काठमाडौं – एक सामान्य व्यक्तिले आँखा देख्नु, मुखले बोल्नु र कानले सुन्नु सामान्य नै लाग्छ । झापाका सन्तकुमार तुम्बाप्पो (३१) का हकमा पनि १७ वर्षको उमेरसम्म कानले सुन्नु स्वाभाविक थियो ।
त्यसपछि सन्तको भौतिक संसारमा अन्धकार छायो । अचानक अरूले बोलेको सुन्न नसक्ने र आफैँले आफ्नो आवाज सुन्न नसक्ने अवस्थामा पुगे ।
बुबा तेजबहादुर र आमा मनमाया तुम्बापो पनि छोराको अवस्था देखेर निकै चिन्तित भए । दुई छोरा र दुई छोरीमध्ये किशोरावस्थाको छोरोको कान सुन्निन थाल्यो । उपचार गर्दैगर्दा पनि उनले सुन्न छोडे ।
प्रवेशिक परीक्षा (एसएलसी) पास गरेर सबै विद्यार्थीहरूले आफ्नो लक्ष्य निर्धारण गर्छन् । सन्त पनि अरू साथीहरूले जस्तै जीवनमा केही गर्नुपर्छ भन्नेमा थिए । तर, जीवन एकाएक कहालीलाग्दो अध्यायमा प्रवेश गरिदियो ।
अब पहिले झैँ कसरी बोल्ने ? अब पहिले झैँ कसरी कसरी पढ्ने ? अब पहिलकै जसरी साथीहरूसँग कसरी खेल्ने ? अझ ठूलो कुरा त आफ्नो भविष्य बनाउनुछ । अब त्यो कसरी सम्भव होला ?
ठूलो त्रास त उनले सुन्न छोडेपछि साथीभाइ र आफन्तले बनाएको मजाकले दियो । उनी आफ्नै समाजमा हाँसोको पात्र बने । तर उनले त साथ, सहयोग र हौसलाको अपेक्षा गरिरहेका थिए ।
आफ्ना वरिपरिका मानिसहरूबाट प्रोत्साहन र ऊर्जा खोजिरहेको व्यक्तिको शारीरिक कमजोरीमाथि ठट्टा हुँदा त्यो व्यक्तिको मानसिक अवस्था कस्तो हुन्छ ? त्यो आम मानिसले बुझ्न सक्दैन ।
भनिन्छ नि ! बादलले छेक्दैमा तारा चम्किन छाड्दैन । सन्तले आफ्नो अवस्थालाई स्वीकार गरे, आफ्नो कमजोरीलाई शक्तिमा बदले । अरूले जे जस्तो भनेपनि उनको परिवार सधैँ उनको साथमा भयो । परिवारले साथ दिएपछि जस्तोसुकै अवस्थामा पनि सहज हुने सन्त बताउँछन् ।
खबरहबले भोजपुर बहिरा आवासीय आधारभूत विद्यालयका शिक्षक सन्तकुमारका उनको संघर्ष, सिकाइ र उपलब्धीबारे खोतल्ने प्रयास गरेको छ ।
शिक्षा
सन्तले गाउँकै सरकारी विद्यालयबाट एसएलसी उत्तीर्ण गरे । त्यसलगत्तै कानमा समस्या आयो । पढ्नु त थियो नै ! साङ्केतिक भाषाबाट पठनपाठन हुने विद्यालयको खोजी गर्दै पोखरामा रहेको सिर्जना बहिरा माध्यमिक विद्यालय पुगे ।
त्यहीँबाट शिक्षा शास्त्र संकायमा प्रमाणपत्र तह उत्तीर्ण गरे । अहिले उनी भोजपुर बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत छन् ।
उनी १७ वर्ष हुँदा कानको नसा सुकेको थियो, जसकारण श्रवणशक्ति गुम्यो । सामान्य परिवारमा जन्मिएका उनलाई विशेष हेरचाह र उपचार सम्भव थिएन । कहिल्यै आवाज नसुनेको भए सुन्नु र नसुन्नुमा फरक पर्दैनथ्यो । तर, किशोरावस्थामा पुग्दा सुन्न छाडेपछि समाजमा घुलमिल हुन कठिन र असहज भयो ।
