बहस : कांग्रेस आज कहाँ छ? | Khabarhub Khabarhub

बहस : कांग्रेस आज कहाँ छ?

आफ्नो पदचाप उजिल्याउन कांग्रेसले हिँड्नुपर्ने बाटो



‘हाम्रा लागि प्रजातन्त्र स्थापनापछिको सत्ता अपरिहार्य छैन’ बीपी कोइराला सधै भन्नुहुन्थ्यो ‘तर शासनसत्तामा पुग्नेले विधिपूर्वक चल्नैपर्छ र त्यहाँ जनताले नै चुनेका प्रतिनिधिहरू पुग्नैपर्छ भन्ने हो।’

‘जनताद्वारा जनताका लागि जनताकै शासन’ हो लोकतन्त्र भनेको जहाँ जनताका प्रतिनिधिका रुपमा जनताले नै चुनेका प्रतिनिधिहरूले जनताको प्रतिनिधित्व गर्छन्। यो भनेको शक्तिपृथकीकरण सिद्धान्तको एउटा अंग हो। प्रजातान्त्रिक शासन व्यवस्थाको एउटा उत्कृष्ट अभ्यास पनि यही नै हो। जहाँ नागरिकले आफ्ना प्रजातान्त्रिक अधिकारहरू ‘सार्वभौम’ अधिकार रक्षाका निम्ति आफ्ना प्रतिनिधिहरूलाई जिम्मा छोडेका हुन्छन्। विश्वासको यही सेतु प्रजातन्त्र वा लोकतन्त्रको अर्को एउटा बलियो परिभाषा हो।

नेपाली राजनीतिक इतिहासमा कहिल्यै नमेटिने पदचापहरू छोडेको नेपाली कांग्रेसमाथि जनताले छोडिराखेका ती ‘विश्वास’हरू आज कहाँ छन् ? अनि जनताको त्यो ‘विश्वास’का धर्साहरूमा नेपाली कांग्रेस आज कहाँ छ ?

बिपीले भनेजस्तै ‘सत्ता अपरिहार्यता’लाई अलिकति पर राखेर हेर्ने हो भने खासगरी यो बेला नेपाली कांग्रेस त जनतासँगै हुनुपर्ने थियो। प्रजातन्त्र र प्रजातान्त्रिक भरोसाको एउटामात्रै अध्याय भनेको नेपाली कांग्रेस नै हो, जसले प्रजातन्त्र र यसका मूल्य अनि मान्यताहरूविरुद्ध कहिल्यै सम्झौता गर्न जानेन र गरेन पनि। यो भनेको जनताको भरोसा हो। जनताले कांग्रेसमाथि खन्याएको भरोसा हो। जसलाई जुगौंजुग सम्हालेर राख्नु पनि नेपाली कांग्रेसको प्रमुख दायित्व नै हो। यो भनेको कांग्रेसको राजनीतिक जीवन धान्ने एउटा प्राण पनि हो, जनताको भरोसा।

एउटा विशिष्ट परिस्थितिमा नेपाली कांग्रेसले चुनावी गठबन्धन गरेको थियो। चुनावबाट कांग्रेस सबैभन्दा ठूलो पार्टी त बन्यो तर कांग्रेसको स्थान के रह्यो भन्ने प्रश्नबाट अहिले पनि कांग्रेसको राजनीति रन्थनिइरहेको छ

सहभागितामूलक, उदारवादी, संसदीय, बहुलवादी, संवैधानिक अनि समाजवादीजस्ता अनेक रुपमा प्रजातन्त्रका अभ्यास र परिभाषाहरू भेटिन्छन्। हरेक राज्यव्यवस्थामा अपनाइने यिनै शासन पद्धति वा व्यवस्थालाई नै प्रजातन्त्र भनिन्छ। यी र यस्ता जुनसुकैरुपका शासन पद्धतिको अभ्यासहरू भए पनि ती प्रजातान्त्रिक आयाम नै हुन्। यसमा हामीले अपनाएको प्रजातान्त्रिक शासन प्रणालीको विधि भनेको ‘प्रतिनिधि’मूलक नै हो।

जहाँ जनताले सांसद चुनेर उनीहरूलाई शासनसत्ताको तालाचाँबी सुम्पिन्छन्। यसको अर्थ शासनसत्ता सञ्चालन हातमा लिने उनीहरू नै सर्वेसर्वा होइनन् ती भनेका जनताका प्रतिनिधिमात्रै हुन्। प्रजातन्त्रको सर्वश्व भनेका त मात्रै जनता हुन्। त्यो बाहेक प्रजातन्त्रको सर्वोच्चता अर्को हुनै सक्दैन।

एउटा विशिष्ट परिस्थितिमा नेपाली कांग्रेसले चुनावी गठबन्धन गरेको थियो। भलै त्यो चुनावबाट नेपाली कांग्रेस संसदमा सबैभन्दा धेरै सांसद भएको पार्टी त बन्यो तर कांग्रेसको स्थान के रह्यो भन्ने प्रश्नबाट अहिले पनि कांग्रेसको राजनीति रन्थनिइरहेको छ।

खास चुनाव नेपाली कांग्रेसका लागि कार्यकर्ता परिचालनको पर्व होइन। आफैंमा नेपाली कांग्रेस ‘मास-पार्टी’को एउटा रुप हो। धेरैजसो मतदाता त यस्ता पनि छन् जसले नेपाली कांग्रेस होइन, मतपत्रमा ‘रुख’मात्रै चिन्छन्। उनीहरूका लागि ‘रुख’ नै नेपाली कांग्रेस हो।

गठबन्धनका उम्मेदवारहरूको बारेमा ‘रुख’लाई नै विश्वास गर्ने मतदाताको त्यो जमातले खासै चासो राख्दैन र चिन्दा पनि चिन्दैन। यस्तो अवस्थामा पनि गठबन्धनका नाममा हामीले अरु नै पार्टीका चिह्नमा मतदान गर्न लगायौं। मतदाताबाट जबर्जस्त खोसिएको ‘रुख’को त्यो लिगेसीले हामीलाई पछिसम्मै पिरोल्नेछ।

नेपाली कांग्रेस किन आज कांग्रेसजस्तो छैन? नेपाली राजनीतिको पानाहरूबाट कहिल्यै अलग गर्न नसकिने नेपाली कांग्रेस किन अहिले त्यही इतिहास निर्माण गरेका आम जनताको मनमुटुमा छैन? बरालिएको नेपाली कांग्रेसमाथि ठोक्किइरहने यस्ता प्रश्नहरूको जवाफ एउटै हो- सत्ताको अपरिहार्यता।

जुन बाटोमा कांग्रेस अलमलिन्छ भनेरै बिपीले भन्नुभएको थियो -‘प्रजातन्त्रपछि सत्ताको अपरिहार्यता चाहिँदैन।’

आधारभूत प्रजातन्त्रको अभ्यास गर्दागर्दै नेपाली जनता अनि यहाँका राजनीतिक दलहरूले राजनीतिका त्यस्ता अनेक मोडहरूमा ठोक्किनुपर्‍यो जहाँ प्रजातन्त्र घिसार्न र घचेट्ने प्रयासहरू भए। तथापि ती मोडहरूबाट राष्ट्र र जनतालाई उकास्नका लागि नेपाली कांग्रेसले निर्णायक भूमिका पनि खेल्दै आएको छ। तर, इतिहासका ती भूमिकाहरूबाट नेपाली कांग्रेस विस्तारै विस्तारै हराउँदै पनि गयो। कांग्रेस र यसको नेतृत्वले आत्मसात गर्नैपर्ने एउटा नमीठो सत्य यो पनि हो।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला भन्नुहुन्छ ‘राजनीतिमा विचार र सिद्धान्त छाडेपछि संगठन, नेता–कार्यकर्तामा विचलन आउनथाल्छ, आज सिङ्गो नेपाली कांग्रेस र कांग्रेसका आम कार्यकर्ताहरूमा त्यस्तो दृश्य देखि नै रहेका छौं। सत्ताका लागि विचार र सिद्धान्त त्यागेर हामी व्यावहारिक राजनीतिमा लाग्यौं, जसले हामीलाई अन्योलतिर धकेलेको छ।’

अहिले नेपाली कांग्रेसको धरातलीय यथार्थता पनि यही नै हो। नत्र ‘समुदायमा कांग्रेस’को नारा बोकेर हामी नेपाली कांग्रेस खोज्न कुदिरहनुपर्ने नै थिएन।

नेपाली कांग्रेसको गर्भसत्य कुरा त के हो भने जब समुदाय हुन्छ अनि नेपाली कांग्रेस हुन्छ। जब नेपाली कांग्रेस जिउँदो र जाग्दो हुन्छ, अनिमात्रै समुदाय वा भनौं जनताको जीवनमा प्राण भरिन्छ। त्यही प्राण, जो नेपाली कांग्रेसको राजनीतिक जीवन हो। यो सत्यबाट हामी र हाम्रो नेतृत्व धेरै टाढा भागिरहेको छ। परिणाम आज हामीले नै भोगिरहेका छौं।

