सडक र विद्युत् सुविधासँगै सुगम बन्दै गाउँ « Khabarhub

सडक र विद्युत् सुविधासँगै सुगम बन्दै गाउँ


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – मालिका गाउँपालिका-३ पात्लेमा तीन वर्षअघि सडक विस्तार भएको थियो। करिब एक सय २० परिवारको बसोबास रहेको पात्ले गाउँमा हालै केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरण भएपछि गाउँ सुगम बन्दै गएको छ।

“काँधको छाला खुइलिने गरी पोल बोकेर १० वर्षअघि लद्यु जलविद्युत् परियोजना बनाएर दैनिकी सहज बनाउने उद्देश्यले बिजुली बालेका हौँ”, मालिका-३ लुम्पीपारका हेमबहादुर पुनले भने, “केन्द्रीय लाइनको विद्युत् सुविधा भएपछि भनेको समयमा सस्तोमा बिजुली बाल्न पाएका छौँ।”

मालिका-३ पात्लेमा सोमबार भएको विद्युतीकरण योजनाको उद्घाटन कार्यक्रममा सहभागी हेमबहादुर जस्तै अधिकांश गाउँलेहरु खुसी देखिए। “टुकीको ढिपदिपे उज्यालोमा पढ्नुपर्ने अवस्थाको अन्त्य भएको छ”, शिक्षकसमेत रहेका पात्लेका भूमिराज रोकाले भने, “सडक र विद्युत् सुविधासँगै कुनै समय जिल्लाकै दुर्गम मानिएको बस्ती पात्ले र लुप्सीपार अब सुगम भएका छन्।”

साँझ, बिहान घरायसी काम गर्न सहज हुनुका साथै उद्यम÷व्यवसाय सञ्चालन गरेर आयआर्जनको अवसर पनि सिर्जना भएको पात्लेकी बालकुमारी रोकाले बताइन्।

नेपाल विद्युत् प्राधिकरणले म्याग्दीलाई पूर्ण विद्युतीकरण गर्ने कार्यक्रममार्फत भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने पात्लेका एक सय २० घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली हो। पात्लेका बासिन्दाले उज्यालोका लागि यसअघि लघु जलविद्युत् परियोजना, सौर्य ऊर्जा र टुकीमा निर्भर थिए।

मालिका-३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले केन्द्रीय लाइनका विद्युत् बलेसँगै उज्यालोका साथै स्थानीयबासीको दैनिकी सहज भएको बताए। “हाम्रो वडामा रहेका तीन सय २५ मध्य सबै घरमा विद्युतीकरण भएको छ”, उनले भने, “विद्युतीय चुल्होमा खाना पकाउन, इन्टरनेट चलाउन, टेलिभिजन हेर्न, फर्निचर, मिल सञ्चालन गर्न तथा अन्य व्यवसायको अवसर सिर्जना भएको छ।”

योसँगै मालिका–३ को सबै बस्तीमा सडक सुविधा पुगेको वडाध्यक्ष बुढाले जानकारी दिए। विद्युत् र सडक सुविधा विस्तार भएपछि चालु आर्थिक वर्षमा ‘एक घर एक धारा’ सहितको खानेपानी आयोजना निर्माण गर्न लागिएको उनको भनाइ छ।

विद्युतीकरण योजनाको उद्घाटन गर्न यहाँ पुगेका गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले म्याग्दीको गुर्जाबाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत् सुविधा विस्तारको काम भइरहेको जानकारी दिए।

“जिल्लाका १४ स्थानका दुई हजार एक ८३ घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तारका लागि २२ करोड बजेट विनियोजन भएर योजना सञ्चालन भएको छ”, उनले भने, “यो योजनामार्फत धवलागिरि गाउँपालिकाको गुर्जा बाहेक सबै बस्तीमा विद्युत् सेवा पुग्नेछ।”

प्रदेश सांसदसमेत रहेका जुग्जालीले मालिका–३ मा पर्ने अदिभाराबाट डाडागाउँ हुँदै बागलुङको तमानखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नतिका लागि १० करोडको आयोजना सुरु भएको बताए। सडकको प्रवेशबिन्दुमा पर्ने अदिभाराको दाजुङ खोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणाधीन रहेको उनको भनाइ छ।

पात्लेका भीमबहादुर रोकाले आगनबाटै गाडी चढ्न पाउँदा दङ्ग परेको सुनाए। “यातायात, विद्युत र सञ्चार सुविधाले गाउँ सुगम बन्न थालेको महसुस गरेका छौँ”, उनले भने, “कल्पना पनि नगरेको पहाड छिचोलेर बनेको सडकमा गाडी चढेर हिड्न पाउँदा दैनिकी सहज बन्दै गएको छ।” खच्चर र भरियाबाट सामान ढुवानी गर्दै आएका रोकाले गाडी र ट्याक्टर चल्न थालेपछि भाडा सस्तिएको बताए।

आवतजावत सहज हुनाका साथै बिरामी पर्दा अस्पताल जान, कृषि र पशुजन्य वस्तुलाई बजार पठाउन, निर्माण र दैनिक उपभोग्य सामान ढुवानी गर्न सहज भएको पात्लेका धनबहादुर रोकाले बताए। “पैदल हिँडेर पात्लेबाट दरवाङ पुग्न तीन घण्टा लाग्थ्यो”, उनले भने “गाडीबाट ओखरबोटको घुमाउरो बाटोबाट जाँदा दुई घण्टा र डाडागाउँ–औँलको छोटो बाटो प्रयोग गर्दा करिब डेढ घण्टामा दरवाङ पुगिन्छ।”

पात्ले मात्र नभएर मालिका–३ का सबै बस्तीमा पुगेको सडक र विद्युत् सुविधाले दुर्गम गाउँका बासिन्दाको दैनिकी सहज हुनाका साथै व्यापार, व्यवसाय वृद्धि भई आयआर्यन पनि वृद्धि हुन थालेको यहाँका स्थानीय बताउँछन्। भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने साविक रुम गाविसमा समेटिएको सो वडाको कुनै पनि बस्तीमा आठ वर्षअघि सडक यातायातको सुविधा थिएन्।

मालिका–३ का पूर्ववडाध्यक्ष हेमबहादुर पुनले पछिल्लो आठ वर्षको अवधिमा सबै बस्तीमा सडक सञ्जाल पुगेको र विद्युतीकरण भएको बताए। उनका अनुसार किटेनीमा वडा कार्यालय र डाडागाउँमा स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माण भएको छ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ५ : ५७ बजे

विश्वकप उपाधि भिडन्तमा ‘१९’ को अनौठो संयोग : पहिलो पटक आमनेसामने हुँदै मेस्सी र यामाल

काठमाडौं- लियोनेल मेस्सी र लामिन यामाललाई एउटा संख्याले अचम्मसँग जोडेको

इरानी आक्रमणमा दुई सैनिक मारिएपछि अमेरिका आक्रोशित, बदला लिएको दाबी

अम्मान- जोर्डनस्थित मुवाफ्फक सल्ती एयरबेसमा गएराति भएको मिसाइल आक्रमणमा दुई

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन– अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय निकुञ्ज

इरानको खुजेस्तानमा ५ म्याग्निच्युडको भूकम्प

तेहरान- इरानको दक्षिणपश्चिमी खुजेस्तान प्रान्तमा आइतबार ५ म्याग्निच्युडको भूकम्प गएको

पुल्चोक इन्जिनियरिङका विद्यार्थी पहिलोपटक अन्तर्राष्ट्रिय रेसिङ कार निर्माण प्रतिस्पर्धामा सहभागी हुँदै

काठमाडौं– त्रिभुवन विश्वविद्यालय अन्तर्गत पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थी पहिलो पटक