‘ड्रागनफ्रुट’ खेतीप्रति किसान आकर्षित « Khabarhub

‘ड्रागनफ्रुट’ खेतीप्रति किसान आकर्षित


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

इलाम- इलाममा किसान ‘ड्रागनफ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षित हुँदै गएका छन् । मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरु व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका हुन् ।

इलामको चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका किसान प्रवीण लिम्बूले ड्रागनफ्रुट खेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गरेका छन् । एक बिगाहा जग्गामा लगाइएका ३ हजार बिरुवाबाट उनले फल बेचेर ८ लाख र बिरुवा बिक्रीबाट ४ लाख रुपैयाँ आम्दानी गरेका हुन् । ‘यस वर्ष बिरुवा हलक्क बढेकाले उत्पादन अझ बढ्नेछ, जसबाट आम्दानी बढ्ने अपेक्षा गरेको छु’, उनले भने ।

उद्यमी लिम्बूले आफ्नै ठाउँमा बसेर गुणस्तरीय ड्रागनफ्रुटको फल र बिरुवा उत्पादन गर्दै आएका छन् । तीन वर्षअघि ‘भिलेज एग्रो फार्म’ दर्ता गरी सुरु गरेका उनले मलेसियन प्रजातिको रातो ड्रागनफ्रुट रोपेका छन् । आफूले उत्पादन गरेका ड्रागनफ्रुट र बिरुवाको बजारीकरणमा समस्या नभएको उनको भनाइ छ ।

‘उत्पादन गरेको फल बिक्दैन कि भन्ने चिन्ता छैन, फल किन्न झापाका व्यापारी बगानमा नै आउँछन्’, उनले भने, ‘बगानबाट प्रतिकलोग्राम दुई सयदेखि ३ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।’ उत्पादित बिरुवा गाउँपालिका, वडा कार्यालय, स्थानीय फार्म तथा किसानले नै खरिद गर्ने गरेको उनी बताउँछन्।

सुरुमा परीक्षणका लागि केही बिरुवा रोपेका उनले त्यसैलाई नै व्यावसायिक रुपमा सुरु गरेका हुन् । अहिले लिम्बूको व्यावसायिक ड्रागनफ्रुट खेतीले पाँच जनाको परिवारलाई स्वरोजगार बनाएको छ ।

राम्रो आम्दानी हुने भएपछि चुलाचुली गाउँपालिका–२ का अर्का किसान माइतराज लिम्बूले पनि व्यावसायिक ड्रागनफ्रुट खेती थालेका छन् । उनले ६ कठ्ठा जमिन भाडामा लिएर चार सय बोट ड्रागनफ्रुट रोपेका छन् । उनले ‘छथरे ड्रागनफ्रट कृषि फार्म’ दर्ता गरी व्यावसायिक ड्रागनफ्रुट खेती सुरु गरेका हुन् ।

‘मैले ड्रागनफ्रुट खेतीबाट वार्षिक दुई लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको छु’, उनले भने, ‘अन्य परम्परागत खेतीको तुलनामा मेहनत कम र फाइदा पनि बढी हुनेरहेछ ।’

ड्रागनफ्रुट खेती इलामको चुलाचुलीसहित माई नगरपालिका, रोङ गाउँपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको तल्लो क्षेत्रमा खेती विस्तार हुँदै आएको छ ।

एकपटक बिरुवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी लिन सकिने लिम्बूले बताए । ड्रागनफ्रुटका लागि उष्ण क्षेत्र उत्तम मानिन्छ । यसको खेती दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने र समुद्री सतहबाट एक हजार पाँच सय मिटर उचाइसम्म भएको जमिनमा गर्न सकिन्छ ।

यो फल वार्षिक ५० देखि एक सय ५० सेन्टिमिटर वर्षा र २० देखि ३० डिग्री सेल्सियस तापक्रम हुने ठाउँमा खेती गर्दा धेरै लाभ लिन सकिन्छ । नेपालमा यो फललाई सिँचाइ भएको ठाउँ तराई, भित्री मधेस र मध्यपहाडी क्षेत्रमा खेती गर्न सकिने कृषिविज्ञहरु बताउँछन् ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  १० : १३ बजे

अर्थमन्त्रीले भने- मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन टास्क

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर– जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को

सरकारको सय दिने उपलब्धिभित्र छोपिएको सुकुम्वासीको आँसु र अन्योलता

काठमाडौं– नयाँ सरकारले कार्यकालको सय दिन पूरा गर्दै आफ्ना उपलब्धि

कङ्गोमा इबोला सङ्क्रमण तिव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हाल इबोला सङ्क्रमण तिव्र भएको जनाइएको

राष्ट्रियसभामा बाढीपहिरोले अवरुद्ध राजमार्ग सञ्चालन गर्न सरकारसँग माग

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मनसुनका कारण बाढीपहिरोबाट अवरुद्ध