सुहाङलाई जिताउनैपर्ने ओलीको निर्देशन | Khabarhub Khabarhub

सुहाङलाई जिताउनैपर्ने ओलीको निर्देशन


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेकपा एमालेको ललितपुरमा आयोजित राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकमा इलामको उपनिर्वाचनको समेत चर्चा भयो । सो निर्वाचनमा एमालेलाई जिताउनैपर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता–कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए ।

परिषद बैठक पहिलो दिन शनिबार एमाले अध्यक्ष ओलीले इलाम २ को निर्वाचनमा सुहाङ नेम्बाङले जित्ने दाबी गरे । बैठकको उदघाटनमा बोल्दै उनले सुहाङलाई जिताउन अपिल गर्नुका साथै कोशी प्रदेशका नेता कार्यकर्तासँगको भेटमा उनले सुहाङलाई जिताउनैपर्ने निर्देशनसमेत दिए ।

एमाले कोशी प्रदेशका एक नेताले खबरहबसँग भने, ‘हामी इलामको उपनिर्वाचनमा केन्द्रित भएका छौँ । सुहाङलाई जिताउनैपर्ने निर्देशन पार्टी अध्यक्षले दिनुभएको छ ।’
अर्का नेताले थपे, ‘चुनाव त सुहाङले नै जित्नुपर्छ भनेर अध्यक्षज्यूले कडा निर्देशन जारी गर्नुभएको छ ।’

महाधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठकका लागि झापाबाट आएका सोमनाथ पोर्तेलले इलाममा एमालेको जित सुरक्षित भएको दाबी गरे ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले पनि इलाममा युवा र प्रतिभावान् उम्मेदवार सुहाङले जित्ने दाबी गर्दै भने, ‘हामी इलाममा योपटक पनि अत्यधिक मतले विजय नजिक छौँ ।’

एमालेले उपनिर्वाचनमा खटाएका नेताहरूलाई महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा नआउन भनेको थियो । इलाम १ का सांसद तथा एमाले जिल्ला अध्यक्ष महेश बस्नेत, पूर्वउपसभामुख शिवमाया तुम्बाहाङफे र युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, राम राना, तारा दाहाल लगायतका नेताहरू इलाम–२ मा सुहाङसँगै खटिरहेका छन् ।

यस्तै, माओवादीबाट पनि नेताहरू पनि सुहाङलाई जिताउन भोट मागिरहेका छन् । माओवादीबाट कोशी प्रदेश इन्चार्ज हर्क नेम्बाङ मिक्सो र रमण शर्मा ढुङ्गाना लगायतका नेताहरूले भोट माग्न सहयोग गरिरहेको बस्नेतको भनाइ छ ।

बस्नेतले इलाम २ बाट प्रतिनिधि परिषद् बैठकमा कसैलाई पनि उपस्थित नहुने माथिल्लो निकायबाट आदेश जारी भएको बताए । उनले भने, ‘अध्यक्षज्यू, जिल्ला कमिटीका केही पनि साथी र अन्य साथी पनि नआउनु भन्नुभएको थियो । इलामबाट कोही पनि महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा गइएन ।’

एक घर, एक कार्यकर्ता परिचालन

एमालेले इलामको उपनिर्वाचनमा ‘एक घर, एक कार्यकर्ता परिचालन’ को नीति लिएको छ । प्रतिनिधि परिषदको बैठकमा पाँचथरबाट आएका नेता डम्बरसिंह सम्बाहाङ्फेले खबरहबसँग भने, ‘इलाम २ मा एक घर एक एमाले कार्यकर्ता परिचालन गरेको छ, जित सुनिचित छ ।’

एमाले सांसद भीम आचार्यले इलामका लागि पार्टीले विशेष योजना ल्याएको बताए । उनले भने, ‘हाम्रो भोट ४० हजार जति पुगिसकेको छ, अरूको त जित्ने सम्भावनै छैन ।’

जित्नुपर्ने दबाब

इलाम यसअघि एमालेको किल्ला हो । यहाँ विगतका निर्वाचनमा एमालेले सम्मानपूर्वक जित निकालेको थियो । तर प्रतिनिधि सभा ०७९ को निर्वाचनमा भने एमाले उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ झिनो मतले निर्वाचन विजयी बनेका थिए । यो पटक एमालेका पुराना नेतालाई अन्याय गरेर एमालेले नेम्बाङका कान्छा छोरा सुहाङलाई टिकट दिएको भन्दै पार्टीभित्र सामान्य असन्तुष्टि पनि देखा परेको छ ।

तर, यसपालि एमालेको जित सुनिश्चित रहेको एमालेको दाबी छ । युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे भन्छन्, ‘सुहाङले जित्नुपर्छ किनकि उनी युवाको भरोसा र सम्भावना बोकेका नेता हुन् । उनी बाबुका कारणले मात्र राजनीतिमा आएको भन्नु गलत छ ।’

सुहाङलाई जिताउन इलामै खटिएका थेबेले थपे, ‘पहिला जे भए पनि अहिले सुहाङलाई सबैले साथ दिनुभएको छ ’

एमालेले एक्लै जित्ने दाबी गरिरहेको बेला सानो अंकगणित भएको नेकपा माओवादी केन्द्रले पनि एमाले उम्मेदवारलाई साथ दिएको छ । तर, सत्तामा सहकार्य गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले भने छुट्टा छुट्टै उम्मेदवार उठाएका छन् । तथापि एमालेले आफ्नो मुख्य प्रतिस्पर्धी भने कांग्रेसलाई मात्र मानेको छ । एमाले उपाध्यक्ष ईश्वर पोख्रेल भन्छन्, ‘हाम्रो मुख्य प्रतिस्पर्धी कांग्रेस हो ।’
एमाले नेतृ कोमल ओली इलाममा युवा उम्मेदवारको परीक्षण भएको भन्दै एमालेले अत्यधिक मत ल्याएर जित्ने दाबी गर्छिन् ।

एमाले जिल्ला कमिटी अध्यक्षसमेत रहेका बस्नेतले एमालेले यत्तिको मैकामा पनि निर्वाचन नजिते कहिल्यै नजित्ने बताए । उनले भने, ‘अहिले नजिते एमालेले कहिल्यै इलाममा निर्वाचन जित्दैन । यो पटक हारियो भने इलाममा कुनै निर्वाचन जितिँदैन ।’

गणित के छ ?

एमाले नेता स्व. सुवास नेम्वाङले ०७९ को निर्वाचनमा एक्लैले पाँच वटा पार्टीलाई जितेका थिए ।

०७९ को चुनावमा इलाम क्षेत्र नम्बर २ मा कुल १ लाख १५ हजार ३४२ मतदाता थिए । अहिले त्यसमा ४२२ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय इलामको भनाइ छ ।
प्रतिनिधिसभाको चुनाव ०७९ मा एमालेका सुवास नेम्वाङले ३० हजार २० मत ल्याएका थिए । कांग्रेसका डम्बरबहादुर खड्काले माओवादीको समेत जोडेर २९ हजार ९०६ मत ल्याएका थिए ।
समानुपातिकतर्फ भने एमालेले २६ हजार ५६२ मत मात्रै पाएको थियो ।

कांग्रेसको पनि प्रत्यक्षमा भन्दा समानुपातिकमा कम भोट खसेको थियो ।

कांग्रेसले प्रत्यक्षमा २९ हजार ९०६ भोट पाउँदा समानुपातिकमा २२ हजार ३३३ मत मात्र खसेको थियो ।

इलाम २ बाट माओवादीले ०७९ सालमा समानुपातिकतर्फ ५ हजार १५३ मत पाएको थियो । एकीकृत समाजवादीको समानुपातिक मत ५८६ मात्रै खसेको थियो ।

यहाँ जसपाको प्रत्यक्षतर्फको मत ७२४ थियो भने समानुपातिकमा उसले ९०६ मत ल्याएको थियो ।

पहिचानवादीका तर्फबाट मुढा चिन्ह लिएर डकेन्द्र थेगिम उठेका छन् । त्यस्तै, रास्वपाबाट मिलन लिम्बू, एकीकृत समाजवादीबाट जितबहादुर राई, जनमतबाट प्रेममदिप थामसुहाङ लगायत २० उम्मेदवार चुनावी मैदानमा छन् ।

याे पनि…

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ७ : ५३ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने