श्रमिक पुगेका देशमा राज्यको उपस्थिति खै ? | Khabarhub Khabarhub

श्रमिक पुगेका देशमा राज्यको उपस्थिति खै ?



नेपालको राजनीतिक वृत्तमा ‘विप्रेषण बढिरहेको छ र हाम्रो वैदेशिक मुद्रा पनि बढिरहेको कारण आर्थिक अवस्था त्यति तरलतामा जाने अवस्था छैन । त्यसैले धानिरहेको छ’ भन्ने बुझाइ देखिन्छ । यसलाई दुई तरिकाले हेर्नुपर्छ । हाम्रोमा रेमिट्यान्स बढेको हो कि हैन भन्ने प्रश्न गर्न आवश्यक छ । जस्तो; हाम्रो अध्ययनले कोभिड अगाडि नेपालमा जुन विप्रेषण भित्रिन्थ्यो, त्यो चाहिँ हुन्डीमार्फत भित्रिन्थ्यो । त्यसको बाटो गैरकानूनी थियो । त्यस परिप्रेक्ष्यका धेरै उदाहरण छन् ।

हुन्डीबाट धेरै कारोबार हुने गर्थ्यो । नेपाल राष्ट्र बैंकबाट सीधै नआउँदा तथ्याङ्क नरहने हुन्छ । राष्ट्र बैंकको अनुमति लिएर चीनमा व्यापार गर्नु भन्दा चिनियाँ व्यापारीबाट उतै लिने र नेपालमा आफ्नै तौरतरिकाले यतै कारोबार मिलाइन्छ । यो शैली चीन, हङकङ र गल्फ हुँदै भारतमा पनि लागु हुन्थ्यो ।

यी सबै तथ्यले विप्रेषण तथ्याङ्कमा मात्रै बढेको देखाउँछ । केही अनुपातमा त बढेको होला, तर जसरी अहिले सर्वत्र उपलब्धिका रूपमा बहस गरिएको छ, त्यो होइन । यसको जरो थाहा पाउन अध्ययन/अनुसन्धान पनि जरुरी छ । जसरी राष्ट्र बैंकबाट अहिले वैधानिक बाटोबाट दर्ता भएर आइरहेको छ- त्यसको कारण सोच्नुपर्छ घर परिवारको हकमा । र; राज्यको लागि अलिकति ट्याक्स आउने भयो । रेमिट गर्दाको पैसा आएको देखिने भयो ।

तर कोभिडमा अन्तर्राष्ट्रिय बजारमा व्यापार व्यवसायहरू ठप्पै भए । विदेश जाने पनि ठप्पै भए । एक अर्को देशबाट सेवाहरू पनि साटासाट नहुँदा हुन्डी रोकियो । त्यसपछि मान्छेहरूको हुन्डीप्रति एकदमै अविश्वास भयो । नेपालमा जसरी भए पनि पैसा त पठाउनुपर्‍यो । त्यसको लागि औपचारिक बाटोबाट पठाउनु पर्‍यो । त्यसरी पठाएको कारणले त्यो अलिकति बढी देखिएको भनेर बुझ्दा हुन्छ ।

अर्को भनेको मनी ट्रान्फर अर्गनाइजेसन (एनटीओ) हुन्‌ । नेपाली पुगेका गन्तव्य देशहरूमा एनटीओहरू पनि पुग्न थाले । यसमा उनीहरूले अवसर देख्न थाले । यसको प्रत्यक्ष उदाहरण कोरियालाई लिन सकिन्छ ।

विप्रेषण कसरी बढ्यो होला त भन्दा हाम्रोमा राखिएको विप्रेषणको तथ्याङ्क हेरेर त्यो सबै श्रमिकहरूले मात्रै पठाएको हो कि हैन भनेर पनि प्रश्न गर्नुपर्छ । हाम्रोमा डेटाहरू राखिन्छ, त्यसमा जस्तै विद्यार्थीले पठाएको पनि त्यसरी नै रेकर्ड भएको हुँदा हाम्रो त अमेरिका, अस्ट्रेलिया हैन एसियाकै विकसित भनिएका देशहरूमा गएका विद्यार्थीहरूले पनि पठाउँछन् ।

त्यो पनि एकै ठाउँमा गनिँदा ठूलो परिमाण देखिएको हो । यसरी हेर्दा खासै उत्साहित हुनुपर्ने ठाउँ भने छैन ।  किनकि रेमिटेन्समा आधारित हाम्रो अर्थतन्त्र लामो समय जान नसक्ला । यसको कारण भनेको अन्तर्राष्ट्रिय श्रम बजारमा केही मागहरू आएका छन् । तर नेपालीका गन्तव्य देशहरूमा हेर्दा त्यहाँ माग खुम्चिँदै गएको देखिन्छ ।

युरोपेली मुलुक, इजरायल, कोरिया जस्ता देशहरूमा चाहिँ के भइरहेछ भने कृषि र हेरचाह गर्ने क्षेत्रमा जनशक्तिको माग बढ्दो छ ।  तर, त्यो ठूलो मात्रामा हुँदैन । जुन युरोपको देशमा पनि ठूलो संख्यामा जान सकेको छैन ।

साउदी अरब, कतार, दुबई र मलेसिया जस्तो देशहरूमा हाम्रो विगतमा ४ लाख रुपैयाँसम्म जाने हो, त्यहाँ खुम्चिएको छ । त्यसकारण अर्थतन्त्रमा रेमिट्यान्सले जुन रूपमा धानिरहेको छ, त्यो हुन सकेको छैन । त्यसैले आन्तरिक रूपमा नै नेपालमा रोजगारी सिर्जना गर्नुपर्ने हुन्छ ।

विभिन्न अध्ययनले के देखाउँछ भने मानिसहरू वैदेशिक रोजगारीमा जान चाहने कारणहरुमध्ये एउटा त नेपालमै भएको आर्थिक वा व्यावसायिक अवसरहरू पर्याप्त नभएर हो । सरकारी र निजी गरी हाम्रो श्रम बजारमा ४०/५० हजारदेखि एक लाखसम्म रोजगारीको अवस्था छ । नेपाली श्रमबजारमा वार्षिक ५ लाख हाराहारीमा युवा-युवतीहरू आउने अवस्था भएकाले तालमेल देखिँदैन । त्यसकारण ४ लाख जनसंख्या कतै न कतै खपत हुनुपर्‍यो  ।

अर्को मर्यादित श्रम भनेर चिनिन्छ, त्यो भनेको अलिकति आफू र परिवारलाई लाउन खान पुग्ने प्रकारको सुविधा र सामाजिक सुरक्षा रह्यो भने मान्छेहरू यहाँ बस्ने अवस्था छ । नत्र अहिले त सरकारी कर्मचारीहरू डाक्टर, इन्जिनियरहरू जागिर नै छोडेर पलायन भइरहेका छन् ।

सामाजिक सुरक्षा एकदमै महत्त्वपूर्ण हुन्छ । आफू र आफ्नो परिवारको शिक्षा, स्वास्थ्यका लागि राज्यले केही पहुँच विस्तार गर्न त्यसमा पनि गुणस्तरको कुरा आउला । सार्वजनिक संस्थाहरूको गुणस्तरमा सुधार गर्ने र पीँधमा रहेको मान्छेलाई त्यसमा पहुँच पुर्‍याउन सकिएन भने युवा पलायन रोकिँदैन ।

हाम्रो समाज त्यसमा पनि ग्रामीण परिवेशमा हेरियो भने यताको परिवार पनि गएको छ, उताको छिमेकीको परिवार पनि विदेश गएको छ । दाइको पनि गाको छ, भाइको पनि गाको छ । अनि आफू धेरै राष्ट्रवादी भएर नेपालमै केही गर्छु भन्ने अवस्था पनि छैन । वैदेशिक रोजगारी सामाजिक प्रतिष्ठाको विषय बनेर गयो ।

अब राजनीतिक पार्टीहरूको घोषणापत्र देखि लिएर चुनावी नाराहरूमा कुनै पनि व्यक्ति सरकारमा आउने बित्तिकै  विशेषतः  प्रधानमन्त्री अथवा बजेट भाषणमा अथवा मन्त्रीले आएर मन्त्रालय सम्हाल्दै गर्दा रोजगारी सिर्जना गर्छु भनेको नै सुनिन्छ । तर व्यवहारमा हेर्दा यता केही प्रयास भएको जस्तो पाइँदैन । रोजगारी सिर्जना गर्न त नीति पो हुनुपर्छ । श्रम मन्त्रालयको जिम्मा छोडेर पनि रोजगारीको ढोका खुल्ने हो र ?

जस्तो लिबियामा विगतमा भएका घटना देख्यौँ । अफगानिस्तान हुँदै रुस युक्रेनसम्म आइपुगेर हेर्दा त्यहाँ सम्म पुग्ने श्रमिकलाई राज्यले रोक्नको लागि अथवा फर्काउनको लागि अथवा त्यहाँ रहेका श्रमिकहरूको सहजीकरणको लागि केही गर्ने प्रयास भएका छन् । नेपालमा घटना भएपछि मात्रै गर्ने गरिन्छ । सुरक्षाको दृष्ट्रिकोणले पनि  जोखिमयुक्त देशमा जान रोक्नुपर्ने हुन्छ । त्यसमा जाने प्रक्रियालाई कसरी रोक्ने वा श्रम स्वीकृति दिने, नदिने भन्ने होला ।

सङ्कटको बेलामा जस्तै कोभिडकै बेला वा अन्य प्रकारको कुनै समस्या आउँदाखेरि त्यहाँबाट द्रुत रूपमा नेपाली नागरिकहरूलाई उद्धार गरी घर फिर्ता गर्ने प्रक्रियामा पनि हेर्‍यौं भने हाम्रा विगतका नजिरहरू आशलाग्दा छैनन् । त्यसको लागि पहिलो कुरा त त्यसरी विदेश जान नै नपरोस् भन्ने हो । तर गइसकेको अवस्थामा त्यहाँको दूतावासलाई कुनै न कुनै रूपमा सबलीकरण गर्नुपर्ने आवश्यकता छ । त्यस्तो समस्या आउँदा दूतावासले कसरी सहयोग गर्ने भन्नेमा नै हाम्रोमा समस्या छ । यी सबै कुराको सहजीकरण गर्न आयोगमा केही व्यवस्था गर्ने भन्ने त छ । तर बजेट अभावको कारणले कसैलाई प्लेन टिकट दिन नसक्ने त कसैलाई खान बस्न सुविधा दिन नसक्ने भन्ने छ ।

अहिले गन्तव्य देशमा जसरी पुगे पनि  हाम्रो राज्यले त्यहाँबाट पनि वैदेशिक रोजगारी कल्याणकारी कोषमा तिर्नुपर्ने जति तिर्‍यो भने त्यसलाई वैधानिक नै मान्नु पर्‍यो । विगत ४/५ वर्षमा हेर्दा १२००/१३०० श्रमिकको मृत्यु भनेर वैदेशिक रोजगार बोर्डले निकालेको छ । त्यसमा केही संख्या बढी हुनु सक्छ । त्यहाँ क्षतिपूर्ति लिएकाहरूको मात्रै तथ्यांक हो ।

नेपालबाट परम्परागत गन्तव्य देशमा को जान्छ भने निम्न आयस्तर भएका परिवारबाट त्यो पनि ऋण लिएर जान्छन् । त्यसरी जाँदा त्यहाँ मृत्युवरण गर्नु परेको अवस्थामा वा गम्भीर प्रकारको रोग अशक्त  भएर आउँदा परिवार पनि त्यसरी नै प्रताडित हुनुपर्ने अवस्था छ । यसले दीर्घकालीन चुनौती निम्त्याएको छ । त्यसमा हाम्रो देशले कसरी त्यसलाई  न्यूनीकरण गर्न सकिन्छ भनेर काम गर्ने हो ।

त्यसको लागि अहिले जुन हाम्रो वैदेशिक रोजगारमा पूर्व प्रस्थान चाहिँ अभिमुखिकरण तालिम  छ । त्यो एउटा मात्रै तालिम छ, जसले फलानो फलानो देशमा जाँदा गर्नुपर्ने र गर्न नहुने कुरामा सतर्क गराउँछ । त्यो पनि त्यति प्रभावकारी बन्न नसकेको भनेर यहाँकै सरकारले अनुगमनमार्फत प्रमाणित गरेको हो ।

अर्को काठमाडौंमा मात्रै यस्ता प्रकारका सेवाहरू केन्द्रित गरेर हुँदैन अब यस्ता विषय भनेका स्कुल, कलेजमा पनि पाठ्यक्रमको विषय बनाइनु पर्छ ।

अर्को चाहिँ गन्तव्य देशमा पनि गएपछि बेला बेलामा आफ्ना श्रमिकहरूसम्म हामी पुग्नुपर्छ । अन्य देशले त्यो गरेका छन् । उनीहरूले त्यहाँ त्यो देशको बारेमा कानूनको बारेमा गर्न हुने नहुने कुराका बारेमा परिवर्तन हुने कानुनको बारेमा जानकारी दिएको पाइन्छ  । हाम्रो पनि मलेसिया जस्तो देशमा रेडियोबाट केही काम गरेको त छ, तर राजनीतिक रूपमा त्यो विषय कम प्राथमिकतामा पर्छ ।

जुन श्रमिकहरू वैदेशिक रोजगारीमा जान्छन् , त्यो सँग हाम्रो राजनीतिक नेतृत्व जिम्मेवार नहुने कारणमा  उनीहरूको भोटसँगको साइनो नजोडिएर हो । त्यस कारण राजनीतिज्ञलाई पनि यो विषयमा उत्तरदायी बनाउनु पर्छ । मताधिकार ग्यारेन्टी गर्नुपर्छ । त्यसो हुँदा राजनीतिक नेतृत्वले मेरो भोट हाल्ने मान्छे त्यहाँ छ है ! यसको परिवारले मलाई भोट हाल्छ भन्ने थाहा हुनुपर्छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ४ : ०१ बजे

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

जलवायु परिवर्तन : नेपालको शिर ढल्ने कि उठ्ने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जानुअघि

आर्थिक सम्बन्ध विस्तारमा नेपालको जोड

काठमाडौं– नेपालले बङ्गलादेशसँगको आर्थिक सम्बन्ध विस्तारका साथै अल्पविकसित मुलुकको सूचीबाट

सोह्र श्राद्धको कुन तिथिमा कस्को श्राद्ध गर्ने ?

काठमाडौं– दसैँको सुरुवातमा १६ दिनको पितृलाई सम्झिने दिन आउँछ जुन

विश्वकप लिग–२ : आज नेपाल र ओमान खेल्ने

काठमाडौं– आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत आज नेपाल र