राजनीति

संविधान संशोधनका विषयमा दलहरुबीचको असमझदारी अनुचित : सभामुख

By खबरहब

September 22, 2024

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा दलहरुबीचको असमझदारी उचित नहुने बताएका छन् ।

संविधान दिवसको अवसरमा संविधानसभा सदस्य परिषद् नेपालले आइतबार सिंहदरबारमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संविधान कार्यान्वयनको ९ वर्ष पुरा भएको अवस्थामा यसलाई थप स्थायित्व दिन संशोधन जरुरी रहेको भन्दै यस विषयमा दलहरुबीचको असमझदारी उचित नहुने बताएका हुन् ।

उनले सबैको सहमति र सहकार्यका साथै समझदारीका साथ संविधान संशोधनको निकास निकाल्नुपर्ने धारणा राखे ।

संविधान संशोधनको विषय सरकारको नभई संसदले प्रक्रिया मिलाएर टुङ्गो लगाउने विषय भएको उनको भनाइ छ ।

उनले संविधान संशोधनको पक्ष–विपक्षमा नाराबाजी हुनु दुखद कुरा भएको उल्लेख गरे  ।

सभामुख घिमिरेले संविधान कार्यान्वयनका क्रममा जनताले भोगेका अनुभवलाई लिएर संशोधन गर्नुपर्ने भन्दै यसलाई हार वा जितको विषय बनाउन नहुने बताए  ।

उनले संविधान कार्यान्वयनका क्रममा पर्याप्त ध्यान दिन नसकेको र पर्याप्त ऐन बनाउन नसकिएको जिकिर गरे  । जसका कारण संघीयता कार्यान्वयनमा समस्या देखिएको उनको भनाइ छ ।