नेपाली कांग्रेसको चौधौं महाधिवेशनका बेला हामीले नेपाली कांग्रेसको पार्टी जीवनका बारेमा खुब बहस गर्यौं। कस्तो कांग्रेस बनाउने ? कांग्रेसलाई कुन बाटो हिँडाउने ? कस्तो नेतृत्व चुन्ने ? यस्ता तमाम बहसहरूका बीच हरेकको निष्कर्ष एउटै रह्यो- नयाँ कांग्रेस। नयाँ नेतृत्व। नयाँ पात्र। तर के चाह्यौं ? हामीले के छान्यौं ? अनि हामीले के रोज्यौं ?

पात्र अनि पात्रता भनेका साधन मात्रै हुन्, साध्य होइनन्। साध्य त हामीले भनेजस्तै ‘तरुण कांग्रेस’ हो, जहाँ प्रजातन्त्रका जीवन्त तन्तुहरू समाजवादको मुटुमा धड्किरहेका हुन्छन्। यो मूलबाटोबाट हामी अलिकति अलमलिन थाल्यौं।

जुन अपेक्षाका साथ लाखौं काँग्रेसीजनले आफ्नो नेतृत्व छान्नुभयो, त्यो अपेक्षा र आशाअनुरुप हाम्रो पार्टी नेतृत्वले के गर्‍यो? यो एउटा व्यक्ति वा समूहमाथिको प्रश्न होइन। पार्टी नेतृत्वलाई नीति-निर्देश गर्ने पार्टी सभापतिदेखि संगठनलाई हरपल जीवन्त बनाउनुपर्ने महामन्त्रीहरूदेखि नेतृत्वमा रहेका तमाम पदाधिकारी र सदस्यहरूलाई पनि यो प्रश्नले उत्तिकै घोच्नुपर्छ। घोचिनुपर्छ। घोचिएर, घोत्लिएर अनि मन्थन गरेर आम कार्यकर्ता र जनताले रोजेको बाटोमा नेपाली कांग्रेसलाई हिँडाउनुपर्छ। पाइलाहरू हिँडाउन अब अलि अबेर भइसकेको छ। तसर्थ, अब कुद्नुपर्ने बेला भइसकेको छ।

राजनीतिक परिस्थिति सधैं एकनास रहँदैन। नीति र रणनीतिहरू सधैं उस्तै र उही रहनुपर्छ भन्ने जरुरी छैन। आवश्यकताका आधारमा राजनीतिमा रणनीतिहरू बदलिनुपर्छ। नेतृत्व बदलिनुपर्छ। उसको कार्यशैली बदलिनुपर्छ। परिस्थितिले त्यस्तै बनायो।

केही महिनाअघि भएको नेपाली कांग्रेसको महासमितिको बैठकले बदलिएको परिस्थितिमा त्यस्तैखाले एउटा निर्णयमा हस्ताक्षर गर्ने निर्णय गर्‍यो- चुनावअघि गठबन्धन नगर्ने।

यो एउटा त्यस्तो निर्णय थियो, जसले देशीय राजनीतिमै ‘उथलपुथल’ ल्याइदियो। सत्तासमीकरणदेखि राजनीतिक परिस्थितिहरू जसरी विकसित र निर्माण भए, त्यसको एउटा कोशेढुङ्गा नेपाली कांग्रेसले महासमितिमा कुँदेका ती हस्ताक्षरहरू नै थिए। यसको श्रेय लिन नेपाली कांग्रेसको नेतृत्व अनि तमाम कार्यकर्ताले हिच्किचाउनुपर्दैन।

बरु गर्वसाथ भनेहुन्छ- हामी ‘एक्लै लड्न सक्छौं। एक्लै लड्ने हिम्मत राख्छौं। समक्ष छौं।’ आम कार्यकर्ता र मतदाताका लागि यो एउटा नवीन उर्जाको एउटा सञ्चार पनि हो। जसले नेपाली कांग्रेसको पार्टी जीवनमा पनि नयाँ रक्तसञ्चार गर्दछ।

अहिलेको राजनीतिक परिस्थितिमा यो एउटा त्यस्तो मोड थियो, जहाँबाट नेपाली कांग्रेस सत्ता राजनीतिको प्रतिपक्षी बाटोमा आयो। सत्ता खेलका निम्ति त्यही मैदानमा अलमलिइरहेको नेपाली कांग्रेसका लागि यो एउटा स्पष्ट अनि उज्यालो बाटो थियो, जहाँबाट नेपाली कांग्रेस अब ‘एक्लै लड्ने’ हिम्मत जुटाउन लाग्नेछ।

प्रजातान्त्रिक अभ्यासको एउटा सुन्दर ‘प्रश्नगुच्छा’ हो प्रतिपक्ष। आज हामी प्रश्नका यति बिराट चाङमाथि छौं, जहाँबाट हामीले समाधानका छलाङ लगाउनु छ। यी आम जनताले सत्ता सञ्चालकलाई सोध्ने प्रश्नहरू हुन्। यी आम कार्यकर्ताले नेपाली कांग्रेसको नेतृत्वलाई सोध्ने प्रश्न हुन्। जहाँ नेपाली कांग्रेसको नेतृत्व एउटा बलियो सेतु बनेर उभिनुपर्ने हुन्छ। एउटा त्यस्तो सेतु जसले यी सब भार थेग्न सकोस्। यसको खम्बा भनेकै नेपाली कांग्रेसको नेतृत्व हो। सभापति हुन्। महामन्त्रीहरू हुन्। अनि नेतृत्व घेराका तमाम सदस्यहरू हुन्।

संसदीय लोकतन्त्रमा एउटा मान्यता छ, सत्ता र सरकार भनेको सत्तापक्षको हो, संसद वा सदन भनेको प्रतिपक्षको हो। जहाँ प्रतिपक्षका प्रश्नहरू जनताका आवाज बनेर सरकारसामु ठोक्किन्छन्।

नेपाली कांग्रेस आज त्यही स्थानमा छ, जहाँ हुनुपर्ने थियो। संसदमा आज नेपाली कांग्रेस जनताको एउटा दरिलो स्तम्भ बनेर खडा भइराखेको छ । यसरी नै सरकारलाई निरन्तर खबरदारी गर्नु अनि सरकारलाई ‘स्वच्छाचारी’ बाटोमा अघि बढ्न नदिनु नै प्रतिपक्षको मुख्य दायित्व हो। यो दायित्वबाट कुनै पनि हालतमा नेपाली कांग्रेस चुक्नुहुन्न। नेतृत्व झुक्नु पनि हुन्न।

संसदीय मूल्य, मान्यता र विधिबिधानहरू नेपाली कांग्रेसलाई कसैले सिकाइराख्नुपर्ने जरुरी नै छैन। संसदीय राजनीतिको इतिहासमा नेपाली कांग्रेसका पाइलाहरू सधैं अग्रणी नै छन्। तर, आफ्नै पार्टीभित्र विभाजित भएर पार्टीभित्रै ‘पक्ष-विपक्ष’को अभ्यासमा अलमलिइरहने प्रतिपक्षीका हर्कतहरूले आजित जनतालाई अब नेपाली कांग्रेसले बदल्नुपर्छ। आफैभित्र आफ्नैसँगको ‘शक्ति संघर्ष’लाई अब नेपाली कांग्रेसले सरकारलाई सही बाटोमा डोर्‍याउनका लागि लगाउनुपर्छ ।

सत्तामा होस् या प्रतिपक्षमा, नेपाली कांग्रेसले रचेका ऐतिहासिक पलहरूका बारेमा जनतालाई भन्न धेरै ढिला भइसकेको छ। हामीले इतिहास बनायौं, इतिहास त रच्यौं तर त्यसलाई जनताका सामु भन्न सकेनौं। अनि हामी इतिहासका ती पानाहरूमा मात्रै सीमित रह्यौं, जुन पानाहरू नागरिक आफैंले कहिल्यै पल्टाउँदैनन्। त्यसका लागि नेपाली कांग्रेसका ती ऐतिहासिक मोडहरूका बारेमा सम्झाउनुपर्छ, जुन मोडहरूबाट देशमा परिवर्तनका नयाँ बाटाहरू कोरिएका छन् ।

र, यी बाटाहरू नै हुन् जहाँबाट नेपाली कांग्रेसको पार्टी जीवनमा प्राणपखेरु भेटिन्छन् । अर्थात्, त्यो भनेको जनताको बाटो हो।

(पूर्वसभासद पराजुली नेपाली कांग्रेसका नेता हुन् )

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  १ : ४३ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि