ट्याक्सी व्यवसायीको गुनासो- ‘यात्रुले राइड सेयरिङ रोजे, हामी डुब्यौं’ | Khabarhub Khabarhub

ट्याक्सी व्यवसायीको गुनासो- ‘यात्रुले राइड सेयरिङ रोजे, हामी डुब्यौं’

प्रहरी र आर्मीले पनि पार्टटाइम पठाओ चलाएको दाबी



काठमाडौं– पठाओ र इनड्राइभ जस्ता अनलाइन सवारी सेवाले पछिल्लो समय ट्याक्सी व्यवसायी धरापमा परेको व्यवसायीहरूले गुनासो गरेका छन्‌ । सेवाग्राहीका लागि सहज भएपनि प्रशस्त सवारी उपलब्धताले ट्याक्सी व्यवसायीहरू आफूहरू मारमा परेको गुनासो गरिरहेका छन् ।

सर्लाही रामपुरका विनोद थापा (४२) ले पठाओ र इनड्राइभ जस्ता राइड शेयरिङ एपबाट बुक गरिने सवारीमा सुरक्षा नभएको बताउँछन् । उनी भन्छन्, ‘अनलाइन सेवाको नाममा अफलाइन चलाउनेहरूले आफूखुसी भाडा राखेका छन् । त्यसको नियमन गर्न सरकारलाई नै हम्मे–हम्मे परेको सुनिन्छ ।’

‘ट्राफिकले कहिलेकाँही २०/२५ जनालाई कारवाही गरे जस्तो गर्छ र छाडिदिन्छ । त्यसरी नियमन हुन सक्दैन,’ उनले भने, ‘सबैलाई सिस्टममा ल्याउनुपर्‍यो ।’

२६ वर्षदेखि ट्याक्सी चलाउन थालेका विनोद आफ्नो कथा यसरी सुनाउँछन्ः
म काठमाडौं‌मा बस्न थालेको ३० वर्ष पुग्यो । श्रीमती र दुई छोरासहित चार जनाको परिवार छ । पहिले निजी कम्पनीहरूमा जागिर गरेँ । द्वन्द्वकालीन समयमा परियोजनाहरूमा जागिर गर्दा धेरै दुःख पाएपछि ट्याक्सी किनेँ ।

आफ्नै ट्याक्सी लिएको १३ वर्ष भयो । १०/२० हजार रुपैयाँ ऋण काढेरै ट्याक्सी किनेको हुँ । त्यतिखेर ट्याक्सीलाई पाँच लाख २० हजार रुपैयाँ परेको थियो । ट्याक्सी किन्दा लागेको ऋण कमाउदै पाँच वर्षमा तिरेँ ।

ऋण तिरेपछि अब अलि सजिलो होला भनेको, कोरोना महामारीका कारण लकडाउन (बन्दाबन्दी) सुरु भयो । त्यसपछि राइड शेयरिङ एपहरूबाट अनलाइन सेवा बढ्न थाल्यो । पहिले र अहिलेको कमाइमा आकाश-पातालको फरक छ । पहिले आधा घण्टा कुरेर मानिसहरू ट्याक्सी चढ्थे । अहिले ‘ट्याक्सी खाली हो ?’ भन्ने मान्छे छैनन्‌ ।

लकडाउन अघि दैनिक ६ हजार रुपैयाँसम्म कमाइ हुन्थ्यो। अहिले दुई हजार रुपैयाँ कमाउन पनि मुस्किल छ । कमाइ ६० प्रतिशत घटेको छ । २३ वर्ष ट्याक्सी चलाएँ । हातमा लाग्यो शून्य भनेजस्तो भएको छ । कमाइ त खाँदै, छोराछोरी पढाउँदा पढाउँदै र काठमाडौंको कोडाभाडा तिर्दैमा सकिँदैछ ।

१८ महिना लकडाउन हुँदा कोठाभाडा मात्रै पौने दुई लाख रुपैयाँ तिरे । त्यस्तो काम नभएको समयमा पनि घरबेटीले एक महिनाको भाडासमेत सहुलियत दिएनन् । वर्षात्‌को समयमा तीन महिना कमाइ हुँदैन । ९ महिनाको कामबाट कमाएको रकमले १२ महिना थेग्नुपर्छ ।

कोभिडभन्दा अघिसम्म ठीकै थियो । सबैले सुरक्षा अपनाउने भएकाले धेरैले निजी सवारीसाधन किने । टुटल, पठाओ, इनड्राइभ लगायत अनलाइन राइड शेयरिङ व्यवसाय बढ्यो । त्यसकारण हाम्रो व्यवसाय धराशायी हुँदै गयो । यस्तो सेवा हटाउनुपर्छ भन्ने हाम्रो आन्दोलन होइन । समय-परिस्थिति अनुसार परिमार्जन हुनुपर्छ ।

हामीलाई मिटरमा नजाँदा फाइन तिराइन्छ । सिहंदरबारमा मन्त्रालयको गाडी चलाउनेहरू पठाओ चलाइरहेका छन् । कर्मचारी र डाक्टरका चालकहरूले पठाओ चलाइरहेका छन् । ट्राफिक प्रहरी र आर्मीका सदस्यहरूले समेत पार्टटाइम कमाउने भन्दै पठाओ चलाइराखेका छन् । यसो हुँदा पनि हाम्रो पेसा र व्यवसाय थप धरापमा परेको छ ।

धेरै ट्याक्सी चालकहरू देशमा कमाइ हुन छाडेपछि पलायन भएर विदेश पुगे । तर, ममा आमाबुवा र भाइबहिनी समेतको जिम्मेवारी रहेकाले विदेश जान मन लागेन । त्यतिबेला ट्याक्सी चलाएर गुजारा गर्न सक्छु भन्ने थियो । यो हालत होला भन्ने थिएन ।

मेरो समयमा खराब भएपनि अबको दिनमा राम्रो होस् भन्ने छ । भ्रष्टाचार अन्त्य गरेर काम गर्नुपर्छ । हरेक नागरिकले समान न्याय पाउनुपर्छ । नागरिकलाई काम गरेर खाने सहज वातावरण बनाउनुपर्छ ।

लास दिन नसक्ने राज्यले जागिर दिन्छ रे ?
राजु काफ्ले (५२) इटहरी काठमाडौं बसेको २३ वर्ष भयो । भाँडामै बस्छन्‌ । छोराछोरी र श्रीमतीसहित चार जनाको परिवार छ । ट्याक्सी चलाएको १७ वर्ष भयो । वैदेशिक रोजगारी शिलशिलामा उनी ३ वर्ष कतारमा बसे । गार्मेन्टमा ट्रली चलाउँथे । त्यसअघि उनले नाइट बस चलाउँथे ।

सर्लाही, गाईघाट र बेलटार हुँदै काठमाडौं आएर ६ वर्ष ट्याक्सी चलाए । साहुबाट ऋण काढ्न मन लागेन । जग्गा बेचेर ट्याक्सी किने । त्यतिबेला मिटर डाउन सात रुपैयाँ थियो । मिटरमा ट्याक्सी चढ्न सकिँदैनथ्यो । तेलको मूल्यमा उतारचढाव थियो ।

रिकन्डिसनको ट्याक्सी किन्दा पनि ७ लाख ३० हजार रुपैयाँ तिरे । त्यसलाई सात वर्ष चलाए । पछि पत्रुको भाउमा बेचेर २०७३ मा १६ लाख ६५ हजार रुपैयाँ तिरेर नयाँ ट्याक्सी किने । नयाँ ट्याक्सी लिँदा बैंकबाट आठ प्रतिशत ब्याजमा कर्जा लिए, त्यसको ब्याजदर १६ प्रतिशतसम्म पुग्यो ।

छोराछोरी पठाउने र घरखर्च चलाउने भन्दा बाहेक अरू कमाउन नसकिएको उनले बताए । तर छोराछोरी र श्रीमतीले ‘कमाएन’ भनी खासै गुनासो गरेनन्‌ । ‘आज कमाइ भएन’ भन्दा ‘कहिलेकाहीँ यस्तो भैहाल्छ, अब घर फर्कनू’ भने ।

काफ्ले भन्छन्‌ः

परिवारले विदेश जान कर गरेनन्, मलाई यही कुरामा सन्तोष लागेको छ । छोराले पढाइमा स्नातकोत्तर सकेको छ । छोरीले स्नातकोत्तर गर्दैछिन् । ट्याक्सी चलाएरै उनीहरूलाई राम्रो शिक्षा दिन सकेँ । पढाउन ऋण काढ्नु परेन । यसलाई पनि ठूलो कमाइ मानेको छु ।

अहिले पनि काठमाडौंमा डेरामै बस्छु । पहिलेभन्दा कमाइ ८० प्रतिशत घटेको छ । बिहान ६ बजेदेखि काममा लाग्यो- खाना खाने बेलासम्म बोहनी पनि हुन्न । पहिले खाना खानुभन्दा अघि हजार रुपैयाँभन्दा बढी नै कमाइसकिन्थ्यो । खाना खाने बेला मध्याह्नसम्म पनि कमाइ भएको हुन्न । यो वातावरण राज्यले नै ल्याएको हो ।

राज्य मुख्य तीन नाइकेले चलाइराखेका छन् । तिनीहरू प्रचण्ड, केपी र शेरबहादुर देउवा हुन् । यो देश बर्बाद गर्ने यीनै तीन जना हुन् । हाम्रो मिटर खाइदिए । हरेक वर्ष ३०० रुपैयाँ तिरेर नवीकरण गर्नुपर्छ ।

अहिले कमिसन खाएर पठाओ हुले । भएभरका बाइकलाई हुल्दिए । ४० हजारका बाइक किनेर पठाओ चलाएका छन् । हाम्रो १६/१७ लाख रुपैयाँको गाडी घाम तापेर बसेका छन् । गुच्चा जत्रो देशलाई संघीयता बनाएर खाएका छन् । नागरिक श्रमिकको बारेमा यिनीहरूलाई मतलब छैन ।

हाम्रो उमेर ढक्कन थाल्यो । अब विदेश जान सक्दैनौँ । गएकाहरू पनि यो देशमा काम गरेर खाने वातावरण नबन्दासम्म नआउँदा हुने भयो । कोही नेता/कार्यकर्ताले विदेश गएका नागरिकलाई बोलाउँदैछ भने एक छाक मासु र साठी एमएल रक्सी पिलाएर भोट हाल्नमात्रै बोलाएका हुन् ।

विदेशबाट फर्किएपछि यहाँ के गर्ने ? काम या व्यवसायको ग्यारेन्टी खै ? बिना पूर्वाधार फर्काउछु भनेर हुन्छ ? पुराना र नयाँ भनिएका सबैले आश्वासन मात्रै बाँढे ।

लास त दिन नसक्ने राज्यले जागिर दिन्छ रे भन्दा कसरी पत्याउने हो ? नेताकै छोराछोरी विदेश छन्, नागरिक फर्काउने रे ! नागरिकले तिरेको कर खाएर डकारेका छन् ।

नयाँहरूले यस क्षेत्रमा भविष्य देखेका छैनन् । म आफैँ साहु भएर दिनमा ७०० रुपैयाँ कमाइमा चित्त बुझाउनुपरेको छ । साहुलाई बुझाएर नाफा निकाल्नु पर्नेहरूको हालत खराब छ । साहुले छोड्दैन ।

‘ट्याक्सी चलाएर खर्च नै पुगेन, अब विदेश जान्छु’
प्रकाश श्रेष्ठ (२४, रामेछाप) का आमाबुवा, बैनी र श्रीमती छन् । काठमाडौंमा उनी र श्रीमती बस्छन् ।

पढाइमा खासै रुचि नभएपछि उनले ट्याक्सी सिके । बागमती प्रदेशबाट दुई वर्षअघि उनले लाइसेन्स निकाले । ट्याक्सी चलाउन थालेको एक वर्ष भयो । साहुको ट्याक्सी चलाउँछन् । साहुलाई दिनको १२ सय रुपैयाँ तिर्छन् । बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म ट्याक्सी चलाउँछन् ।

प्रकाश भन्छन्‌ः

केही यात्रुले टिप्स पनि दिन्छन्, तर अधिकांशले ट्याक्सीवालाहरूलाई शत्रुजस्तो व्यवहार गर्छन् । यति धेरै पैसा लाग्दैन भनेर उनीहरू आफैँ भाडा निर्धारण गर्छन् । हामीले लाग्ने भाडा नै माग्ने हो, तर पनि सेवाग्राहीलाई हामीले ठगिररहेका छौं भन्ने हुनेरहेछ ।

यस्तो देख्दा मलाई यो क्षेत्रमा भविष्य छैन जस्तो लागेको छ । विदेश जाऊँ जस्तो भइरहेको छ । मेरो अनुभवमा दिनको सात हजार रुपैयाँसम्म कमाएको छु । कहिलेकाँही एक रुपैयाँ पनि कमाइ हुँदैन । साहुलाई तिर्ने भाडासम्म पुग्दैन । खत्लीबाट झिकेर तिर्नुपर्छ । उसले काम भए पनि, नभएपनि भाडा लिन्छ । मारमा हामी भाडामा ट्याक्सी चलाउनेहरू पर्छौं ।

पठाओ र इनड्राइभ बन्द गरिदिए राम्रो हुन्थ्यो । या; सरकारले अनलाइन शेयरिङ एपमार्फत गाडी, ट्याक्सी र बाइक/स्कूटर चलाउनेहरूलाई कालो नम्बर प्लेट अनिवार्य गरिदिए हुन्थ्यो ।

तेल महँगो छ, दिनभरको कमाइ तेलमै सकिन्छ । अनलाइन राइड शेयरिङ सेवा बढी भयो । यति थोरै सेवाग्राही छन्, भएजति जम्मै बाइक र स्कूटर पार्टटाइम कमाउने लोभले इनड्राइभमा लाग्ने । कि यही काम गरेर जीविकोपार्जन गर्छु भनेर लाग्नुस् । यही काम गरेर गुजारा गर्नुपर्ने ट्याक्सी चालकहरू बर्बाद भइरहेका छन्‌ ।

उपत्यकामा १० हजार ट्याक्सी

यातायात व्यवस्था विभागका अनुसार काठमाडौं उपत्यकामा मात्रै हाल १० हजार हाराहारी ट्याक्सी सञ्चालनमा छन् ।

यात्रुलाई सेवा दिने मिटरसहितको ट्याक्सी ८ देखि ९ हजार सञ्चालनमा छन् । सरकारले वि.सं. २०७२ मा एक हजार ८५० स्वरोजगार लगायतलाई र भूकम्प प्रभावित १५ सयका लागि भन्दै नयाँ ट्याक्सी दर्ता खोलेको थियो ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ४ : ०५ बजे

आज २०८१ साल साउन ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन ९ गते बुधबार तदनुसार

वुमन्स एसिया कपको समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं– नेपाल एसीसी वुमन्स एसिया कप २०२४ को समूह चरणबाटै

बिजुलीको महसुल ३ महिनाभित्र नतिरे प्राधिकरणले फेरि लाइन काटिदिने

काठमाडौं– तीन महिनाभित्र महसुल नतिरे नेपाल विद्युत प्राधिकरणले बक्यौता रहेका

भारतले दियो विशाल चुनौती, शुरुवातमै नेपालको २ विकेट पतन

काठमाडौं– वुमन्स एसिया कप अन्तर्गत भइरहेको खेलमा भारतले नेपाललाई १७९

भारतमा सर्वोच्च अदालतको फैसला- निट परीक्षाको पुनःपरीक्षण घातक

एजेन्सी– भारतको सर्वोच्च अदालतले मङ्गलबार एनइइटी (निट)–युजी सन् २०२४ परीक्षा