जनकपुर बोल्ट्सका समर्थकहरूलाई अपमान र कुटपिट, दोषीलाई कारबाही माग | Khabarhub Khabarhub

जनकपुर बोल्ट्सका समर्थकहरूलाई अपमान र कुटपिट, दोषीलाई कारबाही माग


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : पहिलो सिजनको नेपाल प्रिमियर लिग विजेता जनकपुर बोल्ट्सका समर्थकमाथि त्रिवि क्रिकेट मैदानबाहिर भएको आक्रमण र सामाजिक सञ्जालमा गरिएको अपमानजनक टिप्पणीविरुद्ध आवाज उठ्न थालेको छ।

शनिबार सुदूरपश्चिमलाई हराउँदै जनकपुरले उपाधि चुमेपछि निस्किने क्रममा जनकपुरका समर्थकमाथि भौतिक आक्रमण भएको थियो ।

जनकपुरका समर्थकलाई विभिन्न नश्लीय टिप्पणीसहित कुटपिटविरुद्ध नेताहरूले पनि बोल्न थालेका हुन् । शनिबार त्रिवि मैदानबाहिर भएको कुटपिटमा जनपकुरमा एकजना समर्थकको दुवै हात भाँचिएका छन् ।

जनकपुरका समर्थकहरूले मधेसी अनुहार हेरी हेरी आक्रमण गरिएको गुनासो गरकेा छन् । कुटपिटबाट घाइते केही युवाको शनिबार नै वीर अस्पालमा उपचार गरिएको छ ।

जनकुरका समर्थक कुटिँदा प्रहरी मुकदर्शक बनेको भन्दै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहितले गम्भीर आपत्ति जनाएका छन् ।

कुटपिटमा परेका युवाहरूले अपमानजनक शब्दसहित अराजक व्यवहार गर्नेविरुद्ध प्रहरी वृत्त कीर्तिपुरमा आइतबार जाहेरी दिएको पनि बताएका छन् ।

यही प्रसंगमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनकपुर बोल्ट्सका समर्थकप्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहारप्रति कडा आपत्ति जनाएका छन् । उनले यस्तो काममा संलग्न जोसुकै भए पनि कारबाही गर्न पनि सरकारसँग माग गरेका छन् ।

‘जनकपुर बोल्ट्सका समर्थकप्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दु:ख लाग्ने खालको छ’, उनले भनेका छन्, ‘मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक छ।’

महामन्त्री थापाले सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाउनुपर्ने धारणा राखेका छन् । ‘यी हर्कतहरू कुनै पनि बहानामा स्वीकार्न सकिँदैन। नो इफ नो बट’, थापाले भने‍का छन् ।

आपत्ति

यही प्रसंगमा डा. राउत नेतृत्वको जनमत पार्टीले कडा आपत्ति जनाएको छ ।

‘एनपीएलको फाइनलपछि जनकपुर बोल्ट्सका समर्थक, मधेसी समुदायका मान्छेलाई लक्षित गरेर नश्लीय सोच बोकेका केही युवाद्वारा विभिन्न अपमानजनक शब्द प्रयोग गर्दै गरिएको आक्रमण तथा कुटपिट प्रति जनमत पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, जनमतका प्रवक्ता डा. शरदसिंह यादवले आइतबार भनेका छन्, ‘यस्ता रंगभेदी क्रियाकलाप गर्नेको पहिचान गरी गृह प्रशासनले कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न लागि जनमत पार्टी जोरदार माग गर्दछ ।’

यसलाई लिएर जनमतका अध्यक्ष राउतले खेलमा पनि नश्लभेद देखाएकोमा गम्भीर आपत्ति जनाएका छन् ।

‘कुटाइ खाएपछि, धोती, मर्सिया, शिशीबोतल गाली पाएपछि मात्रै याद आउँछ राज्यको नश्लवाद र रंगभेद?’, उनले भनेका छन्, ‘नेपालका शासक र राज्य कति नश्लीय छन्, कति रंगभेदी छन् भनेर हामीले विगतका दशकमा बुझाउँदै आएका छौँ । त्यसविरूद्ध संघर्ष पनि गर्दै आएका छौँ।’

उनले मंसीर १० गते मनाउने गरिएको ‘रंगभेदविरूद्धको एकता दिवस’,संसद्मा रंगभेदी विभेद गर्नेविरूद्ध कानुन ल्याउन गरिएको संकल्प प्रस्तावसहित जनमतले गर्दै आएको संघर्ष सम्झिएका छन् । ‘जहाँ संसद्, सरकार, अदालत, सेना, प्रहरी, कर्मचारी र शासकवर्ग सबै नश्लीय छ, त्यहाँ संघर्ष एउटा पार्टीले गर्दैमा पुग्दैन’, उनले भनेका छन् ।

अधिकार र आत्मसम्मान कसैले दिएर नपाइने राउतको भनाइ छ । ‘आफैंले संघर्ष गरेर, विजय हासिल गरेरै लिने हो अधिकार, जसरी जनकपुर बोल्ट्सले विजय हासिल गर्दै एनपीएल जितेको छ’, राउतले भनेका छन्, ‘त्यसको लागि राजनैतिक चेतना चाहिन्छ, राजनैतिक अग्रसरता चाहिन्छ, एकता चाहिन्छ, आन्दोलन चाहिन्छ।’

राउतले अधिकारका लागि अझै पनि मधेशका युवक नजागेको बताए । मनोरञ्जन र खेलमा झुम्मिने मधेशका युवा अधिकार लागि नउठ्ने गरेको गुनासो गरे ।

‘अक्षरा सिंहको कार्यक्रम राख्यो भने लाखौं युवा ओर्लिन्छन्, क्रिकेट हेर्न पैसा तिरेर लाखौं आउँछन्, तर राजनैतिक अधिकारको लागि काठमाडौंमै कार्यक्रम राख्यो भने २०-३० जना आउने गर्छन्। अनि भन्छन् रंगभेद भयो, सम्मान भएन, अधिकार पाइएन’, उनले मधेशका युवासँग गुनासो गरेका छन् ।

अधिकार र आत्मसम्मान पाउन लड्नु पर्ने उनले बताए । ‘संघर्ष गर्नु पर्छ, शासकसँग खोसेर विजय हासिल गर्नुपर्छ। नभएर हजुरबाले पनि त्यही गाली र कुटाइ खाए, र हाम्रा नाती-नातिनीहरूले पनि त्यही मधिसे, धोती, शिशी-बोतल भनेर काठमाडौंमा गाली र कुटाइ खाइराख्छन्’, उनले भनेका छन् ।

कारबाही सिफारिस

जनकपुरका समर्थकमाथि भएको ज्यादती र अपमानबारेमा मधेशी आयोगले आइतबार बोलेको छ । उसले जनकपुर बोल्ट्सका खेलाडीका अगाडि नश्लीय नारा लगाउनेलाई कारबाही गर्न सिफारिस गरेको हो ।

आइतबार विज्ञप्ति जारी गर्दै आयोगले गत पुस ४ गते सम्पन्न एनपीएलको दोस्रो क्वालिफायरअन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा उदण्ड र अराजक समूहले नश्लीय तथा साम्प्रदायिक व्यवहार देखाएको भन्दै आपत्ति जनाएको छ ।

आयोगले जनकपुरका खेलाडीहरूकै अगाडि अभद्र र अपमानित हुने नारा जुलुस गरेको भन्दै कारबाहीका लागि सरकारसामु सिफारिस गरेको हो ।

‘अहिले एउटा सम्प्रदायमा देखिएका मधेशी समुदायप्रतिको विभेदकारी र नश्लीय सोचले मुलुक निर्माणमा अवश्य नै समस्या उत्पन्न गर्नेछ । एनपीएलमा जनकपुरका खेलाडीहरूका अगाडि नै अभद्र र अपमानित हुने खालका नारा जुलुस लगाए । जुन कार्य अति निन्दनीय र कानुन विपरीतका दण्डनीय कार्य रहेको छ’, आयोगले भनेको छ, ‘तसर्थ, तत्कालै राज्यले ती उदण्ड र अभद्रलाई तुरुन्त दण्डित गर्न र यस विषयमा संवेदनशील हुन आयोग अपील गर्दछ ।’

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ३ : ३९ बजे

वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व सङ्कलन

पर्सा – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को

मिडिया एक्सन नेपालको स्थापना दिवस, प्रदेश संयोजकहरू सम्मानित

काठमाडौं– मिडिया एक्सन नेपालले प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धतासहित आफ्नो नवौँ स्थापना

आजका समाचार : रवि दोस्रो पटक निलम्बनतिर, छविको बयानमा दोषजति रवि र जीबीलाई, एसिया कप खेलेर आए महिला टोली

प्रधानमन्त्री भन्छन्- मलाई त्रिविसँग लिनुदिनु केही छैन, शैक्षिक सुधारमा लाग्नुहोस्

छविलालको चलाखीपूर्ण बयान : गोर्खा मिडियामा जीबी रकम ल्याउँथे, रवि खर्च गर्थे

काठमाडौं- पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा पक्राउ

नाइजेरिया अपडेट : भागदौडमा मृतकको सङ्ख्या सङ्ख्या ३२ पुग्यो

लागोस – नाइजेरियाको प्रहरीले आइतबार खाना वितरण केन्द्रहरूमा भएका दुई