काठमाडौं- हाडजोर्नी विशेषज्ञ बरिष्ठ डा. चक्रराज पाण्डे विदेशमा पढेर स्वदेशमै सेवा गरिरहेका अगुवा चिकित्सक हुन् । ग्रामीण भेगमा जन्मेर छात्रवृत्तिमा विदेश पढ्न गएका पाण्डे स्वदेशमै केही गरौं भनेर २७ वर्षअघि स्वदेश फर्कंदा नेपालमा अहिलेको जस्तो अवसरहरु थिएनन् । तर, अवसर आफैंले सिर्जना गर्नुपर्छ भनेर पाण्डेले स्वदेशमै संघर्ष सुरु गरे ।
‘खाना आफैं पाक्दैन, पकाउन जान्नुपर्छ । देशमा सधैं सुविधा हुन्छ भनेर पर्खिनुहुँदैन । हामीले आफैं आफ्नो र भविष्यको पुस्ताका लागि सुविधाजनक प्लेटफर्म सिर्जना गर्नुपर्छ,’ डा. पाण्डे खबरहबसँग भन्छन्, ‘म नेपाल फर्किँदाखेरि अहिलेको जस्तो अवसरहरु थिएनन् । मेडिकल स्कुलहरु थोरै मात्रामा थिए । निजी अस्पतालहरु थिएनन् । सरकारी सेवामा छिर्नका लागि सहज वातावरण थिएन ।’
नेपालको स्वास्थ्य क्षेत्रको अवस्था के छ, यहाँको उपचारपद्दति स्वास्थ्य क्षेत्रको र जनशक्ति विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्नेखालको छ कि छैन ? अनि स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि गर्नुपर्ने कामहरु केके हुन् ? यीनै नीतिगत प्रश्नमा खबरहबले डा. पाण्डेसँग लामो कुराकानी गरेको छ ।
हामीले डा. पाण्डेलाई यो प्रश्न पनि सोध्यौं– नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई तपाईका सुझावहरु के कस्ता छन् ?
डा. पाण्डेसँगको कुराकानी उहाँको अध्ययन र व्यक्तिगत संघर्षबाट थालनी गरिएको थियो । तर, पाण्डे हाडजोर्नीको विशेषज्ञ एवं कुशल सर्जनसमेत भएको नाताले आम मानिसहरुले आफ्नो शरीरको हेरचाह कसरी गर्ने भन्ने ‘टिप्स’ बाट यो अन्तरवार्ता सुरु गरौं–
तपाई हाडजोर्नी विशेषज्ञ, अर्थात् अर्थोपेडिक डाक्टर हुनुहुन्छ । अहिलेको व्यस्त जीवनशैलीमा ढाड दुख्ने, कम्मर दुख्ने, घाँटीको पछाडि भाग (घुच्चुक) दुख्ने जस्ता समस्या मानिसहरुमा एकदमै बढेको पाइन्छ । कुर्सीमा बसेर, कम्प्युटरमा काम गर्दा घुच्चुक दुख्यो भन्नेहरु प्रशस्त पाइन्छन् । मानिसले आफ्नो हड्डी र जोर्नीहरुको हेरचाह कसरी गर्ने ? केही ‘टिप्स’ बताइदिनु न…
शरीरका जोर्नीहरु चलायमान बनाउनुपर्छ । हाम्रो जिउको पोस्चर ख्याल गर्नुपर्छ । जतिखेर पनि गुरुत्वले हामीलाई तलतिर तान्दै लान्छ र हामी कुप्रिँदै जान्छौँ । बुढेसकाल हुँदै गएपछि उभिन पनि गाह्रो हुन्छ र कुनै दिन उभिन पनि सोख मान्नुपर्ने हुन्छ । तर, त्यो बेलासम्म पुग्नु ठीक होइन । त्यसलाई पहिल्यै ठीक गर्नु पर्छ ।
यसका लागि पछाडिको भाग मसाज गर्नुपर्छ । मासिकरूपमा आफ्नो शरीरमा आउने परिवर्तनलाई हामीले बुझ्न सक्यौँ भने समग्रमा राम्रो हुन्छ । यसका लागि ठूलो लगानी गर्नुपर्दैन । काम गर्दागर्दै पनि कुनामा मोबाइल हेरेर बस्नुको सट्टा घाँटी र ढाडको मसाज गर्न सकिन्छ । तर, अचेल घर–घरमा मोबाइल मात्रै चलाउने प्रचलन भयो । अहिले परिवारमा आँखामा हेरेर बोल्नेहरु पाइँदैनन् ।
त्यस्तै, जे पनि नखाऔं । मिठो पायो भन्दैमा सबै खानुहुँदैन । हार्माेनाइज र आफ्नो वातावरणलाई व्यवस्थापन गर्न सकियो भने समस्या आउँदैन ।
आफ्नो जिउलाई मोबाइल बनाऔं । जोर्नीलाई चलायमान बनाऔं । साथीभाइ, घर वा अफिसका मान्छेसँग आँखामा हेरेर कुरा गरौँ । एकैछिन भए पनि एन्जाइटी हटाऔँ । यसरी जीवनलाई अर्थपूर्ण बनाउन सकिन्छ ।
पछिल्लो समय नेपालमा अपाङ्गता हुने क्रम अरु कारणले भन्दा पनि सवारी दुर्घटनाका कारणले बढी हुने गरेको देखिन्छ । हरेक साता मानिसहरु दुर्घटनामा परेर घाइते हुने गरेका छन् । एकजना अर्थोपेडिक डाक्टरको नजरबाट हेर्दा यो भयावह स्थितिमा हाम्रो देशभरिका अस्पतालहरुमा हाडजोर्नी सम्बन्धी सेवा सुविधाको पर्याप्तता कस्तो पाउनुहुन्छ ? अथवा, सरकारले के गर्न आवश्यक देख्नुहुन्छ ?
मैले धेरै लामो समय काम गरें । म मोर्डन अर्थोपेडिक्समा विश्वास गर्ने डाक्टर हो । दुर्गम ठाउँमा, काठमाडौं बाहिर वा हिमाली क्षेत्रमा वा त्रिशुलीमा बस दुर्घटना भयो भने एम्बुलेन्स पठाएर मात्र हुँदैन । यसका लागि बाटो राम्रो हुनुपर्यो ।
राजमार्गमा ‘अर्ली वार्निङ साइन’को विकास हुनुपर्यो । अनि तालिमप्राप्त प्यारामेडिक्सहरु हुनुपर्यो । हामीले डाक्टरभन्दा बढी प्यारामेडिक्सलाई तालिम दिनुपर्छ । ती प्यारामेडिक्स सबै राजमार्गमा राख्नुपर्छ, जसले समयमै रेस्क्यु गर्न सकोस् ।
हामीले २ देखि ३ घण्टा मात्रै समय जोगाउन सक्यौँ भने मानिसलाई बचाउन सकिन्छ । हेलिकोप्टरबाट गएर सम्बन्धित हस्पिटलका हेलिप्याडहरूमा ल्यान्ड गरेर बिरामीलाई बचाउन सक्छौं ।
डाक्टरको एउटा समूह दुर्घटनास्थलमै पठाउने र उनीहरूले त्यहीँबाट, ग्राउन्ड जिरोबाटै उपचार सुरु गर्नुपर्छ । अर्को समूहमा डाक्टर र नर्सहरू अस्पतालमै तयारी अवस्थामा रहनुपर्छ र तत्कालै इमर्जेन्सीमा उपचार सुरु गरिहाल्नुपर्छ । अहिले नेपालमा धेरै अस्पतालमा हेलिप्याडहरू खोलिएका छन् । यो सकारात्मक कुरा हो ।
दुर्घटना भनेको समयसँग लड्नु हो । नेपालको भूगोलको एउटै सम्भावना भनेको हेलिकप्टरबाट प्यारासुटिङ तालिम लिएको मान्छे तल गएर उपचार र उद्धार गरेर ल्याउने नै हो । विभिन्न राजमार्गहरुमा हेल्थकेयरको सुदृढीकरण गर्दै जाने हो भने समस्या समाधान गर्न सकिन्छ ।
अर्काे, ट्रेनिङ प्रोगामहरु अघि बढाउनुपर्छ । उच्च तहको जोर्नी प्रत्यारोपण डाक्टर बढाएर हैन, कलेजो ट्रान्सप्लान्ट गरेर मात्र हैन, तल्लो तहमा तालिमप्राप्त नर्सहरू, प्यारामेडिक्स, मेडिकल अफिसर, जनरल प्राक्टिसरहरुलाई दक्ष बनाउँदै लाने हो र एउटा सिस्टम बनाउन सक्ने हो भने बेस हुन्छ ।
पहिले भन्दा त धेरै राम्रो भइसक्यो, यस मोडालिटीमा थप काम गर्न सक्छौँ । म एउटा अर्थोपेडिक भएको नाताले यो हेल्थ केयरको रुपान्तरण विकसित हुँदै जाने प्रक्रिया हो भन्ने ठान्छु । एकै दिनमा हुँदैन, तर नेपालको अहिलेको ग्राफ हेर्दा राम्रो भइरहेको पाउँछु । तर, राम्रो भयो भनेर आराम गरेर बस्न हुँदैन ।
तपाई नेपालको चिरपरिचत विशेषज्ञ चिकित्सक हुनुहुन्छ, नयाँ युवालाई प्रेरणा होस् भनेर केही व्यक्तिगत प्रश्न गरौं । तपाईले आफ्नो मेडिकल शिक्षा कहाँ र कसरी पूरा गर्नुभयो ?
म सिन्धुपाल्चोकको मेलम्ची गाउँमा जन्मेको हुँ । मैले विद्यालय तहको थोरै पढाइ गाउँमा गरे पनि पछिल्लो समय ल्याब्रोटरी स्कुल कीर्तिपुरमा पढ्ने मौका पाएँ । धेरै हदसम्म स्कलरसिप पाएँ । वि सं ०३६ सालमा नेपालको बोर्ड छैठौं भएर एसएलसी पास गर्न सफल भएँ ।
एसएलसीपछि अस्कल कलेजबाट पढें । र, नेपाल सरकारको स्कलरसिपबाट प्रतिस्पर्धा गरेर टर्की र चाइना दुईवटै देशको स्कलरसिप पाएँ । अनि टर्कीको अमेरिकन युनिभर्सिटीमा झण्डै १२ वर्ष अध्ययन गरेँ । ७ वर्ष मेडिकल स्कुल र ५ वर्ष हाडजोर्नीको पोष्ट ग्र्याजुएसन डिग्री लिएँ र १९९७ मा पढाइ पूरा गरें ।
त्यसपछि कामका लागि अमेरिका जाने या टर्की जाने, अथवा आफ्नै देशमा फर्किने तीनवटा विकल्प थिए । मैले परिवारसँग सल्लाह गरेर आफ्नै देश रोजेँ । र, सन् १९९७ मेबाट नेपाल आएर हाडजोर्नी तथा नसासम्बन्धी सेवामा लागेँ, जुन अहिले पनि निरन्तर चलिरहेको छ ।
स्वदेशमा पढ्ने र काम गर्ने वातावरणै छैन भन्दै पढेलेखेका धेरै मानिसहरु विदेशतिरै जाने चलन छ । तर, त्यो बेला तपाईले विदेशमै अवसर पाएर पनि आफ्नै देशलाई रोज्नुभयो, यसो गर्दा कत्तिको संघर्ष गर्नुपर्यो ?
