लिम्बूको इतिहास लेख्ने नेवारको छोरो | Khabarhub Khabarhub

लिम्बूको इतिहास लेख्ने नेवारको छोरो

इतिहासको आलोकमा शिवकुमार श्रेष्ठ



स्कूले जीवन पार गर्दै गरेको अवस्था थियो, यो लेखकको । स्कूलबाट फर्कंदै गर्दा सिरान बजारस्थित आफ्नै घरको पेटीमा उभिइरहेका एक भलादमीलाई देखेर साथीहरूले खासखुस गरे, ‘ठ्याक्कै किताबको पछाडि छापिएको फोटोजस्तै हगि ?’
साथीहरूले के विषयमा खासखुस गरेका हुन्, मैले पत्तो पाइनँ ।

धनकुटा सिरान बजारको त्यही घरको पेटीमा उही भलादमी उसैगरी उभिरहेका थिए, अर्को दिन । मैले असाध्यै सम्मान गर्ने टोलबासी अग्रज रेख ब्लोनले ती भलादमीलाई यसरी झुकेर अभिवादन गरे कि यिनमा सम्मान नगरी नहुने ब्यक्तित्त्व छ ।
केहीपछि मात्रै पत्ता लगाएँ; ती भलादमी त इतिहासकार शिवकुमार श्रेष्ठ पो रहेछन् ।

आफूले नपढे पनि अग्रज पुस्ताले पढ्ने केही पुस्तकमा मैले यो नाम पढेको र पृष्ठावरणमा उनको फोटो छापिएको देखेको थिएँ ।

स्कूले जीवन पार गरेपछि धनकुटा बहुमुखी क्याम्पसमा पढ्न पुग्दा शिवकुमार श्रेष्ठका व्यक्तित्त्व र प्रतिभाबारे अरु धेरै देख्ने र सुन्ने अवसर पाइयो । आफू प्रौढ गुरु भए पनि विद्यार्थी वर्गलाई उनी साथी सम्झेर ब्यवहार गर्थे ।

उच्च शिक्षामा मैले इतिहास विषय पढिनँ, बरु साहित्यसम्बन्धी आफ्नो आँखामा परेजति सामग्री पढ्न सकभर नछुटाउने बानी थियो । मेरो अध्ययनको विषय इतिहासतिर अलि कम थियो, त्यसबेला ।

एकदिन तत्कालीन जिविस उपसभापति टीकाराम चेम्जोङको निवासमा टेबल राखिएको एक कितावमा आँखा प¥यो– ‘लिम्बूवानको ऐतिहासिक अध्ययन ।’

पुस्तकभित्रका ऐतिहासिकभन्दा पनि सांस्कृतिक पक्षका सामग्रीले अलि बढि आँखा तान्दा लिम्बू जातिको विवाह संस्कारसम्बन्धी पाठलाई बडो ध्यानमग्न भएर पढेँ ।

त्यहीँबाट अक्कल निकालेर सानोतिनो सोधीखोजी गरी यताउता तानतुन पारी एक लिम्बू जोडीको परम्परागत विवाहको समेत फोटो फेला पारेर लेख तयार पारेँ । ‘लिम्बू जातिको विवाह संस्कार’ शीर्षकमा ‘मधुपर्क’ को २०४९ चैतको अङ्कमा

त्यो लेख छापिएर आउँदा मेरा खुट्टा भूँईमा थिएनन् ।

अब विस्तारै मैले शिवकुमार सरको छत्रछायाँ खोज्न थालेँ ।

यही छत्रछायाँमा मैले उनको लोककथाको कृति ‘किराती लोककथाहरू’ अद्योपान्त पढिसक्दा केवल कथा र कवितातिर मात्रै हुरुक्क हुने त्यसबेलाका मेरा आँखाले अब इतिहास र संस्कृतिको आलोक पनि चियाउन सुरु गरेको थियो ।
चालीसको दशकको उत्तराद्र्धबाट मैले ऐतिहासिक र सांस्कृतिक क्षेत्रको गरिमा र महत्त्व मनन गर्न थालेको हुँ ।

इमानसिंह चेम्जोङको बिँडो

नेपालमा राणा शासनको चकचकी चलिरहेकै बेला सिक्किमबाट इमानसिंह चेम्जोङले ‘किरात इतिहास’ प्रकाशनमा ल्याए, सन् १९४८ मा ।

त्यो समयमा छुट्टै किरात अवधारणाबाट नेपालमै बसेर इतिहास लेख्नु सम्भव थिएन । चेम्जोङले आफ्नो पुस्तकको नाम ‘किरात इतिहास’ लेखे पनि यो पुस्तकको मूल विषय लिम्बू र लिम्बूवानसँग सम्बन्धित रहेको छ ।
पछि चेम्जोङले ‘हिस्ट्री एण्ड कल्चर अफ् किरात पिपल’ र ‘किरातकालीन विजयपुरको सङ्क्षिप्त इतिहास’ प्रकाशनमा ल्याए ।

‘एक भाषा एक भेष’को राजनीतिमा पञ्चायती व्यवस्थाको रजगज चलिरहेका बेला चेम्जोङका यी महत्त्वपूर्ण इतिहासका कृतिहरू कथित मूलधारबाट कर्नरमा परिरहेका थिए । त्यो समय यस्ता कुरा बोल्नु र लेख्नु ‘जातिवादी र साम्प्रदायिक’ हुन्थ्यो ।

पञ्चायती व्यवस्था उत्कर्षमा पुगिरहेका बेला यता शिवकुमार श्रेष्ठको ध्याउन्न भने लिम्बूवानको इतिहासको खोजीमा थियो ।

उनी लिम्बूहरूको इतिहास र संस्कृतिको सोधीखोजी गर्दै पूर्वी पहाडको उकाली ओराली गरिरहेका थिए । समाजका अगुवा लिम्बूहरूको घर–घर चाहारेर ऐतिहासिक पत्रहरू पढिरहेका थिए ।

फलतः एउटा नेवारको छोरोबाट २०४२ सालमा प्रकाशित भयो– लिम्बूवानको ऐतिहासिक अध्ययन ।

यो इतिहास लेखनका क्रममा श्रेष्ठले अनेकौँ चलाखी भने नगरेका होइनन् । पञ्चायती व्यवस्थाका खेलाडी नेता पद्मसुन्दर लावतीदेखि तत्कालीन अञ्चलाधीश काजीमान कदङ्वासम्मको शुभकामना मन्तव्यले पुस्तकका केही पृष्ठ ओगट्न पुगेको छ ।

त्यसबेला आफूमाथि खनिन सक्ने जातिवादी र साम्प्रदायिकताको दोषारोपणलाई केही हदसम्म मत्थर पार्न श्रेष्ठले त्यसबेला लावती र कन्दङ्वाको मन जित्नुपर्ने बाध्यता थियो भन्ने अनुमान गर्न गारो पर्दैन ।

यो पुस्तकको प्रकाशनपछि लिम्बूहरूमा ऐतिहासिक पुनर्जागरण आएको भन्नमा कुनै कञ्जुस्याइँ गर्न पर्दैन । यो पुस्तक प्रकाशन भएको पाँच वर्षपछि नै पञ्चायती व्यवस्थाको अवसान भयो ।

बहुदलीय प्रतिस्पर्धात्मक प्रजातान्त्रिक व्यवस्थामा बोल्न र लेख्न स्वतन्त्रता भएकाले लिम्बूहरूमा श्रेष्ठको यो पुस्तकले ठूलो जागरण ल्याइदियो । यही पुस्तकका परिशिष्टहरूमा प्रकाशित लालमोहरहरूबाट राज्यसँग लिम्बूहरूको ऐतिहासिक सन्धि सम्झौताहरूबारे ज्ञानको गङ्गा प्रवाहित भयो ।

इमानसिंह चेम्जोङले इतिहास लेखनमार्फत् लिम्बूहरूमा जुन जागरण देख्न चाहेका थिए, श्रेष्ठको इतिहास अनुसन्धान यसको पूरकका रुपमा देखा प¥यो । यही गुन सम्झेर लिम्बूहरूको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले २०५२ सालमा भाषाशास्त्रका विद्वानहरू आरके स्प्रिग र जर्ज भ्यान्ड्रिमसँगै इतिहासकार श्रेष्ठलाई आफ्नो मानार्थ सदस्यताबाट सम्मान ग¥यो । यसप्रति कृतज्ञ हुँदै श्रेष्ठ भन्ने गर्थे, ‘मेरो यो इतिहास छापिएपछि विश्वविद्यालयले बढुवा ग¥यो, अनि समाजबाट सम्मान पाएँ ।’

श्रेष्ठको यो इतिहासको खोजीबाट भन्न सकिन्छ, उनले इतिहासकार इमानसिंह चेम्जोङको बिँडो थामे ।

लोक साहित्यिक व्यक्तित्त्व

इतिहासकार श्रेष्ठको लेखनको अर्को महत्त्वपूर्ण क्षेत्र हो– लोक साहित्य । इतिहासको खोजीका क्रममा गाउँ गाउँ घुमी हिँड्दा जनजनको मुखबाट सुन्न पाइने लोककथाले पनि उनको ध्यानदृष्टिलाई सजग बनायो । उनले पाए जति लोककथाहरू सङ्कलन गरे । उनका प्रायः लोककथाहरू राई र लिम्बूहरूको मुन्धुममा आधारित छन् ।

उनको पहिलो लोककथा सङ्ग्रह ‘किराती लोककथाहरू’ अत्यधिक सफल रह्यो । यसले लोकसाहित्यकार करुणाकर वैद्यका नाममा स्थापित ‘करुणाकर सिरपा’ र साझा प्रकाशनबाट प्रदान गरिने ‘लोकसाहित्य पुरस्कार’ पायो । यस पुरस्कारको बारेमा श्रेष्ठ बेला–बेलामा ठ्ट्टा गर्दै भन्थे, ‘पुरस्कार पाएको खुसियालीमा साथीहरूलाई भोज खुवाउँदा पुरस्कार वापत पाएको रकमभन्दा बढी पो खर्च गरिएछ ।’

मनोरञ्जनका लागि सुनाइने एकादेशको कथा होइन, लोककथा । यो त प्राचीन समाजको तस्बिर झल्काउने मानिसको उद्गम र सभ्यताको खोजी गर्ने महत्त्वपूर्ण साधन हो । नृतत्त्वशास्त्र पहिल्याउनका लागि लोकसाहित्यले सानो भूमिका खेल्दैन ।

इतिहास पढाउने यी प्राध्यापकले इतिहासको खोजीमा आफ्नो दृष्टि सजग बनाएका थिए नै, इतिहासभन्दा जेठो विधा लोकसाहित्यको क्षेत्रमा पनि पाइला बढाउँदै जाँदा आफ्नो दोस्रो लोककथा संग्रह प्रकाशनमा पनि उत्साहित देखिए । फलतः ‘किराती लोककथा सङ्गालो’ बजारमा आयो ।

यो कथा सङ्ग्रहको वितरणको सानोतिनो भारी यो लेखकले पनि बोकेको सम्झना यतिखेर आइरहेछ ।

श्रेष्ठले ‘किराती लोककथाहरू’ बाट राष्ट्रिय स्तरका दुई वटा पुरस्कार पाइरहेका बेला यो लेखक पत्रकारितामा पाइला हालेर गरिखान खोजिरहेको थियो ।

त्यहीबेला काठमाडौँबाट प्रकाशित हुने साप्ताहिक न्यूज म्यागेजिन ‘जनमञ्च’मा आफूलाई डेढ पेज कभरेज दिँदा यो लेखकप्रति श्रेष्ठ निक्कै अनुग्रहित देखिए ।

उनी भन्थे,‘मलाई चिन्ने जान्ने पत्रकार त तिमी मात्रै देखियौ हौ । तिमीले लेखेको पढेपछि मेरो किताव नपढ्नेहरूले पनि मलाई चिने ।’

यसपछि यी इतिहासकार तथा लोकसाहित्यकारसँग मेरो सानिध्य बढेर गयो ।

कुनै समय धनकुटा बजारको फुटपाथमा हामी दुई बाबुछोराजस्तै गफिँदै हिँडिरहेका हुन्थ्यौँ । एक दिन आफ्नो सङ्ग्रहमा रहेका इतिहासका केही महत्त्वपूर्ण पुस्तकहरू दिँदै उनले भनेका थिए– लु यी पुस्तकहरू पढ हौ ।’

उनीसँगको यही सानिध्यले मलाई इतिहास विषयको गम्भीर पाठक बनायो । उनी बेलाबेलामा मलाई सोध्थे, ‘तिम्रो घरमा पुराना कागज र लालमोहरहरू छन् ?’

त्यसबेला आफ्नै घरमा भएका पुराना कागजपत्रहरूबारे बेखबर थिएँ म । आज म आफैं लालमोहर लगायत पुराना र ऐतिहासिक कागजपत्रहरूको सोधीखोजी गर्ने भएको छु ।

पछि नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन कुलपति बैरागी काइँलाको प्रेरणाबाट संशोधन मण्डलका डा. महेशराज पन्त र प्रा. दिनेशराज पन्तको सानिध्यमा पुगेँ । यही सानिध्यले मभित्र इतिहासको खोजीप्रति अर्को जागरण बढाइ दियो ।

इतिहासप्रतिको असन्तुष्टि

कुनै समय उच्च शिक्षामा इतिहास विषय पढ्नेहरूको सङ्ख्या ठूलै हुन्थ्यो । यस विषयप्रतिको आकर्षण उत्कर्षमा रहेका बेला श्रेष्ठले विद्यार्थीकेन्द्रित भए पनि महत्त्वपूर्ण इतिहासका पुस्तकहरू प्रकाशनमा ल्याए । उनका ती पुस्तकहरू हुन्, आधुनिक विश्वको इतिहास, विश्वका प्राचीन सभ्यताहरूको इतिहास र युरोपको इतिहास ।

यीमध्ये युरोपको इतिहासको दोस्रो संस्करण प्रकाशनका लागि मेरा केही सम्पर्क सूत्रहरूले पनि काम गरेका छन् । त्यसबेला मेरा मित्र शशि लुमुम्बुको भूँडीपुराण प्रकाशनसँग संलग्नता थियो, एक सम्पादनकर्मीका रुपमा । नयाँ संस्करणको पर्खाइमा रहेको युरोपको इतिहासको पाण्डुलिपी बोकेर म काठमाडौँ आएको थिएँ, धनकुटाबाट ।

शशिजीमार्फत् भूँडीपुराण प्रकाशनलाई देखाउँदा प्रकाशनका लागि हरियो झण्डा हल्लियो । त्यसबेला प्रकाशनले २८ हजार रुपैयाँ लेखकश्वले सम्मान गर्दा गह्रुंगो खल्ती छाम्दै श्रेष्ठले भनेका थिए,‘लु तिमीलाई धेरै धेरै धन्यवाद है’ यति राम्ररी र सजिलैसँग भुक्तानी देलान् भन्ने सोचेको थिइनँ हौ ।”

नेकपा एमाले धनकुटाले निकालेको ‘धनकुटाको कम्युनिष्ट आन्दोलनको इतिहास’ मा उनीअसन्तुष्ट देखिए । त्यो सच्याउन पार्टी र लेखकलाई धेरैपटक आग्रह गरे । तर सुनुवाइ भएन । त्यसपछि श्रेष्ठ  एमालेको सदस्यता त्यागेर स्वतन्त्र जीवन बिताउने निर्णयमा पुगे

श्रेष्ठको पूर्वी नेपालको बामपन्थी आन्दोलनमा पनि ठूलो योगदान छ । नेपाल कम्युनिष्ट पार्टी, धनकुटाको संस्थापक मध्येका एक हुन् उनी ।

तर, नेकपा (एमाले) धनकुटाले निकालेको ‘धनकुटाको कम्युनिष्ट आन्दोलनको इतिहास’ पुस्तकमा जब उनको आँखा पर्‍यो, तब उनी यसप्रति असन्तुष्ट देखिए । आफूले कम्युनिष्ट आन्दोलनका क्रममा इलामसम्म पुगेको, त्यही क्रममा आफ्नो टाउको फुटेको लगायतका आफ्नो जीवनसँग सम्बन्धित महत्त्वपूर्ण घटनाहरू छुटाइएकोमा त्यो सच्याउन पार्टी र लेखकलाई धेरैपटक आग्रह गरे । तर सुनुवाइ भएन । त्यसपछि उनी कम्युनिष्ट पार्टीको सदस्यता त्यागेर स्वतन्त्र जीवन बिताउने निर्णयमा पुगेका थिए ।

आफ्नो सारा जीवन इतिहास अध्यापन, इतिहास अनुसन्धान, लोककथा सङ्कलन र बामपन्थी आन्दोलनमा लगानी गरेका श्रेष्ठको २०७५ वैशाखमा ८३ वर्षको उमेरमा देहान्त भयो ।

दैहिक रुपमा उनी यो संसारमा नरहे पनि उनले छाडेका इतिहास र लोकसाहित्यको आलोकमा उनको चमक त्यतिकै बिलाएर जाने छैन ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  १० : ४९ बजे

गन्तव्य पहिल्याउन बागलुङ बजारमा ‘स्टेट नम्बर’

बागलुङ – बागलुङ बजारलाई पर्यटनमैत्री बनाउन बागलुङ नगरपालिकाले पहिलोपटक ‘स्टेट

‘कोरा भक्तपुर साइकलिङ च्यालेञ्ज’ सम्पन्न

भक्तपुर – भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उदेश्यले

आगामी निर्वाचनसम्म कांग्रेस–एमालेको गठबन्धन कायम रहन्छ : प्रदीप ज्ञवाली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक

क्रोएसियाको नर्सिङ होममा गोली चल्दा पाँच जनाको मृत्यु

क्रोएसिया – क्रोएसियाको एक नर्सिङ होममा सोमबार एक बन्दुकधारीले गोली

अख्तियारमा उजुरी परेपछि नगर प्रमुखले फिर्ता गरे पैसा

सिरहा – सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट