पुटिन भियतनाम पुग्दा अमेरिकी हारको सम्झना | Khabarhub Khabarhub

पुटिन भियतनाम पुग्दा अमेरिकी हारको सम्झना


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रूस र युक्रेनबीच सन्‌ २०१४ देखि युद्ध जारी छ । युद्धकै बीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालै उत्तर कोरियाको भ्रमण गरेका छन् ।

२४ वर्षपछि भएको उनको भ्रमणका क्रममा दुई मुलुकबीच सुरक्षा सम्झौता भएको छ । सम्झौताअनुसार कुनै एक देशमा आक्रमण भएमा रूस र उत्तर कोरियाले एकअर्कालाई सघाउने भएका छन् ।

रूसी राष्ट्रपति पुटिनको भ्रमणका क्रममा उत्तर कोरियाली शासक किम जोङ उनले युक्रेनमा रूसले जारी राखेको यस युद्धको औपचारिक समर्थनसमेत गरेका छन् । पुटिन र उनबीच भएको सम्झौताले दुई मुलुकबीच सोभियत संघकालीन तहको मित्रता नजिक पुगेको बताउन थालिएको छ ।

उत्तर कोरियाको भ्रमणपछि रूसी राष्ट्रपति पुटिन भियतनाम पुगेका थिए । उनको भ्रमणले भियतनामसँग अमेरिकाले गरेको युद्धको स्मरण गराएको छ । पुटिनको पछिल्लो पहल एक अर्को शीत युद्धको सुरुवात त होइन भन्ने अड्कलबाजी पनि हुन लागेको छ ।

आउनुस्; यहाँ भियतनामको त्यो त्रासदीपूर्ण युद्धको चर्चा गरौं, जुन युद्ध जित्ने सपनामा अमेरिकाले सबै कुरा हार्न पुग्यो ।

द्वितीय विश्वयुद्धका कारण थिलथिलो बन्न पुगेको फ्रान्स इन्डोचाइना क्षेत्रमा आफ्नो उपनिवेश जोगाउन असफल हुन पुगेको थियो । यसको सुरुवात तब हुन्छ- जब १९५४ को जेनेभा सम्मेलनबाट फ्रान्सेली उपनिवेश रहेको भियतनामलाई स्वतन्त्रता मिल्छ ।

यद्यपि, स्वतन्त्रता अघि भियतनामलाई दुई भागमा विभाजन गरियो । एउटा भियतनामलाई उत्तरी र दक्षिणी गरी दुई भाग लगाइयो । यहीँबाट भियतनाम युद्धमा अमेरिका फसेको घटनाको सुरुवात हुन्छ ।

पूरै भियतनाम र छिमेकी देशहरू साम्यवादी नहोउन् भनेर अमेरिकाले भियतनाममा संघर्ष जारी राख्यो । त्यो संघर्षले अमेरिकालाई यस्तो अवस्थातिर धकेल्दै गयो कि युद्ध एक दशकसम्म चल्यो । लाखौं मानिसहरूले ज्यान गुमाउनु पर्‍यो । २० वर्षसम्म लम्बिएको सो युद्धमा कम्तिमा ३८ लाख मानिसको ज्यान गएको तथ्याङ्कहरूले जनाउँछ ।

साइगनको पतनसँगै समाप्त भएको युद्ध

भियतनाम युद्ध सन् १९५५ नोभेम्बर १ देखि सन् १९७५ अप्रिल ३० सम्म चलेको थियो । अमेरिका र भियतनामबीच २० वर्षे युद्ध अमेरिका समर्थित दक्षिण भियतनामको राजधानी साइगनमा उत्तरी भियतनामका गुरिल्ला लडाकुको संगठन ‘भियतनामी क्रान्तिकारी युवा लिग’ ले कब्जा गरेसँगै समाप्त हुन पुगेको थियो ।

भियतनाम युद्ध विशेषगरी भियतनाम, लाओस र कम्बोडियामा चलेको लामो लडाईं हो । जसलाई इन्डोचीन युद्धमा दोस्रो र शीतयुद्धको एक प्रमुख संघर्ष मानिन्छ । उक्त लडाईं आधिकारिक रूपमा उत्तरी भियतनाम र दक्षिणी भियतनामका बीच लडिएको थियो ।

भियतनाम युद्धः अमेरिका–रूसबीचको छद्म युद्ध

भियतनाम युद्ध उत्तर र दक्षिण भियतनामबीच लडिएको थियो । उत्तर भियतनामलाई सोभियत संघ, चीन र अन्य कम्युनिस्ट देशहरूको समर्थन प्राप्त थियो भने दक्षिण भियतनामलाई अमेरिका र कम्युनिस्ट विरोधी सहयोगीहरूको साथ ! उक्त युद्ध खासगरी अमेरिका र सोभियत संघका बीचमा एक छद्म युद्धका रूपमा लडिएको थियो ।

२० वर्षसम्म चलेको लडाईं सन्‌ १९७५ मा लाओस, कम्बोडिया र भियतनाम बनेसँगै समाप्त हुन पुगेको थियो । यो एक प्रकारले सोभियत रूसको जीत थियो । किन कि ती तीनै मुलुकमा कम्युनिस्ट शासन कायम भएको थियो ।

अमेरिकाको पूरै शक्ति, तर युद्ध जित्न असफल

सन्‌ १९६४ अगस्ट महिनाको सुरुवातमा उत्तरी भियतनामको गुरिल्ला युद्धमा पोख्त ‘भियतनामी क्रान्तिकारी युवा लिग’ले उत्तरी भियतनामको तट नजिकै टोनकिनको खाडीमा अमेरिकी युद्धपोतमाथि आक्रमण गरेका थिए ।

उक्त आक्रमणबाट क्रुद्ध बनेका अमेरिकाका तत्कालीन राष्ट्रपति जोनसनले उत्तरी भियतनामी नौसैनिक अड्डाहरूमा जवाफी कारबाही स्वरुप बमबारी गराएका थिए ।

१९६५ फेब्रुअरीमा गुरिल्ला लडाकुहरू समाप्त गर्ने उदेश्यले अमेरिकाले ‘अपरेशन रोलिङ थन्डर’ चलाएको थियो । अपरेशनका क्रममा भियतनामी गुरिल्लाहरू माथि अमेरिकाले असंख्य बमबारी गरेको थियो ।

भियतनाम युद्धमा बर्बाद अमेरिका, रूसलाई सफलता

सन् १९६७ को अन्त्यसम्म हरेक हप्ता झण्डै ५०० अमेरिकी सैनिक मारिएका खबर सार्वजनिक हुने गर्दथ्यो । अमेरिकी सरकारले युद्धमा पानी सरह पैसा पोखिरहेको थियो । जसकारण अमेरिकामा महङ्गी बढ्न गयो ।

सन् १९६५ मा अमेरिकाका विश्वविद्यालयहरूबाट सुरु भएको विद्याथीहरूको ‘भियतनाम युद्धविरोधी आन्दोलन’ चर्किंदै गयो । अमेरिकाभर विद्यार्थीहरू सडकमा निस्कन सुरु गर्न थाले । त्यो बेला हरकोही भियतनाम युद्ध चाँडोभन्दा चाँडो समाप्त होस् भन्ने चाहन्थे ।

उता उत्तरी भियतनामलाई समर्थन गरिरहेको रूस उक्त युद्धका क्रममा कूटनीतिक मोर्चामा सफलता पाउँदै गयो ।

अमेरिकाद्वारा विषालु केमिकलको प्रयोग, जंगल नष्ट

अमेरिकाले २० मिलियन अमेरिकी ग्यालन (७५ मिलियन लिटर) भन्दा बढी विषालु केमिकल हर्बिसाइड्सको प्रयोग गरेर दक्षिण भियतनामको २० प्रतिशत जंगल र २०–५० प्रतिशत मेग्रोभ जंगलहरू नष्ट गरेको थियो ।

जसका कारण ठूलो परिमाणमा वन विनाश हुन पुग्यो । अमेरिकाले युद्धमा कयौं भयानक हतियारहरूको प्रयोग गरेको थियो । जसमा ‘नापाम’ र ‘एजेन्ट ओरेन्ज’ को प्रयोग पनि पर्दछ ।

सन् २००८ मा अमेरिकी कांग्रेसको एक प्रतिवेदनमा भियतनाम युद्धका क्रममा ६८६ अर्ब डलर खर्च भएको अनुमान गरिएको थियो । जुन अहिलेको अवस्थामा ९५० अर्ब डलरभन्दा बढी हुन आउँछ ।

अमेरिकाविरुद्ध हो ची मिह्नको अगुवाई

उत्तरी भियतनामका चामत्कारिक नेता हो ची मिन्हले अमेरिकी आक्रमणबाट विचलित भियतनामी नागरिकमा भरोसा जगाएका थिए ।

भाषणका क्रममा उनी भन्ने गर्थे, ‘सबै मनुष्य समान ढंगले जन्मिन्छन् । निर्माताले हामीलाई अपरिवर्तनीय अधिकार दिको छ–जीवन, स्वतन्त्रता र खुशी !’
हो ची मिन्हले नै उत्तरी भियतनाम र दक्षिणी भियतनामलाई एकजुट बनाउन अहम् भूमिका निभाएका थिए । उनकै अगुवाईका कारण अमेरिकाले भियतनाम युद्ध कहिल्यै जित्न सकेन ।

युद्धका दौरान हो ची मिन्हको चामत्कारिक नेतृत्वले भियतनामलाई अमेरिकाविरुद्ध लड्ने शक्ति दिएको थियो ।

भियतनाम युद्ध: पहिलो टीभी युद्ध

भियतनामको युद्धलाई पहिलो टेलिभिजन युद्ध पनि भन्ने गरिन्छ । युद्धका दौरान मिडिया कभरेज अभूतपूर्व थियो ।

यूएस नेशनल आर्काइभ्सको अनुमानअनुसार १९६६ सम्म ९३ प्रतिशत अमेरिकी परिवारसँग टिभी सेट थियो । अमेरिकामा एक समय त्यही युद्धको दृष्य हेर्नका लागि टेलिभिजन सेट खरिद गर्ने होडबाजी नै चलेको थियो ।

भियतनाम युद्धका क्रममा दुबैतर्फ गरि २० लाख मानिसहरूको मृत्यु भएको थियो । जसमा ११ लाख भियतनामी लडाकु र सैनिक तथा अमेरिकाका १ लाख २० हजार सैनिक मारिएका थिए ।

अमेरिकाले विषालु केमिकलद्वारा जंगलहरू जलाएर नष्ट गरिदिएको थियो । तर, पनि युद्ध जित्न सफल हुन सकेन ।

–एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ६ : ०० बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले