विदेशिए गोठाला, हराए गोठ « Khabarhub

विदेशिए गोठाला, हराए गोठ


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको तीन महिना ४० देखि ५० भेडी गोठ हुन्थे । म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको चरनक्षेत्र बतासेमा यसपालि १५ वटा मात्र गोठ थिए ।

बतासेको खर्कबाट गत हप्ता थासाङ–३ लेतेमा भेडागोठ झारेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीले बढ्दो विदेश र सहरमोहले घुम्ती गोठमा भेडाबाख्रा र गाईभैँसी पाल्ने चलन हराउन थालेको बताए ।

६८ वर्षीय भण्डारीले ५४ वर्षदेखि घुम्ती गोठमा भेडापालन गर्दै आएका छन् । पाँच सयभन्दा बढी भेडाबाख्राको बथान लिएर बर्खामा लेक र हिउँदमा बेँसी गर्ने उनी आफ्नो पुस्तासँगै गोठ बस्ने चलन पनि हराउने चिन्तामा छन् ।

‘देशभित्र काम गर्न लाज मान्ने तर विदेशमा अर्काको नोकर हुन तयार हुने संस्कारको विकासले गर्दा बूढापाकासँगै गोठहरू हराउन थालेका छन्’, उनले भने, ‘वृद्धहरूको भरमा गोठ धानिएका छन् ।’

बाजेका पालादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको सङ्ख्या घटाउँदै गएका छन् । पूर्वीरुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन सिकार आरक्षको पाटनमा भेटिएका विकले ३२ वर्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना सुनाए ।

‘पहिले एक सय भेडाबाख्रासँगै आठ–दशवटा गाईभैँसीको गोठ लिएर बुकी र बेँसी गर्थेँ । गाईभैँसी बेचेर सकिए । चालीसवटा भेडाबाख्रा छन्’, उनले भने, ‘छोराछोरीले यो पेशा रोजेनन् । विदेशतिर लागे । बढ्दो बुढ्यौलीसँगै हिँडडुल गर्न गाह्रो हुन थालेकाले म पनि भएका भेडाबाख्रा बेचेर विश्राम लिने योजनामा छु ।’

वृद्धहरूले धानेको घुम्ती गोठहरू उनीहरूको बढ्दो उमेरसँगै घट्दै गएका छन् । युवा र बयस्क उमेरका गोठाला भेटिँदैनन् । वैदेशिक रोजगारीप्रतिको आकर्षण, स्वदेशमै मेहनत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जीविकोपार्जनसँगै आम्दानीको राम्रो स्रोत घुम्ती पशुपालन पेशा सङ्कटमा परेको म्याग्दीको अन्नपूर्ण–१ दोवाका नेत्रप्रसाद राम्जालीले बताए ।

‘गोठ बस्ने गोठाला पाइनै छाडे’, पाँच सय भेडा पालेका उनले भने, ‘भेडाबाख्रा बेचेर वर्षमा आठ लाख जति कमाई गर्न सकिन्छ, तर गोठ बस्ने मान्छे नपाएर समस्या हुन थालेको छ ।’ मुस्ताङमा भेडाच्याङग्रा र चौँरी गोठालालाई वार्षिक एक लाख ५० हजार तलब छ ।

गर्मी बढेपछि हिमाली क्षेत्रको जडीबुटीयुक्त चरन क्षेत्रको पोषिलो घाँस खुवाउन बुकीमा पशु चराउन लैजाने चलन छ । बुकीमा चरेका पशु निरोगी, मोटा हुने, दूध धेरै दिने र मासु स्वादिष्ट हुने राम्जालीले बताए ।

असारदेखि भदौसम्म लेकाली क्षेत्रमा रहने पशु गोठहरू चिसोसँगै बेँसीतर्फ झार्न थालेका छन् । अस्थायी टहरामा महिनौँसम्म घरपरिवारसँग सम्पर्कविहीन भएर पशुसँगै बुकीमा बस्न नयाँ पुस्ताले दुःख र झञ्झट मानेका छन् ।

धवलागिरि गाउँपालिका–३ मुनाका ७७ वर्षीय गङ्गाबहादुर पहरे पुनका अनुसार खेतबारीमा मल बनाउन, ‘गोरस’ (दूध, दही, मही र घ्यू), धार्मिककार्य र गोरुका लागि घरैपिच्छे गाई पालेर लेकबेँसी गर्ने चलन थियो । ‘कामको खोजीमा विदेश जाने क्रमसँगै गाउँमा गोठ बस्ने मान्छे पाइन छाडे’, उनले भने, ‘ट्रयाक्टर भित्रिएपछि गोरु नचाहिने भएकाले गाई पाल्ने चलन झनै घट्यो ।’

पहिले हरेक घरको एउटा गोठ हुने गरेकामा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकाले एउटा टोलभरिको गाईवस्तु लिएर एक जना गोठमा जाने गरेको पुनले बताए । बर्खामा हिमालको फेदीका बुकी खर्कमा पुग्ने गोठ हिउँदमा बेँसीका फाँटमा झर्छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : २२ बजे

१५औँ महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा