ओली बास बसेकै होटलको उधारो तिरेन एमालेले | Khabarhub Khabarhub

ओली बास बसेकै होटलको उधारो तिरेन एमालेले


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  गत पुस ९ गते नेकपा एमाले जिल्ला कमिटी भोजपुरको नाममा अनौठो लाग्ने एउटा सूचना जारी भयो। जिल्ला अध्यक्ष शरणकुमार राई र आर्थिक विभाग प्रमुख रमादेवी राईले व्यवसायीहरुका नामामा जारी गरेको उक्त सूचनामा हालसम्मको वक्यौता अर्थात् उधारोबारेको विवरण उपलब्ध गराउन भनिएको थियो।

सूचनामा भनिएको थियो,‘नेकपा (एमाले) जिल्ला कमिटीका नाममा रहेको हालसम्मको विभिन्न होटल, स्टेशनरी, फ्लेक्स प्रिन्ट, लज, गाडी, कम्प्युटर तथा फोटोकपीका रकमहरु तिर्न बाँकी भएमा साथै पार्टीको नाममा कुनै व्यक्ति, संस्थाहरुले ऋण सापटी दिएको भएमा एकिन गरी रकम भुक्तानी गर्नुपर्ने भएकाले यही मिति २०८० पुस ८ गतेभित्र जिल्ला पार्टी कार्यालयमा बिल भर्पाई उपलब्ध गराई दिन हुन सरोकारवालाहरु सबैमा यो सार्वजनिक सूचनामार्फत अनुरोध गरिन्छ।’

साथै त्यही सूचनामा तोकिएको अवधिभित्र बिल भरपाई पेश नगरेका रकमहरु जिल्ला पार्टी कार्यालय भुक्तानी गर्न बाध्य नहुने पनि उल्लेख गरिएको थियो ।

एमालेले २०७९ को स्थानीय र आमचुनावताकाको उधारो नतिरेको गुनासो बढेपछि एमालेले उक्त सूचना निकालेको थियो । तर उक्त सूचनापछि पनि जिल्लामा एमाले जिल्ला कमिटी र त्यसका नेताहरुले पार्टीका नाममा गरेको उधारो खर्च अझै नतिरेको भेटिएको छ ।

अनौठो त के छ भने एमालेले २०८० मंसिर १४ गते बैतडीको झुलाघाटदेखि सुरु भएर पुस १ गते पाँचथरको च्याङ्थापुमा सम्पन्न मध्यपहाडी यात्राका क्रममा भएको उधारो खर्चसमेत तिरिएको छैन।

उक्त अभियानको चौधौं दिन अर्थात् मंसिर २७ गते एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीका अन्य शीर्ष नेताहरुसहित करिब डेढ सयजनाको टोली लिएर भोजपुर पुगेका थिए।

भोजपुर पुगेका ओलीलाई त्यहाँस्थित सबैभन्दा सुविधासम्पन्न होटल भिन्तुनामा राखिएको थियो। ओली पुग्नुअघि नै मंसिर २६ बाटै उक्त होटलका सबै कोठा एमालेले बुक गरिसकेको थियो। होटलका १८ वटा बुक गरिएपछि एमालेले ओलीलाई सबैभन्दा सुविधायुक्त कोठा नम्बर ३०४ मा राखेको थियो।

एमाले जिल्ला अध्यक्ष शरणकुमार राईको नाममा बुक गरिएको उक्त होटलमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली र पत्नी राधिका, सविचालयका सदस्य, सुरक्षाकर्मी र अन्य केही नेता पनि बसेका थिए।
तीन दिनका लागि बुक गरिएको उक्त होटलको खर्च एमाले जिल्ला कमिटीले व्यहोर्ने भनिएको थियो। होटल सञ्चालक एवम् भोजपुरका एकजना व्यवसायी राजकुमार श्रेष्ठका अनुसार त्यसअघिको उधारो पनि नतिरेको एमालेका लागि ओलीकै खातिर कोठा उपलब्ध गराइएको थियो।

होटलको सबै खर्च एक सातामा तिर्ने वाचा गरेको एमाले नेतृत्वले बाँकी वक्यौता पुस ९ गते उक्त सूचना निकालेपछि पनि भुक्तानी गरेको छैन।

ओली बसेकोसहित तीन दिनको र त्यसअघिको समेत एमालेका नाममा होटल भिन्तुनामा मात्रै एमालेले तिर्न बाँकी १ लाख ६७ हजार ५२५ रुपैयाँ छ।

‘पार्टीको नाममा दुई वर्षदेखिको उधारो छ। तर पटक पटक ताकेता गर्दा पनि तिर्ने छाँट छैन’, होटल सञ्चालक श्रेष्ठले भने, ‘बाँकीमध्ये ५३ हजारको बिल पनि दिएका छौँ तर त्यसको समेत भुक्तानी गरिएको छैन।’

ओलीपछि गत फागुन १८ गते एमाले उपमहासचिव रघुवीर महासेठ र नेता कृपाशुर शेर्पासहितको उक्त होटलमै बस्यो। ओली बस्दाको उधारोसमेत तिर्ने वचनमा एमाले जिल्ला नेतृत्वले ती दुई नेतालाई भिन्तुनामै राख्यो। तर त्यसबेला उठेको २५ हजार ९९० पनि एमालेले तिरेन।

यो होटलमा एमालेले २०७९ फागुन १७ गतेदेखिको उधारो तिरेको छैन। त्यसबेलाकै ५३ हजार ३७० रुपैयाँको उधारो पनि नतिरेपछि होटल सञ्चालक श्रेष्ठ तनावमा छन्।

‘एमालेको जिल्ला नेतृत्वलाई उधारो तिर्न फोन गर्दा उठ्दैन’, उनले भने, ‘नेताहरु आर्थिक रुपमा इमान्दार नहुँदा हामीले दुःख पायौँ।’

एमालेका एकजना जिल्ला नेताका अनुसार उक्त अभियानका क्रममा भोजपुरमा भएको खर्च तिर्न केन्द्रले २ लाख रुपैयाँ दिएको थियो। तर उक्त २ लाख रुपैयाँ कहाँ कसरी खर्च भयो भन्ने नेतृत्वले नखुलाएको ती नेताले बताए।

एमालेका नाममा होटल भिन्तुनासहित स्थानीय छापाखानामा समेत उधारो छ। एकजना छापाखाना सञ्चालकले तीन वर्षदेखि एमालेले १ लाखभन्दा धेरै उधारो तिर्न आनाकानी गरेको बताए।

यसबारे एमाले वर्तमान जिल्ला नेतृत्वमा रहेका नेताहरु कोही पनि बोल्न चाहँदैनन्। जिल्ला अध्यक्ष शरणकुमार राईसहितका नेताहरु उधारो तिर्न तयार तयार रहेको बताउँछन्। अध्यक्ष राईले पुसमै उधारो तिर्ने सूचना निकाले पनि व्यवसायीहरूले भुक्तानी नभएको बताएका छन् ।

एमालेका नाममा रहेका सानोतिनो उधारो तिर्ने जिम्मा अहिले भोजपुर नगरपालिकाकी उपमेयर निर्मला शेर्पाको काँधमा छ। तर उनले एमालेका नाममा रहेको उधारो तिर्दा तिर्दा हैरान भएको बताउने गरेकी छन् ।

तर उपमेयर शेर्पाले आफूले एमालेको उधारो तिर्ने गरेको कुरालाई अस्वीकार गरेकी छन् ।

उनले एमालेको नाममा रहेको उधारो तिर्ने जिम्मा आफ्नो नभएको बताउँदै उक्त कुरा गलत भएको बताइन् । ‘एमालेको उधारो तिर्ने जिम्मा मेरो होइन। मैले तिर्ने कुरा पनि होइन’, उनले भनिन्, ‘पार्टीको कुरामा मैले जिम्मेवार हुने कुरा हुँदैन । यसमा मलाई जोड्नु गलत हो ।’

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ३ : ३४ बजे

कश्मीरमा ठूलो आक्रमण- घुम्न गएका पर्यटकलाई चरमपन्थीले नाम सोधीसोधी हानेका थिए गोली

कश्मीर- सन् २०१९ मा पुलवामामा भएयताकै सबैभन्दा ठूलो चरमपन्थी आक्रमण

कश्मीरमा पर्यटकको समूहमाथि चरमपन्थीको आक्रमण, नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु

कश्मीर- भारतको जम्मु-कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला

शिक्षक र राजावादीको आन्दोलनले ओझेलमा उद्योगी मेला, सबै स्टल बुकिङ हुनै मुस्किल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले वैशाख २५ गतेदेखि आयोजना गर्न

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता, भारतीय मन्त्री खट्टरले भने- नयाँ कोसेढुङ्गा

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्

आन्दोलित शिक्षकलाई निजामती कर्मचारीले साथ दिँदा सरकारलाई धक्का !

काठमाडौं- शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि जारी आन्दोलनको निचोड