बालअधिकारको क्षेत्रमा हामी सिद्धान्तमा सफल, व्यवहारमा असफल : दामोदर न्यौपाने  | Khabarhub Khabarhub

सन्दर्भ विश्व बालदिवस

बालअधिकारको क्षेत्रमा हामी सिद्धान्तमा सफल, व्यवहारमा असफल : दामोदर न्यौपाने 



नोभेम्बर २० अर्थात् विश्व बालदिवस । ‘भविष्यको आवाज सुनौँ’ भन्ने नारासहित यसको वर्षको दिवस विश्वभर मनाइँदै छ । तर आजको २१औँ शताब्दी पार गर्नै लाग्दाको अवस्थामा पनि बालबालिकाले आफ्नो अधिकार प्राप्त गर्न सकेको अवस्था छैन ।

विकसित राष्ट्रमा बालबालिकाको क्षेत्रमा केही राम्रो प्रयास भए पनि गरिब देशहरूमा बालबालिकाले पौष्टिक आहारसम्म पाइरहेको अवस्था छैन । अझ युद्धरत देशहरूमा बालबालिकाको अवस्था अझै दयनीय छ ।

संयुक्त राष्ट्रसंघद्धारा सन् १९५४ नोभेम्बर २० बाट बालबालिकाहरूको हक तथा अधिकार उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन सुरु गरिएको हो । दिवसको सन्देश भनेको बालबालिकाहरूमाथि भइरहेको हिंसा र दुर्व्यवहारको निराकरण गर्नु हो । बालअधिकार अन्तर्गत बाँच्ने, खाना, स्वच्छ पानी, शिक्षा, स्वास्थ्य, सुरक्षा, स्वतन्त्रता, पहिचान र खेल्न पाउने अधिकार पर्छन् ।

यसै दिवसको अवसरमा बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका तथा बालबालिकासम्बन्धी थुप्रै किताबसमेत लेखेका लेखक तथा बालअभियन्ता दामोदर न्यौपानेसँग गरिएको कुराकानीको अंश :

‘भविष्यको आवाज सुनौँ’ भन्नुको अर्थ के हो ? 
बालबालिका भविष्य हुन् । योग्य नागरिक बनेर भोलि उनीहरूले नै देश चलाउँछन् । आजका बालबालिका भोलिका दक्ष नागरिक हुन् । समाज, परिवारको सम्पूर्ण जिम्मेवारी सम्हाल्न सक्ने नागरिक हुन् । त्यसको लागि उनीहरूलाई आजैदेखि तयारी गरिनु पर्छ । उनीहरूको आवाज आजैदेखि सुनुवाइ हुनुपर्छ ।

यो अभियानमा अभिभावकको भूमिका कस्तो हुनुपर्छ ? 
सबैभन्दा मुख्य भूमिका भनेकै अभिभावकको हो । प्रकृतिले पनि उचित संरक्षणमा बालबालिका हुर्काउने जिम्मा अभिभावकलाई नै दिएको छ । अझ धेरै आमालाई दिएको छ । चेतनशील मानवको हकमा अभिभावक दुवै मुख्य हो ।

आफ्नो सन्तान कस्तो बनाउने भन्ने कुरा अभिभावकको हुर्काइमा भर पर्छ । उनीहरूले दिएको संस्कारमा भर पर्छ । पालनपोषणदेखि बालबालिकाका अधिकारको व्यवस्था घरले नै गर्ने हो । संघसंस्था वा राज्यले गरेको कार्यले बच्चालाई पुग्दैन । राज्यले नीति नियम बनाइदिन्छ । तर त्यसको कार्यान्वयनमा बच्चा आफैँ उपभोग गर्न सक्दैन । उसलाई अभिभावकत्व चाहिन्छ ।

अर्को कस्तो वातावरणमा हुर्काउने भन्ने महत्त्वपूर्ण हुन्छ । कस्तो शिक्षा दिने भन्ने दायित्व घरकै हो । अभिभावकत्व सही नहुँदा बालबालिकाले गलत बाटो अपनाउँछन् । आज अधिकांश सडकमा बेवारिसे भेटिएका बालबालिकाको अभिभावकत्व नहुँदाको परिणाम हो । हाम्रो वातावरणमा हुर्कन पाउनुपर्ने बालबालिकाको अधिकार पनि हो ।

बालबालिकाको हकमा हाम्रा अभिभावकहरूले निभाएको भूमिका कस्तो छ ? 
बालबालिकाको हक र अधिकारका पक्षमा नेपालमा धेरै बहस हुन थालेका छन् । बालआवाज सुनिन थालेका छन् । असल अभिभावकत्व के हो ? यो अभ्यास सुरु भएको छ ।

तर समग्रमा अझै पनि बालबालिकालाई नसुन्ने प्रवृत्ति हाबी छ । उनीहरूको कुरा वास्ता नहुने, केन्द्रमा नराखिने शैली कायमै छ । खान दिएपछि, लगाउन दिएपछि र शिक्षा दिएपछि अभिभावकले आफ्नो कर्तव्य निभाएको ठान्छन् ।

बच्चालाई धेरै माया दिए मात्तिन्छन् भन्ने होइन । माया मात्रै दिने तर संस्कार नसिकाउँदा भने त्यसो हुन सक्छ । बालबालिका काँचो माटो हो । त्यो माटोको कस्तो भाँडा बनाउने भन्ने कुरा अभिभावकको हातमा छ ।

थर्काएर, दप्काएर मात्रै उनीहरू सुध्रिन्छन् भन्ने छैन । माया र सद्भावमार्फत बालबालिकालाई हुर्काउनु पर्छ । त्यो नै उचित हुर्काइ हो ।

बालबालिका हुर्काउँदै गर्दा अभिभावकले ख्याल गर्नुपर्ने मुख्य दुई पक्ष छन् । त्यो भनेको प्रेम र अर्को नियत हो । प्रेमपूर्ण वातावरणमा हुर्काउनु पर्‍यो । त्यसको साथसाथै क्रमशः नियमहरू पनि तय गर्नुपर्छ । नियम पनि सिकाउँदै जानुपर्छ ।

के गर्न हुन्छ ? यो प्रेम हो । के–के गर्न हुँदैन ? त्यो नियम हो । गर्न नहुने कुराहरूलाई नियन्त्रण गर्दै जाने अथवा रोक्ने हो । प्रोत्साहन र हौसला दिने क्रममा उनीहरूको बुझाइ र सोचलाई स्वतन्त्र छोडिदिनु पर्छ । विवेक पनि सिकाउनु पर्छ । उनीहरूको मनोविज्ञान बुझेर सिकाइनु पर्छ ।

अभिभावकको जिम्मेवारीसँगै बालबालिकाको सवालमा सरकारले गरेका कामहरू कति सन्तुष्टजनक छ ?

बालबालिकाको पक्षमा धेरै राम्रा प्रयासहरू भएका छन् । पर्याप्त मात्रामा कानुनको निर्माण भएको छ । संविधानमै शिक्षा, स्वास्थ्य, पौष्टिक आहार, बालमैत्री तथा मर्यादित व्यवहारको सुनिश्चित गरिएको छ । यो निकै ठूलो उपलब्धि हो ।

शिक्षालाई मौलिक हकमा राखेको छ । यसको अर्थ बालबालिकाको दायित्व सरकारले ग्रहण गरेको हो । कानुनमा संघर्ष गर्नुपर्ने अवस्था छैन । तर नेपालको हकमा समस्या के हुन्छ भने कानुनको कार्यान्वयन पक्ष फितलो भइदिन्छ ।

आज पनि धेरै बालबालिका शिक्षाबाट वञ्चित छन् । शिक्षा निःशुल्क गरिएको छ । तर विद्यालयसम्म बालबालिका किन पुग्न सकिरहेका छैनन् ? पुग्न नसकेका बालबालिकाको लागि वातावरण निर्माण गरिदिनु पर्छ । कतिपय सामुदायिक विद्यालय नै अलपत्र छन् । त्यसले पनि उनीहरूले सिक्ने अधिकार पर्याप्त पाइरहेका छैनन् ।

मुख्य स्वास्थ्यमा छ । उनीहरूले उति उपचार पाएको अवस्था छैन । राज्यले उनीहरूको उपचारमा ध्यान दिन सकिरहेको छैन । बालअधिकारको क्षेत्रमा सैद्धान्तिक रूपमा निकै सफल तर व्यवहारिक रूपमा असफल राष्ट्र हो ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ४ : ०५ बजे

अधिवक्ता कमल प्रसाद इटनी सम्मा‍‍‍नित

काठमाडौं – वरिष्ठ अधिवक्ता डा. नवराज गौतम फौजदारी कानून पुरस्कारबाट

आरजूको उचाइ : पार्टीमा लोकप्रिय, छिमेकमा प्रश्न !

काठमाडौं– नयाँ सरकार गठनका लागि सङ्घीय संसद्का दुई ठूला दल

देउसी कार्यक्रमबाट उठेको दक्षिणा क्यान्सर पीडितलाई 

धरान – नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अगुवाइमा धरानका केही

युगाण्डाका विपक्षी नेता बेसिग्येलाई अदालतमा उपस्थित गराइयो

एजेन्सी– युगान्डाका प्रमुख विपक्षी नेता किज्जा बेसिग्येलाई बुधबार कम्पालास्थित सैनिक

‘माओवादी नेतृत्वमा इतिहासमै रेकर्ड हुने गरि भ्रष्टाचारीलाई कारबाही गर्‍यौँ’

गोरखा- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल