भाँडियो वीपी प्रतिष्ठानको बैठक, मन्त्री र उपकुलपतिको राजीनामा माग | Khabarhub Khabarhub

भाँडियो वीपी प्रतिष्ठानको बैठक, मन्त्री र उपकुलपतिको राजीनामा माग



सुनसरी– धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक शिक्षक र कर्मचारीहरुले कायम मुकायम उपकुलपति प्राडा प्रल्हाद कार्की र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागेका छन् । सोमबार र मंगलबार दुई दिन चलेको कार्यकारिणी समिति (कास) को बैठक निष्कर्षविही बनेपछि आन्दोलनकारीले कार्की र बस्नेतको राजीनामा मागेका हुन् ।

सोमबार राति साढे नौ बजे स्थगित भएको कास बैठक मंगलबार बिहानदेखि फेरि बसे पनि समस्या समाधान गर्न नसकी स्थगित भएको छ । त्यसलगत्तै चिकित्सक शिक्षक र कर्मचारीहरुले मन्त्री र उपकुलपतिको राजीनामा माग गरेका हुन् ।

वीपी प्रतिष्ठानको ओपिडी सेवा, चिकित्सा शास्त्रको पठनपाठन र परीक्षा १० दिनदेखि ठप्प छ । सात बर्षअघि जुन पदमा नियुक्त भएका थिए, त्यही पोस्टमा कार्यरत १७८ शिक्षक चिकित्सक र १५ बर्षदेखि कार्यरत १२ सय जना प्रशासनिक कर्मचारीको पदोन्नति रोकिएको विषयमा दोस्रो पटक आन्दोलन सुरु भएको हो ।

मंगलबार बिहान भीभीआइपी गेष्ट हाउसमा कडा प्रहरी सुरक्षाका बीच चलेको कास बैठकमा कामु उपकुपति प्राडा कार्की, शिक्षाध्यक्ष प्राडा सञ्जीव शर्मा, अस्पताल निर्देशक प्राडा जगत नारायण प्रसाद र रजिष्ट्रार प्राडा सूर्य संग्रौलासहित स्वास्थ्यमन्त्रीले एक साताअघि कास सदस्य तोकेर पठाएका स्वास्थ्य मन्त्रालयका उपसचिव राजेश पन्थी सहभागी थिए ।

सात जना सदस्य रहने वीपी प्रतिष्ठानको कासमा प्राडा ज्ञानेन्द्र मल्ल र प्राडा स्मृति कार्कीलाई भने बैठकमा बस्न नदिएपछि आन्दोलनरत पक्ष थप आक्रोशित भएका थिए । कास सदस्यको कार्यकाल सात महिना बाँकी रहँदै कामु उपकुलपति कार्कीले उनीहरु दुवैलाई पाँच दिनअघि विभागीय प्रमुखबाट हटाएका थिए । कासको बैठकमा प्राडा मल्ल र प्राडा कार्कीलाई किन बस्न नदिएको हो, त्यसको जवाफ कामु उपकुलपतिले दिनुपर्ने शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराज अहमद खानले बताए ।

भीभीआइपी कक्षमा पाँच सदस्यीय कास बैठक चलिरहेका बेला कर्मचारी कल्याण समाजका अध्यक्ष कविता ढकाल र शिक्षक कल्याण समाजका अध्यक्ष डा खानलाई बोलाइएको थियो । करिव साढे ११ बजे कास बैठक कक्षमा पुग्दा कामु उपकुलपति प्राडा कार्कीले आन्दोलनरत पक्षको नेतृत्व गरिरहेका डा खान र ढकालको अनुहार हेर्न नचाहेको जनाउँदै अन्य तीन पदाधिकारी (शिक्षाध्यक्ष, अस्पताल निर्देशक र रजिष्ट्रार) संग कुराकानी गर्नू भनेर मुण्टो बटारेका थिए ।

कामु उपकुलपतिले आन्दोलनरत पक्षले राखेका मागबारे बोल्नै नचाहेपछि डा खान र ढकाल तीन पदाधिकारीसँग संक्षिप्त कुरा राखेर बाहिरिएका थिए ।

डा खानले भने, ‘वीपी प्रतिष्ठानको पदाधिकारी भएपछि हाम्रो सरोकारको मुद्दालाई उहाँले सम्बोधन गर्नुपर्नेमा आँखा जुधाएर बोल्न र हेर्नसमेत चाहनुभएन । हामी तीन पदाधिकारीलाई एक सुत्रीय माग राखेर बाहिरियौं । त्यो माग भनेको आज बसिरहेको कास बैठकले रोकिएको पदोन्नतिको अन्तवार्ता भोलि बुधबारदेखि सुरु गर्नुपर्छ, माग सम्बोधन नभए आन्दोलनको रणनीति परिवर्तन गर्नेछौं भन्यौं ।’

कामु उपउपकुलपति र नयाँ कास सदस्य पन्थीको अडान अनुसार चिकित्सक शिक्षक र कर्मचारीको पदोन्नतिको विषयमा सिनेट बैठक पर्खिनुपर्ने र त्यसले पारित गरेपछि मात्र अन्तर्वाता सुरु गर्ने भन्ने रहेकाले कासको बैठकले निष्कर्ष दिन नसकेको डा खानले बताए ।

उनले खबरहबसँग भने, ‘उपकुलपति कार्कीकै कारण वीपी प्रतिष्ठान १० दिनदेखि ठप्प हुँदा नौ करोड रुपैयाँ क्षति भइरहेको छ । त्यसको भर्पाइ उनीहरुबाटै गराउनुपर्छ ।’ अहिले उत्पन्न समस्याको समाधान कामु उपकुलपति गर्नुपर्ने नसकेमा वीपी प्रतिष्ठान छाडेर जान बाटो खुल्ला रहेको पनि डा खानले बताए ।

डा विष्णु पोखरेलले काठमाडौमै बनाएर ल्याएको एजेण्डा नै अहिले बसेको कासले पारित गर्न चाहेकाले अब पदोन्नतिको अन्तवार्ता अनिश्चित भएको बताए ।

पोखरेलले भने, ‘पदाधिकारीहरुलाई एक सेकेण्ड पनि पर्खेर विश्वास गर्ने अवस्था नरहेकाले अब अन्तर्वार्ता सुरु गरिसकेपछि मात्र आन्दोलन रोक्ने रणनीतिमा जुट्नुपर्ने अवस्था आएको देखियो ।’

दुई–दुई पटक सहमतिमा आफैंले हस्ताक्षर गरेर अन्तर्वार्ताका लागि समय र मिति तोकेर पनि विभिन्न बाहाना बनाई पुरानो नियमावली अनुसार गरेको विज्ञापन प्रक्रिया गलत हो भन्नु नैतिक धरातल गुमाउनु सरह भएको पोखरेलको भनाइ छ ।

उनले भने, ‘यसअघि प्रकाशित पदोन्नतिको विज्ञापन अवैधानिक हो भने कामु उपकुलपतिले यो विज्ञापन अवैधानिक हो भनेर लेखेर दिने साहस गरुन् । अहिले मुद्दा लाग्छ भन्ने तर ०७९ पुस २० मा प्रकाशित विज्ञापन निकाल्दा यति लामो समयसम्म किन मुद्दा लागेन ?’

उपचारका लागि अस्पताल आएका हजारौं बिरामीले थप सास्ती खेपिरहेको र चिकित्साशास्त्रको पठनपाठन र नियमित परीक्षा ठप्प भएका बेला पदाधिकारी झन सम्बेदनशील भएर निकास दिनुपर्नेमा अनुत्तरदायी बनेको आरोप लगाउँदै उनले अबको आन्दोलन झन सशक्त हुने बताए ।

यसैबीच आफूहरूको दुईबर्षे कार्यकाल नसकिँदै कामु उपकुलपतिले कास सदस्य नरहने गरी विभागीय प्रमुखबाटै हटाएको विषयमा इमर्जेन्सी मेडिसिन विभागका प्राडा ज्ञानेन्द्र मल्ल र प्याथोलोजी विभागका प्राडा स्मृति कार्कीले सहकुलपति एवं स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई वीपी प्रतिष्ठानको कास सदस्य पदको कार्यकालबारे सम्झाउँदै पत्र लेखेका छन् ।

उनीहरुले स्वास्थ्य मन्त्री बस्नेतलाई पुस ८ गते लेखेको पत्रमा भनिएको छ, ‘सहकुलपतिको मिति २०७९ साउन १३ को निर्णयअनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९ को दफा १० को उपदफा १ (ङ) बमोजिमको वीपी प्रतिष्ठानको कास सदस्य पदावधि रहने गरी हामीलाई मनोनयन गरी नियुक्त गरिएकोमा मिति २०८० माघ २ गतेको रेफ न २४ काठ।०८०र८१ को पत्राअनुसार विभागीय प्रमुखको पदावधि समाप्त भएकाले कास सदस्य पद पनि सकिएको भनि कामु उपकुलपति ज्यूबाट सहकुलपति समक्ष पत्राचार गरिएको हुनाले सो सम्बन्धमा निम्न विवरण राखी अनुरोध गर्दछौं ।’

उनीहरुले पत्रमा दुई बर्षको कार्यकाल सकिन सात महिना बाँकी रहेको जनाउँदै पत्रमा भनेका छन्, ‘कासको बैठक संख्या ५६३, मिति २०७७ पुस २२ गतेको निर्णय नम्बर ४९७३ (ख) मा निम्न बमोजिम निर्णय भएको व्यहोरा जानकारी अनुरोध छ,– ‘प्रतिष्ठानका विभागीय प्रमुख मध्ये कार्यकारिणी समितिका सदस्यमा मनोनित भइसकेपछि विभागीय प्रमुखको समयावधि समाप्ता भएपनि निजहरुको कार्यकारिणी समितिको सदस्यको म्याद पुरा नहुन्जेलसम्मका लागि विभागीय प्रमुख यथावत रहने निर्णय गरियो ।’

०७७ को उक्त निर्णयलाई कासले संशोधन वा परिवर्तन गर्न पनि कासमा हालसम्म छलफल समेत नभएको अवस्था रहेको जनाउँदै विगत पनि कास सदस्य प्राडा पशुपति चौधरी र प्राडा निर्मला लिम्बुको पनि नजिर रहेको पत्रमा उल्लेख गरेका छन् ।

यता प्रतिष्ठानमा पदाधिकारीहरु कास बैठकमा बसेपनि कामु उपकुपति प्राडा कार्की र उपसचिव (नयाँ कास सदस्य) पन्थी एकातिर छन् भने शिक्षाध्यक्ष प्राडा शर्मा, अस्पताल निर्देशक प्राडा प्रसाद र रजिष्ट्रार प्राडा संग्रौला आन्दोलनरत चिकित्सक शिक्षक र कर्मचारीको पदोन्नति प्रक्रियालाई प्रधानमन्त्री र मुख्य सचिवको निर्देशनअनुसार तत्काल टुङ्ग्याउने पक्षमा रहेका छन् ।

कामु उपकुलपतिकी श्रीमती प्राडा संगीता भण्डारीले भने कुनै पनि हालतमा चिकित्सक शिक्षक र कर्मचारीको बढुवा प्रक्रिया अगाडि बढ्न नदिने दबाव दिँदै आएको स्रोत बताउँछ । उनले आफ्ना नजिकका चिकित्सक कर्मचारीहरुलाई ‘म प्रमोशन हुन दिन्नँ, कसले के गर्दो रहेछ’ भन्दै आन्दोलनरत पक्षलाई थर्काउँदै आएको आन्दोलनकारीको गुनासो छ ।

उनले वीपी प्रतिष्ठानको समस्या थप पेचिलो बन्दै गएका बेला मेट्रोन मातहतको एक नर्सलाई स्पष्टीकरण मागेको घटना बाहिरिएपछि नाक कान घाँटी विभागको कार्यक्षेत्र बाहिर गएर अरु कर्मचारीलाई नभएको अधिकार प्रयोग गरी स्पष्टीकरण माग्नु गैरजिम्मेवारी भएको कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले बताइन् ।

ढकालले भनिन्, ‘कुनै नर्सले गल्ती गरेमा प्रतिष्ठानले तोकेको मेट्रोनले स्पष्टीकरण माग्नु स्वाभाविक हो तर अधिकारक्षेत्र भन्दा बाहिर गएर ईएनटीका चिकित्सकले नर्सलाई थर्काउनु गैरजिम्मेवारपन हो, यो हामी स्वीकार्ने पक्षमा छैनौं ।’

यसैबीच वीपी प्रतिष्ठानका प्राध्यापक चिकित्सक, शिक्षकहरुको भेलाले लामो समयदेखि रोकिएको शिक्षक चिकित्सक र कर्मचारीको रोकिएको पदोन्नति प्रक्रिया तत्काल सुरु गर्नुको विकल्प नरहेको निष्कर्ष निकालेको छ ।

फरेन्सीक विभागका प्राडा बीएन यादवले भने, ‘यो समस्या आधा घण्टामै समाधान हुने विषय हो तर पदाधिकारीहरुले झन झन जटिल बनाउँदैछन् । वीपी प्रतिष्ठानलाई पनि धरासायी बनाउँदैछन् । हाम्रो भेलाले शिक्षक चिकित्सक र कर्मचारीको जायज माग तत्काल सम्बोधन गर्नुको विकल्प नरहको निष्कर्स निकाल्दै कासलाई दवाव दिएका छौं ।’

विद्यार्थी कल्याण समाजका अध्यक्ष डा ओमशान्ति रजकले आन्दोलनका कारण विद्यार्थीको शैक्षिक जीवनमा असर परिरहेको जनाउँदै पदाधिकारीहरुलाई संवेदनशील बन्न आग्रह गरेका छन् ।

यो पनि…

बीपीका ३१ प्राध्यापकले लेखे प्रधानमन्त्रीलाई पत्र

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ८ : २८ बजे

रविको हिरासत तस्बिर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

भारतीय गायक सोनु निगम नेपाल आउँदै

काठमाडौं – भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग साक्षात्कार

रविको सांसद पद निलम्बन पत्रबारे खनाल भन्छन् : सरकारको नियतमाथि गम्भीर प्रश्न उठ्यो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले

दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त

काठमाडौं – नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा

रविको सांसद पद निलम्बन गर्न पठाएको पत्रमा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संघीय सांसद रवि