वन कार्यालयको स्पष्टीकरण-‘ टेम्पो गुड्ने नभई अतिक्रमणका लागि राखिएको हो’ « Khabarhub

वन कार्यालयको स्पष्टीकरण-‘ टेम्पो गुड्ने नभई अतिक्रमणका लागि राखिएको हो’


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

कैलाली– गोदावरी नगरपालिका–४ स्थित चुरे वन क्षेत्रको अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले सर्वसाधारणको टेम्पो भीरबाट खसालिदिएको भन्दै भइरहेको विरोधप्रति डिभिजन वन कार्यालय कैलालीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आएका कुरा ‘भ्रामक अफवाह’ भएको दाबी गर्दै वास्तविक तथ्य सार्वजनिक गरेको हो ।

वन कार्यालयका अनुसार गोदावरी सामुदायिक वनको गाईमारे चुरे वन क्षेत्रमा विगत लामो समयदेखि सडक किनारको सार्वजनिक वन क्षेत्रलाई गैरकानुनी ढङ्गले भागबन्डा गरी खोका–छाप्राहरू खडा गर्ने र सरकारी वन जमिन कब्जा गर्ने शृङ्खला चल्दै आएको थियो । सोही क्रममा विगत ५ महिना अघिदेखि उक्त क्षेत्रमा पुनः अवैध खोका–छाप्रा खडा गरिएका थिए ।

विज्ञप्तिमा सामाजिक सञ्जालमा प्रचार गरिए जस्तो उक्त टेम्पो गुड्ने वा चालु हालतमा रहेको सवारीसाधन नभएको दाबी गरिएको छ । ‘त्यो चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको, धकेलेर सार्न समेत गाह्रो हुने फलामे अस्थिपञ्जर मात्र थियो, जसलाई केवल वन क्षेत्र अतिक्रमण गर्ने उद्देश्यले पसलको टहरो (खोका) को रूपमा त्यहाँ स्थापना गरिएको थियो,’ वन कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सो कबाडी ढाँचालाई एक महिना अगाडि नै हटाउन निर्देशन दिँदा अन्य १० वटा छाप्राहरू हटे पनि कथित टेम्पोका सञ्चालक घनश्याम धामीले अटेर गरेको वन कार्यालयको भनाइ छ । वन कर्मचारीले धकेलेर उक्त टेम्पोलाई निजको घरसम्म पुर्‍याइदिए पनि निजले पुनः सोही ठाउँमा ल्याई पसल सञ्चालन गरेको र हटाउन खोज्दा ‘जे गरे पनि गर्नुस्’ भन्दै गालीगलौजमा उत्रिएको विज्ञप्तिमा उल्लेख छ ।

अतिक्रमण हटाउने अभियानका क्रममा वन टोलीले सो गुड्न नमिल्ने टेम्पोलाई बल प्रयोग गरी पन्छाउन खोज्दा भीरालो भौगोलिक सतह र असन्तुलनका कारण दुर्घटनावश भीरबाट खस्न पुगेको वन कार्यालयले स्पष्ट पारेको छ । कानुनबमोजिम गरिएको यस संरक्षण कार्यलाई अतिरञ्जित र भ्रामक ढङ्गले प्रचारप्रसार नगर्न वन कार्यालयका अधिकारीहरूले अनुरोध गरेका छन् ।

यसअघि, पीडित धनादेवी धामीले जीविकोपार्जनका लागि सामान ओसारपसार गर्न प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारीले नियतवश भीरबाट लडाइदिएको र यसले आफ्नो परिवारको दैनिकी संकटमा परेको भन्दै कानुनी कारबाहीको माग गरेकी थिइन् । घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले यस विषयमा छानबिन सुरु गरिसकेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ११ : २० बजे

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार