शक्तिको रवाफले विवादको बाटोमा धर्म गुरु | Khabarhub Khabarhub

शक्तिको रवाफले विवादको बाटोमा धर्म गुरु

अनुयायीको बलात्कारदेखि हत्यासम्म



नेपाली समाजले धर्मगुरुका अभिव्यक्तिलाई कानुनभन्दा माथिको उच्चता दिन्छ। उनका खानपानले ‘प्रसाद’को उपमा पाउँछ। उनी हिँड्ने बाटोमा भक्तजनले फूल बिछ्याउँछन्। व्यशासनमा बसेर भागवत भन्ने पण्डितका मुखराविन्दबाट निस्कने हरेक वाणीले सामाजिक स्वीकृति पाउँछ। अर्तीप्रति कृतज्ञता अर्पण गरिन्छ। ज्योतिष, पण्डित र धर्मगुरुका सल्लाहलाई त्यस्तो अचुक मानिन्छ कि घरव्यवहारमा अक्षरसः पालन हुन्छ। यो अभ्यास के धनी, के गरिब, हिमाल, पहाड, तराई सर्वत्र लागू हुन्छ। अझ सामाजिक काममा अर्थ संकलनमा यिनै व्यक्तिलाई सेलिब्रेटी आम प्रचलन बन्दै आएको छ।

आमनागरिकको मन, मुटु र मस्तिष्कमा बस्ने, नैतिकताको पाठ सिकाउने मानिस स्वयं नैतिकताको कसीमा किन कमजोर बन्दै गएका छन् ? आफूलाई भगवानको कोटीमा सम्मान दिने भक्तमाथि धोका दिने नीच दुष्कर्म कसरी उब्जिन्छ ?

धर्मको आडमा सामाजिक प्रतिष्ठा आर्जन गरेका यस्ता अभियन्ता एकपछि अर्को अपराधमा दोषी ठहरिँदा समाजले बनाएका मानकमाथि प्रश्न उठेका छन्।
यहाँ नेपाल र भारतका केही धर्मगुरुको चर्चा गरौं, जो विवादमा तानिने गरेका छन्।

आचार्य शीतलकृष्ण महाराज
भागवत कथा वाचक आचार्य श्री शीतलकृष्णजी महाराजमाथि श्रीमतीले आफूलाई अन्याय गरेको आरोप लगाएकी छन्। श्रीमती स्वीकृति पौडेल भुसालले न्यायको लागि हारगुहार गरिरहेकी छिन्।

जुनीसँगै बिताउने कसम खाएका पतिले मन लागुञ्जेल भोग गरेपछि बीचैमा छोडेको आक्षेप उनले लगाएकी छन्। उनका अनुसार कथावाचक शीतलकृष्णले जबरजस्ती डिभोर्सका लागि दबाब दिएका छन्।

पत्नी स्वीकृतिका अनुसार विवाह भएको तीन वर्षपछि दुर्व्यवहार र दुश्चरित्रहरु देखाउन थालेका थिए। रक्ताम्य हुने गरी कुटपिट गर्ने र भु्रण हत्यासमेत गरे। पतिको अभद्र व्यवहार सहँदै पनि घरबार जोगाउनु पर्छ भन्नेमा थिइन्। तर अकस्मात पतिले छोडपत्रको फाइल पेश गरेको जानकारी आयो। उनी छाँगाबाट खसिन्।

स्वीकृति भन्छिन्- ‘श्रीमानको अवैध सम्बन्धका कारण श्रीमतीप्रति रुचि घटेको हो। महायज्ञहरुमा जाँदा उनले अस्थायी साधन बोकेर जाने गर्छन्। आस्थाका कारण नजिक भएका महिलाको पनि फाइदा उठाएका छन्।’

उनीहरुको उमेर १३ वर्षको अन्तर छ। स्वीकृतिले श्रीमानविरुद्ध प्रहरीमा जाहेरीसमेत दिएकी छिन्। हालसम्म यो आरोप एक पक्ष मात्रै छ। शीतलकृष्णले यस आरोपको बारेमा केही बोलेका छैनन्।

सिद्धबाबा
२०७६ मंसिरमा सुनसरी चतराधामबाट सिद्धबाबा अर्थात कृष्णबहादुर गिरी पक्राउ परे। उनलाई आफ्नै भक्तले बलात्कार गरेको आरोप लगाइन्। साधना गर्न भन्दै सिद्धबाबाले कुटीमा बोलाएका थिए  । सिद्धबाबाले आफू बालब्रह्मचारी भएकाले आगो र स्त्रीलाई नछोएको दाबी गरे।

किटानी जाहेरीका अनुसार पीडित भनिएकी (परिसर-२६) ले भने अनुसार नगरे अनिष्ट हुने भन्दै बाध्य बनाएर बलात्कार गरे। बाबाले ‘यो कुरा कसैलाई नभन्नू, भनेमा अनिष्ट हुन्छ’ भनेर फेरि धम्की दिए।

घटनापछि सिद्धबाबाले पीडितलाई फोन गरेर माफी माग। घटनापछि फोनबाट भएको कुराकानीमा नै सिद्धबाबाले ‘मबाट एकपटक गल्ती भयो, माफ पाउँ, अब त्यस्तो हुँदैन, भयो भने म लिंग नै काटेर फालिदिन्छु’ भनेका थिए। उक्त कल रेकर्ड सिद्धबाबाकै भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भयो।

सिद्धबाबाको पक्षमा उभिएकाहरूले पीडितलाई ‘दिमागी रूपमा बिरामी भएको’ आरोप लगाए। आरोपित सिद्धबाबाले सफाइ पनि पाए । जिल्ला अदालत सुनसरीले बलात्कार घटनामा आरोपित सिद्धबाबालाई सफाइ दिएको छ।

पीडितको पक्षमा वकालत गर्ने सरकारी वकिलहरूलाई बहसको मौकासमेत नदिई न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले एकतर्फी सुनुवाइका आधारमा आरोपीलाई सफाइ दिएका थिए। तर, सिद्धबाबाको यो मुद्दा अहिले पनि उच्च अदालत विराटनगरमा विचाराधीन छ। सिद्धबाबा चाहिँ धार्मिक गतिविधिमा लागिरहेकै छन्।

लिटिल बुद्ध
लिटिल बुद्ध अर्थात् रामबहादुर बम्जन पनि हत्या र यौनहिंसाको आरोपमा पुर्पक्षका लागि थुनामा छन्। उनी गत पुसमा बुढानीलकण्ठबाट पक्राउ परे। उनीमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको पाँच परिवारको आरोप छ।

आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ।

बम्जन लामो समय बाराको हलखोरियास्थित जंगलमा बसेका थिए। पछिल्लो समय उनी सिन्धुलीको कमलामाई नगरपालिका-८, पैरेनीस्थित २० रोपनीभन्दा बढी जंगल अतिक्रमण गरेर आश्रम बनाई बस्दै आएका थिए।

बम्जनको आश्रममा पुगेकाहरू धमाधम हराउन थालेपछि उनी अनुसन्धानको दायरामा तानिएका थिए। नुवाकोटकी गंगामाया तामाङले २०६८ सालमा बम्जनको आश्रममा गएकी आफ्नी साइँली बहिनी हराइरहेको बताएकी थिइन्।

त्यही वर्ष हेटौंडाकै वीरबहादुर रुम्बाकी छोरी फूलमाया पनि तपस्यारत बम्जनबाट प्रभावित भएपछि उनकै पछि लागेकी थिइन्। तर, उनी पनि लामो समय परिवारको सम्पर्कमा आइनन्। हेटौंडाका महेन्द्र वाइबाले २०७२ चैत १४ गते बम्जनको सिन्धुलीस्थित आश्रममा पुगेका आफ्ना बाबु सञ्चलाल त्यसपछि हराएको बताएका थिए।

प्रहरीले २०७६ पुसमा सिन्धुपाल्चोकस्थित इन्द्रावती-६, बाँडेगाउँस्थित टोड्के जंगलमा रहेको आश्रममा छापा हानेको थियो। २०७७ असार ४ मा उनी बसेको बाराको हलखोरियास्थित जंगलमा छापा मारेको थियो। प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्यूरो टोली पुग्नुअघि नै उनी भागिसकेका थिए।

प्रहरीले त्यहाँ बेपत्तामध्येका एक हेटौंडाका सञ्चलाल रुम्बाको हत्या भएको हुन सक्ने आशंका गरेको थियो। प्रहरीले करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटेर उत्खनन गर्दा ९ वटा नुनको प्याकेट भेटेको थियो। शव गलाउन नुनको प्रयोग गरिएको हुनसक्ने आशंका गरिएको छ।

पुरन भट्टराई


झापाका पुरन भट्टराई आफ्नै बच्चा बेचेको आरोपमा पक्राउ परे। उनका बुवा भीमप्रसाद भट्टराई र उनी दुवै पण्डित्याइँ गर्दछन्। अर्काको घरमा बस्दै आएकी १८ वर्षकी युवतीसँग पुरनले अवैध सम्बन्ध बनाउँदै आएका थिए।

‘प्लस टु’ पढ्दै गरेकी युवतीको लामो समय महिनावारी रोकियो। छरछिमेकीले सोधीखोजी गरेपछि सुरुमा स्वीकार गरेनन्। तर पछि मोबाइलमा मेसेजहरु चेक गर्दा पुरनले सम्बन्ध राखेको स्वीकार गरे। त्यतिबेला युवतीको गर्भ ८ महिना भइसकेको थियो।

‘प्लस टु’ पढ्दै गरेकी युवतीको लामो समय महिनावारी रोकियो। छरछिमेकीले सोधीखोजी गरेपछि सुरुमा स्वीकार गरेनन्। तर पछि मोबाइलमा मेसेजहरु चेक गर्दा पुरनले सम्बन्ध राखेको स्वीकार गरे। त्यतिबेला युवतीको गर्भ ८ महिना भइसकेको थियो।

सामान्य टीकाटालो गरेर २०७९ पुस २७ मा छिमेकीले केटालाई युवती जिम्मा लगाए। तर, केटाको परिवारले युवतीलाई गर्भपतन गर्न दबाब दिइरहे। एक महिनापछि अर्थात् २०८० भदौ २५ गते उनले छोरी जन्माइन्। त्यसपछि भट्टराईको परिवारमा बच्चा बिक्रीको प्रपञ्च रचियो। बच्चा जन्मिएको ६ दिनमा सिक्किम लगेर बेचिएको आरोप उनीहरुमाथि छ।

बच्चा बिक्री गरेर नेपाल फर्किएपछि युवतीले आफन्त गुहारिन्। आफन्त र गाउँलेहरुको दबाबले उनीहरले बच्चा फिर्ता त ल्याए तर युवतिमाथि हिंसा रोकिएन। बच्चालाई छोडेर विदेश जान युवतीलाई दबाब दिए।

केटा पक्षले अर्को केटीसँग विवाह गर्ने बताए। उनको नाङ्गो भिडियो बनाएर फेसबुकमा हाल्दिने धम्की दिए। हजारौँ मान्छेको अगाडि व्यशासनमा बसेर पुराण भन्ने पण्डितबाटै यो कर्म हुन्छ भन्ने पत्याउन मुस्किल हुन्छ।

 

टुल्कु लामा
गुम्बामा उपचारका लागि आएकी युवतीको बलात्कार गरेको अभियोगमा दक्षिणकालीस्थित गुम्बाका धर्मगुरु टुल्कु लामाले सात वर्षको कैदको सजाय पाए।

आफूलाई अवतारी लामा भएको दाबी गर्ने उनीमाथि दक्षिणकालीको आफ्नै गुम्बामा एक महिलामाथि वर्षौं बलात्कार गरेको अभियोग लागेको थियो।

पीडितले तन्त्र र झारफुक गरी उपचार गर्ने भन्दै २०६६ सालमा पहिलो पटक बलात्कार गरेको बताइन्। त्यसपछि २०७३ सालसम्म शारीरिक र मानसिक यातना दिएको भन्दै जाहेरी दिएकी थिइन्। टुल्कुले उपचारको बहानामा धेरै महिलामाथि यौन शोषण गरेका थिए। जिल्ला अदालत काठमाडौंले टुल्कुलाई सफाइ दिए पनि पाटन उच्च अदालतले लामालाई ७ वर्ष कैद र ३० लाख क्षतिपूर्तिको फैसला सुनायो।

अदालतले डर, त्रासमा पारेर झुक्याएर अनुचित प्रभावमा पारी नौ वर्ष बढी समयसम्म गुम्बाभित्र पीडितलाई यौनदासीको रूपमा राखेको ठहर गरेको थियो।

लामाले विश्वासको दुरूपयोग गरेको, आश्वासन र लाभको प्रलोभन देखाएको, आफ्नो संरक्षणमा रहेको व्यक्तिविरूद्ध कसुर गरेको, शारीरिक बन्धक बनाएको, सुरक्षा गर्नुपर्ने व्यक्तिविरूद्ध कसुर गरेको ठहर अदालतको थियो।

धर्मगुरु आसाराम
सन् २०१३ आर्थात् २०६९ मा नाबालिक किशोरीलाई बलात्कार गरेको आरोपमा ७७ वर्षीय भारतीय धर्मगुरु आसाराम पक्राउ परे। त्यसपछि आसारामलाई मध्य प्रदेशको इन्दौरबाट गिरफ्तार गरिएको थियो। डाक्टरी जाँचमा उनी दोषी देखिए। गिरफ्तार गरिएको विरोधमा उनका समर्थकले विरोध गरे।

भूतप्रेतको छायाले नछोडेको भन्दै किशोरीलाई उपचार गर्न आमाबुवाले नै जोधपुरमा रहेको आसारामको आश्रम पुर्याएका थिए। उपचार गर्न आएकी किशोरी लगायत अन्य महिलालाई पनि उनले बलात्कार गरेको आरोप थियो।

उनी धार्मिक उपदेश दिने गुरु मानिन्छन्। उनले भारतमा झण्डै चार सय आश्रम स्थापना गरेका छन्। विश्वभर उनका लगभग चार करोडको संख्यामा भक्त रहेको बताइन्छ। भारतका कैयौं राजनेतासमेत उनको प्रशंसक छन्। वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पनि आसारामको प्रशंसक थिए।

जोधपुर अदालतले धर्मगुरु आसारामलाई दोषी ठहर गरी आजीवन काराबासको सजाय सुनाएको छ। आसाराम र उनका छोरा अर्थात् स्वघोषित गुरु नारायण साई भारतमा बलात्कार र यौनकाण्ड मच्चाउने कथित गुरुको सूचीमा अग्रपंक्तिमा पर्छन्।

धर्मगुरुले अपराध गर्दैनन भन्ने भ्रम छ : समाजशास्त्री
प्राध्यापक तथा समाजशास्त्री निर्मला ढकाल धर्मगुरुले अपराध गदैँनन् भन्ने विश्वास भ्रमको जालो भएको बताउँछिन्। उनी भन्छिन्, ‘धर्मप्रतिको भ्रमले अपराधीलाई संरक्षण गर्छ।’ त्यो हाम्रो सोच नपखालिएको अवस्था भएको उनको भनाइ छ।

‘धर्मगुरु आध्यात्मिक शक्तिसँग जोडिएका हुन्छन्। शक्ति आर्जन गरेपछि गल्ती गरेपनि जोगिन सक्छु भन्ने हुन्छ, ढकालले भनिन्, ‘अर्को मैले जे गरेपनि अनुयायीहरुले संरक्षण गर्छन् भन्ने छ।’

आस्थाका कारण जुनसुकै उमेरका महिलाले छुने र ढोग्ने गर्छन्। तर त्यसको धर्मगुरुले फाइदा लिने गरेको ढकालको आरोप छ। भन्छिन्, ‘शक्तिको उन्मादले कलंकित काम गर्न पनि पछि पर्दैनन्।’ खबरहबसँग कुरा गर्दै ढकालले भनिन्, ‘यिनीहरु प्रशासनदेखि नेतृत्व तह र आम मानिसहरु सबैलाई भ्रम बेच्न सफल हुन्छन्।’

प्राध्यापक तथा समाजशास्त्री निर्मला ढकाल

‘आफ्नो बलियो आस्थाका कारण जनमानसमा दबदबामा राखेर यिनीहरुले कर्तुत लुकाउने प्रयास गरेका हुन्छन्। धर्ममाथि प्रहार भयो भनेर अनुयायीहरु मार्न र मर्न तयार हुन्छन्,’ उनले भनिन्।

धर्मको खोल ओढेर अपराध गर्नेलाई संरक्षण गरेर आफ्नो धर्मको रक्षा नहुने ढकाल बताउँछिन्। उनी भन्छिन्, ‘हामी सामान्य मानिसमा पनि आफ्नो धर्म जोगाउनुपर्छ भन्ने चेतना हुन्छ। धर्म जोगाउँ तर आफ्नो धर्मगुरुले गरेको कर्तुतलाई सामान्यीकरण गर्नु हुँदैन। अपराध जसले गरे पनि अपराध नै हो।’

अर्को धार्मिक गुरुहरुले ‘पपुलिज्म’ को फाइदा उठाएको उनको आरोप छ। उनी भन्छिन्, ‘मैले जे गर्दा पनि मानिसले स्वीकार गर्छन् भन्ने छ।’ तर धर्ममाथि प्रहार मात्रै नियाल्ने प्रवृत्रिले अपराध विषयान्तर हुने ढकालले बताइन्।

‘धर्म जोगाउँदै गर्दा अपराध र अपराधीलाई संरक्षण मिल्छ, ढकालले भनिन् ‘त्यसले झन भन्दा झन् अर्को अपराधमा लाग्ने उत्पे्ररणा मिल्छ।’ उनीहरु अनुयायीहरुलाई उल्लु बनाउन सक्षम हुने उनको बुझाइ छ।

सबैभन्दा महत्वपूर्ण धर्मकै आडमा आयआर्जन गरिरहेकाहरुले यस्ता अपराध लुकाउनमा दिलोज्यान दिएर लाग्ने ढकालले बताइन्। उनी भन्छिन्, ‘धर्मप्रति मानिसको वितृष्णा बढ्यो भने यिनीहरुको गरिखाने बाटो बन्द हुन्छ। रोजीरोटीको सवाल पनि हो।’

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ९ : ४४ बजे

गिरीबन्धु प्रकरण : बालेन्द्रले सूची सार्वजनिक गर्दै भने- ५० खर्बको खेलोफड्को छ

बालेन्द्र शाह फाइल फाेटाे काठमाडौं- महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले झापाको

प्रधानमन्त्री प्रचण्डले पाए चौथो पटक विश्वासको मत

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत पाएका

नयाँ शक्तिको भ्रष्ट चरित्र नाङ्गियो : चित्रबहादुर केसी

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगी प्रकरणमा गृहमन्त्री

मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित 

गलेश्वर– लामो समयको खडेरीपछि परेको लगातारको वर्षाका कारण म्याग्दीमा लगाइएको

कांग्रेसको आरोप : सरकार सहकारी ठगहरू जोगाउन लाग्यो, सभामुख मतियार बने

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार सहकारीका ठगहरू जोगाउन संसदीय