कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ ।
जिल्लामा जापानिज इन्सेफलाइटिसका बिरामी फेला परेपछि घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिकामा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मिनबहादुर धामीले जानकारी दिए ।
उनका अनुसार धनगढी उपमहानगरपालिकामा असोज ८ गतेदेखि खोप अभियान सञ्चालन गरिनेछ । कैलालीमा यस वर्ष जापानिज इन्सेफलाइटिसका आठ जना बिरामी फेला परेका छन् ।
तीमध्ये लम्कीचुहा नगरपालिकाका दुई, धनगढी उपमहानगरपालिकाका तीन र घोडाघोडी नगरपालिकाका तीन जना रहेका छन् । घोडाघोडीका तीन सङ्क्रमितमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ ।
जिल्लाका १३ स्थानीय तहमध्ये जेईका बिरामी फेला परेका घोडाघोडी, लम्कीचुहा र धनगढीमा खोप अभियान सञ्चालन गर्न लागिएको सूचना अधिकारी धामीले बताए।
घोडाघोडी र लम्कीचुहामा आजदेखि अभियान सुरु भएको र धनगढीमा असोज ८ गतेदेखि सञ्चालन गरिने उनले जानकारी दिए। अन्य स्थानीय तहमा पनि चालु आर्थिक वर्षभित्र जापानिज इन्सेफलाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिने उनले बताए।
यसैबीच, घोडाघोडी नगरपालिकामा नगरपालिकाका कर्मचारीलाई खोप लगाएर अभियानको उद्घाटन गरिएको छ । आज बिहान नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले खोप लगाएर अभियानको उद्घाटन गरे।
घोडाघोडी नगरपालिकाका सिनियर अहेब मानबहादुर बोहोराका अनुसार नगरपालिकाका १३ वटै स्वास्थ्य संस्थामार्फत १२ वटै वडाका समुदायमा खोप सेवा सञ्चालन गरिनेछ । अभियानअन्तर्गत ३० वर्ष उमेर समूहसम्मका व्यक्तिलाई जापानीज इन्सेफलाइटिस विरुद्धको खोप लगाइने उनले जानकारी दिए ।
नगरपालिकामा सुरु भएको खोप अभियान असोज ७ गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा नगरपालिकाका सबै वडाका लक्षित समुदायसम्म पुगेर खोप सेवा उपलब्ध गराइनेछ।












प्रतिक्रिया