अन्तर्राष्ट्रिय

भारतीय राष्ट्रपति मुर्मूलाई टिमोर लेस्तेमा सर्वोच्च नागरिक सम्मान

By खबरहब

August 20, 2024

काठमाडौँ– भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलाई दक्षिणपूर्वी एशियाली मुलुक टिमोर लेस्तेमा सर्वोच्च नागरिक सम्मान दिइएको छ । टिमोर लेस्तेको भ्रमणमा पुगेकी राष्ट्रपति मुर्मूलाई ‘ग्राण्ड कलर अफ द अर्डर अफ टिमोर लेस्ते’ बाट सम्मान गरिएको हो ।

टिमोर लेस्तेका समकक्षी जोसे रामोस होर्ताले मुर्मूलाई उक्त सम्मानबाट विभूषित गरेको भारतीय राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार राष्ट्रपति मुर्मूलाई सार्वजनिक सेवा र शिक्षा, सामाजिक कल्याण तथा महिला सशक्तिकरणप्रति उनको निष्ठाका लागि सम्मान दिइएको हो ।

सम्मानपछि राष्ट्रपति मुर्मूले भारत र टिमोर लेस्तेबीच कायम मैत्रीपूर्ण सम्बन्धको प्रतिबिम्बस्वरुप आफूले उक्त सम्मान ग्रहण गरेको बताएकी छिन् । फिजी र न्युजिल्याण्डको भ्रमण सकेर राष्ट्रपति मुर्मू टिमोर लेस्ते पुगेकी हुन् ।