अर्थसंक्षेप : एनसेलको लाइसेन्स म्याद सकिन लाग्दा ‘लबिङ’ तीव्र, प्राधिकरणको बक्यौता महसुलबारे ओलीको गुनासो | Khabarhub Khabarhub

अर्थसंक्षेप : एनसेलको लाइसेन्स म्याद सकिन लाग्दा ‘लबिङ’ तीव्र, प्राधिकरणको बक्यौता महसुलबारे ओलीको गुनासो


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलको लाइसेन्स म्याद सकिन लाग्दा प्रधानमन्त्री केपी ओलीलाई शतीशलालका भाई शचीनलाल आचार्यले दुई पटक भेट गरेका छन् । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६ अबंले बढेको छ । बिहीबार नेपाली बजारमा सुन तोलामा ११ सयले घटेर एक लाख ५१ हजार ९ सयमा कारोबार भएको छ ।

त्यस्तै, पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवामा पहिरो जाँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रङ्क लाइनका बक्यौता एक रुपैयाँ पनि नछाडेर उठाउने स्पष्ट पारेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद तुलसाकुमारी दाहालले कमला नदीमा बन्दै गरेको पुल भासिएकाले सोही स्थानमा अर्को नयाँ पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले डिजिटल भुक्तानी सेवा प्रदायकलाई सरकारले भ्याट छुटको दायराबाट हटाएपछि सेवाग्राहीलाई भार पर्न गएको बताएकी छन् ।

यस्ता छन् आजका प्रमुख आर्थिक समाचारहरू :

एनसेलको लाइसेन्स म्याद सकिन लाग्दा प्रधानमन्त्री ओली र आचार्यबीच भेट

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा प्रालिको सञ्चालन अनुमतिपत्रको म्याद भदौ १५ गते नै सकिँदै छ । अनुमतिपत्रको म्याद सकिन तीन महिना अगाडि नै तोकिएको शुल्क बुझाएर नवीकरण नगरेको उक्त कम्पनीसँग जोडिएका अदृष्य पात्रहरू अन्तिम समयमा सरकारसँग तीव्र लबिइङमा लागेका छन् । दूरसञ्चार ऐन, २०५३ र दूरसञ्चार नियमावली, २०५४ मा भएको व्यवस्थाअनुसार अनुमतिपत्रको म्याद सकिन तीन महिना अगाडि नै गएको जेठ १५ गतेभित्र तोकिएको शुल्क बुझाएर एनसेलले नवीकरण गर्नुपर्ने हुन्थ्यो । ऐन तथा नियमावलीअनुसार भने अनुमतिपत्रको अवधि भएको बेलासम्म अर्थात् आगामी भदौ १५ गतेभित्र थप १५ प्रतिशत शुल्क सहित नवीकरण गर्न सकिने व्यवस्था छ ।

२०६९ जेठ १ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार मोबाइल सेवा प्रदायकले अनुमतिपत्रको नवीकरण गर्दा २० अर्ब १३ करोड २७ लाख ५० हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ । तर, एनसेलले भने गत जेठ १४ गते जम्मा ४ अर्ब रुपैयाँ शुल्क सहित अनुमतिपत्र नवीकरणको लागि दूरसञ्चार प्राधिकरणमा निवेदन दिएको छ । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार एनसेलले नवीकरण शुल्क बुझाउनको लागि प्राधिकरणसमक्ष ५ किस्ताको सुविधा माग गरेको छ । तर, दूरसञ्चार ऐन र नियमावलीमा भने नवीकरण शुल्कको लागि सुविधा दिनसक्ने कुनै व्यवस्था छैन ।

सरकारी उच्च स्रोतका अनुसार पछिल्लो पटक कांग्रेस–एमाले गठबन्धनको तर्फबाट केपी शर्मा ओली प्रधानमन्त्री भइसकेपछि उनलाई शतीशलालका भाई शचीनलाल आचार्यले दुई पटक भेट गरिसकेका छन् । एनसेलको नवीकरण शुल्कमा किस्ता सुविधा र अविछिन्न स्वामित्वको सम्भावना अन्य माध्यमबाट नदेखेपछि प्रधानमन्त्री ओलीसँग उनी पुगेका हुन् ।

६ अंकले बढ्यो नेप्से, १९ अर्ब बढीको कारोबार 

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६ अबंले बढेको छ । नेप्से ०.२० प्रतिशतले बढेर २९७४.४६ विन्दुमा पुगेको छ । दुई दिन सार्वजनिक विदामा बन्द रहेको नेप्से बुधबार बजार खुल्दा २ अंकले बढेको थियो । आज नेप्से ६ अंकले बढेसँगै कारोबारमा पनि बढोत्तरी भएको छ ।

आज १९ अर्ब १६ करोड ६ लाख ५२ हजार रुपैयाँ बराबरको ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेले ३ पटकसम्म ३ हजारको विन्दु पार गरे पनि बजार बन्द हुँदा भने १९७४ विन्दु मात्र कायम भएको छ ।

नेप्से बढ्दा विकास बैंकमा लगानीकर्ताको अकर्षण देखिएको छ । आज विकास बैंक ४.५२ प्रतिशतले बढेर ५९३०.१७ विन्दुमा पुगेको छ । १३ वटा समूहमध्ये ७ वटा समूह बढेको छ भने बाँकी ५ समूह घटेको छ । सबैभन्दा बढी ट्रेडिङ समूह घटेको छ ।

 सुनको मूल्य घट्यो

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुन तोलामा ११ सयले घटेर एक लाख ५१ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला ५ ले घटेर १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पृथ्वी राजमार्गको घाँसीकुवामा पहिरोले सडक अवरुद्ध

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवामा पहिरो जाँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । बुधबार साँझ मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो गएको थियो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आज बिहानैदेखि सडकको दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको जानकारी दिए ।

पहिरो हटाउन सडक विस्तारको ठेकेदार कम्पनी र नेपाली सेनाको टोली खटिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले पहिरोले मुख्य सडक बन्द भएकाले सवारी साधनहरुलाई वैकल्पि मार्गको प्रयोग गर्न आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले साना तथा मझौला सवारी साधनहरूलाई दमौलीतर्फबाट आउनु परेमा तालघरे, दरैपधेँरा हुँदै घाँसीकुवाको रूट प्रयोग गर्न भनेको छ ।

प्राधिकरणको बक्यौता महसुलबारे ओलीको गुनासो– सरकारले मिनाहा गरिदियो भनेर प्रचार गराए 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रङ्क लाइनका बक्यौता एक रुपैयाँ पनि नछाडेर उठाउने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्न गरेर होइन चलाएर उठाइन्छ । विगतमा किन समयमा महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइन जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ । यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ ।’

उनले सरकार र नेपाल विद्युत् प्राधिकरणबीच कुनै मतभेद नभएको पनि स्पष्ट पारे । उनले यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीन प्रचार भइरहेको उल्लेख गरे । विद्युत् प्राधिकरणले महसुल उठाउन खोज्दा सरकारले मिनाहा गरेको भन्दै झुटो प्रचार गर्ने अभियान चलेकाले त्यस्ता प्रचार अर्थहीन भएको स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुन्छ, त्यहाँ रोजगारी पाएकाको रोजगारी बन्द हुन्छ, उद्योग बन्द भएपछि उत्पादन पनि घट्छ, व्यापार घाटा बढ्छ । बक्यौता उठाउन पनि त उद्योग चलाउनै पर्छ । औद्योगिक ग्राहकसँग लिनुपर्ने खपत अनुसारको महसुल मिनाहा गरिएको भन्ने झुटो सूचनाको पछि नलाग्न म सबैलाई आग्रह गर्छु । खपतअनुसारको महसुल उठाएरै छोडिन्छ ।’

कमला नदीमा तत्काल अर्को पुल निर्माण गर्न ध्यानाकर्षण

राष्ट्रियसभाको आजको बैठकमा सांसद तुलसाकुमारी दाहालले हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहाको दक्षिणी सिमनामा कमला नदीमा बन्दै गरेको पुल भासिएकाले सोही स्थानमा अर्को नयाँ पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । आजको बैठकको आकस्मिक समयमा सांसद दाहालले निर्माणाधीन पुल भासिएको घटनाको अनुसन्धान गर्न पनि सरकारसँग आग्रह गरिन् ।

निर्माणाधीन पुल भासिँदा सो क्षेत्रका २० लाख नागरिकले सास्ती पाइरहेका उनले उल्लेख गरिन् । ‘स्थानीय जनप्रतिनिधि र जनताले पुल निर्माणका लागि बारम्बार पहल गर्दा सुनुवाइ नभएपछि यही भदौ ४ गतेदेखि १० जना युवाले मधेस प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडि अनशन बसिरहेकाले तत्काल पुनः निर्माण अघि बढाउन सरकारको ध्यानाकर्षण गराउँछु’, उनले भनिन्।

‘डिजिटल भुक्तानीमा भ्याट छुट हटाइदिँदा ट्रान्जेक्सन महँगो भयो’

नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले डिजिटल भुक्तानी सेवा प्रदायकलाई सरकारले भ्याट छुटको दायराबाट हटाएपछि सेवाग्राहीलाई भार पर्न गएको बताएकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले डिजिटल भुक्तानी सेवाहरूका लागि भ्याट छुट हटाइदिएका कारण डिजिटल ट्रान्जेक्सन महँगो भएको बताइन् ।

‘सरकारले नेपाल क्लियरिङ हाउस, फोन–पेजस्ता डिजिटल भुक्तानी सेवा प्रदायकलाई भ्याट छुटको दायराबाट हटाएपछि यसको भार सेवाग्राहीलाई परेको छ,’ सांसद गौतमले भनिन्, ‘डिजिटल भुक्तानी सेवाहरूको लागि भ्याट छुट हटाइदिएका कारण हाम्रो डिजिटल ट्रान्जेक्सन महँगो भएको छ ।’ उनले डिजिटल भुक्तानी प्रयोग गर्ने उपभोक्ताका लागि १० प्रतिशत फिर्ता गर्नुपर्ने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।

‘डिजिटल नेपाल फ्रेमवर्कसँग मेल खाने गरी कर नीतिहरूलाई क्यासलेस इकनोमीको लक्ष्यलाई समर्थन गर्ने गरी सुनिश्चित गर्नका लागि सभामुखमार्फत् सम्बन्धित  निकायको ध्यानाकर्षण गराउँदछु,’ गौतमले भनिन् । पहिले निःशुल्क हुने सरकारी लेनदेनहरू अब भ्याटअन्तर्गत पर्दा सार्वजनिक सेवाहरूको लागत पनि बढ्दै गएको भन्दै उनले वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्न डिजिटल लेनदेनमा भ्याटको आवश्यकतालाई पुनः मूल्यांकन गर्न आवश्यक रहेको बताइन् ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ७ : ४५ बजे

बाँकेमा चिसो बढेपछि जनजीवन प्रभावित

बाँके– पश्चिम तराईमा चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको

विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुको बैठक

फैलिँदो निराशा : एक वर्षमा झण्डै ७० हजार नेपालीले सधैँका लागि छाडे देश

काठमाडौं– वर्षेनी रोजीरोटी र सुरक्षित जीवनको खोजीमा लाखौँ नेपालीले देश

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

बुटवल– लुम्बिनी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

विपक्षी दलहरुको बैठक सिंहदरबारमा बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ ।