचमा थिए । ठीक त्यहीबेला लेटाङमा रुसी सेनामा भर्तीको तुफानी हावा चल्यो ।

बिचौलियाहरुले लेटाङमा यस्ता ठगी धन्दा चलाइरहन्छन् । कहिले नेटवर्किङ बिजनेश भनेर ठग्छन् त कहिले भारतमा रोजारी लगाइदिने भनेर ठग्छन्  । कहिले कुबेत पठाइदिने भनेर पैसा उठाउँछन् । केही समयअघि नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभनमा लेटाङका केही युवाले ट्याक्टर बेचेर दलाललाई पैसा खुवाएका थिए ।

पछिल्लो चरणमा बिचौलियाहरुले सोझा सिधा युवालाई रसियन आर्मीमा बिक्री गर्ने धन्दा चलाइरहेका छन् ।

यही क्रममा लेटाङका टीकाले पनि गत भदौ महिनामा गाउँकै साथीको सम्पर्कबाट रूस जाने बाटो फेला पारे । ‘तीन महिनाको तालिम हुन्छ, तँ आएर तालिम लिइसक्दा त रुस र युक्रेनबीच वार्ता भएर युद्ध पनि सकिन्छ’ रूसमा रहेको गाउँकै साथीले टेलिफोनमा टीकालाई सुनाए, ‘जति धेरै पैसा, त्यति धेरै रिस्क । पैसा कमाउने भए किन रिस्क नलिने ?’

टीकालाई पनि साथीको कुरा राम्रै लाग्यो । साथीको खातामा साढे सात लाख हालेर उनी कात्तिक ४ गते दुबई हुँदै रूसका लागि हिँडेका टीका अहिले परिवारको सम्पर्कमा छैनन् ।

भाइ अनेशका अनुसार रुस पुगेका टीकालाई युद्धग्रस्त ठाउँ लैजाने भनेर क्याम्पबाट बाहिर लगिएको थियो । मंसिर २५ गते फोनमा कुराकानी भए पनि त्यसयता सम्पर्क भएको छैन ।

लेटाङ –३ का ३३ वर्षीय विकास राई पनि नाबालक छोरो छोडेर गत भदौमा गाउँकै साथीको सम्पर्कबाट रूस गए । टीकालाई जस्तै राम्रो कमाइ हुने भन्दै हाल रुसमै रहेका गाउले साथीले लोभ्याएपछि उनी रुस गएको विकासकी आमा पञ्चकुमारी राई बताउँछिन्।

‘सबैतिर दशैंको रौनक छाइरहेको थियो, फूलपातीका दिन परिवारलाई छाडेर काठमाडौंबाट दुबई र त्यसपछि मस्को गएको थियो’ उनी थप्छिन, दुई महिनादेखि छोरोको खोज खबर नै पाउन सकेको छैन।’

आमा पञ्चकुमारीका अनुसार छोरा विकास चार सातादेखि सम्पर्कविहीन छन्। उनीसँग मंसीर २५ मा कुराकानी भएको थियो ।

नेपालीहरु युक्रेनी सेनाको कब्जामा रहेको भन्ने खबर आएको उनी सुनाउँछिन् । उनी भन्छिन् ‘छोरालाई युक्रेनी सेनाले पक्राउ गरेको छ भन्छन्, हामीले गाउँबाट खोजखबर गरेर कसरी सक्नु ?’

कात्तिक ४ मै काठमाडौंबाट रूसी सेनामा भर्ती हुन उडेका लेटाङ–२ का सुरज मग्राती केही दिनअघि घाइते भएको खबर आयो । रूस र युक्रेन युद्धका क्रममा युक्रेनी सेनाको गोली लागेर सुरज घाइते भएको अपुष्ट खबर आएको लेटाङ नगरपालिका–२ का वडाध्यक्ष तेजप्रसाद तिमल्सिनाले खबरहबलाई बताए । सुरजले एक अडियो सन्देशमा आफूलाई गोली लागेको र अस्पतालमा उपचाररत रहेको भनेका छन् । उनले त्यहाँबाट आफूलाई उद्धार गर्न अनुरोध पनि गरेका छन्।

टीका, विकास र सुरज छोटो बाटोबाट धेरै कमाइ गर्ने सोच बोकेर अबैध बाटो हुँदै रुस पुगेका हुन् । गाउँलेको लहैलहैमा लागेर रुसी सेनामा भर्ती हुने युवाको संख्या लेटाङ नगरपालिकाका धेरै पुगिसकेको स्थानीय बताउँछन् ।

विभिन्न व्यवसाय गरिरहेका युवाहरु रुस–युक्रेन यु्द्ध शुरु भएयता भ्रमण भिसामा दुबई जाने र त्यहाँबाट मस्को पुग्ने गरेको पाइन्छ । स्थानीय र उनीहरुका आफन्तका अनुसार लेटाङबाट मात्रै करिब दुई दर्जनको हाराहारीमा युवाहरु भाडाका रूसी सिपाही बनेका छन् । वडा नं ३ का मात्रै एक दर्जन युवा रुस पुगेका छन् । प्रायः सबैले अबैध रुपमा भारत र दुबईको बाटो प्रयोग गरेको पाइएको छ । आफ्नो परिवारका सदस्यहरु रुसी सेनामा भर्ती हुन पुगे पनि कतिपय परिवारले भने पहिचान खोल्न चाहेनन् ।

लेटाङबाट कति युवा रुस पुगेका छन् भन्ने नगरपालिकासँग यकिन तथ्याङक छैन । लेटाङ नगरपालिकाका मेयर भूपेन्द्रकुमार लावती केही युवा रूसी सेनामा गएको भन्ने सुनेको बताउँछन्। उनका अनुसार लेटाङ नगरभित्रका १८ जना युवा रूसी सेनामा गएका भन्ने सूचना आएको बताए । तर उद्धार वा खोजी कार्यका लागि भनेर आधिकारिकरूपमा नगरपालिकामा निवेदन भने अहिलेसम्म नआएको उनले बताए ।

‘हामीलाई रुसी सेनामा लेटाङका धेरै युवा गएको भन्ने मिडिया र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको छ’ मेयर लावतीले खबरहबसँग भने ‘अब नगरपालिकाको आफेनो संयन्त्र प्रयोग गरेर त्यस्ता युवाहरुको लगत तयार पर्ने काममा हामी अघि बढनेछौं। त्यसपछि उनीहरुको उद्धारका लागि परराष्ट्र मन्त्रालयसँग अनुरोध गर्ने काम अघि बढाइनेछ। ’

सरकारको कूटनीतिक असक्षमताका कारण रूस–युक्रेन युद्धमा घाइते र बन्धकको अवस्था अहिलेसम्म अज्ञात छ। ११ जनाभन्दा बढी नेपालीको मृत्यु भइसक्दा सरकारले एउटै शव फिर्ता ल्याउन सकेको छैन । रुस–युक्रेन युद्धमा जसमा कोशी प्रदेशको इलामका गंगाराज मोक्तानको पनि केही समय अघि रुस–युक्रेन युद्धमा मृत्यु भएको थियो । इलाम र झापाका केही युवाले उद्धारको माग गरे पनि परराष्ट्र मन्त्रालयले पहल गर्न सकेको छैन । भागेर फर्किएका युवा भन्छन्– नेपालीलाई बलीको बोका बनाइन्छ

रूसी सेनामा भर्ती भएका लेटाङका चारजना हालै नेपाल फर्किएका छन् । लेटाङ–३ का ३२ वर्षीय मनशेर राई र छत्र मगर हालै फर्किएका हुन् । त्यसपछि थप दुई जना स्वदेश फर्किएको मनशेर बताउँछन् । उनका अनुसार दिल्ली र दुबई हुँदै मस्को पुगेर रूसी सेनामा जानेहरूले पाँचदेखि नौ लाख रुपैयाँसम्म दलाललाई बुझाउने गरेका छन् ।

मनशेरको पनि ‘लाहुरे’ बन्ने सपना थियो। सिंगापुर पुलिसका लागि पटक–पटक प्रयास गर्दा पनि उनी सफल भएनन् । गाउँका धेरै युवा रूसी सेनामा गइरहेको उनले देखे । रुसी सेनामै रहेका नातेदारले बाहिर हल्ला भएजस्तो जोखिम नभएको सुनाएपछि मनशेर रूस जान तयार भए। मस्को पुगेर उनले गत कात्तिक ३० सेनामा भर्ना हुने सम्झौतामा हस्ताक्षर पनि गरे।

