प्रधानमन्त्रीलाई प्रश्न - सत्तामै बसेर कसका विरुद्ध शक्ति प्रदर्शन ? | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई प्रश्न – सत्तामै बसेर कसका विरुद्ध शक्ति प्रदर्शन ?


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले संघीय राजधानी काठमाडौंमा गर्न लागेको शक्ति प्रदर्शनले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। यसका कारण सर्वसाधारणको जनजीवन कष्टकर भएको छ ।

एमालेले शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा नाम दिएर कार्यकर्ताहरू सडकमा उतार्न थालेपछि बिहानैबाट उपत्यकाभित्र सवारी व्यवस्थापन अस्तव्यस्त भएपछि जनजीवन कष्टकर बन्न पुगेको हो ।

उपत्यकाका ट्राफिक व्यवस्थापनमा देखिएको अस्तव्यस्तले जनजीवन कष्टकर भएपछि सामाजिक सञ्जालमा सरकार र त्यसको नेतृत्वकर्ता एमालेप्रति आक्रोश प्रकट भइरहेको छ ।

प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले दरबारमार्गमा सरकारको नेतृत्वकर्ता केपी शर्मा ओलीले अराजकता रोक्न नसकेको अवस्थामा एमाले अध्यक्ष ओलीले शक्ति प्रदर्शन गर्न लागेको भन्दै कटाक्ष गरेका छन् ।

उनले एमाले अध्यक्ष ओलीलाई सरकारले दिएको सुरक्षा संयन्त्र र साइरनवाला गाडी प्रयोग गरेर जुलुसमा भाग नलिनसमेत सुझाव दिएका छन् ।

‘आफ्नै पार्टीका कार्यकर्ताहरूको सुरक्षा घेरामा कार्यक्रमस्थल पुगून् । र, भनून्- एउटा पार्टीको भेलाले उपत्यकाको ट्राफिक व्यवस्था नै अस्तव्यस्त हुँदा सरकार के हेरिराखेको छ ?,’ नेता कार्कीले लेखेका छन्, ‘सरकारको निकम्मा व्यवस्थापनले झण्डै-झन्डै म नै कार्यक्रमस्थलमा ढिला पुग्न परेको !’

रास्वपा केन्द्रीय सदस्य कार्कीले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै शक्तिको पृथकीकरण र सन्तुलन नै लोकतन्त्र भएको स्मरण गराएका छन् ।

‘गति नै छोडेपछि सीमा राखेर के गति छोड्नु कमरेड ? नत्र, प्रधानमन्त्रीले सडकमा शक्ति देखाउनु लोकतन्त्रको मर्म होइन भन्ने बुझ्नु पर्ने हो,’ कार्कीले ट्विटर (एक्स)मा लेखेका छन्, ‘शक्तिको पृथकीकरण र सन्तुलन नै लोकतन्त्र हो । सडकमा पनि म, सरकारमा पनि म, अदालतमा पनि म, अख्तियारमा पनि म, संसदमा पनि म, प्रहरी प्रशासनमा पनि म भन्ने कुरा लोकतन्त्र होइन ।’

एमालेको शक्ति प्रदर्शनका कारण उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भइरहेका बेला संविधानविद् डा. भीमार्जुन आचार्य पनि असन्तुष्ट देखिएका छन् । उनले पनि एक्समा आक्रोश पोखेका छन् ।

‘होइन, हाम्रो यो लोकतन्त्रलाई के भयो ? के लोकतन्त्रमा शक्तिको प्रदर्शन हुन्छ र ?,’ संविधानविद् आचार्यल‍े प्रश्न गर्दै भनेका छन्, ‘शक्ति नियन्त्रण र सन्तुलनमा रहनु पो लोकतन्त्र होला नि ! अझ सत्तामै रहेको दलले यसो गर्नु कसो हो ?’

सत्तारुढ एमालेको शक्ति प्रदर्शनको विरोध गर्दै प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सामाजिक सञ्जाल एक्समा भिडियो सन्देश जारी गरेका छन् । भिडियो सन्देशसँग उनले लेखेका छन्, ‘एमालेको शक्ति प्रदर्शन ! होइन, यो संविधान र व्यवस्थाका पक्षधर– एमाले मात्रै होइन, तपाईंहरू सबै- के यही पाराले यो संविधान र व्यवस्था जोगाउँछु भनेर सोचिरहनुभएको छ ? वाहियातिको सीमा हुन्छ ! के देश हाम्रो पुस्ताको मात्र बिर्ता हो ? भावी पुस्ताको बारेमा सोच्न पर्दैन ?’

युवा नेतृ रञ्जु दर्शनाले सत्ताको नेतृत्व गरिरहेको दलनै सडकमा उत्रिनुलाई हास्यास्पद भनेकी छन् । ‘जो सत्तामा छ उसकै शक्तिप्रदर्शन ! यो जति हास्यास्पद अरू के हुनसक्ला ?,’ रञ्जुको प्रश्न छ, ‘सत्तामा हुनु नै त एउटा शक्ति हो । कि सत्तामा अरू नै कोही छ ?

रञ्जुले एमालेलाई शक्ति प्रदर्शनका नाममा काठमाडौं अस्तव्यस्त बनाउनुभन्दा खोला-नालाहरू सरसफाई गर्न सुझाएकी छन् । ‘अब त शक्ति प्रदर्शनको अर्थ पनि अनर्थ बनाइन थाल्यो !,’ उनले एक्समा लेखेकी छन्, ‘यो शक्तिले आज काठमाडौंमा पुनः अस्तव्यस्ता लेराउने भयो । बरू, काठमाडौंका खोला, नदीहरू पनि सरसफाई गरे हुनी यो शक्तिले !’

पत्रकार ऋषिकेश दाहालले सत्तामा रहेको एमालेको शुक्रबारको शक्ति प्रदर्शनलाई तुच्छ प्रवृत्ति भनेका छन् । ‘सत्तामा बसेर शक्ति प्रदर्शन तुच्छ प्रवृत्त हो,’ उनले पनि एक्समा लेखेका छन्, ‘सडकमा सास्ती थपेर कसका लागि शक्ति देखाउने ? लाज नै लजायो हो ।’

सामाजिक सञ्जाल एक्स प्रयोगकर्ता शोबु कटवालले पनि एमालेको प्रदर्शनप्रति कटाक्ष गरेकी छन् । ‘आफैं सत्तामा बसेर काम गर्न नसकेपछि आफ्नैविरुद्ध सडकमा शक्ति प्रदर्शन दरबारमार्गमा आज एमालेको,’ उनले लेखेकी छन्, ‘तैट, एमालेको राजनीतिमा यस्तो हालत भइ सकेछ । अब मान्छे बाटोमा उतारेर हामी पनि छौँ, हाम्रा पनि मान्छे छन् है भन्नु पर्ने भयो होइन त …? एमालेको राजनीति भविष्य सकिएकै हो त ! लाजशरणम् ।’

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता तुलसीराम भुसालले एमालेको शक्ति प्रदर्शन प्रति व्यंग्य गर्दै विश्वको आठौं आश्चर्य हेर्न अन्त जानु नपर्ने टिप्पणी गरेका छन् ।

‘आठौँ आश्चर्य हेर्न अन्त जानु पर्दैन, नेपालमै देख्न पाइन्छ । सत्ताको नेतृत्व गरेको दलको शक्ति प्रदर्शन रे,’ उनी एक्समा लेख्छन्, ‘शक्ति भएरै सत्तामा पुगेको जगजाहेर छ त ! फेरि प्रदर्शन गरेर लाखौं जनता र यात्रुलाई किन सास्ती थोपरेका होलान् ? जनता उसै पलायन भएका होइनन्, यस्तै आश्चर्य देख्न नपरोस् भनेर हो ।’

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १२ : ५९ बजे

बीआरआईबाट नेपालले लाभ लिन्छ : प्रधानमन्त्री ओली

बेइजिङ– चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट

कर्णालीद्वारा काठमाडौंलाई १५० रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमाडौं गुर्खाज र कर्णाली

काठमाडौं महानगरपालिकाद्वारा तीन बालबालिकाको उद्धार

काठमाडौं- काठमाडौं महानगरपालिकाले एक बालिका र दुई बालकसहित तीन जनाको

कूटनीतिमा झूटनीतिको छाया

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणपछि के हुन्छ ? त्यसको स्पष्ट

माओवादीको अन्तरमहादेशीय समितिबाट बाढी पीडितलाई सहयोग

काठमाडौं– नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिअन्तर्गतको अन्तर महादेशीय सङ्गठन