मध्यविन्दुमा फोहरबाट जैविक मल उत्पादन सुरु | Khabarhub Khabarhub

मध्यविन्दुमा फोहरबाट जैविक मल उत्पादन सुरु


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु सहरी क्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकाले फोहरबाट जैविक मल उत्पादन थालेको छ । मध्यविन्दु–११ कुसुन्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी जैविक मल उत्पादन सुरु गरिएको हो । 

नगरपालिकाले घरबाट निस्कने फोहरको अनिवार्य वर्गीकरण गरी कुहिने र नकुहिने गरी संकलन र व्यवस्थापन थालेको नगरप्रमुख भीमलाल अधिकारीले बताए। उनका अनुसार नकुहिने फोहरबाट पुनः प्रयोगमा आउने छुट्टाएर बिक्री गर्ने र कुहिने फोहरबाट जैविक मल उत्पादन सुरु गरिएको हो ।

फोहरलाई कसरी पुनः अधिकतम प्रयोग गर्न सकिन्छ भन्नेतर्फ नगरपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको नगरप्रमुख अधिकारीले बताए । दिगो रुपमा नगरभित्रको फोहरमैला व्यवस्थापनलाई अघि बढाउन फोहरसँगै आम्दानीलाई जोडेर व्यवस्थापन थालिएको उनले उल्लेख गरे। 

‘हामीले फोहरलाई केवल फोहरको दृष्टिकोणले मात्रै हेर्‍यौँ’, अधिकारीले भने,’मध्यविन्दु नगरपालिकाभित्र हामीले संकलन गरेको नकुहिने फोहरमध्ये ७९ प्रतिशत बिक्री हुन्छ । कुहिने फोहरबाट जैविक मल उत्पादन गरिरहेका छौँ ।’ गत वर्षदेखि नगरपालिकाले फोहर व्यवस्थापनको काम सुरु गरेको हो । 

फोहर व्यवस्थापनका लागि दीर्घकालीन उपायको खोजी गर्ने क्रममा जैविक मल उत्पादन सही विकल्प देखिएको नगरप्रमुख अधिकारीले बताए।

‘एक ठाउँको फोहर अर्को ठाउँमा सारेर व्यवस्थापन गर्‍यौँ भन्ने होइन, यसको दीर्घकालीन व्यवस्थापनसहित आर्यआर्जनसँग जोड्ने गरी हामीले सुरुवात गरेका छौँ’, उनले भने। 

फोहरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी नगरपालिका अघि बढेको नगर कार्यालयले जनाएको छ । मध्यबिन्दु नगरपालिकाको पाँच वटा वडाबाट सुरु गरेको फोहर संकलन हाल सबै वडामा पुगेको नगर उपप्रमुख पूर्णकला चौधरीले जानकारी दिए। 

‘जैविक मल उत्पादनका लागि आवश्यक मिश्रणका लागि स्थानीय सामुदायिक वनबाट हरियो घाँस, सुकेका पात संकलन हुन्छ । जसबाट स्थानीय समुदायको आम्दानीको स्रोतसमेत वृद्धि भएको छ’, उपप्रमुख चौधरीले भने । 

सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्र सञ्चालनका लागि नगरपालिकाले छुट्टै इकाई स्थापना गरी आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताए । क्रमशः सहरीकरणको सुरुको चरणमा रहेको मध्यविन्दुमा अहिलेदेखि फोहरमैला व्यवस्थापन थालिएकाले यो कार्यले भविष्यमा हुनसक्ने सम्भाव्य समस्यालाई कम गर्नेमा उनले विश्वास व्यक्त गरे  ।

उत्पादित जैविक मलमा आवश्यक तत्व रहे/नरहेको प्रयोगशालामा नियमित परीक्षण हुने कृषि शाखा प्रमुख अक्षय वाग्लेले बताए। उत्पादित जैविक मल नगरभित्रका किसानलाई सहुलियत दरमा उपलब्ध गराउने नगरपालिकाको योजना रहेको उनको भनाइ छ ।

हालसम्म फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रको स्थापनामा कुल रु चार करोड ३७ लाख ९८ हजार तीन सय ७४ खर्च भएको सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्रका संयोजक इञ्जिनियर विवेक पोखरेलले बताए।

‘पुँजीगततर्फ तीन करोड दुई लाख १६ हजार तीन सय ६४ खर्च भएकोमध्ये गण्डकी प्रदेश सरकारको साझेदारी कार्यक्रमबाट एक करोड ३५ लाख ८२ हजार खर्च भएको छ’, उनले भने। 

फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना भएसँगै फोहर व्यवस्थापन, रोजगारी सिर्जना, छाडाचौपाया व्यवस्थापन, जैविक मल उत्पादनलाई जोड्ने काम भइरहेको नगरप्रमुख अधिकारीले बताए। योसँगै उत्पादित जैविक मलले कृषिमा रासायनिक मलको प्रयोगमा कमी ल्याउन, कृषि उत्पादन बढाउन र अग्यानिक उत्पादनलाई सहयोग पुर्‍याउने उनले विश्वास व्यक्त गरे।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  १ : ३६ बजे

त्रिविको प्रवक्तामा सह-प्रशासक बोहोरा नियुक्त

काठमाडौं- त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले त्रिविको प्रवक्तामा सह-प्रशासक एमानसिंह बोहोरालाई

प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतका महामहिम

राहुल चौधरी लगातार पाँचाैँ वर्ष ‘होटेलियर पावर लिस्ट’मा

काठमाडौं – सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवम्‌ प्रमुख कार्यकारी

कृषि उत्पादन बढाउन व्यवसायिकरण जरुरी छ : डा महत

सुदूरपश्चिम– नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले कृषिको

दशैँलाई काठमाडौंमा ४५ हजार खसीबोका भित्र्याइँदै

काठमाडौं – दशैंमा मासुको माग पूर्ति गर्न काठमाडौं उपत्यकामा झन्डै