जनकपुरधाम- मधेस प्रदेशसभा अन्तर्गतको अर्थ तथा योजना समितिको सभापति पदका लागि आज निर्वाचन हुँदै छ ।
मधेस प्रदेशसभा अन्तर्गत गठित विषयगत समितिहरूमध्ये अर्थ तथा योजना समितिमा रिक्त रहेको सभापति पदको निर्वाचन आज साँझ ६ बजे तोकिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यस समितिका सभापति जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिंह प्रदेशको मुख्यमन्त्री भएपछि पद रिक्त भएको थियो ।
प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४९ बमोजिम प्रदेशसभा सचिवालयले यस पदको निर्वाचन तालिकासमेत जारी गरेको छ ।
जसअनुसार, बिहान १० बजेदेखि ५ बजेसम्म समितिका सदस्यहरूबाट मनोनयन दर्ता गर्ने तालिका रहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव विपिनकुमार ठाकुरले जानकारी दिए ।
अपराह्न साढे ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने र ६ बजे सभापति पदको निर्वाचन हुने ठाकुरले बताए । निर्वाचन प्रदेशसभाको अर्थ तथा योजना समितिको सभाकक्षमा हुने जनाइएको छ ।
प्रतिक्रिया