अमेरिकाले इजरायललाई सघाउनु बाध्यता कि आवश्यकता ? | Khabarhub Khabarhub

इजरायल–अमेरिका मित्रताको कथा

अमेरिकाले इजरायललाई सघाउनु बाध्यता कि आवश्यकता ?


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका र इजरायलबीचको मित्रता अन्तर्राष्ट्रिय समुदायबाट लुक्न सकेको छैन । चाहे अमेरिकाले इजरायली कदमहरूको जतिसुकै आलोचना गरे पनि सहयोगका लागि सधैँ तत्पर नै रहन्छ ।

विद्रोही हमास, लेबनान र इरानविरुद्ध इजरायली आक्रमणको पनि अमेरिकाले समर्थन गरिरहेको छ । तथापि, अमेरिकी राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिसलगातार इजरायलविरोधी बयान दिइरहेका छन् ।

इजरायलले लेबनानमा हिजबुल्लाहका शीर्ष नेता हसन नसरल्लाहलाई मार्दा पनि अमेरिकाले कडा रूपमा विरोध जनाएको थियो । तर, त्यसपछि इरानको सम्भावित जवाफी कारबाहीबाट इजरायलको रक्षाका लागि स्वयम् बाइडेनले अमेरिकी सेनाका लागि निर्देशन जारी गरेका थिए ।

यस्ता कुराहरूले अमेरिकालाई त्यस्तो कुन बाध्यता छ, जसका कारण इजरायलका रक्षाका लागि सधैँ तयार हुन्छ भन्ने प्रश्न उठ्ने नै भयो ।

अमेरिकाले कहिलेबाट इजरायलको समर्थनमा उभियो ?
अमेरिकाले इजरायलको स्थापनाबाट नै समर्थन गर्न सुरु गरेको थियो । पूर्व अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यान सन् १९८४ मा निर्माणको समयमा नै इजरायललाई मान्यता दिने पहिलो वैश्विक नेता थिए ।

इजरायललाई मान्यता दिन ट्रुम्यानलाई किन हतार ? 
भनिन्छ व्यक्तिगत सम्बन्धहरूका कारण ट्रुम्यानले इजरायललाई राष्ट्रका रूपमा मान्यता दिएका थिए । ट्रुम्यानका पूर्व व्यापारिक साझेदार एडवर्ड ज्याकबसनले इजरायललाई राज्यका रूपमा मान्यता दिनमा अमेरिकाकाका लागि ‘बेस’ (आधार) निर्माणमा महत्त्वपूर्ण भूमिका निभाएका थिए । यद्यपि, अमेरिकाले यो सबै रणनीतिक फाइदाका लागि गरेको थियो ।

तत्कालीन समयमा रणनीतिक दाउ के थियो ? 
द्वितीय विश्व युद्धपछि अमेरिका र तत्कालीन सोभियत संघबीचको शीत युद्धले आकार लिँदै थियो । मध्य पूर्व आफ्नो तेल भण्डार र रणनीतिक जलमार्गहरूका कारण अत्यन्तै महत्त्वपूर्ण क्षेत्र थियो । यस्तो अवस्थामा अमेरिका इजरायल जस्तो एक शक्तिशाली देश खडा गरेर उक्त क्षेत्रमा आफ्नो प्रभुत्व कायम गर्न चाहन्थ्यो ।

इजरायलको समर्थनमा कहिले खुलेर आयो अमेरिका ?
सन् १९६७ को युद्धको समयबाट नै अमेरिकाले खुलेर इजरायलको समर्थन गर्न सुरु गरिसकेको थियो । युद्धमा इजरायलले मिश्र, सिरिया र जोर्डनको सेनालाई पराजित  गर्दै प्यालेस्टाइनको ठूलो भूभागमाथि कब्जा गरेको थियो । यसको साथै सिरिया र मिश्रका पनि केही भूभाग इजरायलको नियन्त्रणमा आएका थिए ।

१९७३ को युद्धमा अमेरिकाले कसरी गर्‍यो सहयोग ? 
सन् १९७३ को युद्धमा इजरायलले मिश्र र सिरियाली सेनालाई हराएको थियो । त्यस दौरान मिश्र र सिरियालाई तत्कालीन सोभियत संघबाट मद्दत मिलिरहेको थियो भने इजरायललाई अमेरिकाले सघाइरहेको थियो । पछि अमेरिकाले मिश्र र सिरियाबीच फुट ल्याउन आफ्नो ताकतको प्रयोग गर्‍यो । पछि अमेरिकाले इजरायल र मिश्रबीच शान्ति सम्झौता गरायो भने सिरियालाई एक्ल्याउन सफल भयो ।

के अमेरिकालाई इजरायललाई सैन्य सहायता गर्छ ? 
द्वितीय विश्वयुद्धपछिको युगमा इजरायल नै अमेरिकी विदेशी सहायता सबैभन्दा बढी  प्राप्त गर्ने देशमा पर्दछ । सन् २०१६ मा तत्कालीन राष्ट्रपति बराक ओबामाले इजरायलसँग एक रक्षा सम्झौता गरेका थिए ।

जसमा आयरन डोम मिसाइल रक्षा प्रणालीका लागि फन्डसहित १० वर्षमा ३८ बिलियन डलर अमेरिकी सैन्य समर्थन प्रदान गरिएको थियो । तथापि, इजरायललाई सहायताको कुनै आवश्यकता छैन । किनकी यो एक उच्च आय भएको देश हो ।

अमेरिकी नागरिकमा इजरायलप्रति कस्तो भावना छ ? 
अमेरिकी जनमत लामो समयदेखि इजरायलको पक्षमा र प्यालेस्टाइनीको विपक्षमा झुकेको छ । सन् १९७२ को म्युनिख नरसंहारमा प्यालेस्टाइनी समर्थक समूहहरू द्वारा गरिएको हिंस्रक कारबाहीले इजरायलका प्रति सहानुभूति उत्पन्न गरिदियो । उक्त नरसंहारमा ११ जना इजरायली ओलम्पिक एथ्लिट मारिएका थिए ।

इजरायल समर्थक अमेरिकामा कति प्रभावी ? 
इजरायलका लागि अमेरिकी समर्थनको वकालत गर्ने कयौं संगठनहरू अमेरिकामा सक्रिय छन् । जसमध्ये सबैभन्दा ठूलो र राजनीतिक रूपले शक्तिशाली संगठन ‘अमेरिकी इजरायल पब्लिक अफेयर्स कमिटी (एआईपीएसी)लाई मानिन्छ ।
यो संगठनका सदस्यहरू अमेरिकामा अमेरिकी यहुदीका साथसाथै इसाईका बीचमा ‘ग्राउन्ड लेभल’ मा विभिन्न कार्यक्रम गर्ने, वकालत गर्ने र आय–आर्जनका माध्यमबाट प्रभाव बनाउँछन् ।

एआईपीएसी कति शक्तिशाली छ ?
एआईपीएसीले अमेरिकाको वाशिङ्टनमा हरेक वर्ष सम्मेलनको आयोजना गर्दछ । सम्मेलनमा झण्डै २० हजार मानिसहरूको सहभागिता रहन्छ । जसमा शीर्ष अमेरिकी नेताहरू व्यक्तिगत रूपमा सहभागी हुन्छन् । राष्ट्रपति जो बाइडन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पनि एआईपीएसीको सम्मेलनमा सहभागी भइसकेका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु पनि नियमित रूपले सम्मेलनमा सहभागी हुँदै आएका छन् ।

के एआईपीएसीको प्रतिद्वन्द्वी छैन ? 
डेमोक्रेट्सद्वारा संगठित जे स्ट्रिट नामक एउटा सानो इजरायल समर्थक समूह अमेरिकी राजनीतिमा प्रभाव बनाउन प्रयास गरिरहेको छ । जे स्ट्रिट इजरायली र प्यालेस्टाइनी अधिकारहरूको समर्थन गर्दै आएको छ ।

के इजरायली समर्थकले नेताहरूलाई आर्थिक सहायता गर्छन् ? 
इजरायल समर्थक हित समूहले अमेरिकी संघीय राजनीतिक उम्मेदवारहरूलाई लाखौं डलर दान दिने गर्दछ । सन् २०२० को राष्ट्रपति निर्वाचनको अभियानका दौरान इजरायल समर्थक समूहहरूले झण्डै ३१ मिलियन अमेरिकी डलर दान दिएका थिए ।

जसमध्ये ६३ प्रतिशत डेमोक्रेट्सलाई र ३६ प्रतिशत रिपब्लिकनलाई दिइएको थियो । ओपेनसेक्रेट डट ओरजीका अनुसार यो सन् २०१६ को अभियानका दौरान दिइएको दानभन्दा झण्डै दोब्बर बढी हो ।

इजरायलको पक्षमा अमेरिकी राजनीतिक दिग्गज को हुन् ? 
पूर्व राष्ट्रपति ट्रम्प आफ्नो चार वर्षीय कार्यकालका दौरान इजरायलका कट्टर समर्थक रहेका थिए । डेमोक्रेटिक र रिपब्लिकन पार्टीमा अमेरिकी कांग्रेसका अधिकांश सदस्य स्पष्ट रूपले इजरायलका समर्थक छन् ।

प्रतिनिधिसभाका पूर्वअध्यक्ष न्यान्सी पेलोसी, सदनका पूर्व बहुमत नेता स्टेनी होयर र सीनेटका पूर्व बहुमत नेता चक शुमरले इजरायलको समर्थन गरेको इतिहास छ । –नवभारत टाइम्सबाट 

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १ : ०९ बजे

अर्थमन्त्री पौडेल आज राती अमेरिका जाँदै

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र

भारतीय प्रधानमन्त्री मोदी फेरि रुस जाँदै 

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार फेरि रुस जाने भएका

साफ महिला च्याम्पियनसिप : भूटानले श्रीलङ्कालाई हरायो

काठमाडौँ– श्रीलंकालाई हराउँदै भूटान साफ महिला च्याम्पियनसिप, २०२४ अन्तर्गत समूह

उपचारमा रगत अभाव हुन नदिन सघन रक्तदान आयोजना हुँदै

महोत्तरी – चाडबाडका बेला हुने समस्या र उपचार कार्यमा रगत

१० किलो गाँजासहित एक युवक पक्राउ

सर्लाही– सर्लाहीस्थित एक घरमा लागूऔषध गाँजा लुकाएर राखेको  अवस्थामा प्रहरीले