मलेसियामा जीबीलाई दश दिनसम्म खोजेर रित्तै फर्किएको थियो प्रहरी टोली

By खबरहब

September 20, 2024

काठमाडौं – गोरखा मिडिया नेट्ववर्कका अध्यक्ष गितेन्द्रबाबु राईलाई नेपाल प्रहरीको एउटा टोलीले मलेसिया पुगेर १० दिनसम्म खोजी गरेको खुलेको छ ।

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र मकवानपुरको सानोपाइलासहित आधा दर्जनबढी सहकारीबाट अर्बौँ रकम बचत अपचलन आरोप लागेका जीबीलाई खोज्न गएको प्रहरी खाली हात फर्किएको खुलेको हो ।

सहकारीको बचत अपचनलनमा संलग्न भएर फरार २९ जनामध्ये मुख्य अभियुक्त जिबीलाई खोज्न नेपाल प्रहरीले दुईजना अधिकृतको टोली  पठाए पनि उपलब्धिबिना नै फर्किएको खुलेको हो ।

सहकारी ठगीबारे छानबिन गर्न गठित सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष समितिको छानबिन प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ ।

नेकपा एमालेका सांसद सूर्य थापा नेतृत्वको समितिको प्रतिवेदनमा जीबीको खोजीका लागि नेपाल प्रहरीले दुईजना अधिकारीलाई मलेसिया पठाएको कुरा उल्लेख छ । जीबी मलेसियामै लुकेको निष्कर्षका आधारमा गृहमन्त्रालयको निर्देशनमा जीबी खोज्न गत भदौ ७ गते दुईजना प्रहरी मलेसिया गएका थिए। तर १० दिनसम्मको कोसिस ब्यर्थ भएपछि उक्त टोली भदौ १७ गते खालीहात काठमाडौं फर्किएको थियो ।

गृहमन्त्रालयले संसदीय समितिलाई उपलब्ध गराएको विवरणअनुसार भदौ ७ गते प्रहरी उपरीक्षक र प्रहरी नायब निरीक्षकसहित दुईजना अधिकारी मलेसिया पुगेका थिए ।

मलेसियामा उनीहरूले नेपाली दूतावासका डीसीएम मुदिता बज्राचार्यसँग र मलेसियन प्रहरीसँगको अनौपचारिक भेटघाटका क्रममा यसबारे सरकारले नै उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने जवाफ मिलेको प्रतिवेदनमा लेखिएको छ ।

मलेसियन प्रहरीसँग फोन सम्पर्क गरेर विवरण माग्दा जीबीबारे कूटनीतिक तहमा छलफल भइरहेकोले केही डिस्क्लोज गर्न नमिल्ने जवाफ दिएको पनि प्रतिवेदनमा लेखिएको छ ।

‘मलेसियामा गएर नेपाली दूतावासका डीसीएम मुदिता बज्राचार्यसँग र मलेसियन प्रहरीसँगको अनौपचारिक भेटघाटबाट यसबारे उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने भनी जवाफ आएको थियो । एनसीबी काठमाडौंबाट एनसीबी क्वालालम्पुरलाई बारम्बार इमेलमार्फत् प्रतिवादीसम्बन्धी थप जानकारी माग गरिएकोमा कुनै जवाफ नआएपछि फोन सम्पर्क गर्दा जीबीबारे  कूटनीतिक तहमा छलफल भइरहेकोले केही डिस्क्लोज गर्न नमिल्ने बताएको,’ प्रतिवेदनमा भनिएको छ ।