लामो प्रक्रियाबाट बन्ने बजेटको छोटो प्रभाव | Khabarhub Khabarhub

लामो प्रक्रियाबाट बन्ने बजेटको छोटो प्रभाव

कसरी बन्दैछ बजेट ?



काठमाडौं– संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ मा आउँदो आर्थिक वर्षको बजेट ल्याउनु पर्छ । संसदमा बजेटमाथिको छलफल कम भएको भन्दै सरकारले यो वर्षदेखि बजेटका प्राथमिकता र सिद्धान्तमाथि तीन महिनाअघिबाटै छलफल चलाउने गरी तयारी गर्‍यो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट प्रभावकारी नहुनुको पछाडि संसदमा पर्याप्त छलफल हुनलाई कारक देख्दा फागुनमा नै आउँदो आर्थिक वर्षको सिद्धान्त र प्राथमिकता पेश भयो । तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेश गर्दा यसमाथिको छलफल चलिरहेको छ । फरक पार्टी र मन्त्रीले ल्याएको बजेटका सिद्धान्त र प्राथमिकता परिवर्तनका लागि छलफलमा भाग लिने वर्तमान सरकारका सहयात्रीको राय छ ।

यसरी बन्छ बजेट

बजेट बनाउँदा अघिल्लो वर्षको यथार्थ र चालू वर्षको अनुमानका आधारमा आगामी वर्षको अनुमानित आयव्ययको विवरण तयार गरिन्छ । बजेट भनेको आय र व्ययको अनुमानित विवरण हो । बजेटको लक्ष्य तथा उद्देश्य निर्धारण र पुराना सूचना विश्लेषण गरेर यसको तयारी शुरू हुन्छ । बजेट निर्माणको काम मङ्सिर/पुसबाटै शुरू हुने गरेको पाइन्छ ।

बजेटको अर्धवार्षिक समीक्षाबाट चालु र आउँदो वर्षको बजेटमाथिको दृष्टिकोण तय हुन्छ । बजेट निर्माणको पहिलो चरणमा आगामी आर्थिक वर्षमा हुने सरकारी खर्च र आम्दानीको सम्भाव्य क्षेत्रको पहिचान गरिन्छ । हरेक मन्त्रालय र विभागहरूको अघिल्लो वर्षको यथार्थ र चालू वर्षको अनुमानका आधारमा आगामी वर्षको आय–व्ययको अनुमान संकलन गरिन्छ ।

यो कामको नेतृत्व राष्ट्रिय योजना आयोगका उपाध्यक्षले नेतृत्व गरेको स्रोत समितिले गर्छ । उक्त समितिमा आयोगका सदस्य, अर्थ मन्त्रालयका अधिकारी, महालेखा नियन्त्रकको कार्यालय र राष्ट्र बैंकका अधिकारीहरू सदस्य हुन्छन् ।

आगामी वर्षको आम्दानी र खर्चको अनुमान तयार भएपछि त्यसलाई योजना आयोग र अर्थ मन्त्रालयका अधिकारी सदस्य रहेको बजेट समितिमा पेस गरिन्छ । बजेट कमिटीले विस्तृत छलफलपछि बजेट सिलिङ तोक्ने काम हुन्छ ।  सिलिङले खर्चका क्षेत्र र स्रोतको उपलब्धताका आधारमा बजेट खर्चका सीमा निर्धारण गर्छ । बजेट कमिटीले बजेट निर्माणको मार्गदर्शन पनि तयार गर्छ ।

त्यसपछि प्रत्येक मन्त्रालयलाई मार्गदर्शन र क्षेत्रगत बजेट सिलिङका आधारमा आ–आफ्ना कार्यक्रम, पुँजीगत र चालू खर्चको अनुमान पेश गर्न भनिन्छ । सबै मन्त्रालयले मार्गदर्शन र बजेट सिलिङ तथा प्राथमिकताहरू मातहतका विभाग र अन्य निकायलाई पठाउँछन् ।

विभाग र निकायहरूले सोही मार्गदर्शनअनुसार आगामी वर्षको कार्यक्रम र बजेट तयार पारेर सम्बद्ध विभाग वा मन्त्रालयमा पठाउँछन् । विभागहरूले मातहतका सबै निकायको कार्यक्रम र बजेट संग्रह गरेर तालुक मन्त्रालयमा पेश गर्छन् ।

कार्यक्रम र बजेट मन्त्रालयमा पेश गर्नुअघि मन्त्रालय र विभागबीच छलफल पनि हुन सक्छ । त्यसपछि मन्त्रालयले आफ्ना कार्यक्रम र बजेटलाई अन्तिम रूप दिन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा पठाउँछन् ।

अर्थले सबै मन्त्रालयबाट बजेट प्राप्त गरेपछि त्यसमाथि अन्तरमन्त्रालय छलफल चलाउँछ । कार्यक्रमको पुनरावलोकन गरिन्छ । राष्ट्रिय बजेटलाई अन्तिम रूप दिन पुनरावलोकन गर्ने गरिन्छ । राष्ट्रिय योजना आयोगले पनि मन्त्रालयहरूले पेश गरेका कार्यक्रममाथि छलफल गर्छ र सान्दर्भिकता, बजेट विनियोजन, बजेट खर्च गर्ने मन्त्रालयको क्षमता हेरेर अन्तिम रूप दिन्छ ।

मन्त्रालयस्तरको छलफल टुंगिएपछि बजेट लेखन शुरू हुन्छ र तयार भएको बजेट जेठ १५ मा अर्थमन्त्रीले संसदमा प्रस्तुत गर्छन् ।

के हो बजेटका प्राथमिकता र सिद्धान्तको छलफल ?

बजेट सार्वजनिक गर्नुअघि सरकारले बजेटका प्राथमिकता र सिद्धान्त तयार गरेर संसदमा पेश गर्छ । त्यसमाथि संसदमा छलफल चल्छ । यसबाट सरकारले बजेटलाई परिमार्जन गर्दै प्रभावकारी बनाउने उद्देश्य राखेको हुन्छ । हाल संसदमा चलिरहेको छलफल यही प्रयोजनका लागि हो । तर, सरकारले बनाएको योजना अनुसार छलफल चल्न नसकेको बताइन्छ ।

बजेटका नीति तथा कार्यक्रममाथि छलफल चले पनि करका दायरा भने सरकारले गोप्य राखेको हुन्छ । बजेटको मुख्य पक्षलाई गोप्य राख्न बजेट निर्माणका अन्तिम केही दिन निर्माणमा संलग्न कर्मचारीहरू सबै क्षेत्रबाट टाढा रहेर मन्त्रालयगत काममा केन्द्रित हुन्छन् ।

बजेट निर्माणका क्रममा राजस्व परामर्श समितिको प्रतिवेदन र वैदेशिक सहायता संलग्न आयोजनाको अध्ययन पनि गरिन्छ । अर्थ मन्त्रालयले आर्थिक सर्वेक्षण तयार गर्छ । व्यय अनुमान र शीर्षकगत खर्च अनुमानको मस्यौदा तयार पारिन्छ । यसैगरी व्यय अनुमानको प्रारम्भिक मस्यौदा तयारी, त्रिवर्षीय खर्चको आंकलन गरिन्छ ।

मन्त्रालयले आर्थिक विधेयकहरूको अनुसूचीको मस्यौदा तयार पार्नुका साथै वैदेशिक सहायता संलग्न आयोजनाहरूको स्रोत पुस्तिका, बजेट वक्तव्यको प्रारम्भिक मस्यौदा तयार पार्ने, संस्थानको प्रगति विवरण सार्वजनिक र आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने काम गर्छ ।
विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक, आर्थिक विधेयक र पेश्की खर्च विधेयक पनि यही समयमा तयार गरिन्छ ।

तयार भएको बजेट मन्त्रिपरिषद्बाट अनुमोदन भएपछि मात्र अर्थमन्त्रीले संघीय संसद बढेर सुनाउँछन् । उक्त बजेट संसद्बाट पारित भएपछि साउन १ गतेबाट कार्यान्वयनमा आउँछ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ८ : ३३ बजे

वैदेशिक रोजगारमा पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारमा पठाई दिन्छु भन्दै रकम ठगी गरेको  आरोपमा

चिरिबाबुले उद्घाटन गरे स्मार्ट शौचालय, स्नान कक्षको पनि व्यवस्था

ललितपुर– ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अत्याधुनिक सार्वजनिक शौचालयको उद्घाटन

एमसिए-नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं– एमसिए-नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा चार सय

खेलकुदका क्षेत्रमा पूर्वाधार विकास गर्न बजेट पुगेन : मन्त्री श्रेष्ठ

काठमाडाैं– युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुदका क्षेत्रमा पूर्वाधार विकास

नेप्सेमा असफल भइसकेका कार्कीलाई बोर्ड अध्यक्ष बनाउन चलखेल

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)को