नेपालले भारतलाई पाँच महिनामा बेच्यो १३ अर्बको बिजुली | Khabarhub Khabarhub

नेपालले भारतलाई पाँच महिनामा बेच्यो १३ अर्बको बिजुली


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो पाँच महिनामा नेपालले भारतलाई १३ अर्ब चार करोड रुपैयाँ बराबरको बिजुली बेचेको छ ।

नेपाल विद्युत प्राधिकरणले साउनदेखि मङ्सिरसम्म देशभित्र खपत गरी अतिरिक्त भएको वर्षा यामको एक अर्ब ७६ करोड युनिट बिजुली भारतलाई बेचेको हो । पाँच महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत बिक्रीदर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसा रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

भारतसँग भारतीय रुपैयाँमै विद्युत व्यापार भइरहेको छ । भारतले बिजुली किनेबापत प्राधिकरणले आठ अर्ब १५ करोड भारु आम्दानी गरेको छ ।

साउनमा सबैभन्दा बढी चार अर्ब १५ करोड रुपैयाँको विद्युत् निर्यात भएको छ भने मङ्सिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँ बराबरको बिजुली भारत पठाइएको छ । प्राधिकरणका अनुसार भदौमा तीन अर्ब ६८ करोड, असोजमा तीन अर्ब सात करोड र कात्तिकमा एक अर्ब ८७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको हो ।

महिना विद्युत निर्यात (रुपैयाँमा) प्रतियुनिट औषत बिक्रीदर (रुपैयाँमा)
साउन चार अर्ब १५ करोड ८.३५
भदौ तीन अर्ब ६८ करोड ६.७०
असोज तीन अर्ब सात करोड ८.५०
कात्तिक एक अर्ब ८७ करोड ६.२९
मङ्सिर २८ करोड १४ लाख ४.६४
जम्मा १३ अर्ब चार करोड ६.३९
स्रोतः नेपाल विद्युत प्राधिकरण

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महिनामा आएको बाढीपहिरोका कारण ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताएका छन् ।

माथिल्लो तामाकोशी बन्द भएका कारण त्यसपछिका महिनाहरूमा विद्युत् निर्यात घटेको र सुख्खायाम शुरू भएसँगै जलविद्युत आयोजनाबाट उत्पादन घटेकाले पोहोरभन्दा यस वर्ष चाँडै बिजुली आयात गर्नुपरेको घिसिङले बताए ।

अहिले भारततर्फ विद्युत निर्यात बन्द भएको छ भने आयात शुरू गरिएको छ । हिउँदयाम शुरू भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्दा जलविद्युत आयोजनाहरूको उत्पादन कमी भइ देशभित्रको विद्युत माग धान्न हिउँदका केही महिनामा विद्युत् आयात गर्नुपर्ने अवस्था छ ।

नदी तथा खेलानालामा पानीको बहाव बढ्न शुरू भएपछि उत्पादन बढ्ने हुँदा त्यसपछि विद्युत् निर्यात पुनः शुरू हुनेछ । यस वर्षदेखि नेपालले भारत हुँदै बङ्गलादेशलाई पनि ४० मेगावाट विद्युत निर्यात गर्न थालिसकेको छ ।

चालु आर्थिक वर्षमा करिब ३० अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात लक्ष्य राखिएको छ । बाढीपहिरोका कारण जलविद्युत आयोजना र प्रसारण लाइनमा क्षति पुग्दा निर्यात लक्ष्य भने प्रभावित हुने देखिएको छ ।

असोज दोस्रो साता अविरल वर्षाका कारण चलेको विनाशकारी बाढीपहिरोले माथिल्लो तामाकोशीसहित अन्य साना जलविद्युत आयोजना र काबेली करिडोर प्रसारण लाइनमा क्षति पुर्‍याएको थियो । माईखोलामा आएको बाढीले काबेली करिडोर क्षति पुर्‍याउँदा उक्त लाइनमा जोडिएका विभिन्न आयोजनाहरूको करिब २०० मेगावाट विद्युत् उत्पादन बन्द भएको थियो । सोहीकारण असोज र कात्तिकमा भारततर्फ विद्युत् निर्यात प्रभावित भएको थियो ।

माथिल्लो तामाकोशी आयोजना आगामी पुस १० गतेभित्र सञ्चालनमा ल्याउने गरी मर्मतसम्भार भइरहेको छ । प्राधिकरणले काबेली करिडोर प्रसारणलाइनको पुनःनिर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ ।

हिउँदयाम शुरू भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत आयोजनाहरूको विद्युत् उत्पादन कम हुनेछ । उत्पादनले आन्तरिक मागलाई मात्र धान्ने भएकाले अब विद्युत् निर्यात क्रमशः घट्दै जानेछ ।

प्राधिकरणले हालसम्म प्रतिष्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरूबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।

गत आर्थिक वर्षमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत आयात गरिएको थियो । सोही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो ।

गत आर्थिक वर्षमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ४ : ३७ बजे

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको

रविलाई जेलभित्रै राखेर रास्वपा महाधिवेशनको तयारी

काठमाडौं– अन्तरिम सरकारले अगामी फागुन २१ गते निर्वाचन हुने मिति