युट्यूबलाई वैकल्पिक मिडिया बनाउने यी योद्धा | Khabarhub Khabarhub

युट्यूबलाई वैकल्पिक मिडिया बनाउने यी योद्धा



काठमाडौं– केही समयअघिसम्म एकाध टेलिभिजनलाई श्रव्यदृश्य समाचारको मूलधार मानिन्थ्यो । औंलामा गन्न सकिने तिनै टेलिभिजनले बजारमा बर्चस्व राख्थे ।

आमसञ्चार माध्यम सञ्चालक र आम नागरिकले श्रव्यदृश्य समाचार र सामग्री प्राप्त गर्न निकै बजेट खर्चनुपर्‍थ्यो ।

पछिल्ला केही वर्षयता अवस्था फेरिएको छ । प्रविधि क्षेत्रमा गुणात्मक विकास र आविष्कारसँगै अनलाइन टिभी तथा युट्यूबले अहिले आमसञ्चारको परम्परागत मूलधार मानिएका टेलिभिजनलाई कडा चुनौती दिएको छ ।

यस्तो संकेत मिलेको छ कि अब टेलिभिजनको समय सकियो; समाचार, ज्ञान र मनोरञ्जन श्रव्यदृश्य प्राप्त गर्न युट्यूब नै पर्याप्त छ ।

युट्यूबले टेलिभिजनलाई चुनौति त दिएको छ, तर आमसञ्चारको मानकमा भिडियो अपलोडिङ प्लेटफर्म युट्यूब नै विभिन्न सवालमा घेरिएको छ ।

धेरै युट्यूबरहरूले पत्रकारिताको मूल्य–मान्यतालाई आत्मसाथ गर्न सकिरहेका छैनन् । त्यसैले अहिले पनि अधिकांश दर्शकले टेलिभिजनलाई नै प्रमाणित सूचना (श्रव्यदृश्य) प्राप्त गर्ने माध्यम मान्दै आएका छन् । अर्थात्; युट्यूबलाई समाचारको मुख्य माध्यम मानिएको छैन ।

पत्रकारिताको मर्यादा र सीमाहरूमा समस्या देखिए पनि आमसञ्चारका क्षेत्रमा युट्यूबले निकै ठूलो उथलपुथल ल्याइदिएको छ । सूचना–प्रविधिलाई तत्काल अपनाउने र आमसञ्चार क्षेत्रमा त्यसलाई उपयोग गर्न उत्साहित हुने गरेका नेपालीहरूले युट्यूबलाई सूचनाको अभिन्न माध्यम बनाइरहेका छन् ।

मूलधारका माध्यमले भन्दा बलियोगरी सत्ता र समाजलाई उद्वेलित गराइरहेका केही युट्यूबरहरूले निकै राम्रो कार्यक्रम र समाचार प्रसारण गरिरहेका छन् ।

पत्रपत्रिका र टेलिभिजनमा लामो समय काम गरेका अग्रज पत्रकारहरूले नै अबको युग युट्यूबको भएको बताउन थालेका छन् । परम्परागत मूलधारका माध्यमबाट अलग्गिएपछि उनीहरूले आफ्नै युट्यूब च्यानल सञ्चालन गरिरहेका छन् । केही कमीकमजोरीलाई सच्याउने हो भने अब युट्यूब नै मूलधारको माध्यममा स्थापित हुने निश्चित रहेको उनीहरू बताउँछन् ।

यो सामग्रीमा आज हामी केही चर्चित युट्यूबरबारे चर्चा गर्छौं ।

१. विद्या चापागाईं

काठमाडौंमा जन्मिएकी चापागाईं रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसबाट पत्रकारितामा स्नातकोत्तर हुन् । विभिन्न रेडियो र नागरिक दैनिक हुँदै उनी बीबीसी साझा सवालमा जोडिइन् । नक्सालस्थित बीबीसीको गेटमा पुग्दा उनी पत्रकारिताका अन्य विद्यार्थीले झैं ‘ड्रिम अफिस’तिर हेर्थिन् । अन्ततः उनी आफ्नो ड्रिम अफिसमा जोडिइन् पनि !

साझा सवालमा काम गर्दा विद्या देशका विभिन्न स्थानमा पुगिन् । त्यतिबेलै नेपाली सञ्चारमाध्यम कहाँनेर छ भन्ने प्रष्ट देखेको उनले हिमाल मिडिया मेलाको एक कार्यक्रममा बताएकी छिन् ।

आममानिसका कथा कसरी भन्ने ? भुइँमान्छेका कथा कसरी भन्ने ? स्टूडियोमा नेतालाई बोलाउने, प्रश्न गर्ने र अर्को वर्ष पनि त्यही गर्ने ? न्यूजरुमभन्दा बाहिर ननिस्कने ? यस्ता प्रश्नले उनलाई सताउन थाल्यो । काम गर्दै गर्दा उनलाई साझा सवाल अन्तिम ड्रिम होइन भन्ने लाग्यो ।

पत्रकारिता अध्ययन-अध्यापन र कर्ममा ‘आवाज विहीनको आवाज’बारे चर्चा हुन्छ । तर के हामीले आवाज विहीनका समाचार सम्प्रेषण गरेका छौँ ? यही प्रश्नले ‘हेर्ने कथा’ जन्मिएको विद्या बताउँछिन् ।

हेर्ने कथा सुरु भएको पाँच वर्ष पुग्यो । यो रिपोर्ट बनाउँदासम्म हेर्ने कथा युट्यूब च्यानलमा १० लाख ३ हजार सब्सक्राइब पुगिसकेको छ ।

२. टीकाराम यात्री
टीकाराम यात्री करिअरको लामो समय टेलिभिजन पत्रकारितामा रमाए । पछिल्लो सात वर्ष एपीवन टेलिभिजनको प्रधानसम्पादक रहेर काम गरेका यात्री अहिले युट्यूबर बनेका छन् । अब टेलिभिजनमा प्रधानसम्पादक नबन्ने घोषणासहित उनले सञ्चारको नयाँ माध्यम युट्यूब शुरु गरे ।

अध्ययनशील र बौद्धिक छविका सम्पादकका रूपमा चिनिएका उनी ‘तमसो मा ज्योतिर्गमय’का परिकल्पनाकार, निर्माता र प्रस्तोता हुन् । उनले आफ्नै नामको ‘यात्री मिडिया’ युट्यूब च्यानल पनि सञ्चालनमा ल्याएका छन् । उनको युट्यूब च्यानलमा हालसम्म एक लाख २२ हजार सब्सक्राइब्स छ ।

यात्री विद्यार्थी जीवनमै हाजिरीजवाफ, वक्तृत्वकला, कविता र निबन्ध प्रतियोगितामा उत्कृष्ट हुने गर्थे । सो क्षमताले पनि उनलाई वाककलामार्फत समाजलाई सुसूचित गर्न तथा त्यसैलाई जीवनको मेलो बनाउन सघायो ।

एउटै पोखरीमा धेरै जम्दा लेउ लागेजस्तो महसुस भएपछि युट्यूबतर्फ लागेको यात्रीको भनाइ छ । एक करोड नेपाली विदेशमा बस्ने र अझ यो संख्या थपिने हुदाँ उनीहरूको लागि पनि कार्यक्रम निमार्ण गर्नुपर्ने उनी बताउँछन् ।

साथै पछिल्लो समय युट्यूबरहरूले डिस इन्फर्मेशन र मिस इन्फर्मेशन फैलाएको यात्री बताउँछन् । दर्शक, सब्स्क्रिप्सन र लाइक बढाउने चक्करमा समाजलाई धुमिल नहुने, बरु युट्यूबरहरूले आफूलाई सुधानुपर्ने सुझाव उनी दिन्छन् ।

आगामी दिनमा युट्यूब नै मूलधारको मिडिया हुने हुँदा सही जानकारी दिनु युट्यूबरको कर्तव्य भएको यात्रीको भनाइ छ । युट्यूबको नकरात्मक छवि सफा गर्न आवश्यकता रहेको उनी बताउँछन् ।

३. सुधीर शर्मा
नेपाली पत्रकारितामा तीन दशक बिताएका सुधीर शर्माले पनि हाल आफ्नै युट्यूब च्यानल सञ्चालमा ल्याएका छन् । पत्रकारिता र पत्रकारिताको माध्यम रूपान्तरण हुँदै गएको भन्दै उनले साप्ताहिक कार्यक्रम ‘अनि अब’ ल्याएका हुन् ।

कान्तिपुर दैनिकका लामो समय प्रधानसम्पादकको जिम्मेवारी निभाएका उनी लेखक पनि हुन् । ‘प्रयोगशाला’ र ‘द नेपाल नेक्सस’ शर्मालिखित बढी रुचाइएका पुस्तक हुन् ।

पहिलेभन्दा प्रविधि र पाठक दुवैमा अन्तर आएकाले म्यानुअलबाट अहिले डिजिटल युगसम्म आइपुग्दा भिडियो माध्यम शक्तिशाली भएको शर्मा बताउँछन् । त्यसकारण कलमबाट रूपान्तरित भएर अब भिज्युअल पत्रकारिता गर्ने बताउँछन् ।

‘तर त्यसो भनिरहँदा अब नलेख्ने भनेको होइन । मुख्य कुरा कन्टेन्ट हो । कन्टेन्टलाई भिज्युलाइजेसन गर्ने हिसाबले काम गर्न लागेका हौँ,’ शर्मा भन्छन्, ‘छिमेकी देशले आर्थिक प्रगति गरिरहँदा हामी नेपाली विदेश पलायनमा छौँ । यसकारण यसको व्यापक बहसको थालनीमा हामी छौँ । मलाई सँधै समाज र देशबारे जिज्ञासा र चासो छ । यीनै विषयको छलफल र प्रश्न गर्नेछौँ ।’

४. विजयकुमार पाण्डे
बैतडीमा जन्मिएका विजयकुमारले आफ्नो कर्मथलो काठमाडौंलाई बनाए । टेलिभिजनबाट पत्रकारिता सुरु गरेका उनले छापामाध्यममा पनि काम गरे ।

उनले वि.सं. २०४४ सालदेखि पत्रकारिता सुरु गरेका हुन् । ‘अँध्यारो उज्यालो’, ‘मेरो जिन्दगी मेरो विश्वास’, ‘फ्रन्टलाइन’, ‘चुरो कुरो’ लगायत कार्यक्रम चलाएका पाण्डेको सबैभन्दा रुचाइएको कार्यक्रम चाहिँ ‘दिशानिर्देश’ हो ।

पाण्डेले ‘नेपाल’साप्ताहिक पत्रिकमा सम्पादक भएर पनि काम गरे । उनी कान्तिपुर दैनिकका स्तम्भकार थिए । उनले लेखेको संस्मरणात्मक कृति ‘खुसी’ले २०७२ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो ।

पाण्डेले दिशानिर्देश टिभी युट्यूब च्यानलमार्फत इतिहास, राजनीति, समाज र मनोरञ्जन क्षेत्रका विषय उठाउने गरेका छन् । उनको युट्यूबको १.४४ लाख सदस्य छन् ।

५. सिसन बानियाँ
झापामा जन्मिएका बानियाँ चर्चित युट्यूबर हुन् । उनले आफ्नै नामबाट युट्यूब चलाइरहेका छन् । बानिँया फोटोग्राफी डकुमेन्ट्री, फिल्म र भ्लगर हुन् ।

उनी मुख्यतः भ्लगिङ क्षेत्रमा आउन फिटनेस प्रशिक्षक सुशान्त प्रधानबाट प्रेरित र प्रभावित थिए । त्यसअघि बानियाँ उनी फेसन, मोडलिङ र विवाह समारोह लगायतमा फोटोग्राफी गर्थे ।

बानियाँ कथाहरू बनाउन पनि माहिर छन् । यसले उनलाई सयौं युट्यूबरबीच फरक देखाउँछ ।

बानियाँ फोटोग्राफर, भिडियोग्राफर र फिल्म निर्माता पनि हुन् । उनले अनागत, आधा लभ लगायत चलचित्रमा काम गरिसकेका छन् । उनले स–साना रमाइला भिडियो पनि बनाउँछन् ।

उनको संलग्नतामा प्याराडाइम युट्यूब टिभी पनि सञ्चालनमा छ । त्यस टिभीले विशेषगरी मनोरञ्नात्मक कार्यक्रमहरू प्रसारण गर्दै आएको छ । सो च्यानलका यसका ५.६२ लाख सदस्य छन् ।

नेपाली भ्लगिङ समुदाय र नेपाली सिनेमामा आफ्नो कामका लागि परिचित नेपाली भ्लगर र चलचित्र निर्माता हुन् । उनी भ्लगिङमा परफेक्शनिस्टका रूपमा चिनिन्छन् ।

६ नवीन गिरी
सर्लाहीका नवीन गिरी पछिल्लो समय युट्यूब मिडिया सञ्चालकका रूपमा चर्चित छन् । रेडियोमार्फत पत्रकारिता थालेका गिरि हाल सफल अनलाइन टेलिभिजनकर्मी हुन् ।

नेपालमा अनलाइन टिभीलाई व्यवसायिक र जिम्मेवार बनाउन गिरि सक्रिय रही आएका छन् । सञ्चार क्षेत्रमा डेढ दश काम गरिसकेका गिरि यतिखेर अनलाइन टिभी नेपाल अर्थात् ओटीपी टिभीका सञ्चालक छन् । यसका १७.५ लाख सदस्य छन् ।

७. उमेश सुवेदी
अन्तरवार्तामूलक कार्यक्रम गर्ने सुवेदीले डिजिटल मिडियामार्फत विचार निर्माणमा ठूलो योगदान गरेका छन् । उनी १० वर्षदेखि पत्रकारितामा छन् ।

राेल्पाका उनी हाल युट्यूबमा ‘चुरो कुरो’ अनलाइन टिभी चलाउँछन् । अनलाइन टिभीहरूले पत्रकारिताको मूल्य-मान्यतालाई धज्जी उडाइरहेको भनी चर्को आलोचना भइरहँदा सुवेदीले सञ्चालन गर्ने कार्यक्रमहरूमा भने जिम्मेवारीपना देखिन्छ ।

भ्यूजमा भन्दा न्यूजमा विश्वास गर्नुपर्छ भन्ने मान्यता राख्ने सुवेदीले पत्रकारिताको आचारसंहिता पालनामा जोड दिँदै आएका छन् ।

मुख्यतः उनको युट्यूब टिभीमा राजनीतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरिएको कुराकानी तथा समाचारमूलक सामग्री प्रसारण हुने गरेको छ । सो च्यानललाई ९७.९ हजार सदस्यले सब्सक्राइब गरेका छन् ।

८. भुवन गुरागाईं
ताप्लेजुङका गुरागाईं डिजिटल मिडियामा उदयीमान प्रस्तोता हुन् । छापा माध्यमबाट पत्रकारिता थालेका उनी डिजिटल मिडियामा समाचार प्रस्तोताको रूपमा जमेका छन् ।

जनता टेलिभिजन, कारोबार दैनिक र नेपाल दृष्य हुँदै हाल उनी ‘सिटिजन एचडी’मा कार्यरत छन् । मीठो आवाज र उत्कृष्ट शैलीका कारण उनको प्रस्तुतीलाई धेरैले मन पराउने गर्छन् ।

९. गोपाल साउद
सुदूरपश्चिम कैलालीका साउदले नेपालमा डिजिटल मिडियामार्फत सूचना–प्रविधिसम्बन्धी सचेतना जगाउन उल्लेखनीय भूमिका निर्वाह गरेका छन् ।

अग्रगति साप्ताहिक, आर्थिक अभियान राष्ट्रिय दैनिक र नयाँ पत्रिका हुँदै आफ्नै अनलाइन ‘टेकपाना’ खोलेका साउदले यसमार्फत प्रविधिसम्बन्धी समाचार तथा सूचना दिने गर्छन् । टेकपाना अनलाइनका उनी अध्यक्ष तथा सम्पादक हुन् ।

डिजिटल साक्षरता कमीले आमनागरिक साइबर अपराधीबाट पीडित भइरहेका बेला टेकपानाले साइबर सचेतनासम्बन्धी धेरै सामग्रीहरू प्रकाशन-प्रसारण गर्दै आएको छ ।

साउद सञ्चालित अनलाइन टेकपानाको युट्यूब च्यानलमा १.६३ लाख सदस्य छन् ।

१०. दीपक श्रेष्ठ
भिडियो  एडिटि‌ङ गर्दै आएका श्रेष्ठले  ‘समय टिभी’मार्फत् सूचना प्रवाह गर्दै आएका छन् । समय टिभी आर्टिफिसियल इन्टेलिसेन्स (एआई) मार्फत नेपाली भाषामा नियमित समाचार प्रसारण गर्ने नेपालको पहिलो अनलाइन टिभी हो ।

समय टिभीमा नेपाली भाषाबाट समाचार वाचन गर्ने एआई प्रस्तोता

फेसबुकमार्फत् सञ्चालन हुँदै आएको यस टीभीले नयाँ प्रविधि प्रयोग गरी पत्रकारितालाई नयाँ आयाम दिने अभ्यास थालेको देखिन्छ ।

एआईबाट समाचार वाचन गराउने समय टिभीको नवीन अभ्यास आफैँमा अनौठो र आम चासोको विषय भएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ४ : ५१ बजे

सामाजिक सङ्घसंस्थाका कामकारबाही पारदर्शी बनाउनुपर्छ : मन्त्री सुडी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले समाजकल्याण

प्रधानमन्त्रीको अमेरिका भ्रमण : को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन

भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा

चितवन– भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको सहरी क्षेत्रको छ लेन

विभिन्न स्थानबाट लागूऔषधसहित १५ जना पक्राउ

काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको

फराकिलो बन्दै न्यूरोडको फुटपाथ (तस्बिरहरू)

काठमाडौं- पटक पटकको विवादबीच काठमाडौंको न्यूरोडमा फुटपाथ विस्तारको काम अन्तिम