उमेरले नै किशोरावयमा अरूका अघि राम्रो देखिन मन लाग्ने हुन्छ । मीठो कुरा गरेर अरूलाई प्रभावित पार्ने इच्छा हुन्छ । तर, त्यही उमेरमा न अरूले बोलेको सुनिन्छ, न त आफू बोलेकै सुनिन्छ । साथीभाई तथा आफन्तहरूले बोलेको स्पष्ट नबुझदा उनी हाँसोको पात्र बनिरहे ।
आफ्नो शारीरिक अस्वस्थतालाई लिएर अरूले हाँसोमजाक बनाएपछि सन्त घरभित्रै सीमित भए । बाहिर कतै गएर बस्ने रुचि हराउँदै गयो । अरूले जे जस्तो व्यवहार गरे पनि परिवारले भने सधैँ साथ दिए ।
लक्ष्य
उनले बाल्यकालमा रोपेको सपना कानको नसासँगै कोपिलामै सुकेर गयो । जिन्दगी १८० डिग्रीको हण्डरमा फसे पछि लक्ष्य पनि सोहीअनुसार बदलियो । आफूले नचाहेको गन्तव्यतिरै जीवनयात्रा डोहोरियो, जहाँ नहिँडी सन्तलाई धरै थिएन ।
पोखरामा अध्ययन गर्दैगर्दा भोजपुरका सीताराम ओझासँग सन्तको चिनजान भयो । उनीहरू एकै कक्षामा पढ्थे ।
अरू पनि धेरै साथी थिए, तर ओझाले काम गर्ने योजना सुनाउँथे । केही गर्नुपर्छ भन्ने हुटहुटी जगाउथे । आफ्नै र आफू जस्तैका लागि काम गर्नुपर्छ भनेर हौसला दिन्थे ।
१२ कक्षाको पढाइ सकेपछि ओझाले आफ्नो जिल्लामा बहिराहरूका लागि विशेष विद्यालय स्थापना गर्ने बताए, सो निम्ति सहकार्य गर्न सन्तलाई अनुरोध गरे । उनी कक्षाकै साथीले डोहोर्याएको बाटो हिँड्न थाले । भोजपुर हान्निए ।
सुरुवातका दिनमा गाउँ–गाउँमा विद्यार्थी खोज्दै हिँड्नुपर्यो । बहिरा बालबालिकाहरूको खोजी र पहिचान गर्दै विवरण सङ्कलन गरे । सो कामपछि स्थानीय निकायमा बहिरा विद्यालय स्थापनाको प्रस्ताव पुर्याए । पालिका र सरोकारवाला निकाय सबैसँग सहयोग याचना गरे ।
त्यतिबेला मुलुक सङ्घीय प्रणालीमा प्रवेश गर्दै थियो । उनीहरूको उद्देश्य दुर्गम क्षेत्र भोजपुरका कुनै पनि बहिरा बालबालिकाहरूले शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने थियो । ता कि शिक्षाको अभावले उनीहरूले समाजमा तिरस्कार र हेला सहेर बाँच्न नपरोस् !
जिल्ला शिक्षा कार्यालयको अधिकार स्थानीय तहले पाउको भए पनि कार्यविधि बन्न नसक्दा निकै महिना धाउनुपर्यो । तर, वि.सं. २०७५ मा अनुमति पाएपछि भोजपुर बालमन्दिरको जीर्ण भवनमै विद्यालय सञ्चालन हुन थाल्यो ।
सुरुमा त्यहाँ चौतर्फी समस्या थियो । खानेपानी, बिजुली, खाद्यान्न, शैक्षिक सामग्री, भौतिक संरचना, कक्षाकोठामा डेक्सबेन्च लगायत हरेक कुरा अभाव थियो । विद्यालयमा घेराबार नहुँदा बच्चाहरू भाग्ने समस्याले चुनौती थप्यो ।
त्यसभन्दा पनि पहिले त अभिभावकलाई नै सचेत गराउनुपर्ने थियो । ‘कान सुन्दैन, अब यसले के गर्ला ?’ भनी आफ्ना सन्तानप्रति आशाभरोशा राख्न छाडेको अभिभावकलाई सन्तानको भविष्य निम्ति जगाउनुपर्थ्यो ।
अभिभावकलाई सचेत नगराइ बच्चाहरूलाई विद्यालयसम्म ल्याउन निकै कठिन थियो । बच्चा काँचो माटो न हुन् ! अभिभावकले जस्तो वातावरण दियो – त्यस्तै बन्छन् । आशा नै छोडिसकेका अभिभावकले बच्चाबारे थप के नै सोच्न सक्थे र !
त्यसपछि सन्तहरू फेरि गाउँ पसे । जनप्रतिनिधि, शिक्षक, समाजसेवी र बुद्धिजीवी वर्गको सहयोगमा उनीहरूले अभिभावक सचेतना कार्यक्रम चलाउँदैए गए । त्यो कार्यक्रम केही हदसम्म सफल पनि भयो ।
सन्तले सुनाए, ‘तपाईं बच्चाले पढ्न सक्छ भनेर उदाहरण देखायौँ, तर पनि केही अभिभावकले बच्चालाई विद्यालय पठाएनन् ।’
त्यसो हुनुमा अरू कारण पनि थिए । शारीरिक र मानसिक रूपले ठीकठाक बालबालिका पनि आर्थिक, सामाजिक र पारिवारिक विचलन लगायत विभिन्न कारणले विद्यालयसम्म पुग्न नसक्ने अवस्था आजपर्यन्त छँदैछ ।
बहिराहरूका लागि सिकाइ
बहिरा बालबालिकालाई प्रभावकारी ढङ्गले सिकाउन हाउभाउसहित स्पष्ट सङ्केत गर्नुपर्छ । साथै दृश्य तथा नमूना सामग्री उपयोग गरी प्रयोगात्मक तथा व्यवहारिक क्रियाकलापमा जोड दिनुपर्छ ।
सन्त जतिखेर कान नसुन्ने अवस्थामा पुगे, त्यतिखेर उनको रुचि नृत्यतर्फ थियो । उनी विभिन्न सांस्कृतिक कार्यक्रम र विवाह लगायतमा नाच्थे । त्यसैले निरन्तरतामा उनले अहिलेहाल बहिरा बालबालिकाहरूलाई नाच्न पनि सिकाउँछन् । उनका विद्यार्थीहरूले विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएर उच्च स्थान पनि हासिल गरेका छन् ।
कान नै नसुन्नेहरूलाई गीतको तालमा नचाउन निकै धेरै अभ्यास गर्नुपर्छ । पहिलो त उनी आफैँ गीतहरू बजेको सुन्न सक्दैनन् । निकै चर्को आवाजमा गीत बजाए पनि अलिअलि सङ्गीत सुन्नेबाहेक शब्द बुझ्दैनन् । धेरैपटक अभ्यास गरेको गीत थोरै सुनेर बाँकी अंश अनुभवले अनुमान लगाउन सक्छन् । तर नयाँ गीत हो भने चाहीँ दोभाषेले नै बुझाइदिनुपर्ने हुन्छ ।
कान नसुन्ने बालबालिकालाई नाच्न सिकाउनु निकै कठिन काम हो । गीत नसुन्ने भएकाले कुनै बेला छिटो त कुनै बेला ढिलो नाच्ने हुन्छन् । एकै लयमा नाच्ने बनाउन धेरैपटक अभ्यास गर्नुपर्छ । सूत्र कण्ठ गरेजसरी स्टेप कण्ठ गर्न लगाउनुपर्छ । प्रशिक्षकले इशाराहरू निर्माण गरेर बारम्बार अभ्यास गराउनुपर्छ । त्यसरी निर्माण गरेको इशारा प्रशिक्षक र विद्यार्थीले मात्र बुझन सक्छन् ।
एउटा शिक्षकको जिम्मेवारी बमोजिम निरन्तर सिकाइरहने कुरामा उनी विश्वास राख्छन् । सन्तका विद्यार्थीहरूका आ–आफ्नै लक्ष्य छन् । खेलाडी, शिक्षक, ड्राइभर…आदि ।
ती लक्ष्य त उनीहरूले भेट्लान्, नभेट्लान् । तर, शारीरिक विकलाङ्ग उनीहरूलाई जीवन अघि बढाउन योग्य बनाउनुपर्नेछ ।
सन्त पनि बहिरा बालिबालिकाहरूलाई सक्षम र असल बनाउने कार्यमै रहन चाहन्छन् । त्यसैले आवासमै बसेर बिहान ६ बजेदेखि राति ९ बजेसम्म विद्यार्थीहरूकै लागि खटिरहेका हुन्छन् ।
शरीरले सकुञ्जेलसम्म अपाङ्गता भएका व्यक्तिहरूको हक र अधिकारका काममै समर्पित हुने सन्त बताउँछन् ।
‘अपाङता भएकाप्रति सरकार अनुदार’
सरकारले अपाङ्ग नागरिकहरूप्रति गर्नुपर्ने जिम्मेवारी र उत्तरदायित्व पूरा गर्न नसकेको सन्तलाई लागेको छ । नीति नियम बनाउँदा पनि अपाङ्गहरूको हक अधिकार र आवश्यकता समेट्न नसकेको उनी बताउँछन् ।
उदाहरणका लागि संविधानमा उल्लेखित शिक्षासम्बन्धी हकअन्तर्गत बहिरा बालबालिकाहरूले साङ्केतिक भाषामा शिक्षा पाउनुपर्छ । तर, बहिरा विद्यालयमा शिक्षक नियुक्ति तथा दरबन्दी मिलान गर्दा साङ्केतिक भाषा नजान्ने शिक्षकहरू नियुक्ति गर्ने गरेको छ ।
सरकारले चासो नदिँदा अपाङ्गता भएका व्यक्तिहरूको जीवनशैलीमा सुधार तथा न्यायोचित विकास हुन नसकेको सन्तले बताए ।
प्रतिक्रिया