जागरुकताको अभ्यास योग | Khabarhub Khabarhub

जागरुकताको अभ्यास योग



योग शारीरिक तन्दुरुस्तीको अभ्यास मात्र नभएर आन्तरिक रूपमा हरपल जागृत भएर कसरी बाँच्ने र कर्म गर्ने त्यो मूल उद्देश्यका साथ जीवन बाँच्ने कला हो। योग शब्दलाई मात्र प्रयोग गरेर ध्यानको अभ्यास छुट्यो भने पनि योग अपूर्ण हुन जान्छ। योग र ध्यान प्रेमपूर्ण जीवन बाँच्ने माध्यम हुन्। जागरुकता विना जीवन र प्रेमको रहस्य उजागर हुनेवाला छैन। जागरुकता के हो र यसलाई कसरी अभ्यास गर्ने भन्ने कुरा महत्त्वपूर्ण छ। जागरुकता एउटा समझ हो। शान्त बस्नु, कुनै मन्त्रमा ध्यान दिनु या काममा मन लगाउनु मात्र जागरुक हुने विधि होइन।

 

मनका क्रियाकलापलाई सूक्ष्म रुपमा हेर्ने, साक्षी भएर हेर्ने अभ्यास जागरुकताको अभ्यास हो र यहि नै ध्यानको अभ्यास पनि हो। मन, शरीर र कर्म प्रतिको सजगता मात्र नभएर जीवनको प्रकृति प्रतिनै सजगता अपनाउनु जागरुकता हो। थोरै मात्र क्षणपनि मनलाई स्थिर बनाएर परिस्थिति या घटनालाई समग्रतामा हेर्ने कला जागरुकता हो। मस्तिस्कमा सबै सूचना प्राप्त भएर पनि हृदयको सुन्नु, अन्तरात्माको जान्नु र निर्णय लिनु जागरुकताको अभ्यास हो। सामाजिक सूचना, घटना, परिस्थिति र क्रियाकलापले मनलाई एउटा धारणा बनाउन प्रेरित गरिरहेको अवस्थामा पनि सबै बन्धन र मान्यतालाई छाडेर आफ्नो स्वभावको पहिचान, स्वप्रमाणिकता र स्वनिर्णयमा जिउने साहस गर्नु जागरुकताको परिणाम हो। आग्रह, पूर्वाग्रह, परम्परा, मान्यता र बन्धनलाई जान्नु र वोधपूर्ण हुनु नै जागरुकताको अवस्था हो।

मनसँग जोडिनु योग हो
व्यक्ति संसारको बारेमा, दोस्रोको बारेमा सबै जान्दछ, सबै सूचना संग्रह गर्दछ तर स्वयंलाई जान्ने कला बिर्सेको छ। बेहोस बन्नुलाई जागरणमा रुपान्तरण गर्नु जागरुकता हो। स्वयंलाई जान्न नसक्नु जत्तिको अज्ञानता अरु हुनै सक्दैन। सूचनामा होइन बोधमा जिउनु जागरुकताको लक्षण हो। मनका खेलहरु, मनका चंचलता, मनका कल्पना, मनको वकालतलाई बोधपूर्ण हेर्नु र चेतनाको स्तरबाट आफूलाई सजग राख्ने कला नै जागरुक रहने कला हो। जागरुकता व्यक्तिको एउटा अवस्था हो जहाँ धारणा, कथाहरु विलिन हुन्छन् र आफ्नो स्वभावमा जिउने प्रेरणा प्राप्त हुन्छ।

कुनैपनि व्यक्ति, घटना, परिस्थिति, अनुकुलता प्रति प्रतिकार र नकारात्मक दृष्टिले नहेरी वास्तविकता जान्न खोज्नु र आफूले सके जति सकारात्मक सहयोग पुर्याउनु जागरुकता हो। तर जागरुकता कुनै क्रिया र विधि होइन। शान्त, सौम्य, प्रेमल, निर्मल र मौन अवस्था तर हरेक घटना र परिस्थितिलाई जस्तो छ त्यस्तै रुपमा देख्ने कला हो, यहि नै योग र ध्यानको उपलब्धि पनि हो। ध्यान योग, सुरति योग, अमृत योग मार्फत आफ्ना मनका वृत्ति र निराशा, तनाव अनि रूग्णता कुन स्तरमा छ त्यसलाई बोध गर्ने ध्यानको माध्यम योग हो। संसारबाट अध्यात्म, जीवनबाट परम जीवन, बहिर्मुखी प्रतिभाबाट अन्तर्मुखी बोधसँग जोडिनु योग हो।

योग र ध्यान गर्ने व्यक्ति आफ्नो जीवन सम्मानपूर्वक बाँच्ने गर्दछ भने अरूलाई पनि सम्मान दिन तत्पर हुन्छ।

जीवन ऊर्जा सकारात्मक बनाउने माध्यम योग
जागरुकताको अभ्यास र प्रयोगले जीवनमा सजगता र होश कायम राख्दछ। जीवन ऊर्जालाई सकारात्म बनाउँछ। सोचाई र दृष्टिलाई व्यवहारिक बनाउँछ। मन र आत्माको सम्बन्धलाई लयात्मक बनाउँछ। आत्मिक र मानसिक शान्तिको विकास हुन्छ। चित्तदशा शान्त र स्वस्थ हुन्छ। व्यक्ति भयबाट बोधको यात्रामा अगाडि बढ्छ। तनावको सट्टा प्रेमको विकास हुन्छ। विवेकको विकास हुन्छ र वर्तमानमा जिउने कला प्राप्त हुन्छ। मैले के सोचिरहेको छु, त्यो सही छ या गलत, त्यसको परिणामले मलाई आनन्द दिन्छ या तनाव सबै क्रियाकलापप्रति जागृत गराउँछ।

योग र ध्यान गर्ने व्यक्ति आफ्नो जीवन सम्मानपूर्वक बाँच्ने गर्दछ भने अरूलाई पनि सम्मान दिन तत्पर हुन्छ। हामी सबै हाम्रो जीवनमा सबैबाट सम्मान चाहन्छौं तर सम्मान दिन भने जान्दैनौं या हिचकिचाउछौं। प्रायजसो व्यक्तिलाई सम्मान दिँदा सरल र सहज भइन्छ र यसबाट अरुले हेप्लान् भन्ने चिन्ता सधैं रहन्छ। सरल हुनु, सबैलाई सम्मान गर्नु, सबैको निजतालाई कदर गर्नु जस्ता सामान्य बानीले आफैंलाई प्रेमिल र शान्त बनाउछ तर हामी कठोर बन्ने प्रयास गरिरहेका हुन्छौं। कडा आमाबुबा, कडा शिक्षक, कडा हाकिम, कडा गुरु बनेर आफ्नो मात्र सम्मान जोगाउन खोज्छौं जुन विल्कुल विपरीत सोच हो।

रूपान्तरणको आयाम योग
योग र ध्यान कुनै समयमा गरिने शारीरिक क्रियाकलाप मात्र होइन, यसबाट जीवनमा के रूपान्तरण आयो त्यो महत्वपूर्ण पक्ष हो। हामी योगीक जीवन बिताउन र ध्यानी भनेर चिनाउन लायक छौं कि छैनौँ त्यो हाम्रो व्यवहारमा देखिनु पर्दछ। साना, ठूला सबै प्रकारका सहयोग गर्ने हाम्रा आफन्त, परिवारजन, छोराछोरी, साथीभाइ सबैलाई धन्यवाद भावले प्रसंशा गर्न जान्नु प्रेमपूर्ण हुने अर्को कला हो।

श्रीमतीले खाना पकाएर खानदिनु कर्तव्य त हो नि भन्ने ठान्दछौं र हतार हतार खाएर उठ्छौं। कति मिठो खाना भनेर प्रसंसा गर्दै धन्यवाद दिने प्रचलन नै छैन। २-४ घण्टा समय लगाएर कसरी मिठो हुन्छ भनेर श्रीमतीले पकाएको खानाको र उनको श्रमको योगदानको कदर धन्यवाद शब्दले पुग्छ र पनि त्यसमा हामी कन्जुस्याई गर्छौं। छोराछोरीले राम्रो रिजल्ट ल्याउँदा तिमीहरुलाई धन्यवाद भन्न जानेको हुँदैनौं।

आफ्नै छोराछोरीलाई के धन्यवाद भन्ने जस्तो ठान्दछौं। उनीहरुको मिहिनेतलाई प्रसंशा गर्दै धन्यवाद व्यक्त गर्दा उनीहरुमा हौसला बढ्दछ। परिवारको समग्र सहयोग र उनीहरुको कर्मले गर्दा आफूमा प्राप्त खुशी प्रति अहोभाव ब्यक्त गर्नु एउटा आन्तरिक गुण पनि हो। कार्यालयमा कार्यालय सहयोगीले चिया ल्याएर टेबलमा राख्दा होस् या टेबल पुछेर सफा बनाउँदा हामीले उसको अनुहारमा समेत हेर्दैनौं धन्यवाद त परै जाओस अनि अहोभावले त भरिन्छौँ कि भरिन्नौं सोचनीय छ। ड्राइभरले कार्यालय पुर्याएपछि हामीले धन्यवाद भनेका छौं ? यस्ता साना साना उदाहरण थुप्रै छन् जसले दैनिक जीवनमा र हाम्रो सम्बन्धमा धन्यवाद प्रकट मात्र गर्दा पनि धेरै सकारात्मक प्रभाव पार्दछन् कोही मित्र विदेश या बाहिर कतै गएर आउँदा मिठाई या सानो उपहार केही लिएर आउँछन् तर प्रायजसोले धन्यवाद सम्म भन्ने मेसो पाएका हुँदैनन् किनभने धन्यवाद व्यक्त गर्ने बानी नै बसेको छैन।

 

हामीले धन्यवादको शब्द नै व्यक्त गर्दैनौं र आफ्ना सन्तानलाई पनि सिकाएनौं भने अहोभावको भाव उनीहरुले हामीबाट कसरी सिक्लान् ? साना नानीहरुलाई समेत साथीसँग कुनै चिज लिँदा होस् या मद्दत लिँदा धन्यवाद भन भनेर सिकाउनु राम्रो हुन्छ। त्यसमाथि धन्यवादले औपचारिकता मात्र पूरा गर्दछ भने उनीहरुप्रति अहोभावले भरिनु पर्छ भनेर सिकाउनु महत्त्वपूर्ण शिक्षा हो। किनभने संस्कार र सभ्यता सानो कुराले र सानो व्यवहारले जनाउँदछ। हामी जति धनाढ्य र प्रतिष्ठित भए पनि संस्कार राम्रो भएन भने कसरी हाम्रो अनुशासन प्रस्तुत हुन्छ र ?
समर्थगुरू ओशो सिद्धार्थ सम्झाउनु हुन्छ-
शिकवा जो करता, संसारी है
योगी रहता सदा आभारी है
आशिक दीय जलाते रहता
हिसाब करता व्यापारी है ।

जति सरल र सहज बन्न सक्यो उति हामी सबैको प्रिय बन्न सकिन्छ। जति सरल बन्न सक्यो त्यति सजगता जागृत हुन्छ। सरल र सहज रुपमा रहँदा अरुको प्रिय बन्न नसके पनि आफू आफैंमा मस्त, शान्त र आनन्दित भने जरुर बनिन्छ।

जति सरल र सहज बन्न सक्यो उति हामी सबैको प्रिय बन्न सकिन्छ। जति सरल बन्न सक्यो त्यति सजगता जागृत हुन्छ। सरल र सहज रुपमा रहँदा अरुको प्रिय बन्न नसके पनि आफू आफैंमा मस्त, शान्त र आनन्दित भने जरुर बनिन्छ। अरुको अहंकारसँग कुनै सरोकार नराखी, उसको व्यक्तित्वको कदर गर्नु र आफ्नो निजता अनि सरलतालाई कायम राख्नु सम्मान दिन जान्ने एउटा महत्वपूर्ण कला हो। परिवारमा, साथीभाईमा, आफन्तमा सम्मान दिन कुनै ठूलो उपहार र पदकको जरुरी पर्दैन। स्यावास, धन्यवाद, राम्रो गर्यौ, कति राम्रो कुरा गर्यौ, कति ज्ञानी छौ, कति मायालु छौ जस्ता शब्दहरुलाई बारबार प्रयोग गर्ने बानी बसाउन सके पुग्छ। यी शब्दभित्र सकारात्मक भाव छिपेका छन् जसले व्यक्त गर्ने र प्राप्त गर्ने दुबैलाई सकारात्मक ऊर्जा प्रदान गर्दछ। ठूला ठूला उपहारमा भन्दा मिठा शब्दमा प्रेमको अनुभूति धेरै हुन्छ यहि नै ध्यानी व्यक्तिको लक्षण पनि हो।त्यसैले भनिन्छ-
‘तंद्रा द्रश्टुः स्वरूपेऽवस्थानम्।‘
चित्तवृत्ति निरोध भएर ब्रह्मस्वरुपमा स्थित हुनु योगको मर्म हो।
-स्वतन्त्र सामाजिक परामर्शदाता

 

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १० : ०४ बजे

गृहमन्त्री नक्साल पुगेकै दिन सहरी विकास मन्त्रीले किन बोलाए तीनै सुरक्षा प्रमुखलाई ?

काठमाडौं- अहिले सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

उच्च अदालत तुलसीपुरमा एक हजार ८५ मुद्दा फछर्यौट

दाङ– उच्च अदालत तुलसीपुरले गत आर्थिक वर्ष २०८०-८१ मा अदालतमा

पिँडौला फर्किने समस्या छ ? यसरी गर्नुस् घरैमा उपचार

काठमाडौं– कहिलेकाहीँ हामीलाई खुट्टाको पिँडौला फर्किने समस्याले सताउँछ । खुट्टा

डेंगीको आशंका लागेमा ११८० मा फोन गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं– काठमाडौँ महानगरपालिकाले डेंगी लागेको आशंका लागेमा तत्काल ११८० मा

व्यावसायिक पशुपालनबाट वार्षिक सात लाख आम्दानी

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीका तेजबहादुर चौधरीले व्यावसायिक पशुपालनबाट वार्षिक सात