जातीय विभेद : नौ वर्षदेखि अस्पतालमै अजित मिजारको शव | Khabarhub Khabarhub

जातीय विभेद : नौ वर्षदेखि अस्पतालमै अजित मिजारको शव

हरेक वर्ष अन्तजातीय विवाह र प्रेमकै कारण कयौंले ज्यान गुमाउँदै



काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्‍जमा नौ वर्षदेखि ‘न्याय पर्खिरहेको एक शव’ छ । त्यो शव काभ्रे पाँचखाल नगरपालिका-७, होक्सेका अजित मिजारको हो ।

अजित मिजारको भौतिक शरीरले यस संसारबाट बिदा लिए पनि आत्माले शान्ति पाउने आशमा आमा काली मिजार र बुवा हरिभक्तले छोराको काजकिरिया गर्न सकेका छैनन् । काली र हरिभक्त दिनरात अस्पतालमा राखिएको छोराको शव सम्झिँदै बितेका छन् ।

छोराको काजकिरिया गर्न पाए उनको आत्माले शान्ति पाउँथ्यो र आफूलाई पनि शान्ति मिल्थ्यो भन्ने ती बा-आमालाई लागेको छ । तर न्याय नपाएसम्म छोरालाई अन्याय हुने भएकाले अहिलेसम्म किरिया गर्न सकेका छैनन् ।

छोराको आत्महत्या नभई हत्या भएकाले न्याय नपाएसम्म किरिया नगर्ने उनको अडान कायमै छ । ‘जात व्यवस्था विरुद्धको विद्रोह दिवस’मा अजित मिजार प्रकरणबारे यो सामग्री केन्द्रित छ ।

के थियो घटना ?
अन्तरजातीय विवाह गरेपछि २०७३ असार २९ गते काभ्रेको तामाघाट बजारबाट बेपत्ता भएका १८ वर्षीय अजितको शव धादिङको फुर्केखोलामा झुन्डिएको अवस्थामा फेला परेको थियो ।

अजित मिजारको न्यायको मागसहित आन्दोलन घोषणा

छोरा (अजित) को पराजुली थरकी युवतीसँग प्रेम थियो । दुवैजना एउटै स्कूलमा पढ्थे । दुवैले सँगै एसएलसी परीक्षा पास गरेका थिए । २०७३ असार २५ गते अजित र उनकी प्रेमिका भनिने युवती भागेर भक्तपुर आएछन् । दिनभर मकै भाँच्न खेतमा गएकी आमालाई बेलुका घर फर्केपछि मात्र उनीहरू भागेको थाहा भयो ।

उनीहरूले बताए अनुसार –

अर्को दिन केटी पक्षका मानिस कालीको घरमा गएर ‘छोरा निकाल्’ भन्दै धम्क्याए । युवतीकी दिदीले पनि छोरा ननिकाले राम्रो नहुने भन्दै धम्की दिइन्‌ । केही हुने हो कि भनेर आत्तिएकी उनले फोन गरेर छोरालाई बोलाइन् ।

असार २६ गते छोरा अजित ती युवती लिएर घर आए । त्यो रात पनि युवतीका बाबुले फोन गरेर कालीलाई धम्की दिए । युवती अर्थात् छोराले ल्याएको केटीले आफ्नो बुवाको बानी रिसाहा भएको बताउँदै थिइन्‌ ।

केटी पक्षले भोलिपल्ट प्रहरी चौकीमा बोलायो । अजित, युवती र आमा चौकीमा पुगे । त्यहाँ युवती पक्षका मानिस पनि थिए ।

ती युवतीले सिन्दुर र पोते लगाएकी थिइन्‌ । युवतीकी दिदीले ‘जुत्ता सिलाउने सार्कीसँग विवाह गरेको’ भन्दै सिन्दुर मेटाइदिइन् र पोते पनि छिनाइदिइन् । भाउजुले ‘खाते’ सँग बिहे गर्ने भन्दै गाली गरिन् । अजित १९ वर्ष र ती युवती १७ वर्ष पुगेको विषयमा पनि प्रहरी चौकीमा छलफल भयो ।

अझै रोकिएन जातीय भेदभाव र छुवाछूत, ऐन कार्यान्वयन भएयता १७ जनाको हत्या

प्रहरीकै सामुन्ने युवतीको दिदीले अजितलाई ‘तँलाई ७ लाख खर्च गरेर भए पनि माटोमाथि हिँड्न दिन्न’ भनेर धम्क्याइन् ।

त्यसपछि धुलीखेल जाने भनेर प्रहरीले सबैलाई गाडीमा राख्यो । धुलिखेल नपुग्दै प्रहरीले बीच बाटोमै सबैलाई गाडीबाट ओह्रालेर कागजमा सही गरायो । युवतीलाई जबर्जस्ती माइती पक्षले बाइकमा राखेर लगे ।

भोलिपल्ट फेरि अपरिचित व्यक्तिले आफूलाई वकिल भन्दै फोन गरेर ‘तेरो अजित कहाँ गयो ?’ भनेर सोधे । आमाले अजित पढ्न तामाघाट गएको भनिन् । फोन गर्नेले धम्कीपूर्ण शैलीमा फेरि ‘तेरो अजितले अब पढ्न पाउँदैन, तेरो छोरालाई बलात्कार केस लाग्छ’ भन्यो ।

असार २९ गते घरमा रोपाइँ थियो । छोरालाई घरमै बस्न भन्दै आमा आफू रोपाइँमा गइन् । उनका पति पहिल्यै खेतमा गइसकेका थिए । खेतमा जानुअघि छोराले मोबाइल रिचार्ज कार्ड किन्न भन्दै पैसा मागे । उनले एक सय रूपैयाँ दिइन् ।

साँझ मेलाबाट सबै घर आए तर अजित घरमा भेटिएनन् । उसको फोन घरमै थियो । रातपनि उनी घर पर्केनन् । भोलिपल्ट तामाघाटतिर उनी छोरा खोज्न हिँडिन् ।

साउने संक्रान्तिको दिन थियो, घरमा पाहुना पनि आएका थिए । मासु किन्न उनी पसल गइन् । पसले छोराको साथी थियो । उसैले धादिङको फुर्केखोलामा झुन्डिएर मानिस मरेको कुरा फेसबुकमा आएको बताए ।

मिजारको परिवार धादिङ पुग्यो । झुन्डिएको अवस्थामा फेला परेको शव अजितको रहेछ । तर, प्रहरीले बेवारिसे भन्दै शव गाडिसकेको रहेछ । बुवा हरिभक्तका अनुसार साउन २ गते बिहानै उनी धादिङ प्रहरीमा पुगे ।

मानवतामाथि बर्बरताको सोती काण्ड

आफू अजितको बुवा भएको भन्दै उनले प्रहरीसँग शव मागे । प्रहरीले पोस्टमार्टमा गरेर बेवारिस शव भन्दै पुरिसकेको बतायो । मिजार परिवारले निकाल्न भन्दा प्रहरीले नमिल्ने जवाफ दियो ।

शव पशुपति आर्यघाट लगेर जलाउँछौ भनेपछि बल्ल प्रहरीले निकाल्न दियो । प्रहरीले पोस्टमार्टम रिपोर्ट बनाइसकेको थियो । पोस्टमार्टम गरिएको भने पनि शव कतै चिरेको नपाइएपछि परिवारलाई शंका लाग्यो ।

शव पुनः पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍ज लगियो । सुरुमा अस्पतालले शव लिन मानेन । सरकारी वकिल र दलित अधिकारकर्मीको दबाबपछि पोस्टमार्टम भयो । पोस्टमार्टम गर्ने चिकित्सकले आत्महत्याको रिपोर्ट बनाइदिए ।

हरिभक्तका अनुसार धादिङमा पोेस्टमार्टम गर्नेको आफन्त त्रिवि शिक्षण अस्पतालमा पनि भएकाले सुरुमा शव लिन इन्कार गरिएको थियो ।

छोराले आत्महत्या गरेको मान्न मिजार परिवार तयार भएनन् ।छोराको हत्या गरिएको निष्कर्षमा पुग्यो । तिनै युवतीका माइती पक्षले छोराको हत्या गरेको भन्दै मिजार परिवारले भोजबहादुर पराजुली, टेकबहादुर पराजुली र सम्झना पराजुलीविरुद्ध जाहेरी दिए ।

उनीहरूविरुद्ध जिल्ला अदालत धादिङमा मुद्दा दायर भयो । आरोपित धरौटीमा छुटे । २०७५ सालमा जिल्ला अदालत धादिङले आरोपितलाई सफाइ दियो ।

अदालतको फैसलापछि उनीहरू फेरि उच्च अदालत पुगे । उच्चले पनि जिल्ला अदालत धादिङकोे फैसला सदर गर्‍यो । पुनरावेदनको फैसला पछि मिजार परिवारमा थप बेचैनी बढ्यो ।

छोराको आत्महत्या नभई हत्या नै भएको दाबी गर्दै मिजार परिवार २०८० वैशाखमा सर्वोच्च अदालत पुगे । मुद्दाको फैसला आएको छैन । सर्वोच्च अदालतले प्रमाण खोजी गरेमा छोरालाई न्याय मिल्ने आमा बुवाको विश्वास छ ।

‘केटीको दिदीले सात लाख रूपैयाँ खर्च गरेर भए पनि तँ (अजित) लाई जमिनमा हिँड्न दिन्नँ भनेकी थिइन्,’ अतिजका बाबू भन्छन्‌, ‘तामाघाटको मान्छेलाई आत्महत्या गर्न धादिङ जानुपर्ने कारण नै छैन । मरेको फेला परेमा प्रहरीले सूचना जारी गर्छ भोलिपल्टै शव गाडदैन ।’

अजितको किरिया नभएकाले मिजार परिवारले नौ वर्षदेखि कुनै चाडपर्व मनाएको छैन ।

यो त एक प्रतिनिधि घटना हो । हरेक वर्ष अन्तजातीय विवाह र प्रेमकै कारण कयौंले ज्यान गुमाएका छन् । राष्ट्रिय दलित आयोगका अनुसार पाँच वर्षमा १६ जनाको हत्या भएको अभिलेख छ ।

०७६/७७ मा ३ जना, ०७७/७८ मा ३ जना, ०७८/७९ मा ७ जना र ०७९/८० मा ३ जनाको हत्या भएको अभिलेख आयोगमा छ ।

आयोगका अध्यक्ष देवराज विश्वकर्माले सबै घटना आयोगसम्म नआउने बताए । उनले भने, ‘एक अध्ययन अनुसार हरेक पाँच मिनेटमा तीन जना कुनै न कुनै विभेदमा परिरहेको देखाएको छ । विभेदको आकडाँ अनुमान गरेभन्दा धेरै छ ।’

उजुरी गरेपनि आयोगले आफैं छानबिन नगरी जिल्ला प्रशासन, प्रहरी लगायतका सरकारी निकायलाई पत्राचार गर्ने हुदाँ पीडितहरू आयोगमै नआएको स्थिति देखिन्छ ।

तर अध्यक्ष विश्वकर्माले आयोगलाई सरकारले दिएको बजेट नै अपुग हुँदा सोचेजित काम गर्न नसकेको दाबी गर्छन् । उनी भन्छन्, ‘सरकारले चाहिने जति बजेट नदिदाँ नागरिकले महसुस गर्ने गरी काम गर्न सकिएको छैन ’

दलितको हक अधिकार सुनिश्चित गर्ने हेतुले २०५८ फागुन ४ गते आयोग गठन भएको थियो । दलितका अभिलेख सरकारी निकायमा भन्दा गैरसरकारी निकायमा बढी देखिन्छ ।   ‘दलित मानव अधिकार प्रतिवेदन, २०७९’ का अनुसार पाँच वर्षमा ५२ जनाले जातकै कारण ज्यान गुमाएका छन् ।

ती मध्ये ५० जनाको हत्या भयो जसमा १३ बालिका बलात्कारपछि मारिएका थिए । १० जनाले त राज्यको न्यायिक हिरासतभित्रै मृत्युवरण गरेका छन् ।

जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ जारी भएयताको तथ्यांकले समेत दलित समुदायमाथि शृंखलाबद्ध रूपमा हिंसा भइरहेको देखाउँछ ।

देशभरका दलित समुदायले दिन-प्रतिदिन हिंसा खेप्नुपरेको अधिकारकर्मीहरूको बुझाइ छ । उनीहरूका अनुसार दलित समुदायको मानवअधिकार र संवैधानिक व्यवस्था उल्लंघनका घटनाहरू तीव्र अनुपातमा बढिरहेको छ ।

पछिल्लो समय ‘दलित नागरिक आन्दोलन’ ठप्प भएको दलित मानवअधिकारकर्मी एवम्‌ अभियन्ता शिवहरि ज्ञवाली बताउँछन्‌ । उनी भन्छन्, विभेदका घटनाहरूको अनुसन्धान गर्ने, खबरदारी गर्ने र राज्यलाई झक्झकाउने आन्दोलन हुन छाड्यो ।’

‘संविधानले दलित समुदायलाई अधिकार दियो भन्ने सबैलाई पर्‍यो । तर, कार्यान्वयन तहमा कति गयो, कसैलाई वास्ता भएन,’ ज्ञवाली थप्छन्‌, ‘परिणामस्वरूप पहिलाभन्दा चार गुणाले दलितमाथि हिंसा बढेको र छुवाछुतको नयाँ रूप जन्मिएको उनको भनाइ छ । नयाँ पुस्ताले विभेदविरुद्ध कम गर्ला भनेको, जातप्रति उल्टै गर्व गरेको देखिन्छ । ’

‘गैरदलितलाई दलितको आरक्षण देखेर पोलेको छ । तिमी कोटा नलेऊ, हामी कोठा दिन्छौं जस्ता विचार जन्मिनु आधुनिक युगको लागि खतरा हो,’ उनले भने ।

ऐतिहासिक रूपमा दलितमाथि भएको विभेदलाई गैरदलितले नबुझेको र अध्ययन नगरेको उनको आरोप छ । उनी थप्छन्, ‘दलित र गैरदलितको सहकार्य विना विभेदको अन्त्य हुन सक्दैन ।’

अब दलित समुदायको मुद्दालाई राज्यको निर्णायक तहसम्म पुर्‍याउन नागरिक, राज्यसत्ता र सरोकारवाला सबै एकजुट हुन आवश्यक भएको उनले बताए ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  २ : १२ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको

गाई पालन र घाँस बिक्रीबाट राम्रो आम्दानी

बागलुङ– बागलुङको जैमिनी नगरपालिका–१ को टुनिबोट क्षेत्रका किसान दूधमात्र नभइ

बेनी–जोमसोम–कोरला सडक : तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै

म्याग्दी– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्डमा

क्रिकेटमा बोल्ट युगपछिको न्युजिल्यान्ड

युगान्डा विरुद्धको खेलमा ७ रन दिएर उनले २ विकेट लिए।

कुरिलोखेतीबाट एकै याममा सात लाख आम्दानी

नवलपरासी– बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा सात