दुई सन्तान, श्रीमती र वृद्धावस्थाका आमाबुबालाई छाडेर रूस पुगेका मनशेर भाडाको सिपाही बनेर त्यहाँ अडिन सकेनन्। तीन महिनाको तालिम भनिए पनि १५ दिनको सामान्य अभ्यासका भरमा युद्धग्रस्त ठाउँमा लाने तयारीका साथ उनलाई मस्कोबाट क्याम्पमा सारियो।

क्याम्पबाट युद्धग्रस्त क्षेत्र लग्दै गर्दा मनशेरको मनमा लागिरह्यो, ‘यो अर्काको देश, अर्काको माटो, अर्काका लागि लड्दै गर्दा मेरो परिवारको सहारा को बन्ला ? मलाई केही भयो भने उनीहरू कसरी बाँच्लान् ?’ यही पिरले छटपटाएर उनी क्याम्पबाट युद्धग्रस्त स्थानमा लग्दै गर्दा भागे र नेपाल आइपुगे । मस्कोबाट अजरबैजान, त्यसपछि दिल्ली हुँदै उनी नेपाल आए।

मनशेर आफूमात्रै फर्किएनन्, उनले गाउँका केही युवालाई सम्झौतामा हस्ताक्षर नगर्न भने । उनी भन्छन्, ‘जोखिम धेरै हुने भन्दै सम्झाइ बुझाइ गरेपछि चारजना साथी मसँगै फर्किए।

यसरी फर्किएका कतिपयले रूस जान तिरेको पैसासमेत माया मारेका छन् । कोही पीडितहरु चाहिँ पैसा फिर्ता लिन दलालकहाँ धाइरहेका छन्। दलालले पैसा फर्काउन मानेका छैनन् ।

केही युवाका परिवारले रूसी सेनामा भर्ती भएका आफ्ना सदस्यलाई घर फर्काउन सरकारसमक्ष आग्रह गरेका छन्। घाइते अवस्थामा रुसमै रहेका सुरजले अडियो पठाएर घर फर्किन चाहेको बताएका छन्।

पीडित परिवारको याचना :  स्वदेश फर्काउने व्यवस्था होस्

जोखिमपूर्ण एवं नेपाल सरकारको विदेशनीति विपरीत सैन्य रोजगारीका लागि रुस पुगेका युवाका आफन्तले बेपता र घाइते आफ्ना सन्तानलाई तत्काल उद्धार गर्न सरकारसँग याचना गरेका छन् । गएको मंसिर २५ गतेदेखि सम्पर्बविहीन भएका छोरा विकासलाई कसै गरी स्वदेश फर्काउन नेपाल पञ्चकुकमारी राईले सरकारसँग माग गरिन् ।

५५ बर्षीया पञ्चकुमारी भन्छिन्, ‘घरको सहारा छोरो बेपत्ता छ। छोरोलाई शकुशल फर्काउन नेपाल सरकारसँग माग गर्छु।’

घाइते अवस्थामा रहेका सुरजले अडियो पठाएर घर फर्किन चाहेको बताएका छन्। सुरजकी दिदी पनि भाइलाई फर्काउन पहल गरिदिन सरकारलाई आग्रह गर्छिन्। यसका लागि उनले परराष्ट्र मन्त्रालयमा ज्ञापनपत्र पनि दिएकी छन्।

उनी भन्छिन् ‘घरमा वृद्ध आमाबुबा छन्, भाइलाई उता बंकरमा राखिएको छ । लहैलहैमा लागेर गइहाल्यो, अहिले रूसी सेनाले यातना दिइरहेको छ, घर फर्काउन सरकारले पहल गरिदिनुपर्यो।’

यो पनि –
रुसी सेनाबाट उम्केका पूर्वप्रहरीको बयान : नयाँ जुनी पाइयो

रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता गरिदिन आग्रह

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ६ : १३ बजे

वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा

काठमाडौं – विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम

वामपन्थी शक्तिहरु वैचारिक बहसमा जुट्नुपर्दछ : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) स्थायी कमिटी

भारतले माल्दिभ्सलाई पाँच करोड डलर ऋण प्रदान गर्ने

माले – माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत सरकारले सोमबार

मलेसियामा एक नेपाली युवकको मृत्यु

बैतडी– बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ। मेलौली नगरपालिका—१

आजका समाचार : संसद्‍को अवरोध कायमैदेखि उपेन्द्रले छाडेकै दिन सरकारमा अशोकको इन्ट्रीसम्म

कांग्रेस पछि नहटेपछि निकासको खोजीमा प्रधानमन्त्री, एमाले अध्यक्ष र गृहमन्त्री