पाँच वटा सडक जोडिए पनि म्याग्दी टोड्के पुग्नै सकस | Khabarhub Khabarhub

पाँच वटा सडक जोडिए पनि म्याग्दी टोड्के पुग्नै सकस


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्के जोड्ने पाँचवटा सडक छन् ।

पाँचवटा सडकले जोडिए पनि यातायातका साधनमार्फत टोड्के पुग्न भने मुस्किल हुने गरेको छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, ग्रामीण जीवनशैलीमा रमाउन पाइने समुन्द्री सतहदेखि दुई हजार चार सय ३० मिटर उचाइमा रहेको पर्यटकीय गन्तव्य हो ।

प्रशस्त पर्यटकीय सम्भावना बोकेको टोड्के जोड्ने सडक धेरै भए यात्रा भने सकसपूर्ण हुने गरेको हालै त्यहाँको भ्रमण गरेर फर्किएका बेनीका देवी जिसीले बताए । ‘टोड्के पुग्नै समस्या छ, पुगेपछि भने रमाइलो छ’, उनले भने ।

बेनी नगरपालिका–१० वाखेत, रघुगंगा गाउँपालिका–५ झिँ, बेनी नगरपालिका–५ डडुवा, मंगला गाउँपालिका–१ पूर्णगाउँ र कुहुँ–भिरकटेरा हुँदै टोड्के जोड्ने सडक छन् । घुम्ती तथा ग्रेड नमिलेको कच्ची सडकमा बर्खा र हिउँ पर्ने समयमा यातायातका साधन चल्दैनन् । अन्य समयमा पनि यात्रा जोखिमपूर्ण छ ।

मंगला–१ पूर्णगाउँका खगेन्द्र खत्रीले निर्माण भएका सडक स्तरोन्नति गर्नेभन्दा नयाँ सडक निर्माण गर्ने होडबाजीले कुनै सडक स्तरीय बन्न नसकेको बताए ।

महँगो भाडा
टोड्के हिल रिसोर्ट एण्ड होमस्टे प्रालिका सञ्चालक भीम शेरचनले सडकको समस्याका कारण अपेक्षाकृत रुपमा टोड्केमा पर्यटक आउन नसकेका बताए । ‘हिउँ नपरेको र वर्षा नहुँदा मोटरसाइकल, जीप र ट्याक्टर मात्र चल्छन्’, उनले भने, ‘ढुवानी र गाडी रिजर्भ गर्दा महँगो शुल्क तिर्नुपर्छ ।’

पर्यटकले सडकको विषयमा गुनासो गर्ने गरेका शेरचनले बताए । बेनीदेखि एउटा ग्यासको सिलिण्डर टोड्के लैजाँदा २५० भाडा तिर्नुपर्छ । नियमित गाडी नचल्ने भएकाले पर्यटकहरु त्यहाँ पुग्न गाडी रिजर्भ गर्नुपर्छ ।

बेनी–अर्थुंगे–झिँ हुँदै टोड्के (१९ किलोमिटर), बेनी–अर्थुेंगे–पात्लेखेत–वाखेत गाउँ हुँदै टोड्के (१५ किलोमिटर), १९ किलोमिटर दुरीको बेनी–गलेश्वर–पात्लेखेत–वाखेत–टोड्के र बेनी–अर्थुंगे–पुलाचौर–डडुवा–पूर्णगाउँ हुँदै टोड्के (१४ किलोमिटर) दुरीको सडक प्रयोग गर्न सकिन्छ ।

बेनी–सिम–कुहँ–पूर्णगाउँ हुँदै टोड्के जोड्ने २९ किलोमिटर दूरीको सडकको विकल्पमा गत आर्थिक वर्षमा मंगला गाउँपालिकाले २२ लाख रुपैयाँ खर्चेर कुहुँ–भिरकटेरा–टोड्के सडक निर्माण गरेको थियो । बस्ती, बस्तीको अनुकुलताका लागि खनिएका सबै सडकमा गाडीलाई घुम्ती नपुग्ने र ग्रेड नमिल्ने समस्या छ ।

पालिकाहरुको प्राथमिकता सडकमै  
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बेनीदेखि सात किलोमिटरमाथि जम्रेनीसम्म सडक कालोपत्र र ढलान भएको जानकारी दिँदै तोरीपानीसम्मको थप चार किलोमिटर सडक प्रदेश सरकारमार्फत स्तरोन्नति भइरहेको बताए ।

मुख्य बेनी–पाखापानीबाहेक बस्तीदेखि टोड्के जोड्ने कुन सडकलाई प्राथमिकता दिने भन्ने यकिन नहुँदा समस्या भएको उनको भनाइ छ । प्रदेश सरकारको २० करोड बजेटबाट स्तरोन्नति भइरहेको बेनी–पाखापानी सडकमा यस वर्ष बेनी नगरपालिका र संघीय सरकारको साझेदारीमा कार्यान्वनय हुने गरी तीन करोड बजेट विनियोजन भएको छ । बेनीदेखि पुलाचौरतर्फको सडकअन्तर्गत पुरुण्डेसम्मको सडक ढलान र कालोपत्र भएको छ ।

रघुगंगा गाउँपालिका–५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले झिँदेखि टोड्के जोड्ने सडकलाई क्रमागत योजनाका रुपमा स्तरोन्नति भइरहेको र चालु आवमा संघीय सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको बताए ।

मंगला गाउँपालिकाले सिमदेखि कुहु हुँदै टोड्के जोड्ने सडकअन्तर्गत सिमदेखि कोत्रवाङ हुँदै करिब दुई किलोमिटर कालोपत्र र ढलान गरिसकेको छ । मंगला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले संघीय सरकारले विनियोजन गरेको रु एक करोड बजेटमार्फत कुहुँ–भिरकटेरा–टोड्के सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान भइसकेको बताए ।

टोड्केको आकर्षण 
गुर्जा, चुरेन, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लामो शुङ्खलालाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु टोड्केको प्रमुख विशेषता हो ।

हिमाल अगाडि बसेर योग र ध्यानमा पनि रमाउन सकिन्छ । यहाँ उत्पादन भएका अर्ग्यानिक मुला, आलु र सिमीका परिकारको स्वाद लिन सकिन्छ । स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेकाले टोड्के  धार्मिक महत्वको पनि स्थल हो ।

डाँडाको शिरमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो । स्वर्गद्वारी, शिष्यहरू पूजारी महाराज र रखाल महाराजलगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिंग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा छन् ।  आश्रम परिसरमा गौशाला पनि सञ्चालनमा छ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ८ : ०३ बजे

दूरसञ्चारको कामलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री गुरुङ

गण्डकी– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दूरसञ्चारको कामलाई प्रभावकारी

अब पनि झोलामा खोला बोकेर नहिँडौँ : सुमना श्रेष्ठ

काठमाडौं– सांसदहरुले विद्युत् लाइसेन्स लिएर मात्रै बस्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा

गण्डकी प्रदेश प्रमुखद्वारा निजामती सेवा अध्यादेश प्रमाणीकरण

गण्डकी– गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश निजामती सेवा

जिल्ला र उच्च अदालतका २५ न्यायाधीशको सरूवा

काठमाडौं- न्याय परिषद्ले जिल्ला र उच्च अदालतका न्यायाधीशहरूको सरुवा गरेको

घरदैलोमै नगरवासीलाई सेवा

भोजपुर– योजनाको सफल कार्यान्वयनसँगै स्थानीय नागरिकलाई सहजरुपमा सेवा दिने लक्ष्यले