खाना आफैं पाक्दैन, पकाउन जान्नुपर्छ । देशमा सधैं सुविधा हुन्छ भनेर पर्खिनुहुँदैन । हामीले आफैं आफ्नो र भविष्यको पुस्ताका लागि सुविधाजनक प्लेटफर्म सिर्जना गर्नुपर्छ ।
म नेपाल फर्किँदाखेरि अहिलेको जस्तो अवसरहरु थिएनन् । मेडिकल स्कुलहरु थोरै मात्रामा थिए । निजी अस्पतालहरु थिएनन् । सरकारी सेवामा छिर्नका लागि सहज वातावरण थिएन । त्यसैले त्योबेलामा समस्याहरु नभएका होइनन् । तर, आफूसँग नभएको चिजलाई सिर्जना गर्दै जाँदा अहिले २८/३० वर्षको समयलाई हेर्दाखेरि स्वास्थ्य क्षेत्रमा धेरै परिवर्तन भएको छ ।
केही कुरा पनि नेपालमै सम्भव छैन भन्नुहुँदैन । असहज छ, त्यसमा म सहमत छु । तर, नेपालबाट भागेर हाम्रो उद्देश्य पूरा हुन सक्दैन । यहीँ कुस्ती खेल्नुपर्यो । यहाँ अवसरहरु सिर्जना गर्नुपर्यो । यदि पर्यो भने सरकारलाई पनि यसबारेमा भन्नुपर्यो ।
मसँगै हातेमालो गरेका मभन्दा साना भाइबहिनीहरु मुख्यसचिवसम्म भइसके । भनाइको मतलव, हाम्रा कुरा सुन्ने मान्छेहरु नीति निर्माण तहमा आइसके । मन्त्रिपरिषद तहमा हामीले उपचार गरेका व्यक्तिहरु हुनुहुन्छ, उहाँहरुलाई मेरो ठूलो श्रद्धा पनि छ । त्यसैले देशलाई परिवर्तन गर्न सकिन्छ पहिलो कुरा । दोस्रो कुरा, त्यसका लागि दीर्घकालीन योजनाहरु बनाउनुपर्यो । र, तेस्रो, कहिल्यै नथाक्ने जोश र जाँगर लिएर काम गर्नुपर्यो । आज सिप छ, काम पाइएन भन्दैमा चुप लागेर बस्ने होइन । अन्तिम सास रहुञ्जेल प्रयास जारी राख्नुपर्छ । अन्य देशहरुबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ ।
विदेश जानु नै हुँदैन भन्ने होइन । मैले पढाइको क्रममा भिजिटिङ फेलोसिप अमेरिकामा गरें । युरोपमा पनि मैले भिजिटर प्रोफेसर भएर काम गरें । अहिले पनि म विदेश गइरहेको हुन्छु । कहिलेकाहीँ सिक्न जान्छु भने कहिले सिकाउन जान्छु । सिक्ने, सिकाउने कुरालाई खुल्ला राख्नुपर्छ । र, नेपालको स्वास्थ्य अवस्थालाई परिवर्तन गर्न सकिन्छ भन्ने केही कुराको मैले प्रमाणित पनि गर्न सकेको छु ।
यहाँको विश्लेषणमा नेपालको मेडिकल क्षेत्रको क्वालिटी कुन स्तरको छ ? जस्तो– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै मिर्गौला प्रत्यारोपण गर्नुभयो । कलेजो प्रत्यारोपण पनि नेपालमै हुन थालेको छ । यो पक्षबाट हेर्दा स्वास्थ्यका हिसाबले हामी अन्र्र्तराष्ट्रिय स्तरमा पुगेका छौं भन्न सकिन्छ ?
हामी अहिले एकदमै राम्रो स्थितिमा छौं । प्रधानमन्त्रीले नेपालमै मिर्गौला प्रत्यारोपण गर्नु भनेको उहाँको देश र यहाँका डाक्टरहरुप्रतिको विश्वास हो । संस्थाप्रतिको विश्वास हो । हामीले यसलाई यसरी बुझ्नुपर्छ । उहाँको विश्वासलाई हामीले बिगारेनौं, त्यो हाम्रा लागि गौरवको कुरा हो । मैले प्रधानमन्त्रीलाई नजिकबाट चिन्छु, उहाँको आत्मबल अचम्म खालको छ ।
नेपालको विगत २७/२८ वर्षको स्वास्थ्य सुरक्षाको अवस्थालाई हेर्ने हो भने धेरैजना डाक्टर र संस्थाहरुको यसमा योगदान छ । एकजना व्यक्तिले केही गर्न सक्ने होइन । आइडिया ल्याउने हो । त्यो आइडियाको निरन्तरता युवा पुस्ताले गर्ने हो ।
त्यसैले, मलाई कस्तो लाग्छ भने अहिले टेक्नोलोजीको हिसाबबाट हामी राम्रो छौं । तर, हामीले विगतलाई पनि हेर्नुपर्छ । यसका लागि अनुसन्धान गर्नुपर्यो, पढ्नुपर्यो । नयाँ पुस्तालाई प्रोत्साहित गर्नुपर्यो । राम्रा मान्छेलाई हामीले जोगाउनुपर्छ । राम्रो परिवर्तन गर्ने मान्छेलाई जोगाएर संस्थाहरुलाई रुपान्तरण गर्दैै जानुपर्छ । यसका लागि हामीले ५० देखि ७५ वर्षको दीर्घकालीन खाका तयार पार्नुपर्छ ।
कोभिड महामारीका बेला पनि निजी स्वास्थ्य संस्थादेखि लिएर सरकारीलगायत सबै तहले राम्रो गरे । म कलेजो प्रत्यारोपण, जोर्नी प्रत्यारोपण, मिर्गौला प्रत्यारोपणको मात्रै कुरा गर्न चाहान्नँ । सम्पूर्ण स्वास्थ्य अवस्थालाई हेर्ने हो भने देशमा रुपान्तरण भएको छ ।
उपचारको कुरा गर्नुपर्दा बेलायतमा समयमा उपचार नपाएका बिरामीहरु यहाँ आएर उपचार गर्छन् । एकजना डाक्टरको सल्लाहका लागि ८ महिना कुर्नुपर्ने अमेरिकाबाट नेपालमा आएर तुरुन्तै आफूले चाहेको डाक्टरलाई देखाएर बिरामी गइरहेका छन् । क्यानडामा उपचार ढिलो भएर नेपालमा आएर उपचार गरी फर्किन्छन् । यो राम्रो कुरा हो ।
तर, स्वास्थ्यलाई युरोप अमेरिकाको लेबलमा पुर्याउनका लागि थप काम गर्न जरुरी छ । बीमा नीतिका साथै अनुसन्धान तहमा अगाडि बढ्यौं भने नेपालको हेल्थ केयर अझ राम्रो हुन्छ । यसका लागि अनुभवले मात्रै हुँदैन, अध्ययन जरुरी छ।
अहिले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाल्न युवा नेता प्रदीप पौडेल आएका छन् । यहाँको विचारमा अहिले स्वास्थ्य क्षेत्रमा खड्किएका र सरकारले गर्नुपर्ने काम के–के हुन् ?
सर्वप्रथम त नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई बधाई तथा शुभकामना व्यक्त गर्दछु । म उहाँको डाक्टर पनि हो । उहाँलाई मैले वर्षौं अगाडि उपचार गरेको छु ।
नेपालका समस्या के छ भने अहिले हाम्रो डिसिजन मेकिङमा मन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु कि हामीले छोटो समयका लागि केही पनि निर्णय नगरौं । लामो समय हेल्थ केयरलाई परिवर्तन गर्नेखालको विज्ञ समुह, त्यसमा निजी क्षेत्र र सरकारी तहका मान्छेहरुलाई राखेर अध्ययन गरौं ।
हामीले मन्त्रीज्युलाई राम्रो सल्लाह दिएर डिसिजन मेकिङमा सजिलो बनाउने हो । यसमा मुख्य कुरा स्वास्थ्य बीमा सरकारी अस्पतालमा मात्रै सीमित गर्ने होइन, नेपालका हरेक क्षेत्रको निजी र सरकारी सबै क्षेत्र जोगियोस् भन्नुपर्छ ।
हामी यतिसम्म निजी संस्थाबाट स्वास्थ्य सेवा किन्छौं सरकारले भन्न मिल्यो । सरकारी अस्पतालबाट नभ्याउने बिरामीहरुलाई हामी त्यहाँ पठाउँछौं, उपचार गर्दिनुपर्यो भन्नुपर्यो । योखालको वातावरण सिर्जना गर्नुप¥यो । देश बन्ने भनेको सरकारले मात्रै होइन । नेपालमा आज निजी संस्थाहरुमा कतिजना मान्छेले काम गरेका छन् भन्ने तथ्यांक हेरौं अनि सरकारी डाटा हेरौं । यो हिसाबले जानुपर्यो ।
अर्को कुरा, प्राइमरी हेल्थ केयर सिस्टममा सुधार गर्नुपर्छ । जस्तै– गाउँ, नगर र त्यहाँबाट माथि आउँदा के–के छ ? साना–साना त्रुटिहरु हेरौं । अहिलेका मन्त्रीज्यु कति महिना या कति वर्षको मन्त्री बन्नुहुन्छ, मलाई थाहा छैन । तर, उहाँको सहयोगका लागि विज्ञहरुले कहाँ, कस्तो समस्या छ, के को आवश्यकता छ, त्यो बुझाइदिनुपर्यो ।
जस्तै– मन्त्री पौडेलले अहिले तुरुन्तै पालो पाउने व्यवस्था गर्छु भन्नुभएको छ, त्यो राम्रो कुरा हो तर त्यो कत्तिको सम्भव छ, त्यो हेर्नुपर्यो । म के भन्छु भने एजुकेशन लिन सक्ने वातावरण जतिसक्दो बढाउनुपर्यो । यसको अर्थ, मेडिकल कलेजहरुलाई सुदृढीकरण गर्नुपर्यो । नयाँ मेडिकल कलेज खोल्न दिनुपर्यो । र, तिनको गुणस्तरलाई मन्त्रालयले धान्नुपर्यो ।
आज नर्स मात्रै विदेश पठाएर कति रेमिटेन्स आउने भइसक्यो, त्यो सरकारले बुझनुपर्यो । नेपालका डाक्टरहरु आज युरोप र अमेरिकाका लागि योग्य भइसके । यो हाम्रो पढाइ गलत भएर त होइन नि । तर, हामीले अगाडिको शिक्षालाई अगाडि बढाउन सक्ने वातावरण निजी र सामुदायिक दुईवटैलाई सिर्जना गरी एउटा दीर्घकालीन भविष्य निर्माण गर्न सहयोग गर्नुपर्यो ।
मेडिकल शिक्षासम्बन्धी नीतिलाई लिएर नेपालमा विवाद हुँदै आएको छ । डाक्टर गोविन्द केसीले मेडिकल कलेज खोल्न नदिएर पढ्नका लागि विदेश जानुपरेको आरोप उहाँमाथि मेडिकल व्यवसायीहरुले लगाइरहेका छन् । डा. केसीले उठाएका मागका सम्बन्धमा पनि विवाद छ, यसमा सरकारले कस्तो नीति लिनुपर्ला ?
मैले के भन्छु भने डा. गोविन्दजी मेरो मित्र हुनुहुन्छ । उहाँ एउटा हाडजोर्नीको विशेषज्ञ हो । यो छुट्टै सम्बन्ध भयो । म केमा विश्वास गर्छु भने यो मेरो व्यक्तिगत विचार हो, मेरो कुनै मेडिकल कलेजसँग सम्बन्ध छैन, त्यसैले मैले बोल्न मिल्यो ।
मैले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा आवद्ध भएर काम गरेको छु । तर, म के भन्छु भनेको नियम भनेको बलजफ्ती गर्ने होइन । दुईजना धावक छन् अथवा १० जना छन्, हामीले भन्छौं कि अहिले त १० जना प्रतिस्पर्धी भइसके, ११ औंलाई हामीले दौडिन दिनुहुँदैन भन्छौं के त्यसो भन्न मिल्छ त ? ११ औँ धावक पनि प्रथम हुन सक्छ कि सक्दैन ? अथवा १२ जनालाई दौडनै नदिने, १० जनाको कोटा पुगिसक्यो भन्न मिल्छ त ? मिल्दैन ।
म के भन्छु भने सरकारसँग परिमार्जित मेडिकल नीति हुनुपर्यो । क्वालिटी कन्ट्रोल हुनुपर्यो । त्यसमा अरु प्रश्न उठ्नु भएन । यहाँ मेडिकल संस्थाहरू खोल्नै नपाउने भनेर देश बन्दैन । सिस्टम मिलाएर मेडिकल संस्थाहरू खोल्न दिनुपर्छ । नभएदेखि अतिरिक्त प्रतिभाहरु अगाडि आउँदैनन् । पुरानैले मात्रै पुरानै तरिकाले मात्र काम गर्ने स्थिति हुन्छ । पाँच सयवटा मेडिकल संस्थामा १० वटा सफल हुन्छन्, अरु फेल हुँदै जान्छन्, कसैले रोक्नुपर्दैन । यो प्रतिस्पर्धी दुनियाँमा लगानी पनि उठ्दैन संस्थाहरूको । प्राइभेटको बिजनेस गर्नेलाई सोध्नुहोस् न, संस्था चलाउन सक्नुहुन्छ ? कतिजना स्टाफ हुन्छन् ? बिजुली, पानी, कति खर्च हुन्छ ? बैंकको ब्याज कति तिर्नुपर्छ ? पहिला डाक्टरको हिसाबले मात्रै मेरो दिमागले सोच्थ्यो, अहिले त्यसरी सोच्दैन । व्यवसायलाई व्यावहारिक विज्ञानसँग जोड्नुपर्छ ।
यो भनेको, मेडिकल र नर्सिङ कलेज खोल्न दिनुपर्छ तर भनसुनका आधारमा मेडिकल र नर्सिङ कलेज खोल्न दिनुहुँदैन । छापा मार्ने शैलीबाट संस्थाको कन्ट्रोल मेकानिज्म राख्नुपर्यो । तर, कोहीले राम्रो गरेर म संसारभरिको डाक्टर ल्याएर ट्रेन गर्छु भन्छ भने त्यस्तै संस्थालाई खोलिदिनुपर्छ । उसले गर्न सकेन भने बन्द गर्ने साँचो सरकारकै खल्तीमा हुनुपर्छ ।
म पुरै प्रतिस्पर्धामा विश्वास गर्छु । एक सयजना डाक्टर छन् भने ९९ डाक्टरलाई यहाँ राखेर चक्रराज पाण्डेलाई मात्रै उभ्याएर त भएन । त्यो एक सयसँग कुस्ती खेल्दै जाने हो म । त्यसैले प्रतिस्पर्धा गर्न दिनुपर्छ ।
संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हक अन्तरगत राखे पनि सरकारले यसमा लगानी बढाउन सकेको छैन । कर्णाली, सुदूरपश्चिम र अन्य प्रदेशका ग्रामीण भेकलाई सम्झिँदा त्यहाँ सरकारले स्वास्थ्य सेवा पुर्याएको जस्तो लाग्छ ? निजी स्वास्थ्य संस्था प्रायः सहरमै सीमित छन् । सरकारले दिने सेवा विस्तारित हुन सकेको छैन…
मैले सरकारीमा काम नै गरेको छैन । प्राइभेटमा नै गरेको हुँ । मेरो विचारमा सरकारले सबै ठाउँमा सेवा पुर्याउनुपर्छ तर सरकारका पनि आफ्ना कमजोरीहरू छन् । स्रोत के छ ? दक्ष जनशक्तिलाई दिनुपर्ने सहुलियत दिन सक्छ, सक्दैन ?
राम्रा मान्छे नेपालबाट बाहिर गइसके । कर्णालीसम्म पुर्याउनुपर्ने सेवामा स्रोत दिनुपर्यो । फन्डिङ दिनुपर्यो । देशको समग्र अर्थतन्त्रको स्थिति के छ, यो सबैका आधारमा सरकारले सोचेर दिने हो ।
पहिला त एउटै डाक्टरले टाउको पनि खोल्थ्यो, मुटु पनि खोल्थ्यो । अब मुटुको पनि धमनीको एउटा भल्बको एउटा डाक्टर भएको छ । अब नाकको पनि दायाँ प्वालको एउटा र बायाँ प्वालको एउटा होला । यस्तो सुपर विशिष्टता भएका डाक्टरहरू आउँछन् । सरकारले राजनीतिक अधिकारका रूपमा गाउँ–गाउँमा स्वास्थ्य सेवा पुर्याउनुपर्छ तर प्रयोगात्मक रूपमा के गर्न सक्छ, त्यो सोच्नुपर्छ । यसका लागि समय र स्रोत चाहिन्छ ।
मेरो विचारमा अहिले सरकारले जे गरेको छ, राम्रो गरेको छ । जस्तो– इमन्र्जेन्सीमा हेलिकोप्टरबाट पनि उद्धार गरेर ल्याएको छ । मेडिकल कलेज विभिन्न ठाउँमा खोलेको छ । कर्णालीमा पनि गेटा मेडिकल खोलिएको छ । लुम्बिनीमा, पूर्वमा पनि खोलिराखेका छन् । यो सबै कुरालाई पूरा गर्न केही समय लाग्छ । सरकारले गर्दैछ ।
भिडियो-
प्रतिक्रिया