कोलबुङ-रमिते गौडा झोलुङ्गे पुल निर्माण, आन्तरिक पर्यटनमा टेवा « Khabarhub

कोलबुङ-रमिते गौडा झोलुङ्गे पुल निर्माण, आन्तरिक पर्यटनमा टेवा


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

झापा – शिलान्यास गरिएको पाँच महिनामै बुद्धशान्ति गाउँपालिकामा झोलुङ्गे पुल निर्माण भएको छ ।

सङ्घीय सरकारको पाँच करोड ९८ लाख सात सय ६१ को लागतमा पुल बनेको हो । बुद्धशान्ति वडा नं ६ र ७ लाई जोड्ने चार सय ७६ मिटर लामो उक्त ‘कोलबुङ–रमिते गौडा झोलुङ्गे पुल’ टिमाई नदीमा बनेको छ ।

सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागको सम्पेन्सन ब्रिज डिभिजनका साइट इन्जिनियर जयप्रसाद गुप्ताका अनुसार विसं २०८१ जेठ २४ गते उक्त पुलको निर्माण सम्झौता भएको थियो । सम्झौतामा निर्माण अवधि  २०८३ जेठ २३ गतेसम्म तोकिएको थियो ।

सम्झौता भएको एक महिनापछि २०८१ असार २४ मा  सांसद एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उक्त झोलुङ्गे पुलको शिलान्यास गरेका थिए । निर्माणको ठेक्का लिएको कम्पनीले शिलान्यास भएको पाँच महिना र सम्झौता भएको छ महिनामै झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न गरेको हो ।

‘निर्माण व्यवसायी पक्षले निर्माण कार्य सम्पन्न गरिसकेको छ’, उनले भने, ‘सरकारी तहबाट अन्तिम परीक्षण हुन बाँकी छ । चाँडै अनुगमन गरेर पुलको हस्तान्तरण प्रक्रिया अघि बढ्नेछ ।’

दुई वर्षमा बनिसक्ने भनिएको झोलुङ्गे पुल छ महिनामै निर्माण भएको देखेर आफू चकित भएको बुद्धशान्ति –६ का शिवराज पौडेल बताउँछन्।

उनले भने ‘हिजोअस्तिजस्तो लाग्छ पुलको शिलान्यास भएको, ठेकेदारले यति छिटो काम सम्पन्न गर्लान् भनेर कल्पना समेत गरिएको थिएन ।’

मङ्सिरको अन्तिम सातादेखि पुलबाट सर्वसाधारणले आवतजावत गर्न थालिसकेका छन् । प्रदेशकै लामो पुल भएकाले घुम्न, हेर्न र फोटो भिडियो खिच्न  युवायुवती आउन थालेकाले आन्तरिक पर्यटनमा समेत टेवा पुगेको छ । पुल बन्नुअघि बुद्धशान्तिको वडा नं ६ बाट ७ मा जान स्थानीयवासीले सकस भोग्दै आएका थिए । पुल बनेपछि बुद्धशान्तिका वडावासीलाई आउजाउका लागि मात्र नभएर इलामको रोङ गाउँपालिका वडा नं ५ र ६ का बासिन्दालाई आफ्नो कृषिउपज झापाको बजारमा पु¥याउन सुविधा पुगेको वडाध्यक्ष पौडेलले बताए।

भौतिक पूर्वाधारका अधिकांश निर्माण कार्यमा ढिलासुस्तीको गुनासो आउने पाइन्छ । तर, सम्झौतामा दिइएको अवधिको तुलनामा एक चौथाइ अवधिमै पुलको निर्माण सम्पन्न भएकोमा स्थानीयवासी खुसी रहेको पौडेल बताउँछन्।

‘कोलबुङ–रमिते गौडा झोलुङ्गे पुल’ कोशी प्रदेशको सबैभन्दा लामो र नेपालको तेस्रो लामो ‘डि–टाइप’को झोलुङ्गे पुल रहेको इन्जिनियर गुप्ताले बताए। सिराहामा निर्माण भएको एक हजार पाँच सय मिटर लामो झोलुङ्गे पुलसमेत सोही निर्माण व्यवसायीले तोकिएको समयअगावै बनाएको उनले जानकारी दिए।

‘निर्माण छिटो हुने कि ढिलो हुने भन्ने कुरा निर्माण व्यवसायीको कामको गति र इमानदारीमा निर्भर हुन्छ’, उनले भने, ‘अटेरी प्रवृत्तिका कारण कतिपय काम ढिलो हुन्छन् । ठेकेदारले चाहे भने १८ महिना लाग्ने काम चार महिनामै पनि पूरा गर्न सक्छन् ।’

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ९ : ०३ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै