कांग्रेसभित्र इतर र भितरको विवाद नै अनुचित | Khabarhub Khabarhub

कांग्रेसभित्र इतर र भितरको विवाद नै अनुचित



कांग्रेस यतिबेला नीति महाधिवेशन भनिएको महासमिति बैठकमा व्यस्त छ । एकातिर कांग्रेसको संस्थापन पक्ष गठबन्धनप्रति अत्यन्त नरम छ भने आम कार्यकर्ता भने माओवादीसंगको सहकार्यले पार्टी विचार, विवेक र आफ्नोपनबाट विमुख बनेको भन्दै चिन्तित छन् । कांग्रेस कार्यकर्ताले आफ्नो चुनाव चिन्हमा भोट हाल्न नपाएकोमा नेतृत्वप्रति आक्रोश पोखेका छन् । कांग्रेस सत्तामा रहेपनि त्यसको अनुभूति नभएको बताउने कार्यकर्ताहरू सुशासन, संगठन विस्तार छोडेर पार्टीको मूल नेतृत्व नै सत्ताको दाउपेचमा केन्द्रित भएको आरोप लगाउँछन् । देशभरका दुई हजार जिम्मेवार नेता कार्यकर्ता सहभागी भएको यो बैठकबाट कांग्रेसमा आउने परिवर्तन के हो ? यसले कांग्रेसीजनको रुखमा छाप हाल्ने इच्छा पूरा गर्ला ? कांग्रेसभित्र विचार र निष्ठामा लाग्दै गएको खडेरी कसरी साम्य होला ? यी र यस्ता विषयमा वरिष्ठ पत्रकार तथा विश्लेषक होमनाथ दाहालसंग रेडियो क्यान्डिडका लागि कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश : 

कांग्रेसले अब एक्लै चुनाव लड्ने भनेको छ, त्यो सम्भव देख्नुहुन्छ ? 
अहिले जनता र कार्यकर्ताको भावनाको तलदेखि माथिसम्म यो महासमिति बैठकले प्रतिनिधित्व गर्छ । अहिले विचार नै नमिल्ने पार्टीसँग चुनावमा समेत गठबन्धन गरेर विरोध गरेको पार्टी उम्मेदवारलाई भोट दिनुपर्ने, निष्ठावान् कार्यकर्ता निषेध र जनतामा भ्रम सिर्जना गर्ने जुन काम भएका छन्, ती कुनै अर्थमा सही छैनन् । चुनावपछि परिस्थिति हेरेर गठबन्धन गर्ने भन्ने कुरा अर्को हो । तर एउटै भएर चुनाव लड्ने हो भने बहुदल किन चाहियो त ? हिजो अरु विरोधमा हुँदा पनि कांग्रेसले आफ्नो खुट्टामा उभिएर क्रान्ति, सङ्घर्ष गरेकै हो । विगतमा जे परिवर्तन भएको थियो, त्यो कांग्रेसले एक्लै गरेको थियो । कांग्रेसले जुन निर्णय गरेको छ, यो जनता र तल्लो तहका कार्यकर्ताको भावना अनुकूल भएकोले अब यसलाई इमानदारीसाथ लागु गर्नुपर्छ ।

कांग्रेसले जनआन्दोलन र संविधानसभाको दोस्रो चुनावपछि राजनीतिक घटनाक्रमलाई आफू अनुकूल बनाउन जे जति लेनदेन गर्‍यो, त्यसको क्षतिपूर्ति सम्भव छ ? 

कार्यकर्ताहरूले त्यो क्षतिको भरिपुरण चाहेका छन् । अहिले आएको निर्णय पूरा भयो भने कांग्रेस बीचमा भ्रम सिर्जना गर्ने जुन कलंक थियो, जहाँ धेरै कांग्रेसका मान्छे मारिएका थिए । कालान्तरमा त्यही पार्टीलाई भोट हाल भन्नु कार्यकर्ता, शहीदहरू ठूलो अपमान थियो । अब यो पूरा भयो भने तिनको आत्माले पनि धन्यवाद दिनेछ । यसले कांग्रेसमा सकारात्मक सन्देश जाने निश्चित छ ।

पुस्तैनी गुटबन्दीबाट गुज्रिएको कांग्रेस नेतृत्वले  आत्मसमीक्षा र आत्मालोचना गर्न नपर्ने बरु एउटा प्रस्ताव पारित गरिदिए पुग्ने यो त दादागिरी भएन र ?

आत्मसमीक्षा त उनीहरूले अब गर्लान् । पहिला त सोचेका पनि थिएनन् । किनकि  चुनावमा पहिला नै भागबन्डा गरेर ढुक्क भएर बस्थे । अब त्यो रहेन । चुनावमा त हार जित हुन्छ । आफ्नो पार्टीको मूलभूत चरित्रलाई नै खण्डित गरेर त्यसमा दाग लाग्ने गरी सुरु भएको परम्परालाई यो निर्णय सुधारको रूपमा विकास भएको छ । यो बीचमा ठूलो भ्रष्टाचार प्रकरण सार्वजनिक भए । युवाहरू बाहिर छन् । नेपालका सबै जग्गा जमिन बाँझो छ । बाहिरबाट अन्न ल्याएर पालिनु परेको छ । यो अवस्थालाई कांग्रेसले निर्ममताका साथमा पुनःमूल्यांकन गरेर के गर्दा मुलुक र लोकतन्त्रको भलो हुन्छ, त्यतातिर सोच्नु पर्‍यो । यो संविधान पनि कांग्रेसकै नेतृत्वमा जारी भएकोले यसलाई सफल बनाउनु कांग्रेसको नै जिम्मेवारी हो ।

संवैधानिक व्यवस्थाअनुसार कुनै पार्टीको एकल बहुमत नआउने निश्चित छ । संविधानको स्वरूप अनुसार त गठबन्धन अपरिहार्य हो जस्तो देखिन्छ नि ?

त्यसमा कार्यकर्ता उत्साही वा निरुत्साही के भए भनेर हेर्नुपर्छ । चुनावमा दुईचार सिट कम भएर केही फरक पर्दैन । अर्को पटक जित्नुपर्छ तर पार्टी नै धरापमा पर्‍यो भने के हुन्छ भन्ने सोचेर इमानदारीसाथ लाग्नुपर्छ । कसको शक्ति कति भनेर त भोलिका दिनमा खुल्छ नि ।

देउवा बालुवाटार गएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी सरकार नढल्ने विश्वास दिलाएको सुनिन्छ । माओवादीसंगको सहकार्यमा आफ्नो भविष्य देख्ने कांग्रेसको शीर्ष नेतृत्व कार्यकर्ताको अन्तरआत्माको आवाजबाट निरपेक्ष देखियो नि हैन र ?

एकै पटक सबै कुरा त्याग्ने हो भने भुईँचालो नै जान्छ । त्यसैले अहिले नै सरकार ढाल्ने कुरा गर्नु हुँदैन । नत्र मुलुकमा अस्थिरता सिर्जना हुन्छ ।
आज लाखौँ युवा बाहिर गएका छन् । शिक्षण संस्थाहरू दयनीय अवस्थामा पुगेका छन्,  त्यो सबैमा बिस्तारै सुधार गरेर जानु पर्छ । कांग्रेसले हिजो जनमत संग्रहमा एक्लै लडेर २० लाख ल्याएको थियो । आत्म शक्तिलाई बढाएर आफ्नो तागतको आधारमा राजनीति गर्ने हो ।

भूराजनीतिक संवेदनशीलता बढेर गएको छ । यसमा राजनीतिक नेतृत्व थप गम्भीर हुनुपर्छ । त्यसले राष्ट्रिय मेलमिलापलाई कसरी जोगाउने मुलुकको अस्तित्व कसरी बढाउने भनेर कांग्रेस जति अगाडि अरु आएका छैनन् ।

अहिले गरेको यो निर्णय कार्यकर्तालाई छक्क्याउने हैन । चुनाव जित्नु मात्रै कांग्रेसको उद्देश्य हैन । यो निर्णय उचित छ ।

अब कांग्रेसको नीति के हो ?

नीति धेरै छन् । पहिलो त कांग्रेस आफ्नो खुट्टामा उभिन सक्नु पर्छ । अहिले शक्ति राष्ट्रहरू वरिपरि घुमिरहेका छन् । देशमा सुशासन कायम गरेर यही देशमा केही गर्न सकिन्छ भन्ने सन्देश कांग्रेसले युवाहरूमा प्रवाहित गर्न जरुरी छ ।

कांग्रेसको तेस्रो धारले सुरु गरेको हिन्दु राष्ट्र र संघीयताको सन्दर्भमा समीक्षा गर्नुपर्छ भन्ने लाइन कांग्रेस जान कतिको सम्भव छ ?

यो त्यति सजिलो छैन । संविधानमा संशोधन गर्न त्यही भू राजनीति आएर जोडिन पुग्छ । हाम्रो हरेक कुरामा भूराजनीति जोडिन्छ । त्यसैले आफ्नो इतिहास र आफूले भोगेको दुख कष्ट, जनता र मुलुकको भावनालाई बोकेर अगाडि बढ्नु पर्छ । मुलुकको स्थायित्व र विकासको जिम्मेवारी कांग्रेसले लिनु पर्‍यो । कसैलाई दोष दिने हैन सबै मिलेर सुधारको बाटोमा जानुपर्छ ।

१५ औँ महाधिवेशन पछि नेपाली कांग्रेसले त्यो लय समात्ला भनेर आशा गर्ने कि भरोसामा पर्ने ?

गल्ती हुन्छ तर त्यसलाई सुधारेर लैजाने हो ।  पुरानाको आलोचना गरेर केही हात लाग्दैन । वर्तमानलाई त्रुटिरहित बनाएर अघि बढ्ने हो । अब कुनै विवाद नहुने लय पक्रिएर कांग्रेस अघि बढ्नु पर्‍यो ।

युवा पलायन र वितृष्णासँग सुशासन र भ्रष्टाचार मात्र जोडिएको हो कि प्रणाली पनि जोडिएको छ ?

अहिले सबै एकैपटक हुँदैन । सुधार भनेको बिस्तारै गर्नुपर्छ । अहिले फलानो नेताले यो गर्‍यो भनेर दोष दिनु हुँदैन । व्यवस्थाको कुरै भएन । कुनै पनि योजना कोट्याउँदा भ्रष्टाचार निस्किन्छ । अहिले आएको जलवायु परिवर्तन लगायतका कुरामा पनि ध्यान दिनुपर्छ । हाम्रो हिमाल सुके भने हाम्रो अवस्था र अस्थित्व कहाँ रहन्छ । यी सबै विषयमा ध्यान दिएर अघि बढ्नु पर्छ ।

पहिला सही ट्रयाकमा विधि प्रक्रिया अगाडि बढाएको भए अहिले यो बहस उठ्थ्यो ?

निःसन्देह उठ्दैनथ्यो । बिपी कोइराला र कृष्णप्रसाद भट्टराइले निष्ठाको राजनीति स्थापित गर्नुभयो । संसारको इतिहासलाई चकित पार्ने गरी यति सानो मुलुकमा किसुनजी प्रधानमन्त्री भएर प्रधानमन्त्री कार्यालय पस्दा निस्कँदा एउटा छाता र ट्यांकामा सीमित हुनुभयो ।  कांग्रेसले तिनै महान् नेताको अनुसरण गर्नुपर्‍यो । भूराजनीतिक संवेदनशीलता जोगाउन पनि कांग्रेस नेतृत्व सजग र सचेत हुनुपर्छ ।

यो बीचमा ठूला भ्रष्टाचारका फाइल खोल्यो भने गन्ध सबै कांग्रेसको मात्र आउँछ भनिन्छ । यस्तो अवस्थामा कांग्रेसबाट सुशासनको अपेक्षा कसरी हुनसक्छ ?

मान्छेले नै गल्ती गर्ने हो र सुधार पनि मान्छेले नै गर्ने हो । यो विषयमा कांग्रेस भित्र पनि बहस भएर अहिले निर्णय आएको हो । तर त्यो बहस जनता सम्म पुग्न र कार्यकर्तासम्म विश्वास दिलाउन पाएन । त्यस कारण मुलुकमा नैराश्यता भयो । कांग्रेस यो मुलुकमा सिद्धियो भने मुलुकको अस्तित्व के रहन्छ भन्न सकिँदैन । सत्तामा सबैभन्दा बढी कांग्रेस नै बसेको कारण सबै विषयमा कांग्रेस जोडिएको छ ।

संघीयताको सन्दर्भमा के भन्नु हुन्छ ?
संघीयता अहिले सजिलै हट्दैन । त्यसको लागि गम्भीर बहस गर्नुपर्छ । त्यो भन्दा अगाडि कांग्रेसले आफूले एक्लै गर्न सक्ने विकास गर्नुप¥यो, भ्रष्टाचार अन्त्य गर्नुपर्‍यो । नेपाली कांग्रेस नीतिगत, रणनीतिक र नेतृत्वको हिसाबबाट स्पष्ट हुनुपर्‍यो ।

तत्काल राष्ट्रिय राजनीतिका कुनै गठबन्धन तल माथि पर्न सक्ने देखिन्छ ?

अब कांग्रेसमा इतर र भितर भन्ने नै राख्नु हुँदैन । पार्टी एक भएको सन्देश लिएर तल जानुपर्छ । कार्यकर्ता लेबलमा जनतामा यो गुट बलियो र यो कमजोर भनेको सुन्दैनन् । त्यसैले एक भएर समस्या समाधान गर्नुपर्छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ३ : ३३ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट