जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयबाट १ सय मिटर दक्षिण तर्फ छ– नेपाल पत्रकार महासंघ, धनुषाको कार्यालय । महासङ्घको कार्यालयमुनि एउटा सानो चिया पसल छ । जहाँ एकपटकमा चार-पाँच जना मात्र बस्न मिल्छ ।
यही चिया पसलबाट मोफसलमा काम गर्ने अधिकांश पत्रकार र चिया पसले अंकल रामजित यादवको सुरु हुन्छ दिनचर्या । हामी प्रायः पत्रकारहरू त्यहीँ चिया खाने गरेकोले उनलाई अंकल भनेर बलाउँछौ । रामजित अंकल उमेरले ६० वर्ष नाघिसकेका छन् । उनले चिया पसल चलाएकै ४५ वर्ष भयो ।
रामजितबिहान ४ बजे उठछ्न् अनि करिब ५ बजेतिर पसल पुग्छन्। सरदाम मिलाउँछन्। सानो ग्यास सिलिन्डरमाथि जोडिएको चुल्होमा ताप्के बसाउँछन्। सिसा र कागजका गिलास ठिक्क पार्छन्।अनि उनको चिया दैनिकी सुरु हुन्छ । पसलसंगै जोडिएको महासंघको कार्यालयमा बस्ने पत्रकार उनका स्थायी र पहिलो ग्राहक हुन्छन् ।
उनी पत्रकार र नजिकै रहेको राष्ट्र बैंकका कर्मचारीको लागि नियमित चिया बनाउँछन्। उनले बनाएको चिया यी दुई कार्यालयमै सीमित भने होइन। बाटोमा हिँड्ने बटुवादेखि त्यो चोकमा पसल थाप्ने प्रायः व्यापारी पनि उनको दैनिक ग्राहक हुन ।
बिहान १० बजेसम्म उनलाई रत्तिभर फुर्सद हुन्न । पूरा दिन उनी यसैगरी चिया पकाउँछन् । एकदिनमा करिब २ सय कप जति चिया बिक्ने गरेको रामजित बताउँछन् । बीचमा दिउँसो खाना खाने समयमा एकचोटि दुई घन्टा विश्राम लिन्छन्। त्यसपछि दिनभरि कोही न कोही चिया पसलमा आइनै रहन्छ। उनी बेलुका ८ बजेसम्म पसल खोल्छन् ।
उमेरले ६० वर्ष नाघिसकेका जोकोहीलाई यत्तिका काम गर्दा थकाइ लाग्छ। उनमा भने एकरत्ति परनिर्भरता देखिँदैन। ‘मैले चिया बेच्न सुरु गर्दा चियाको मूल्य २० पैसा थियो, अहिले त् २० रुपैयाँ पुगेछ ।’ रामजित मुस्काउँदै भन्छन्– ‘एक दिनमा डेढदेखि दुई सय बढी कप चिया बेच्छु । कहिलेकाहीँ तीन सय कपसम्म खपत हुन्छ । प्रति कप २० रुपैयाँमा बिक्ने चियाको हिसाबले दैनिक ४ हजारदेखि पाँच हजार रुपैयाँसम्म कारोबार हुन्छ ।’
कहिलेकाहीँ महासंघको सभाहलमा कुनै संस्थाले कार्यक्रम गर्छन, त्यस दिन त भ्याइनभ्याइ हुन्छ उनलाई ।
उनी भन्छन् ‘यति व्यस्त भइन्छ, कहिलेकाहीँ त एक्लो ज्यानले सक्छु कि सक्दिनँ, अर्डर लिऊँ कि नलिऊँ भन्ने हुन्छ।’
चियाले आर्जित अमेरिकी साख
उनका चार सन्तान छन्। कान्छो छोराबाहेक तीन जनाले स्नातकोत्तर गरेका छन्। रामजितले चिया बेचेरै उनीहरूलाई यतिसम्म पढाएका हुन् । जेठा छोरा परमजित र जेठी छोरी उर्मिला जनकपुरकै एक बोर्डिङ स्कुलमा पढाउँछन्। कान्छा छोरा विश्वजितले उच्च शिक्षा हासिल गरेका छैनन्, कक्षा १० सम्म मात्र पढेका उनी अहिले वैदेशिक रोजगारका लागि कतारमा छन्।
कान्छी छोरी निर्मला स्नातकोत्तरसम्म अध्ययन गरेकी छिन । उनी बिहेपछि डिभी परेर अमेरिका गएकी छन् । उनैले बुवालाई केही समय आराम र घुमफिरका लागि अमेरिका बोलाएकी छन् । अमेरिका जानुअघि दिनुपर्ने अन्तर्वार्ताका लागि काठमाडौं जाँदैछन् । छोरीकै खर्चमा उनी त्यसतर्फ जान लागेका हुन् ।
उनका सबै छोराछोरी राम्रै कमाउँछन्। रामजितलाई वृद्धावस्थामा पनि किन काम गर्नुपरेको होला ? छोराछोरीले वेवास्ता गरेका त होइनन् भन्ने जिज्ञासा स्वाभाविकै आउँछ।
तर त्यस्तो केही नरहेको उनी बताउँछन् ‘छोराछोरी एकदम राम्रो कमाउँछन्। सबैले घर बस्न भन्छन्। छोरीले त् झन अमेरिका नै बोलाएकी छन् । मलाई भने निस्क्रिय बस्नैमनै लाग्दैन ।’उनको मनै चिया पसलमा बसेको छ। यही पसल चलाएर उनले छोराछोरीलाई पढाए ।
एउटा अझै रोचक कथा छ, रामजित अंकलको ।
एकचोटि रिचर्ड बरघार्ट जनकपुरधाम र मिथिलाबारे अध्ययन गर्न जनकपुर आएका थिए। अमेरिकामा जन्मेका रिचर्ड जर्मनीमा काम गरेका प्रख्यात मानवशास्त्री थिए। उनैले ‘द हिस्ट्री अफ जनकपुर’ भन्ने किताब पनि लेखेका छन् ।
आजभन्दा पाँच दशकअघि उनी आफ्नो पिएचडीको थेसिस गर्न नेपाल आएका थिए । उनले जनकपुरमा करिब दुई वर्ष बिताएको जर्मन एन्थ्रोप्रोलोजी डटकममा उल्लेख छ।
रामजितलाई उनका बारेमा धेरै कुरा त थाहा छैन। तर लेखक भनेर चिन्ने रिचर्डसँग उनको गहिरो सम्बन्ध थियो ।रिचर्ड जनकपुरको एक होटलमा खाना खान्थे। रामजितका अनुसार उनी त्यही होटलमा भाँडा माझ्ने काम गर्थे । रिचर्डलाई मिथिलाबारे अध्ययन गर्न मैथिली र नेपाली भाषा सिक्नु थियो। यहीँनिर रामजित र रिचर्डको भेट भएको उनी सुनाउँछन् । भेटसंगै सहकार्य सुरू भयो।
रामजितले दस कक्षासम्म पढेका छन् । त्यसैकारण रिचर्डका कुरा बुझ्न र फर्काउन उनलाइ गाह्रो भएन। रिचर्ड उनीसँग घुलमिल हुन थाले। रामजितले रिचर्डलाई मैथिली वा नेपालीमा बोलिएका कुरा अंग्रेजीमा भावानुवाद गरेर बुझाइदिन्थे। विस्तारै अध्ययननिम्ति कुनै कुटी वा मन्दिर जाँदा रिचर्डले रामजितलाई साथै लिएर जान थाले।यसरी साथ हिँड्दाहिँड्दै रामजित रिचार्डलाई ठाउँ घुमाउने गाईड र भाषा बुझाउने ट्रान्सलेटर नै बने।
‘म थोर् बहुत अंग्रेजी बुझ्थेँ । रिचर्डले नेपाली र मैथिली नबुझ्ने’ उनले सुनाए, ‘म विस्तारै उनलाई सबै बुझाइदिन्थेँ।’
जनकपुरधामको महत्व झल्काउने जानकारी दिने सबै ठाउँ र पुस्तकका लागि रिचर्डले रामजितलाई भारतको मधुवनी, अयोध्यासहितका स्थानमा पठाउन थाले। आफूले रिचर्डको अनुसन्धानका लागि विभिन्न स्थानबाट मिथिलाको विशेषता र महत्व झल्काउने किताब ल्याएको उनी स्मरण गर्छन् ।
रामजितको त्यो सहयोग रिचर्डले गुन सम्झे । त्यही गुन तिर्न रिचर्डले उनका जेठा छोरा परमजितलाई जनकपुरकै तत्कालीन प्रसिद्ध निजी स्कुल सिद्धार्थ बोर्डिङमा भर्ना गराइदिए। उनको एक वर्षको पूरा शुल्क पनि बुझाइदिएका थिए ।
त्यही बेला रामजितले बुझे, सन्तानलाई राम्रो शिक्षा दिनुपर्छ । रिचर्डले जुन स्कुलमा भर्ना गरिदिएका थिए, परमजित अहिले त्यही स्कुलमा पढाउँछन्। सन्तानलाई राम्रो शिक्षा दिने हुटहुटीले नै उनलाई मरिमेटेर खट्न सक्ने बनायो। सानो चिया पसल चलाएरै सबैलाई सक्षम बनाएको उनी बताउँछन् ।
जेठा छोरा परमजित कहिलेकाहीँ सक्दो सघाउँछन्। उनको स्कुल आउजाउ गर्ने बाटो प्रायः बाबुको चिया पसलकै हो । कुनै दिन कामबाट फर्किँदा वा जाने बेलामा बुबाले ग्राहकको चाप थाम्न नसक्ने अवस्था देख्छन्। अनि मोटरसाइकल रोक्छन् । अरू नभ्याए पनि ग्राहकले चिया खाएर छाडेका सबै गिलास टिपेर डसबिनमा हालिदिन्छन्। सिसाको गिलास भए पखाल्दिन्छन् ।
रामजितकी बुहारीलाई भने ससुराको काम पटक्कै मन पर्दैन रे! पति शिक्षक र उनका बुवा एक चिया पसले भएर ‘अरूको जुठो उठाउने, माझ्ने’ गरेकामा लाज लाग्छ। त्यसैले उनले आफूहरू सक्षम भइसकेकाले घरमै बस्न पटकपटक भनिरहने रामजित दोहोर्याउँछन् । तर जुन पेशाले आफूलाई सामाजिक इज्जत दियो, परिवारको पालनपोषण गर्यो, त्यसलाई चटक्क छोड्ने पक्षमा उनी छैनन् । अझ भारतीय प्रधानमन्त्री कुनै समय चिया बिक्रेता रहेको गौरवपूर्ण इतिहासले उनलाई थप हौसला दिन्छ ।
प्रतिक्रिया